साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यंग्यमा भैरवअवतार

Nepal Telecom ad

अहिलेको वेभसाइटको दुनियाँमा धेरै कुराहरू पछि परेर गए । त्यसरी पछि परेकामध्ये साहित्यको स्थान पहिलोमा छ । {{read_more}}दुनियाँलाई अहिले हाताहाती र  height=तातोतातो कुराहरूको खानी छ साहित्यका लागि भने यो समय बडो बेइमानी छ । कोही साहित्य पढ्दैनन् । साहित्यको कुरा परैजाओस् पाठ्यक्रम पनि आजका विद्यार्थीले पढ्दैनन्, भेटे चोर्छन् नभेटे फार्छन् । उसलाई मोबाइल र नेट भए भयो । कुनामा पस्यो र कुनामा पसेका अर्काेसँग च्याटको खेती ग¥यो । बस यही छ । जय होस् ! यस इन्टरनेटको युगको । 

मानव समाजलाई सपार्न आएको यस नेटको दुनियाँमा मानव समाज भत्कँदै गएजस्तो मलाई लाग्छ । मेरो गल्ती हो भने उसैले जानोस्, मानवसमाज भोलि कता जाला ? यो पनि उसैले जानोस् र उसैका हिमायतीले जानून् म के भन्न सक्छु र ? मसमेत उसैको बुई चढेको छु । धेरै उसको बदनाम नगरूँ ।

नेपाली साहित्य त यसै पनि पाठकको अभावमा उहिल्यैदेखि थला परेकै हो । अहिलेको कुरा के भो र । उता पाठकविना पनि साहित्यकारहरू भने आफ्नो अन्तःसुखका लागि आफैँ लगानी गरेर कृतिहरू प्रकाशन गर्न पछि परेका छैनन् र मन्त्रीहरूका हातबाट आफूले लगानी गरेको कृति विमोचन गराएर पैसा तिरेर ल्याएका सम्वाददाताहरूको निगाहमा टेलिभिजनमा आफ्नो अनुहार देखाउन पछि पर्ने कुरै भएन ।

अरू सबै विधाभन्दा प्रकाशन र लेखनमा पनि अलिक अघि गएको विधा हो कविता विधा तर पाठक भने सबैभन्दा कम पाउने विधा पनि यही हो । यसका पाठक कताकता आइसल्यान्डको सर्प झैँ छन् । त्यति हो । लेख्न सबैभन्दा बढी यही विधामा लेख्ने तर पाठक भने आफूबाहेक अर्काे कोही नहुने विधा पनि यही हो । यो कसैले पनि पढ्दैन भने पनि हुन्छ । यसपछि अरू विधाहरू आउँछन् । निबन्ध विधा त धेरै पछि पढिने र लेखिने विधा हुँदै हो । उसमा पनि हास्यव्यङ्ग्य निबन्धको कुरा त नगरे हुन्छ । समाज, संस्कार, सँस्कृति र देशै हास्यमय भएका बेला पढेर कसले दुःख गरोस्, आफैँ बुझिन्छ । सक्किगयो ।

पाठ्यक्रममा राखिदिएको थियो र मात्र कसैकसैले कुनैबेला भैरव अर्याललाई सुनेका र पढेका थिए, नत्र भैरव अर्याल भनेको कुन चरीको नाम हो कसैले थाहा पाउने थिएनन् । दाताराम शर्मा, बालमुकुन्ददेव पाण्डे, वासुदेव शर्मा लुइँटेल, श्रीधर खनाल, रामकुमार पाँडेलगायतलाई शायद अब कसैले चिनोस् । उनैका अनुयायी र त्यही धारामा चलेकाहरू कति छन् कति । अरूको के कुरा गर्नु मै चिन्दिनँ त अरूलाई चिन्दैनन् भन्ने मेरो अधिकार के ? यही नचिनिरहेको सन्दर्भमा एकजना नचिनेका हास्यव्यंग्यकार चिन्नमा आए नमोनमः हास्यव्यङ्ग्यको बिटो लिएर, जसको नाम महेश थापा हो ।

म उनका जिन्दगीको कथा थाहा पाएर बडो आहत भएँ । झमक घिमिरेको जीवन पढ्दा तुरुक्क आँसु आएक थियो । आज उही दशा भयो महेश थापाको जिन्दगी बुझेर । दुईचार वर्ष अघिदेखिका मेरा फेसबुकमित्र महेशलाई म वाम हिमायतीका रूपमा मात्र जान्दथेँ । अपूर्व क्षमता भएका साधकका रूपमा कम चिन्दथेँ, जब उनलाई चिनँे अनि उनको जीवन जान्ने चाह भयो । जब उनको जीवन चिने अनि मेरो चित्त काटियो । सारै दूर्धर्ष र आहतिलो जीवन बाँचेका मेरो मित्र म अब यसबारे केही बोलिनँ । यदि कतै छ भने त्यस दैवलाई धिक्कार छ । बस ! यति भनेँ ।

महेश थापा नेपाली हास्यव्यङ्ग्य साहित्यको फाँटका पछिल्लो युगका आधुनिक भैरव अर्यालको अवतार हुन् भन्न रुचाएँ अर्का भैरव अर्यालः महेश थापा । उनका रचनाहरूमा बौद्धिकता, तार्किकता, शब्दचयन गर्ने अपूर्व क्षमता, विचारलाई ओर्काईफर्काई गर्ने सोच र आलंकारिक सुष्ठु प्रयोगको हिसाबमा अद्वितीय छन् । नमोनमः उनको पछिल्लो रचना हो जसबाट उनको रचना सामथ्र्य देखिन्छ, हास्य र व्यङ्ग्यका माध्यमबाट समाजको दिग्दर्शन गर्ने कुशलता पाइन्छ ।

