साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको कला

Nepal Telecom ad

नेपाल कला, साहित्य र संस्कृतिको दृष्टिले समृद्ध मुलुक हो भन्ने कुरा मैले सानैदेखि पढ्दै आएको थिएँ । पछि जवान भएछि कला संस्कृति त नेपालको पर्याय नै पो रहेछ भन्ने पनि ज्ञान भयो । पछि मैले हनुमानढोका, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायरका मल्लकालनीन दरबार मात्र होइन बौद्ध स्वयम्भू, पशुपति, चागुनारायणका कलाकृति र विभिन्न जात्रा, पर्व, मेलाको अवलोकनबाट समेत मैले नेपाली कला पारख गर्ने मौका पाएँ । कलाकार अरनिकोले चीनमा गएर नेपाली कलाको प्रबद्र्धन गरेको थाहा पाएपछि त झन् नेपालको कलाको महिमा त नेपालमा मात्र नभएर विदेशमा पनि पो रहेछ भन्ने लाग्यो । देशको कलाप्रति गौरवान्वित भएँ ।
हो, कलाप्रेमीहरूका लागि नेपाल साँच्चिकै स्वर्ग नै छ भने पनि हुन्छ । यहाँका ललितकला, मूर्तिकला, चित्रकलाका बारेमा थुप्रै ग्रन्थहरू लेखिएका छन् । नेपाली कलाको पारख गर्न स्वदेशी मात्र होइन थुप्रै विदेशीहरू समेत नेपाल आउने गरेका छन् । विशिष्ट कलाकै कारण नेपालका कतिपय स्थानहरू विश्वसम्पदा सूचीमा समेत परेका छन् भने केही नेपाली संस्कृति झल्कने थुप्रै वृत्तचित्रहरू विश्वका संस्कृति पारखीहरूको छनौटमा परेका छन् । त्यसो त नेपाल चित्रकला, मूर्तिकला, वास्तुकलाका दृष्टिले मात्र कहाँ अगाडि हो र पछिल्लो नेपाली कला बजारमा त नेपालमा बोल्ने कला, खेल्ने कला, हान्ने कला, चल्ने कला, लड्ने कला, भिड्ने कला जस्ता कलाहरू पनि निकै चर्चित छन् ।
कला कला नै भए पनि समयक्रममा कलाका रुपहरू भने परिवर्तन हुने गरेका छन् । यस्ता कलाका विभिन्न रुपहरूमध्ये यतिखेर बोल्ने कलाका नयाँ संस्करणहरू नेपाली बजारमा खुबै चलेका छन् । विषय वा प्रसंगले अर्को अर्थ नलागेमा बोल्ने कला भन्नाले स्वतः नेताहरूको कला भन्ने बुझ्नुपर्ने हुन्छ । किनभने नेपालमा अरुले बोलेको खासै महत्व हुँदैन । कसैले बोली हाले पनि त्यस्ता बोलीले सञ्चार माध्यममा ठाउँ पाउँदैनन् । किन कि नेता बाहेक अरु मानिस सत्य बोल्छन् । सत्य बोली कलाविहिन हुन्छ । तब त्यस्तो कलाविहीन बोली सञ्चार माध्यमलाई के काम ?
तर यो कुरामा सञ्चारमाध्यमहरूको पनि खासै दोष छैन । किन कि कलाको प्रचार गर्नु सञ्चार माध्यमको दायित्व नै हो । राज्यले सिर्जना गरेको कलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरेर राज्यको गौरव बढाउनु चौथो अंगको प्रमुख कर्तव्य भित्र पर्दछ । र यो गौरवपूर्ण जिम्मेवारी पूरा गरेर चौथो अंगले महान् काम गरेको छ ।
नेपाली कला बजारमा बेला बेलामा बोल्ने कलाका एकल, संयुक्त र सामूहिक कला प्रदर्शनीहरू हुने गरेका छन् । ती कला प्रदर्शनीमध्ये अधिकांश कलाप्रदर्शनी सहमति शीर्षकका छन् । सहमति शीर्षकमा द्विपक्षीय, बहुपक्षीय, खुला, गोप्य, अद्र्धगोप्य अति गोप्य थुप्रै कला प्रदर्शनी दिनहुँ भैरहेका छन् । टीभि अगाडि एउटा कुरा बोलिएका छन् पछाडि अर्कै कुरा गरिएका छन् । कसैका गोप्य सहमति छन् कसैका खुला चुनौती छन् । आरोपप्रत्यारोपका चाङ धमाधम बढिरहेका छन् तर कसैले कसैको दाल गलाउन सकेको छैन । आफ्नो पार्टीभित्रको भात त गलाउन नसक्नेले अर्को पार्टीका दाल गलाउनु पनि कसरी ?
नेताका कला पनि हात्तीका दाँत जस्ता छन् । जनतालाई देखाउने कला एउटा छ । भित्र नेतानेता जम्मा हुँदा देखाउने कला अर्कै छ । पक्ष र विपक्षी एकै ठाउँमा बस्दा एउटा कला प्रदर्शन हुन्छ, पक्ष पक्ष एक ठाउँमा बस्दा र विपक्षी विपक्षी एक ठाउँ बस्दा अर्कै कला देखिन्छ । मञ्चमा भाषण गर्दा एउटा कला, कार्यकर्तासँग कोठामा भेट्दा अर्कै कला, समाजमा एउटा कला परिवारमा अर्कै कला । कतै खुला कला कतै गोप्य कला तर जताततै कलैकला
अतिगोप्य, गोप्य, अर्धगोप्य, अतिखुला, खुला, अर्धखुला, छ्याङ्गै वा ह्वाङ्गै जे समझदारी भए पनि समझदारीका विषयमा नेताहरूका आ–आफ्ना व्याख्या जो छन्, ती ज्यादै कलात्मक व्याख्या छन् । एउटा नेताले चर्को आवाजमा आफ्नो व्याख्या बाण प्रक्षेपण गरेको सुन्दा उसैले बोलेको ठीक हो जस्तो लाग्छ, फेरि अर्को नेताले व्याख्या गरेको सुन्दा उसैको पो ठीक हो त जस्तो लाग्छ । अब त हामी जनताको दिमाग पनि फोल्डिङ्ग भैसकेको छ । ऊ नेताको कुरा सुन्दा उतै फोल्ड भएर ठीक भनिठान्नु पर्ने । फेरि अर्को नेताले बोल्दा उतै फोल्ड हुनुपर्ने । हाम्रो बुझ्ने क्षमता पनि देशको हावा, पानी र माटो सुहाउँदो छ । जसले कलापूर्ण बोल्यो उतै फोल्ड । गजब छ नेपाली दिमाग पनि ।
र अन्त्यमा, यो कला प्रदर्शनी मात्र होइन, कलाप्रतियोगिता नै हो । त्यसैले प्रतियोगितामा उत्रिएकामध्ये कुनै न कुनै प्रतियोगीलाई सर्वोत्कृष्ट घोषित त गर्नैपर्छ । यो कला प्रतियोगिता भएकाले कलाविहीन सही बोल्ने लाई हराएर कलापूर्ण झुटो बोल्नेलाई सर्वोत्कृष्ट घोषित गर्नुपर्ने हुन्छ । त्यसैले लौ लौ अब सर्वोत्कृष्ट नेता छानौँ त कसले बढी झुट बोलेको छ ?

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x