साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘हास्यव्यङ्ग्य महारथी : भैरव अर्याल’को कृति विश्लेषण (१)

अस्वस्थ प्रतिस्पर्धा, मानिसका अहंपन आदिलाई असाध्य सुन्दर, अत्यन्त मीठो, औधि कलात्मक र व्यञ्जनात्मकताले सिँगारिएको छ । यिनै प्रसङ्गहरूलाई समालोचकले आफ्नो विश्लेषणको कसीमा घोटेका छन्, मूल्याङ्कनको तुलोमा जोखेका छन् र निष्पक्षताको चाैतारीमा बसेर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।

Nepal Telecom ad

युवराज मैनाली :

साहित्यमा समालोचनाको अत्यन्त ठूलो महत्त्व रहेको छ । सृजनाको परीक्षण, मूल्याङ्कन र सृजनाको मापनविना साहित्यको स्तर कायम हुनै सक्तैन । सृजनाको मापन भएन भने साहित्यका नाममा असाहित्यिक कुराहरू लेखिन्छ । सच्चा साहित्य पछि पर्न जान्छ । यसैले साहित्यको समालोचना हुनैपर्छ । प्रसिद्ध दार्शनिक सुकरातले- “व्यक्ति पूणर् परीक्षित हुनुपर्छ” भनेका छन् । परीक्षणविना व्यक्ति पहिचान गर्न सकिन्न । साहित्यमा पनि यही कुरा लागू हुन्छ । प्लेटोले – “नकारात्मक कुरा लेख्ने साहित्यकारलाई देश निकाला गर्नुपर्छ” भन्ने तर्क राख्छन् । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले समालोचनाको महत्त्वमाथि प्रकाश पार्दै- “सिर्जनात्मक प्रयासको सुनौलो बाली कुन हो मान्छेले जाँचेका छैनन् । त्यसकारण विनासमालोचना उपरफापर गर्छौं । सहालीया दौडमा छौँ । हाम्रो लगाम छैन । हामी सिर्जनाभन्दा समालोचना चाहन्छौँ ।” भन्ने भनाइ राख्न पुग्छन् ।

दार्शनिक, विचारक, स्रष्टा सबैले साहित्यमा समालोचनालाई महत्त्व दिएको देखिन्छ । हुन त स्रष्टा नै स्वयम् पहिलो समालोचक हो । आफ्नो सृजनामा कत्तिको दम छ ? प्रकाशन गर्न योग्य छ/छैन, यसको परीक्षण स्रष्टा आफै गर्न पुग्छ । त्यसैले सृजनाका साथसाथै समालोचना पनि आउँछ भन्दा हुन्छ । श्रुति परम्परामा समेत श्रोताको मौखिक प्रतिक्रियाकै रूपमा पनि समालोचनाको परोक्ष अस्तित्व कायम गरेको देखिन्छ । संस्कृत साहित्यमा र पाश्चात्य साहित्यमा पनि थुप्रै विद्वान्हरूले आ-आफ्ना गहनतम र तर्कपूणर् विचार प्रस्तुत गरेका छन् । शताब्दीऔँ पहिलेका विचारहरूलाई पनि अहिले साहित्यका विश्लेषकहरूले गर्वका साथ प्रस्तुत गरेको देखिन्छ ।

विश्वका महान् साहित्यकारहरूका विषयमा थुप्रै समालोचना भएका छन् । यसबाट साहित्यमा पूणर् परीक्षण र मूल्याङ्कन हुनु जरुरी छ । समालोचकहरूमा केही खास विशेषता पनि हुन आवश्यक हुन जान्छ । समालोचकमा साहित्यिक सिद्धान्तहरूको पूणर् ज्ञान पनि हुनुपर्छ । समकालीन र पूर्वकालीन साहित्यको अध्ययनले परिपक्व बन्नुपर्ने हुन्छ समालोचक । ऊ विवेकी, तटस्थ, निष्पक्ष हुनु आवश्यक छ न्यायाधीशजस्तै । साहित्य मापन गर्दा निश्चित मापदण्ड राख्दै साहित्य निफन्ने, केलाउने, जोख्ने, तौलने, गर्नुपर्ने हुन्छ । समालोचक अध्ययनले खारिएको, विवेकले भरिएको, स्रष्टाभन्दा माथिको सुयोग्य हुनुपर्ने हुन्छ । जेहोस् साहित्यमा अनेकौँ समालोचना भएका छन् र निरन्तर हुँदै पनि छन् । यसमा समय अनुसार नयाँ-नयाँ धारा प्रवृत्ति र आयामहरू थपिँदै गएका पनि देखिन्छन् । नेपाली साहित्यमा पनि मूल्याङ्कनका प्रयासहरू भएका छन् ।

