साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा लागि नजाने गाउँको बाटो : डाढो

‘हातका मैला सुनका थैला के गर्नु धनले’ भन्ने हाम्रा उहिलेका महाकवि त्यही हातको मयल नपाएर अकालमै मरेका थिए रे ।

Nepal Telecom ad

’नजाने गाउँको बार्ट नसोध्नू ।’ अब यस उक्तिको महत्त्व रत्न पार्कको छेउमा बसेर जोखना हेर्ने व्यक्तिको जति पनि छैन । यस देशमा कुनै पनि मान्छेले आफूले जानेको काम मात्र गर्नुपर्छ भन्ने नियम बनेको छैन । राज नीतिको क ख नजानेको व्यक्ति यहाँ मन्त्री हुन सक्छ, मन्त्री भएको भोलिपल्टै राजनीतिका विषयमा मकै भुट्दा झैं पटटट भाषण दिन समर्थ हुन्छ । इञ्जिनीयर स्वास्थ्य सेवा विभागका कुशल हाकिम साबित हुन्छन् यहाँ । अनि एफ.आर.सी.एस. र एम.आर.सी.पी.को पुच्छर झुण्ड्याउने डाक्टरहरू खानी विभाग वा भवन विभागका नाइके हुन सक्छन् भने नजाने गाउँको बाटो नसोध्नू भनेर कसैले कसैलाई अर्ती दिने अधिकार अन्त भए पनि नेपालमा ठ्याम्मै हुन सक्तैन । अब एउटा तर्क गरौं, डा. धनञ्जय रिमाल हास्य लेखक भएर राष्ट्रिय सभागृहमा श्रोताहरूलाई हँसाउन सक्छ भने घटोत्कच अथवा रामकुमार पाँडे हातमा स्टेथेस्कोप झुण्ड्याएर वीर अस्पतालमा बसेर रोगी जाँच्न किन सक्तैन ? त्यसैले आज म कस्सिएको छु अहास्य-अव्यंग्य लेख लेख्न, नेपालको परम्परालाई अझ उज्ज्वल पार्न ।

डाढो को हो, के हो ? त्यसको बाबुबाजे को हुन् ? त्यो कहाँ बस्छ, के खान्छ ? धरोधर्म मलाई केही पनि थाहा छैन । तर माथि नै भनिहालेँ कुनै पनि काम आफूले जानेको मात्र गर्नुपर्छ भन्ने कुनै नियम यहाँ छैन । त्यसैले डाढोका विषयमा आफ्नो गिदीले भ्याएसम्म बेलीविस्तार लाउने जमर्को म गर्दैछु । डाढो पक्का पनि पहाडको पर्यायवाची होइन, त्यहाँ चन्द्रविन्दु चाहिन्थ्यो, डाँडो हुनु पथ्र्यो । गाउँ घरमा धुरीमा तेस्र्या काठलाई पनि डाँडो भन्छन् । यति मामूली अर्थको भइदिएका भए त्यसबारे लेख नै तयार पार्ने आवश्यकता हुने थिएन । मामूली कुरो वा व्यक्तिलाई महत्त्व दिइने देश होइन यो । त्यसो भए यो डाढो हो के ? हाम्रो गाउँ घरमा कहिलेकाहीं डाडो (डाडो- डिष्ट्रिक्ट एग्रिकल्चर डेभेलपमेण्ट अफिसर प्रर्थात् जिल्ला कृषि विकास अधिकृत ।) भन्ने व्यक्ति आउँछन् जो किसानलाई आधुनिक खेतीपाती गर्ने सल्लाह दिन्छन् । तर आधुनिक खेतीपातीका लागि चाहिने सामग्री चाहिँ दिदैनन् । तिनलाई किन डाडो भनियो त्यो मलाई थाहा छैन । मैले लेख्नुपर्ने डाढो तिनै होलान् जस्तो पनि लागेन ।

हुन त पक्का पनि यो केही हुनै पर्छ, मेरो मथिंगलले बुझ्न नसकेको मात्रै हो । एकाबिहानै कौवाले समाचार ल्यायो- ’ल है शर्मा एक पल्ट फेरि बेचिने मौका पाउँदै छस् । हास्य-व्यंग्य लेखकहरूको जोगी तिहुन् डाढो निस्कँदै छ ।’ कसैले नसम्झे पनि कहिलेकाहीं सम्झिदिने मेरा लागि त्यही कौवा छ । यसमा पनि मौका चुकियो भने मेरो अवस्था पछि कहिलै मन्त्री हुन नसक्ने अवस्थाको भूतपूर्वको मन्त्री जस्तै हुन के बेर ! तर मर्का पर्‍यो आफूलाई अलिकति पनि अनुभव नभएका विषयमा कलम चलाउनुपर्ने स्थितिले गर्दा नखाऊँ त दिनभरको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार । नलेखूँ त आजसम्म कनिकुथी कमाएको नाम भासभुस हुने डर, लेखूँ त अर्कालाई उल्ली- बिल्लीको पात्र हुनुपर्ने हो कि भन्ने पीर । यस्तै पीर र पछुताउमा दिन फुतु फुतु बित्दै गएछन् मानो ‘अर्काले सय दुई सय वर्षमा गरेको काम हामीले दस बीस वर्षमै गर्नुपर्छ’ भन्दा भन्दै अरूले एक वर्षमा गरेको काम हामीले दस बीस वर्षमा पनि गर्न नसकेको कुरो चालै नपाउने नेपाली राष्ट्रिय चरित्र ममा पूणर् रूपले चरितार्थ भइदिएछ । त्यस्तैमा अर्को दिन बिहान फेरि कौवाले समाचार ल्यायो साह्रै मौका फुस्कन आँट्यो । सबै महारथीेहरू शस्त्रास्त्रले लेस भएर रणक्षेत्रमा जम्मा भइसके । सबै तँ एक जनालाई कुरिरहेछन् ।’ म झन् आत्तिएँ । त्यसपछि समाचार आयो- ‘बाबु तँ त फुस्किस् । डाढो त छापिएर बाइण्डिङमा पुगिसक्यो ।’ अन्त्य परेपछि तात्ने नेपालीको जन्मजात गुण, म कसरी अपवाद हुन सक्थें र । मर्ने परेपछि खुट्टा तानेर, कसो !

