साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलाबडालाई लाग्नुपर्ने रोग

देशको जीउमा अब फगत एउटा लगाैंटी बाँकी छ र त्यो लगौंटी तान्ने जमर्कोमा गिर्नसम्म गिरिसकेका केही निर्लज्ज र मूर्ख नेताहरू व्यस्त छन् । जसको जीउमा लगौंटी हुँदैन, ऊ नै सबलाई उछिनेर अर्काको लगौंटी खोस्न तम्सन्छ ।

Nepal Telecom ad

आफू स्वयम् साहित्यको दीर्घरोगी हुँदाहुँदै पनि केही उत्कृष्ट रोगहरूबारे केही साता अघिसम्म पनि मैले राम्ररी अध्ययन गर्न पाएको थिइनँ । यसो त साहित्य स्वयम् नै हार्दिक प्रेमिलो रोग हो र प्रत्येक साहित्यकार रोगविहीन हुनै सक्दैन । साहित्यमा लागेको मानिस आफूलाई स्वस्थ छु भन्ठान्छ भने योभन्दा अर्को विडम्बना के छ ? साहित्यकार हुन लेखलाख गर्ने कुलतमा लागेकै हुनुपर्छ भनी कतै किटान भएको पाइँदैन ।

तथापि, वाञ्छनीय न्यूनतम योग्यताका हकमा अलिअलि सनकी पाराको हुनै पर्ने, यदाकदा खुस्किएको कुरापर्यन्त धाराप्रवाह भन्न सक्ने र गोजीचाहिँ यथासक्य रित्तै रहेको हुनुपर्ने प्रावधानलाई प्राथमिकता लक्षण मान्ने चलन छ । बेलाबखत काकताली परेर केही लेखिहाले पनि त्यसलाई कहीं-कतै छपाउन धाउनु पनि यस रोगका बाहिरी लक्षणका रूपमा स्वीकृत छन् ।

सम्पादकको कार्यव्यस्तता तथा अकर्मण्यताबाट झुक्किएर अथवा खुस्किएर कथम्कदाचित रचनाको प्रकाशन दुर्भाग्यवश भइ नै हाले पनि आत्तिने गर्नु हुन्न । आफ्नो लेख प्रकाशित भएको पत्रिकाविशेषको १०-२० प्रति किनेर पीपलको बोटको परिक्रमा गर्ने क्रममा बरालिइरहने साहित्यप्रेमीहरूमाझ निःशुल्क वितरण गर्दै हिँड्न सङ्कोच गर्नु हुन्न । लेखबारे सुनियोजित प्रचार-प्रसार र समालोचनाका पर्रा छोड्न लगाउन आफैँले जाँगर चलाउनुपर्छ । जुन साहित्यमा उपन्यास ‘अलिखित’ लेखक ‘निराकार’ र कविता ‘हुन् र होइनन्’ दुवै हुने गर्छ, त्यहाँ लेखेरमात्र केही होला भन्ठान्नु मूर्खता हो भन्ने मलाई राम्ररी थाहा छ ।

उल्लिखित सप्पै रोगहरू ममा नभएका होइनन्, यति हुँदाहुँदै पनि हृदयरोग, मधुमेह र रक्तचाप यी तीनै दयालु रोगले भगवान् दत्तात्रय नै प्रकट भएझैँ मकहाँ डेरा-डण्डा जमाउन आउनुचाहिँ वस्तुतः प्रतिष्ठाकै सन्दर्भ हो भन्ने मेरो विचार छ । उपयुक्त पात्र नपाएर मकहाँ बास बस्न आएको पनि हुन सक्छ । जसरी साहित्यिक पुरस्कारले उपयुक्त आफन्तको अभावमा यदाकदा मुल्तबी बस्नुपर्ने हुने गर्छ, त्यही गौरवपूणर् अवस्थितिमा रोगी स्वयम् पनि थान्को लागेको हुन सक्छ । नत्र भने मधुमेहको मकहाँ के प्रयोजन ? यो त ‘मधुपर्क’ का निम्ति लेख्नेहरूमा लाग्नुपर्ने हो । अझ भनौँ- एक मुठी चिनी बुक्याएर बोल्न र निवेदन गर्न सक्ने चाप्लुसी र चम्चेलाई यसले कक्य्राउनुपर्ने हो । हृदय नै नभएको मजस्तो पतितकहाँ हृदयरोग के पाउँला भनी आएको हो ? यसले त यस्सो बैङ्क-सैकका जी.एम.-सी.एम. को घर-दैलो धाउनु नि । बैङ्कलाई नै बरु रोगी बनाउला, जी.एम. भने उम्कने पक्का छ । झण्डै झण्डै रगत नै नभएको मेरो शरीरमा रक्तको चाप किन उच्च हुन पुग्यो ? मलाई के आशा छ भने यो सार्वजनिक महत्त्वको विषय हुँदा सरकारले यसको जाँच गर्न एउटा आयोगको गठन अवश्य गर्नेछ, जसले मेरो गोलोक-गमनको वार्षिकोत्सवअगावै आफ्नो प्रतिवेदन जनसमक्ष प्रस्तुत गर्नेछ ।