विक्रम संवत् १९४८ सालमा भानभुक्तको जीवन चरित्र लेख्ने सन्दर्भमा भानुभक्तको साहित्यिक योगदानको महत्त्वलाई उजागर गर्दै मोतीराम भट्टले नेपाली समालोचनाको श्रीगणेश गरेका हुन् र आफूलाई पहिलो समालोचकको रूपमा स्थापित गरेका हुन् । त्यसपछि रामकृष्ण शर्मा, सूर्यविक्रम ज्ञवाली, सरदार यदुनाथ खनाल, डाक्टर ईश्वर बराल, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, डा.वासुदेव त्रिपाठी, डा.तारानाथ शर्मा, इन्द्रबहादुर राई, गुमानासिंह चाम्लिङ आदिका समालोचनाहरूले नेपाली समालोचनाको सम्वृद्धिमा महत्त्वपूणर् योगदान गरेको देखिन्छ । यसै परम्परामा ठाकुर शर्मा भण्डारी पनि पछिल्ला केही दशकदेखि सृजनाभन्दा मूल्याङ्कनतर्फ बढी सक्रिय भएर आएका छन् । ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ उनको नवीनतम कृति हो । यो उनको तेइसौँ कृति तथा सातौँ समालोचनात्मक कृति हो ।

वि.सं. २०१० साल भाद्र २५ गते गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा जन्मिएर सम्पूणर्ानन्द संस्कृत विश्वविद्यालय, वाराणासीबाट संस्कृत साहित्यमा ई. १९७६ मा स्नातकोत्तर (आचार्य) प्रथम श्रेणीमा उत्तीणर् गरेका ठाकुर शर्मा भण्डारी धनकला र पिता जगन्नाथ (नवनिधि)का ज्येष्ठ सुपुत्र हुन् । २०३३ सालमा आफ्नो संस्कताध्यन दिल्लीबाट सिद्ध्याई काठमाडौँ प्रवेश गरेका हुन्, उनी त्यसवेला २३ वर्षका थिए । यहाँ आई काठमाडौँ उपत्यका नगरविकास समिति (२ वर्ष) नेपाल राष्ट्र बैंक (३३ वर्ष) र बिहानी सत्रमा क्याम्पसको अध्यापनकार्य (२६ वर्ष) गरेका हुन् र रा.बैंकबाट २०६७ भाद्र २२ र क्याम्पसबाट २०७६ सालमा अवकाश लिएका हुन् । यिनले २०४४ सालमा त्रिविबाट एम.ए. (नेपाली) गरेका हुन् ।

ठाकुर शर्मा भण्डारी नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व हुन् । नौवटा कवितासङ्ग्रह, तीनवटा काव्य, एउटा भूमिकासङ्ग्रह, सातवटा समालोचनासङ्ग्रह, दुईवटा निबन्धसङ्ग्रह, एउटा अनुवादसङ्ग्रह गरी तेइसवटा ग्रन्थ उनले नेपाली साहित्यलाई प्रदान गरिसकेका छन् । उनका वाणर्िक छन्दका कविताहरूमा जीवनको मूल्य-मान्यता, मानवीय दृष्टिकोण, अन्याय अत्याचार, देशप्रतिको अगाधप्रेम पाइन्छ । नैतिक दृष्टान्तका कृतिमा नीतिपद्य नेपाली र हिन्दीमा प्रकाशित छ, जहाँ समाजलाई नैतिक बनाउने सुन्दर पद्यहरू रहेका छन् । कतिपय कवितामा स्रष्टाको विषयमा बोल्दै परिचय दिन पनि पछि परेका छैनन्. । उनी भन्छन्-
स्रष्टा सुन्दर सृष्टिमा बिबुध हो ज्ञानी धनी शान हो ।
झुल्केघामसरी समाज रचना गर्ने कला गान हो ।
प्रकृतिसँग कवितालाई कसरी हेरेका छन् –
पत्र-पत्र-लता-कुञ्ज-मूलमा कविता-ध्वनि ।
नाच्दछिन् कविता-फूल-फूलमा सविता बनी । (सम्मिलन)

