साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुली प्रथम

चितवनका कवि अन्जान भट्टराई प्रदीपले कविता 'कुण्डली' का लागि ३० हजार राशिसहित दोस्रो र नुवाकोटका कवि एलिसा एकलासले कविता 'निर्धो बक्ररेखा' का लागि २० हजार राशिसहित तेस्रो स्थान प्राप्त गर्नु भएको छ । १० हजार रूपैयाँ राशिसहित भीमप्रसाद खतिवडा अनुराग 'मेरो यात्रा' कवितामार्फत् सान्त्वना हुनु भएको छ ।

Nepal Telecom ad

मकवानपुर, ०८० असोज २७ ।राष्ट्रिय युवा कविता उत्सव २०८० अन्तर्गत खुला कविता प्रतियोगितामा सुनसरीका कवि सुरज पराजुली कविता ‘पर्खाइ’ का लागि ४० हजार राशि पुरस्कारसहित प्रथम हुनु भएको छ ।

यस्तै चितवनका कवि अन्जान भट्टराई प्रदीपले कविता ‘कुण्डली’ का लागि ३० हजार राशिसहित दोस्रो र नुवाकोटका कवि एलिसा एकलासले कविता ‘निर्धो बक्ररेखा’ का लागि २० हजार राशिसहित तेस्रो स्थान प्राप्त गर्नु भएको छ ।

१० हजार रूपैयाँ राशिसहित भीमप्रसाद खतिवडा अनुराग ‘मेरो यात्रा’ कवितामार्फत् सान्त्वना हुनु भएको छ ।
प्राप्त भएको कूल १५३ कवितामध्ये उत्कृष्ट २० छनौट गरी वाचन समेतका आधारमा अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरिएको निर्णायक मण्डल संयोजक निमेष निखिलले बताउनु भयो ।

उहाँहरूलाई कार्यक्रमका सभाध्यक्ष र प्रमुख अतिथिले कदरपत्रद्वारा सम्मानित गर्नुभएको थियो । वाचनका क्रममा २० मध्ये १८ कविहरू उपस्थित हुनु भयो ।

३ सदस्यीय निर्णायक मण्डलमा काठमाडौँकी कवि विन्दु शर्मा, बागलुङका कवि भूपिन र संयोजक निमेष निखिल रहनु भएको थियो ।

कवितामा वाचन शैलीले सुन्नमा आनन्दित बनाएता पनि कविताको मेरूदण्ड शब्द सिर्जना नै रहेको बताउँदै कवि भूपिनले निर्णय प्रक्रिया निकै कठिन र निर्मम कार्य रहेता पनि मूल्याङ्कनका क्रममा शब्दहरूलाई न्याय दिने कोशिस गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा एकल कविता वाचन सत्रमा कवि विप्लव प्रतीकले सुनाउनु भएको कवितामा दर्शक स्रोताहरू मग्न भएको देखिन्थ्यो ।

सङ्गम उपाध्यक्ष सानु खनालले उहाँ पूर्व पत्रकारका साथै गीतकार, अनुवादक, रङ्गकर्मीका साथै युवा पुस्ताका रोजाइका कविमध्ये एक भएकैले कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा उहाँलाई उपस्थित गराइएको बताउनुभयो ।

किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी गराएकोमा कवि प्रतिकले विभिन्न कार्यक्रमहरूमा यस्तै प्रदर्शनीका लागि जोड गर्नुपर्ने र त्यसले समेत पठन संस्कृतिमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । सर्जकहरूले प्रदर्शनीबाट आफ्नो रोजाइका पुस्तकहरू सङ्कलन गर्नुभएको थियो ।

प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना र साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा शनिबार रोयल प्यालेस हेटौँडामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र प्रदेश युवा परिषद, बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो ।

मन्त्री मोक्तानले युवाहरू लेखन, वाचन लगायत साहित्य सिर्जनामा लाग्नु सकारात्मक पाटो रहेको बताउनु भयो भने उपाध्यक्ष चौलागाईँले पढ्ने मान्छेमा लेख्ने क्षमता हुने हुँदा पुस्तक पढ्नका लागि प्रेरित गर्नुपर्ने र यस अभियानमा सरिक सबै लेखकहरूलाई धन्यवाद प्रकट गर्नुभयो ।

विशिष्ट अतिथि कवि विप्लव प्रतिक र पूर्व सभासद् अनन्त पौडेल रहनु भएको कार्यक्रममा मकवानपुरका सम्पूर्ण साहित्यिक संस्थाबाट प्रतिनिधित्व गर्दै सर्जक सञ्जालका संयोजक तथा कविताका निर्णायक निमेष निखिलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सङ्गम अध्यक्ष डीबी बर्तौलाले मन्तव्यका क्रममा साहित्य सङ्गमले साहित्य क्षेत्रको उन्नयनका लागि गुणात्मक कार्यक्रमहरू गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युवा पुस्तामा कविता क्रेज सन्दर्भमा बहसमा साहित्य समीक्षक घनश्याम घिमिरे, कविद्वय केशव सिलवाल र सीमा आभास सहभागी रहनु भयो ।

बहसलाई सङ्गम अध्यक्ष बर्तौलाले सहजीकरण गर्नुभयो भने समग्र कार्यक्रमलाई सङ्गम सचिव मनोज पोखरेलले सञ्चालन गर्नु भएको हो ।

०००
हेटाैडाबाट संप्रस पाैडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x