मेरो खानपान कतिसम्म नियन्त्रित छ भने यदि त्यस्तै खानपान देशको प्रत्येक जीवले गर्ने हो भने अरुण तेस्रो योजनाका निम्ति अरू मुलुकको अनुदान नै चाहिन्नथ्यो । तात्पर्य के भने- गुलियो खानै नहुने, नुनिलो छुनै नहुने र चिल्लो सुघ्नै नहुने र जहाँसम्म भातको कुरा छ, मेरा पिताश्रीले मेरो नामकरण नै ‘भाते’ गर्नाका बाबजूद पनि जातैले दिएको भातबाट पर्यन्त मैले विमुख हुनुपर्‍यो यिनताक म के खाएर बाँचेको हुँला भन्ने जिज्ञासा तपाईंलाई होला । मैले पानी खाएँ, मुरली मकै खाएँ तथापि मेरो पेट कुनै सुकन्याका पेटझैँ लाग्यालाग्यै छ, जसरी मनमोहनजीका गाला लाग्या छन्, मेरा गाला पनि चिल्ला भएका छन् जहाँसम्म घाँटीको सम्बन्ध छ, माधवजीको घाँटी मोटाएझैँ मेरो घाँटी मोटाएर गैंडाको घाँटीभन्दा पनि वीभत्साकार दृष्टिगोचर हुँदो छ ।

उपरीमाथि थुपरी भने मकैका च्याँख्लाद्वारा प्रदत्त ऊर्जाको भरमा डाक्टर महोदयको सल्लाहअनुसार मैले रोजको एक घण्टा पैदल हिँड्नै पर्छ अरे ! “विनाकामको पनि कोही हिँडिरहन्छ, बौलाहा हो र हातमा कतारो लिएर भौँतारिइरहन् ?” भन्ने प्रश्न गर्नमात्र के भ्याएको थिएँ, डा. विश्वबन्धु शर्माले केही यस्ता गोलीहरू लेखिदिनुभयो, म हिँड्याहिँड्यै छु र रोग पनि गतिमान् नै छ । अचेल मेरो काम गोली खानु, हिँड्नु, अफिसमा हाजिर हुनु र फेरि हिँडेर घर पुग्नुमा नै सीमित छ । प्रमोशन त मेरो आजन्म भएन, यता स्थिति कस्तो आइलाग्यो भने मैले भर्‍याङ चढ्नै नहुने भयो । मजस्तै अन्य सहकर्मी रोगीहरू ‘लिफ्ट’ को प्रयोग गरेर माथि पुगे । जसलाई भर्‍याङ चढ्नमा प्रतिबन्ध छ, त्यसले ‘लिफ्ट’ खोज्नुहुन्न भनी चित्त बुझाउँछ र अरूलाई ‘लिफ्ट’ दिन्न पनि । यसै पनि यस देशको कुनचाहिं जागीरेले साँच्चिकै काम गरेको छ र ? म स्वयम्ले जति वर्ष काम गर्ने शर्तमा जागीर खाएँ, त्यति वर्ष सुपथ ‘काम’ नै गरेको भए देशको यही गति किन हुन्थ्यो । काम नगर्नु राष्ट्रिय रोग नै भइसकेको छ ।