त्यसरी नै निबन्धमा पनि आध्यात्मिक निबन्धसङ्ग्रह- पञ्चामृत र त्रिविधा महत्त्वपूर्ण सङ्ग्रह हुन् । जहाँ विभन्न धार्मिक, पर्यटकीय ठाउँहरूको पहिचानसहित त्यहाँको इतिहास केलाएर मानिसलाई आकर्षक गर्ने किसिमबाट गहन विषयलाई पनि सरलताका साथ अभिव्यक्त गरेका छन् । उनको अनुवादकला पनि बेजोड छ । त्यस्तै उनले विभिन्न स्रष्टाका साहित्यिक कृति र साहित्यिक पत्रिकाहरूको सम्पादनसमेत गरेको देखिन्छ । दायित्व वाङ्मय प्रतिष्ठानको स्थापनाकालदेखि नै संलग्न रहेर सक्रिय भूमिका निर्वाह गर्नुका साथै उनले थुप्रै साहित्यिक संस्थाहरूहरूका गतिविधिमा योगदान पुर्‍याएको स्पष्ट छ । यसरी साहित्यमा लेखन, सम्पादन र सङ्गठनमा उनको सक्रिय योगदान रहेको देखिन्छ । उनले साहित्यमा पुर्‍याएको योगदान र निर्वाह गरेको भूमिकाका लागि उनी विभिन्न साहित्यिक संस्थाहरूबाट अभिनन्दित, सम्मानित र पुरस्कृत भएर उनको योगदानलाई मूल्याङ्कन गरेको पनि देखिन्छ । उनले ई. १९७५ मा भर्तृहरि नाटकम्’ मा नायकको अभिनयमा द्वितीय स्थान हासिल गरेका थिए भने नेपाल प्रवेश गरेपछि साहित्यको क्षेत्रमा करिब ३ दर्जनजति सम्मान/पुरस्कार प्राप्त गरेका छन् र यो लेखन क्रम मूल्याङ्कनको निरन्तरता रहेको छ ।

भैरव अर्याल नेपाली हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व हुन् । सामाजिक विकृति, विसङ्गति, अन्याय, अत्याचार र बिब्ल्याँटाका अनुभूतिजन्य परिस्थितिलाई हास्यव्यङ्ग्यका माध्यमबाट अभिव्यक्त गर्ने कलामा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा उनी अहिलेसम्म अजेय छन् । साहित्यमा व्यञ्जनाभिव्यक्ति बढी प्रभावकारी हुन्छ । आफ्ना निबन्ध र कवितामा पाठकलाई पेट मिचीमिची हँसाउन सक्ने कलाका कारण भैरव अर्याल नेपाली साहित्यका पाठकमा अत्यन्त लोकप्रिय छन् । नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने र भैरव अर्यालका आ-आफ्नै विशेषता रहेका छन् । एउटालाई झिकिदियो भने नेपाली निबन्ध अधुरो र अपूणर् बन्न पुग्छ । यस्ता महान् निबन्धकारहरू अल्पायुमै अस्ताए, तर आफ्नो कम उमेरमै उनीहरूले नेपाली साहित्यमा जुन काम गरे त्यो विशेष प्रकारको छ ।

प्रतिभा भयो भने कम समयमा पनि धेरै काम गर्न सकिँदो रहेछ भन्ने कुरा लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने र भैरव अर्यालबाट स्पष्ट हुन आउँछ । जगत्लाई हँसाउने भैरव अर्यालका विषयमा फुटकर रूपमा लेखिए पनि उनको समग्र व्यक्तित्व र कृतित्वलाई एउटै कृतिमा समाविष्ट गर्ने काम आजसम्म भएको थिएन । हुन त उनका बारेमा प्रशस्त विशेषाङ्कहरू प्रकाशित भएका छन् । समालोचकहरूका फुटकर रूपमा आ-आफ्ना दृष्टिकोण प्रस्तुत भएका छन् । रचनाका सम्पादक रोचक घिमिरेको सम्पादन एवं लेखनमा प्रकाशित ‘शाश्वत व्यङ्ग्यशिल्पी’जस्तो महत्त्वपूणर् कृति पनि आएको छ, जुन महत्त्वपूणर् सङ्कलन मानिन्छ, तर एउटै व्यक्तिले खोज, अध्ययन र अनुसन्धान गरेर अत्यन्त मिहिनेतका साथ एउटै समालोचकबाट यस किसिमको कृति प्रकाशनमा आएको थिएन । यस अभावलाई समालोचक ठाकुर शर्मा भण्डारीले ‘हास्यव्यङ्ग्यका महारथी भैरव अर्याल’ व्यक्तिकेन्द्री समालोचनात्मक कृतिका माध्यमबाट पूरा गरेका छन् ।

सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘हास्यव्यङ्ग्य महारथी : भैरव अर्याल’ चार खण्डमा विभाजित छ । खण्ड एकमा भैरव अर्याल परिचय भित्र पनि तीन शीर्षक रहेका छन् (१) निबन्ध रचना, विषयवस्तु एवं हास्यव्यङ्ग्य निबन्धको स्थान, (२) नेपाली हास्यव्यङ्ग्य निबन्धको महत्त्व र ऐतिहासिक पृष्ठभूमि (३) हास्यव्यङ्ग्यकार भैरव अर्यालका विषयगत संक्षिप्त परिचय समाविष्ट छन् । खण्ड दुईमा निबन्ध, लेख, संस्मरण, कथा र समीक्षा रहेका छन् । यसमा दश उपशीर्षक छन् – (१) काउकुतीको सन्दर्भगत विश्लेषण (२) जयभूँडी निबन्धसङ्ग्रहको विश्लेषण (३) गलबन्दी निबन्धसङ्ग्रहको विवेचन (४) इतिश्री निबन्धसङ्ग्रहको पर्यालोचन (५) दश औतार निबन्धसङ्ग्रहको समीक्षात्मक दृष्टिकोण (६) टेडो ऐना निबन्धसङ्ग्रहको परिदर्शन (७) राजीनामा निबन्धसङ्ग्रहको पर्यवेक्षण (८) प्रवेशिका निबन्धसङ्ग्रह भित्रका विषयगत चर्चा (९) भैरव अर्यालका समीक्षाको समीक्षा (१०) नेपाली काव्यमा प्रकृति भित्रको प्रकृति ।

यी सबै कृतिहरूको समदृष्टिबाट विश्लेषण गरिएको छ । यसैगरी खण्ड तीनमा- (१) कविताकृति उपवनको विश्लेषण (२) कविता कृति ‘राष्ट्रिय आह्वान’ सामयिक सन्दर्भ (३) शोककाव्य ‘विरहीराम’को अन्तरवेदना (४) कविताकृति कारिन्दाको दिनचर्याको अभिव्यञ्जन (५) के के भयो ? संक्षिप्त अवलोकनको विश्लेषण गरिएको छ । खण्ड चारमा विविध शीर्षकमा (१) भैरव अर्यालको कृति ‘पञ्चायती प्रजातन्त्र’को सन्दर्भ (२) भैरव अर्यालको शाही कदम किन ? को विषयगत चर्चा (३) ‘भैरव भन्छन्’ टेप रेकर्ड चर्चा (४) शाश्वत व्यङ्ग्यशिल्पी ः एक चर्चा (५) सम्झना भैरव स्मृतिग्रन्थको सामान्य परिचर्चा (६) सन्दर्भ सामग्री रहेका छन् ।

भैरव अर्याल परिचयमा उनको नाम, थर, ठेगाना, जन्मस्थान, जन्ममिति योग्यता, पेशा, बाबुआमाको नाम, वैवाहिक स्थिति, पत्नीको नाम, कसैबाट आफूलाई परेको छाप, प्रेरणा, प्रकाशित कृतिहरू, सङ्ंघ/संस्थामा काम गरेको ओहदा, मितिसहितको विवरण, सबैभन्दा पहिले पढेको विद्यालयको नाम, उच्च शिक्षा-आर्जन गरेको शैक्षिक अतिरिक्त क्रियाकलापमा भाग लिएको संक्षिप्त विवरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका सभा-सम्मेलन आदिमा सहभागिताको विवरण, भ्रमण गरिएको विदेशी राष्ट्रहरूको नाम, आफ्नो सार्वजनिक जीवनको संक्षिप्त विवरण, आफ्नो जीवनमा घटेका प्रमुख एक दुई घटना, पाएका मान-पदवी र विभूषणको विवरण, आफूलाई मनपर्ने कुराहरूको विवरण उल्लेख गरिएका छन् । भैरव अर्यालको वैयक्तिक विवरण राम्ररी देखाइएको छ तर यसलाई विवरणात्मक रूपमा भन्दा विश्लेषणात्मक रूपमा दिइएको भए पाठकलाई उनको विषयमा विस्तृत जानकारी हुने थियो ।

