सुलसुलेपुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा तीन व्यक्तित्व सम्मानित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सम्मानसहित नगद पुरस्कार दिएर सम्मान गर्नुभएको हो ।

काठमाडौँ, ०८० असार २६ । सरकारले नेपालको राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पुर्याउने तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७९’ प्रदान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पुरस्कार प्रदान गर्नुभयो । राजनीतिक/सैद्धान्तिक विषयगत क्षेत्रमा कमलप्रसाद कोइराला, इतिहास विषयगत क्षेत्रमा बालचन्द्र मिश्र र साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रमा गोपालप्रसाद थपलिया पुरस्कृत हुनुभएको होे । ती पुरस्कारको राशि प्रतिव्यक्ति रु एक लाख रहेको छ ।
वि.सं. २००३ सालको विराटनगर मजदुर हड्ताल र जुलुसमा आठ वर्षको उमेरमा रमिते बनेर सहभागी हुनुभएका कोइराला २०१२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य, २०१९ मा नेकपाको केन्द्रीय सदस्य, २०४७ मा नेकपा एमाले)को केन्द्रीय सदस्य, २०५१ को निर्वाचनमा मोरङ क्षेत्र नं ५ बाट निर्वाचित सांसद तथा २०६४ सालमा दक्षिण कोरियाका लागि नेपाली प्रथम आवासीय राजदूत हुनुहुन्थ्यो ।
वि.सं. २०२२ मा ज्याला बढाउ अभियानबाट शोषण, उत्पीडन विरोधी आन्दोलनमा होमिनुभएका थपलिया २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो । दक्षिण एसियाको कम्युनिष्ट आन्दोलनमा विद्यावारिधि गर्नुभएका मिश्र नेपाल विद्यावारिधि एसोसिएसनका अध्यक्ष, नवप्रवर्तन अनुसन्धान तथा शिक्षा प्रतिष्ठानका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।
सरकारले राजनीति, इतिहास र साहित्य, संस्कृति एवं विज्ञान विषयगत क्षेत्रमा खोज, अनुसन्धान गरी मुलुकको विकास, समृद्धि र सम्वद्र्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि सो पुरस्कारबाट डा बेदुराम भुसाल, प्रा.डा सुरेन्द्र केसी, शान्ता चौधरी, हिरण्यलाल श्रेष्ठ, मोदनाथ प्रश्रित, डा.जगमान गुरुङ, घनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा, जगन्नाथ आचार्य, मोहनचन्द्र अधिकारी, प्रा कृष्णप्रसाद पोखरेल, डा. माधवराज पन्थी, डा. राजेन्द्र विमल लगायत सम्मानित भइसक्नुभएको छ ।
सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेट वक्तव्यमा सो पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको थियो । यो पुरस्कार हरेक वर्ष नेपालको राजनीतिक आन्दोलन तथा राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास र साहित्य तथा संस्कृति गरी तीन क्षेत्रमा खोज, अनुसन्धान र लेखनकार्यमार्फत नेपाली समाजको प्रगतिशील परिवर्तनका निम्ति गरिएको महत्वपूर्ण योगदानलाई कदर गर्दै ती स्रष्टालाई सम्मान गर्दै आएको छ ।
उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सम्मानसहित नगद पुरस्कार दिएर सम्मान गर्नुभएको हो ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले पुरस्कृत प्रतिभाहरुको प्रेरणाबाट यस क्षेत्रमा लागिरहेका अन्य श्रष्टाहरुलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नुहुँदै उहाँका विचारलाई प्रेरणाको रुपमा लिएर देशको समृद्धिका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
०००
– स्रोत : काव्यघर, नेपाल
Subscribe
Login
0 Comments
Oldest











