धेरै प्रयासपछि डाढोको वास्तविक अर्थ पैल्याएँ मैले । यो रहेछ असन्तोषको छोरो, ईष्र्याको नाति, रिसको बाबु, औडाहाको साख्खे दाजु, छुल्याहाको भाइ । यसरी बंशावली पत्ता त लगाएँ डाढोको, तर यसको गुण अवगुण, रंग रूप, बानी-बेहोरा, रहन-सहन पैल्याउन चाहिं घुस नखाने हाकिम पत्ता लगाउन झैं कठिनाइ पर्‍यो मलाई । मैले कसैको डाढो कहिल्यै गरिनँ अथवा गर्न जानिनँ । नत्र आज म दायाँ-बायाँ तरुनी राखेर, भव्य महलमा बसेर कुखुराका साँप्रा र जोनीवाकर लडाइरहेको हुने थिएँ । अहिलेको जस्तो यहाँबाट तीस कोस पर रहेकी अनुहार न- दनुवारकी जोईलाई सम्झी-सम्झी साँधेको भटमाससँग ’लोकल ठर्रा’ खाएर जाडो धपाउने प्रयास गर्न पर्ने थिएन । दस बर्ष अघिसम्म पेटीमा नाङ्लो पसल याप्ने फलानो अहिले कार, बिल्डिङ, ब्यांक ब्यालेन्स, फेरी-फेरी षोडशो आादि केके हुन् केकेका पति भइसक्यो । त्यसको डाढो गरेर, मैले पनि त्यस्तै हुन चाहेको भए अर्थात् उसले अपनाएकै तरीका अपनाएको भए के म पनि केही न केही पति हुन सक्थिनँ र ! छिः कसैले पनि कुनै जुक्तिले पैसा कमायो, आफूले सकिएन भन्दैमा के डाढो गर्नु ! सक्छौभने कमाऊन तिमी पनि । पैसाको बिस्कुन लगाइदिएकै छ, सोहोर्न सक्ने साहस भएकाले सोहोरेकै छन्, यो दस-पन्ध्र वर्षमा कति कौडीपति करोडपति भए, कति अलपत्री लखपति भए तिनको डाढो तिनै गर्छन् जो अहिले पनि कङ्गालपति छन् । त्यसैले म तिनको डाढो गर्ने पक्षमा छैनँ ।

हाम्रा आदर्शवादी पिता पुर्खा हामीलाई उपदेश दिन्थे- धन हातको मयल हो, कलहको जरा हो, बडप्पन र घमण्डको कारण हो । ती कति मूर्ख थिए आज पो थाहा पाइयो । त्यस्ता मूर्खको सन्तान म भुत्रो सुख पाउँथें र ! उहिले मान्छे कम थिए, बेसाहा सस्तो थियो । बिहान बेलुका डम्म डकार्न पाउने गरी खान पाइहाल्थे । अहिले ती उपदेशकहरू फेरि झरून् न त यस हिमवत्खण्डमा अनि देख्थे नहुनु नै जिउमा मयल पर्नाको कारण रहेछ । (रातोमाटो र कमेरोले मयल फाल्ने जमाना विति सक्यो- अहिले त हरर्र बास्ना आउने साबुन चाहिन्छ र पैसा तिरेर किन्नुपर्छ, पुर्पुरो सेकाएर लाम लाग्नुपर्छ), पैसा नहुँदा घरमा कसरी चूलो पनि बल्दो रहेनछ, स्वास्नीले पनि पोइलाई माया गर्दी रहिनछ, कलहको जरो ने नहुनी नै रहेछ । ‘हातका मैला सुनका थैला के गर्नु धनले’ भन्ने हाम्रा उहिलेका महाकवि त्यही हातको मयल नपाएर अकालमै मरेका थिए रे ।