निबन्ध रचना, विषयवस्तु, एवं हास्वव्यङ्ग्य निबन्धको स्थान शीर्षकमा निबन्धको परिभाषा, पूर्वीय र पाश्चात्य साहित्यमा यसको प्रयोग, निबन्धका आवश्यक तत्त्व, निबन्धका प्रकार उल्लेख गरेका छन् । सुन्दर निबन्ध-सिर्जनाका लागि शैली चामत्कारिक हुनुपर्ने प्रसङ्ग रहेको छ । साधारण विषयलाई पनि चामत्कारिक शैलीले टल्काउँछ भन्दै शैलीलाई प्राथमिकता दिइएको देखिन्छ । यसका अतिरिक्त विषयवस्तु आवश्यक कुरा हो, त्यसैले कुन विषय लिने, कस्तो विषय र सन्दर्भले निबन्ध सिर्जना मजबुत हुन्छ भन्ने कुरा पनि देखाइएको छ । निबन्धमा शैली र विषयवस्तुका साथै यसको आरम्भ मध्य र निष्कर्षमा सतर्कतापूर्वक लेखक रहनुपर्दछ भन्ने कुरा समालोचनामा देखाउनुका साथै वणर्नात्मक, विवरणात्मक, विचारात्मक, भावात्मक गरी चार प्रकारका निबन्धका प्रकारलाई उल्लेख गरिएको छ ।

नेपाली हास्यव्यङ्ग्य निबन्धको महत्त्व र ऐतिहासिक पृष्ठभूमिमा मानिसको जीवन सधैँ खुसी र सुखी हुने सन्दर्भलाई प्राकृतिक र शारीरिक महत्त्व माथि प्रकाश पारेको देखिन्छ । योग विज्ञानमा समेत हाँसोलाई महत्त्वपूर्ण मानिएको प्रसङ्ग देखाउँदै हास्यव्यङ्ग्यको महत्त्वलाई विभिन्न सन्दर्भ ल्याएर जोडिएको छ । साहित्यमा प्रयोग हुने हास्य प्राचीन कालदेखिको हास्यरसको प्रसङ्ग उद्धृत गर्दै हास्यव्यङ्ग्य कुनै न कुनै रूपमा पहिलेदेखि नै अस्तित्वमा रहेको कुरा देखाइएको छ । संस्कृत साहित्यमा भरतको नाट्यशास्त्रमा काव्यशास्त्रसम्बन्धी सन्दर्भहरूसमेतको उल्लेख गर्दै अँग्रेजी साहित्यमा पनि होमरको मार्गारितोसको हास्यव्यङ्ग्यात्मक स्वरूपसमेत उल्लेख गरेर विविध प्रसङ्गहरू जोड्दै नेपाली साहित्यमा हास्यव्यङ्ग्यको शुरुवात, विकास र विस्तारलाई विभिन्न विद्वान्हरूको दृष्टिकोणलाई प्रमाणको रूपमा समाविष्ट गरिएको छ । नेपाली साहित्यको हास्यव्यङ्ग्य लोकसाहित्यमा समेत रहेको र पछि यसलाई आदिकवि भानुभक्त, मोतीराम, राजीवलोचन, लक्ष्मीदत्त पन्त, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा आदि साहित्यकारहरूले हास्यव्यङ्ग्यलाई आप्mना सिर्जनामा प्रयोग गरी विधागत उचाइलाई कायम गराएका छन् । कविहरूले कवितामा हास्यव्यङ्ग्य प्रयोग गरे तापनि त्यसले हास्यव्यङ्ग्यको चुरो समात्न नसकेकोले गद्यविधामा यसको प्रभावकारी प्रयोग गरिएको कुरा समालोचनामा देखाइएको छ ।

