साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूतपूर्व साथी

Nepal Telecom ad

हामी
एकपटक– सँगै हिँड्थ्यौं
अभावका क्षणहरू धित मरून्जेल खप्थ्यौं
भोक बाँड्थ्यौं
एउटाको शोक मेट्न अर्को हत्ते गर्थ्यौं
मरिमेटेर एउटाको काम अर्कोले फत्ते गर्थ्यौं
एउटाको ओठमा अर्कोको खुसी साट्थ्यौं
एउटाले खाएको सुनेर पनि
अर्कोको पेट भर्थ्र्यौंं
र, मान्छेहरूले हामीलाई साथी भन्न थाले
एकलाई अर्कोको पूरक गन्न थाले
हामी पनि खुसी भयौं
हामी अभाव र सङ्कटग्रस्त क्षणहरूमा थियौं
हामी साँच्चै साथी–साथी थियौँ ।

समय,
हाम्रा हातबाट चिप्लँदै गयो
समय हाम्रा साथबाट पनि चिप्लँदै गयो
समय सर्वत्रबाट चिप्लँदै गयो
आँधी–बेहरीबाट चिप्लँदै गयो
आँधी–बेहरी आयो ! भूकम्प गयो !
समय छिप्पियो– कठोर भयो
हाम्रा परिवेशहरू फेरिए
हाम्रा क्षितिजहरू कहिले बन्द भए, घेरिए
हाम्रा क्षितिजहरू कहिले खुला भए
हामी बन्दभित्र पनि बन्द हुँदै गयौं
हामी नजिक–टाढा, नजिक–टाढा हुँदै रह्यौं ।
तर, आज
हामी भोक बाँड्दैनौं
सँगै हिँड्दैनौं
अभावका क्षणहरू सँगै खप्दैनौं
एउटाको शोक मेट्न अर्काले हत्ते गर्दैनौं
एउटाको काम पनि अर्काले फत्ते गर्दैनौं
न ओठको खुसी साट्छौं
न एउटाले हात पारेको करोडौंबाट
अर्काको छाक टार्छौं
मान्छेहरूले पनि हामीलाई साथी भन्दैनन्
एकलाई अर्काको पूरक गन्दैनन् ।

र एक दिन
एउटा चोकमा
ऊ भाषण गर्दै रहेछ
छेउको पसलमा म उधारो रासन माग्दै थिएँ
पसलेले जमानत खोजे जस्तै
आँखा सान पारेर सोध्यो–
ऊ तपाईंको साथी हो अरे !
मैले पसलेलाई भनें– ऊ ठूलो नेता हो
उसको बेइज्जत नगर !
पसलेले जिद्दी छोडेन र भन्यो–
सबैले भन्छन्– ऊ तपाईंको साथी हो अरे !
मैले अनुनय–विनय गरेँ र भनेँ–
साथी त थियो
तर, अहिले त भूतपूर्व भयो ।
हत् ! साथी पनि कतै भूतपूर्व हुन्छ र ?
हुँदैन !
साथीलाई त विचारले छेक्तैन
सम्पत्तिले झन् रोक्दैन !
ऊ ठूलो भयो र भाषण गर्दै छ
तपाईं उसको अगाडि गएर ताली मार्नुहोस्
उसको भाषण फलेपछि
तपाईंले बाली पाउनुहुनेछ
उसका असल–असल बानी अरूलाई भन्नुहोस्
उसको कमिसन तपाईंको हिस्सामा गन्नुहोस्
तपाईंहरूको मित्रता झन् झाँगिने छ
साथीसँग तपाईंको नाम
स्वागतद्वारमा टाँगिनेछ !
भयो, कहिलेसम्म किन्नुहुन्छ उधारो रासन ?
तपाईंको स्वागत गर्न पर्खिरहेछ साथीको भाषण
सोच्नुहोु् र भुल नगर्नुहोस्–
ऊसँगै अरू पनि त्यसो भन्दै गए
म निरिह बनेर सुन्दै गएँ ।

तर हो,
ऊ हिजो मेरो साथी थियो
आज ऊ भाषण गर्दै छ !
म उधारो रासन खोज्दै छु
पसले उधारो नदिन टार्दै छ
मलाई शर्मिन्दा पार्दै छ
आज त उसको बाटो उता छ
मेरो त जिन्दगीको राँटो यता छ
उसका आँखा कमजोर बनेका छन्
मलाई हेर्न रुचाउँदैनन्
मेरा हातहरू गरूङ्गा हुँदै छन्
लत्रिएका छन्– उठ्दैनन्
ऊ मेरो भूतपूर्व साथी हो
विचरा ! पसलेको रासन डुब्न सक्छ
अनि त ऊ मलाई भाषणतिर पठाउँछ
तर हो, ऊ मेरो साथी थियो
अहिले भूतपूर्व भएको छ
अनि म भन्छु–
‘पसले दाइ ! मलाइ रासन नदिनू
र, मात्र आज म उसलाई सम्झिरहन पाउँछु
नत्र त, पकाउने, खाने, भाँडा माझ्ने लन्ठामा
भुसुक्कै म उसलाई बिर्सन सक्छु
ऊ मेरो भूतपूर्व साथी हो
तर मेरो स्मृति भने वर्तमान हो ।’

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x