घरमा स्वास्नी र स्याउँस्याउँती भन्टयाङ भुण्टुङ भएको त्यो अधबैसे फलानो हेर्नोस् कसरी आधुनिक फेशनले सजिसजाउ भएर रोजी-रोजी युवतीसँग प्रेमालाप गर्छ, कहिले सिनेमा त कहिले पिकनिक जान्छ, कहिले रेष्टुराँ त कहिले बारमा पस्छ । म जस्तो पानीमरुवा र डर छेरुवाचाहिं उसको ‘रोमाण्टिक जीवन देखेर र्‍याल चुहाउँछ, बस्छ- डाढो चाहिं गर्दैन । फाइदै के ? अचेल जताततै छ्यासछ्यास्ती पाउन सकिने तितरी पंखीलाई अघि-पछि लाउन जसले पनि सक्छ, खल्ती गह्रौं मात्र चाहिन्छ । त्यसैले डाढोको परिभाषा दिनुपर्‍यो भने डाढो कसैको उन्नति र प्रगति देखेर आफू पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने इच्छा र कामना गर्नु हो, भन्न सकिन्छ । नहुनेले हुनेको डाढो गर्छ । नयाँ सडकको पेटीमा भांग्रा ओढेर सुत्ने माग्ने केटाको डाढो कसैले गर्दैन । कहिलेकाही मान्छे अधोगतितिर लाग्दा पनि उ डाढोको पात्र होइ दिन्छ । अस्ति नै केही लेखकले किताप छपाउने पैसा बटुल्न जुत्ता पालीस गरेको अनि पछि केही खबर-कागजले तिनलाई धुरीमा पुयाइदिएको देख्दा सत्ये मलाई कता कता डाढो उठेको थियो र नाम कमाउने यति सजिलो मौका गुमाएकामा मलाई कैयौं दिन पछुतो पनि भएथ्यो ।

हाम्रो नेपालमा मरेपछि मानमनितो गर्ने, प्रशस्ति गाउने, सालिक ठड्याउने परम्परा छ । त्यसैले मलाई कुनै नाम चलेका लेखक कवि कहिल्यै नमरिदिए हुन्थ्यो जस्तो लाग्छ । वास्तवमा यो तिनले मरेका भोलिपल्ट पाउने मान, सम्मानको डाढो हो ।

भन्न त मैले म कसैको डाढो गर्दिनँ भनें, तर यो मन्त्रीको आश्वासन जस्तो झूटो हो । वास्तवमा डाढो घरव्यापी, गाउँव्यापी, देशव्यापी, अन्तर्राष्ट्रव्यापी र अझ अन्तरिक्षव्यापी छ । आमाको दूध चुस्न लागेको छोरोको बाबुले डाढो गर्छभने यसको सर्वव्यापकतामा कुनै शंका हुन सक्तैन । नराम्री स्वास्नीका लोग्नेले राम्री स्वास्नीको लोग्नेको डाढो गर्नु त स्वाभाविकै हो तर अक्सर राम्री स्वास्नीका लोग्ने पनि नराम्रीका लोग्नेको डाढो गर्छन् किन रे भने आफ्नी स्वास्नीलाई सबैले आँखा लगाए रे उसकोलाई चाहिं कसैले लगाउँदैनन् रे । कस्तो मजाको डाढो ! म त भन्छु यो विश्व नै डाढोमा बेह्रिएको छ । डाढोको अस्तित्व नभइदिएको भए मान्छे अझै जङ्गली अवस्थामा हुन्थ्यो । कन्दमूल र जङ्गली जनावरका मासु खाएर जीवन निर्वाह गथ्र्यो- आहा कति आनन्दी हुँदो हो त्यस्तो जीवन ! ल हेर्नोस् यसमा पनि डाढो ।

मलाई अहिले डाढो लागिरहेछ त्यस व्यक्तिको जसले ‘डाढो’ निकाल्ने मौलिक विचार निकाल्यो । कागतको यो अनिकालमा किताप छपाउन तम्सने व्यक्ति अवश्य पनि डाढोको पात्र हो । र अन्तमा मलाई आफ्नै डाढो लाग्यो जसले यो लेख आखिर तयार पारिछाड्यो र छपाइछाड्यो ।

(घटोत्कच शर्माका नामबाट ‘डाढो’ कौवा प्रकाशन, २०३१ मा प्रकाशित)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
महानगरबाट जीउँदै फर्कें म

महानगरबाट जीउँदै फर्कें म

बालमुकुन्द देव पाण्डे
चुनाव जिताउने संघको स्थापना

चुनाव जिताउने संघको स्थापना

बालमुकुन्द देव पाण्डे
मेटिन नसकेका डाेबहरू

मेटिन नसकेका डाेबहरू

बालमुकुन्द देव पाण्डे
गोड्से साहित्यकार जिन्दावाद

गोड्से साहित्यकार जिन्दावाद

बालमुकुन्द देव पाण्डे
केही नयाँ लोकगीत

केही नयाँ लोकगीत

बालमुकुन्द देव पाण्डे
रुई फुई उई दुई ! 

रुई फुई उई दुई...

बालमुकुन्द देव पाण्डे
0
Would love your thoughts, please comment.x
()
x