केशवराज पिँडाली, वासुदेव शर्मा लुइँटेल, भैरव अर्याल, श्रीधर खनाल, श्याम गोतामे, रामकुमार पाँडे, घटोत्कच शर्मा, विष्णु नवीन आदिले हास्यव्यङ्ग्य गद्यलेखनमा महत्त्वपूर्ण योगदान दिएको कुरा प्रष्ट्याउनुका साथै समकालीन अनि पछिल्ला हास्यव्यङ्ग्यकारहरूको नाम र उनीहरूका कृतिसमेत उल्लेख गरिएको छ । यी सब प्रसङ्ग र सन्दर्भहरू जोड्दै भैरव अर्याललाई हास्यव्यङ्ग्यको क्षेत्रमा सबैभन्दा सशक्त र शीर्षस्थ हास्यव्यङ्ग्यकारको रूपमा हेरिएको छ ।

खण्ड दुईमा भैरव अर्यालका निबन्ध, लेख, संस्मरण, कथा र समीक्षालाई शीर्षक शीर्षकमा हेर्नुका साथै कृतिगत विश्लेषण र तिनलाई मूल्याङ्कनका कसीमा राखिएको छ । यसमा पहिलो भैरव अर्यालको ‘काउकुती’को सन्दर्भगत विश्लेषण शीर्षक रहेको छ । विक्रम संवत् २०१९ सालमा हास्यव्यङ्ग्यकार वासुदेव शर्मा लुइँटेलद्वारा प्रकाशित ‘काउकुती’ विभिन्न दृष्टिकोणले महत्त्वपूणर् रहेको कुरा उल्लेख गरिएको छ । पछिल्लो त हास्यव्यङ्ग्यका अग्रणी व्यक्तित्व वासुदेव शर्मा लुइँटेललाई यसले तान्यो । यसका विषय शैली र प्रस्तुति बेजोड भएकोले हास्यव्यङ्ग्यकारलाई समेत काउकुती लगायो । स्वयम् वासुदेवले एउटा प्रकाशन नै स्थापना गरे । प्रकाशन पनि हाँसो उठ्दो थियो- कौवा प्रकाशन । यही प्रकाशनबाट पुनः ‘काउकुती’ निबन्धसङ्ग्रहले दोस्रो पटक प्रकाशन हुने सौभाग्य पायो । ‘काउकुती’को महत्त्वमाथि वासुदेव शर्माको भनाइ – विभिन्न ढङ्गमा काउकुती सबैतिर लाग्यो, मलाई पनि कुतकुत्यायो, त्यसैले कौवा प्रकाशन जन्मियो । त्यसले त्यसको तेस्रो संस्करण यसै प्रकाशनबाट छापिन पायो । दुई-दुई वर्षमा एक एक संस्करण सकिने सौभाग्यशाली पुस्तक कमै होलान् भन्ने प्रकाशक वासुदेव शर्मा लुइँटेल र स्वयम् लेखक भैरव अर्यालको भनाइ— पुस्तककारमा ‘काउकुती’को तेस्रो संस्करण यसत्रिका टुक्राटाक्री चाहिँ चौथो, छ/सात वर्षको काउकुतीको जीवनकालभित्र कति सोचाइहरू थोत्रिसकेका छन्, कति भोगाइहरू धोत्रिसकेका छन् तर प्रकाशनको दावी छ तैपनि ‘काउकुती’ काउकुती नै छ ।

यी दुई हस्तीका भनाइ ल्याएर ‘काउकुती’को उचाइलाई समालोचकले पुष्ट्याइँ गर्न खोजेको देखिन्छ । अर्को आधार भनेको छ वर्षमा चार संस्करण छापिनुलाई पनि लिएको छ । संसारिक जीवनका अमिल्दा, अप्ठ्यारा, असहज र बिब्ल्याँटा पक्षहरूलाई भैरव अर्यालले व्यङ्ग्यको कुतकुतीले हँसाएको कुरा ठाकुर शर्मा भण्डारीले राम्ररी अध्ययन गरेर देखाएका छन् । अतीतलाई खोतलेर, उधिनेर देखाइएको सन्दर्भ आज पनि ताजा छ । अहिले पनि ‘काउकुती’ काउकुती भएको छ, हँसाउन सक्षम छ, यसैले त ‘काउकुती’ आज पनि काउकुती लगाएर पेट मिचाउन सक्षम छ भन्ने कुरा समालोचक ठाकुर शर्माको निष्कर्ष रहेको छ ।