‘यसो भन्दा तँलाई लाज लाग्दैन ?’ भनी तपाईं गर्जनुहोला, तर म निवेदन गर्छु- यस देशमा कसलाई पो लाज लाग्या छ र मलाई लाग्नु ? यस देशमा नाङ्गो हुन बाँकी अब के पो छ र ? धैर्य गर्नोस्, देश स्वयम्पर्यन्त अर्को मध्यावधि चुनावताक नाङ्गिनेछ । देशको जीउमा अब फगत एउटा लगाैंटी बाँकी छ र त्यो लगौंटी तान्ने जमर्कोमा गिर्नसम्म गिरिसकेका केही निर्लज्ज र मूर्ख नेताहरू व्यस्त छन् । जसको जीउमा लगौंटी हुँदैन, ऊ नै सबलाई उछिनेर अर्काको लगौंटी खोस्न तम्सन्छ ।

हाम्रो देशमा केही नेताहरू यस्ता छन्, जसलाई हिंजडा भन्न कुनै भद्रो हेर्नुपर्दैन । उनको लगौंटी तान्नोस् कि अन्डरबियर, स्थितिमा कुनै फरक आउँदैन । कहिलेकाहीँ यी आफूबीच नै लगौंटी तानातान गर्ने गर्छन्, हेर्ने जिनिस हेरेर चित्त बुझाउँछन् र तृप्त हुन्छन् । जहाँसम्म देखाउनुपर्ने जिनिसहरूको सन्दर्भ छ, बेलामौका नै नबिचारी देखाउँछन् । कुरा गर्दा राष्ट्रिय सहमतिदेखि लिएर एमालेकरणसम्मका विषयहरू पर्छन् र कामचाहिँ जहाँको तहीँ थियो, छ र रहनेछ । हाम्रो देशमा गरिखानेको सङ्ख्या कति पो छ र ! यसो त गरेरै खाने जाँगर भए राजनीतिमा नै कोही किन पस्थ्यो ! अरूको त के कुरा, नेताहरू स्वयम् नै भन्छन् “जोगी हुन राजनीतिमा को पो लाग्छ र !”

यसै पनि राजनीतिमा लागेर जोगी भएको मैले कोही देखेको छैन । जोगी त जनता हुन्, जो जस्तोसुकै नीच र निर्लज्ज नेतालाई चुनाव आयो कि भीक्षादान गर्न तम्सन्छन् ।

एक पल्ट आफ्नै कुबुद्धिले सत्ता गुमाएको नेता जित्ने कल्पनामा पुनः चुनाव लड्न खोज्छ । उसको बुद्धिमा डढेलो लागेको हो कि गिदीमा कीरा परेको हो- खुट्याउन गाह्रो छ । घरिघरि चुनाव निम्त्याउने र थरिथरिका निहुँ थापेर सत्तामा पुग्न उखरमाउलो हुने गरेका यस्तो देशका अनपेक्षित कपूतहरू कहिले ऐना अनुमान हेर्ने गर्छन् वा गर्दैनन् ? यो शोधको विषय हुन आएको छ । आफैँले निम्त्याएको चुनावबाट तिनीहरूको रहलपहल प्रतिष्ठा यता आएर कति खस्यो भन्ने तिनको बौद्धिक बर्कतको विषय होइन । यसको निम्ति त विशेष कम्प्युटरको आवश्यकता छ, जुन तिनको पहुँचबाहिर छ । अझै पनि आफूलाई लोकप्रिय ठान्ने भ्रममा पर्नु र पहिलेकै पदमा प्रतिष्ठित हुन खोज्ने दुस्साहस गर्नु र दुराकाङ्क्क्षा राख्नु तथा जिल्ला-जिल्ला चहार्नु- यी सबका पछाडि कुन तत्त्व, शक्ति र प्रेरणा छ ? यो मैले त के, स्वयम् चहार्नेले समेत बुझेका छैनन् भन्ने म ठोकुवा गर्छु । ठूलाबडालाई लाग्नुपर्ने रोग भन्या नै सत्ताको रोग हो र त्यसप्रतिको आशक्ति हो । उता सत्ता स्वयम्को जहाँसम्म प्रश्न छ, ऊ पनि एड्सको कीटाणुविहीन छैन । जनतालाई कण्डम प्रदान गर्ने कुनै दातृसंस्था छ ? छैन भने जनता स्वयम्ले आफ्नो लगौंटी किन नकस्ने ? सावधान ! एड्स आउँदै छ ।

‘गोरखापत्र’, २०५२ वैशाख १६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
0
Would love your thoughts, please comment.x
()
x