विषयवस्तुको गहनतालाई ललाईफकाई गरेर टिप्तै सजिलोसँग पाठकसामु उपस्थापन गर्नु उनको वैशिष्ट्य छ । समाजका बाहिरी वा भित्री तहमा असर पार्ने खालका आर्थिक राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक वितण्डाको छाला काड्नु उनको व्यङ्ग्य धर्म हो । उनी अभिधात्मक रूपबाट वर्णन गरेर खोइरो उतार्न सारै चतुर छन् । एक अर्थमा उनी लाक्षणिक विधि प्रयोग नगरी अभिधात्मक विधिबाट सोझै कटाक्षको बाटो उतार्छन् र विषयलाई बेपर्दा पार्न मापाका छन् । नमोनमः बाहेकका उनका कृति मैले अध्ययन नगरेकाले मलाई बाँकी कृतिको बारेमा केही जानकारी छैन । यसो भए पनि यस कृतिबाट नेपालको केही वर्ष यता फलेको दुष्कर्मको फलको उनले यस कृतिभित्रबाट पाठकहरूलाई राम्ररी उपभोग गराएका छन् । 

दिल्ली धाउने राजनीतिज्ञहरू, मधेशको मसिहा ठान्ने भारतपरस्त तथा उतैको खाना खाएर यता सौदावाजी गरिरहेका फोहरीहरू, पचास लाखका सौदामा विवेका सहिद सट्टाबजारका धुन्धुकारीहरू, शैक्षिक जगतका ब्वाँसाहरू, समाजका दुशासनहरू, पत्रकारहरू आदि इत्यादिका चारित्रिक नीचतालाई उनका भित्री चक्षुले खुला रूपमा देखेका छन् । उनले यिनलाई नांगोे पार्दै लेखेका छन् । नेपालको चिन्ता कसैमा नभएको कुरा उनले देखेका छन् र तिनैहरू यसै देशको वाग्डोरमा वा सत्ताको खेलमा पुगेको देखेर उनले लेखेका छन् ।

संक्षेपमा महेश थापा सजग स्रष्टा हुन् । समसामयिक युगका अन्तर्कुन्तरका स्रष्टा हुन् । उनी कसैलाई बाँकी नराखी व्यङ्ग्य, परिहास, छेडखान, खिसीट्यूरी गर्दै समाज बिग्रिएको छ यसमा हामी नै जिम्मेवार छौँ भन्दै औंलो ठड्याउने सर्जक हुन् । परोक्षरूपमा उनका रचनाहरूले देखावटी र तथाकथित सुसभ्यताको जलप लगाएका एवं तथाकथित मर्या्दित समाजको आवरणभित्रको फोहोरले भरिएको समाज देखाएका छन् । प्रकारान्तरले सजग गराउने परोक्ष सन्देश प्रवाह पनि उनी गराउँछन् ।

सजग पाठक उनका रचना पढ्दा समाजका ठेकेदारहरूसँग आक्रोशित हुन्छन््, विचलित हुन्छन् र उनले संकेत गरेका ती फटामाथि जाइलाग्ने भावले आप्लावित हुन्छन् । व्यङ्ग्यबाट यो धर्म प्राप्त हुनसक्नु नै व्यङ्ग्यको खास सफलता हुन्छ । यस अर्थमा महेश यस क्षेत्रमा सफल छन् भनेर किटान गर्न सकिन्छ ।

महेशको लेखनशैली भैरव अर्यालको जस्तो छ । यसैले मैले उनलाई पछिल्लो भैरव अर्याल भनेँ । महेश पनि समाजको विकृति र विसंगतिका उजागर गर्नका लागि भैरवका रूपमा जागेका देखिन्छन् । जुन भैरव अर्यालका साथ केही समयसम्म भए पनि मेरो सान्निध्य थियो । उनै भैरवको प्रभावबाट म पनि यस क्षेत्रको बटुवा भएको हुँ । महेश थापा शब्द चयनमा, बौद्धिकताको प्रयोगमा र वर्णनको कुशलतामा भैरवमार्गी हास्यव्यांग्यकारका रूपमा देखिएका हुन् । उनका रचनाहरूमा हास्यको झंकारभन्दा व्यंग्यका छर्रा नै बढी हुन्छन् । समाजका हरेक क्षेत्रमा ती छर्राबाट उनी ढाड सेकाइरहेका हुन्छन् । चेत पाठकहरूलाई दाह्रा किट्ने अवस्था सिर्जना गरिरहेका हुन्छन् । अहिले यति नै भनेँ यस कित्तामा ।

अनुप्रासमय भाषाशैलीको उपयोगमा एवं कलात्मक र स्वादिलो झर्राे नेपाली भाषाको प्रयोगमा पनि उनलाई अघिल्लो स्थान नै प्राप्त छ । उनको आगामी दिनको कुशल र सहज जीवनका लागि आन्तरिक कामना गरेँ ।

(सुवेदी मेची बहुमुखी क्याम्पसका सहप्राध्यापक हुन्)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x