तिलक लुइटेलबोका-खसीको हानाहान !
होस नभएका बोका खसीहरू पसलको अर्का कुनामा आपसमा हानाहान गर्दै देखिए । हामी लठुवाहरू चाहिँ हेरेकाहेर्यै पो भएछौँ ।

बजारबाट आउँदा जाँदा बाटाका छेउमा एउटा संसद भवन जस्तै राम्रो पसल देखिन्छ । हामी ग्राहकका लागि राम्रो त्यही हुन्छ, जुन महँगो छ । तब त हिजोआजको महँगीमा अनेकौँ खर्च गरेर पनि पुराना नेताहरू चुनाव लडछ्न् र जित्छन्, आफ्ना रुचि अनुसारको पद भागबन्डामा लिन्छन् ।
त्यस पसलको हाल पनि उही हो । बिहान बेलुका ग्राहकको भिड उसरी नै लागिरहन्छ । मन्त्रालय र विशेष पदका लागि नेताहरूले एकापसमा छिर्के हान्ने र घुर्चा घुर्ची गरे जस्तै आफूलाई चाहिने मालका लागि बेला बेला मुख बजाउँछन्, पाखुरा पनि सुर्कन्छन् ।
नेताहरूले चलिरहेको संसद भङ्ग गर्दा होस् वा कामचलाउ सरकार बनाउन होस्, न्यायालयले भूमिका खेलेझैँ पसलका साहुजीले नबोली उपाय नै छैन । नसोची बोलौँ भने सधैँको ठुला ग्राहकले थर्काउला भन्ने पिर, त्यसो त ऊ अलिक मिचाहा पनि छ भनेर साहुजीलाई थाहा नभएको होइन । नयाँ र सानातिना ग्राहकसँग बोल्दा पनि होची अर्घेली पर्यो भने भड्किने डर ।
चुनावमा कुनै पनि पार्टीले स्पष्ट बहुमत नल्याउँदा सरकार बनाउन जुन अपठ्यारो परेको सर्वसाधारणले देख्छन्, साहुजीलाई त्यस्तै परेको हो कि भन्नू जस्तो स्थिति छ । त्यो पसल छोडेर अर्कातिर लागौँ भने ग्राहकलाई विशेषतः मन परेको ठाउँ ।
पसलेले पसलमा असिन पसिन हुँदै ग्राहकको इच्छा मुताबिक वस्तु उपलब्ध गराएको पनि पैसाका लागि त हो नि । पसलका साहुजी पनि ग्राहक जोगाउने योजनामै छन् । ग्राहकका कचकचले दिमाग खाइसक्दा पनि मनको झर्को नदेखाई उनी सबैलाई शान्त गराउने कोसिसमा पालै पालो सामान बेचिरहन्छन् ।
अघिसम्म आफूसँगै घाँस खोस्तै खाएका साथीहरू टुक्रिएर बिकेको हेक्का नराखेका र आफू कुनै पनि बेला चोइटिएर पसलमा बिक्ने सामान बन्छु भन्ने होस नभएका बोका खसीहरू त्यही पसलको अर्का कुनामा आपसमा हानाहान गर्दै देखिए । हामी लठुवाहरू चाहिँ हेरेकाहेर्यै पो भएछौँ ।
०००
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