यसैगरी २०२२ सालमा रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ‘जयभुँडी’ हास्यव्यङ्ग्य निबन्धक्षेत्रमा अर्को प्राप्ति थियो । यसमा समाविष्ट दशवटै निबन्ध साँच्चिकै उच्चस्तरीय निबन्ध रहेका छन् । यसमा मानव-जीवनका सामान्य घटनादेखि लिएर राजनीतिक अनैतिकता, सामाजिक विसङ्गति, वैज्ञानिक प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा, मानिसका अहंपन आदिलाई असाध्य सुन्दर, अत्यन्त मीठो, औधि कलात्मक र व्यञ्जनात्मकताले सिँगारिएको छ । यिनै प्रसङ्गहरूलाई समालोचकले आफ्नो विश्लेषणको कसीमा घोटेका छन्, मूल्याङ्कनको तुलोमा जोखेका छन् र निष्पक्षताको चाैतारीमा बसेर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।

‘गलबन्दी’ अर्यालको तेस्रो निबन्धसङ्ग्रह हो । यो २०२६ सालमा अर्यालको पहिलो निबन्ध ‘काउकुती’ को प्रकाशन संस्था कौवा प्रकाशनबाट नै प्रकाशित भएको थियो । अर्यालको ‘गलबन्दी’ पनि अन्य निबन्धहरूजस्तै सशक्त रूपमा उभिएको छ र स्वाभाविकतामा उनिनुका साथै विकृतिको आकृतिलाई उधिनेर देखाइएको पाइन्छ । यस निबन्धसङ्ग्रहका सन्दर्भमा प्रसिद्ध समालोचक ताना शर्माको भूमिकाको आधार राखिएको छ । उनको भनाइमा – हास्य लेखनको मूल उद्देश्य हँसाउनु मात्र होइन । यसले हँसाउने आवरणभित्र जीवनका गूढतम रहस्यहरूको उद्घाटन गर्छ । यस दृष्टिकोणले हेर्दा अर्याललाई सफल हास्यकार मान्नुपर्छ । उहाँभन्दा अगाडिका लेखकहरूमा केही कृत्रिमता जबर्जस्ती ठोकठाक पारेर हँसाउने मूल उद्देश्यको निम्ति मिलाइएको बोध हुन्थ्यो  . । अर्यालका लेखहरूमा भने अनुप्रासबाट उत्पन्न हाँसोसमेत स्वाभाविक रूपमा प्रकट हुन्छ । यस स्वाभाविकताले गर्दा नै अर्याल आजसम्मका हास्यलेखकहरूभन्दा बढी सफल प्रभावकारी र बढी जनप्रिय हुन पुग्नुभएको छ भन्ने दृष्टिकोण रहेको छ । त्यसैगरी आत्मदेव शर्माको भनाइ पनि – गलबन्दी अनुबम र अपोलो, मानवताको नारा, कालागोराको जातिभेद, हैजा लागेको बूढो र मुटुको परिवर्तनसम्म उहाँले कलमको सुइरो चलाउनुभएको छ, भन्ने रहेको छ । आफ्नो देशभित्र पनि देखिएका मानवीय प्रवृत्तिदेखि विश्व जनमानसका कार्य प्रकृतिको यथार्थ प्रवृत्तिलाई कलात्मक ढङ्गले अर्यालले देखाएका कुरालाई निष्कर्षणका रूपमा समालोचक ठाकुर शर्माले दिएका छन् ।

‘इतिश्री’ निबन्धसङ्ग्रह भैरव अर्यालको चौथो निबन्धसङ्ग्रह हो । २०२८ सालमा प्रकाशित यस कृतिका सन्दर्भमा प्रसिद्ध समालोचक डा.वासुदेव त्रिपाठीका भनाइमा – आधुनिक नेपाली वर्गीय, पेशागत र अभिरुचीगत विविध गतिविधिमा अन्तर्निहित विकृति विसङ्गतिको अन्तरमन्थनद्वारा उनले आफ्नो पाठक मण्डली आर्जित गरेका छन् भन्ने उल्लेख गर्दै सामाजिक, राजनीतिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय सबैखाले विषयका निबन्धहरूले उच्चताको शिखर चुमेको र सफलताले आकाश छोएको कुरा यहाँ समालोचकले देखाएका छन् ।

‘दश औतार’ निबन्धसङ्ग्रह भैरव अर्यालको पाँचौ निबन्धात्मक कृति हो । यसमा नेपाली साहित्यका अग्रज र समकालीन स्रष्टाहरूका सिर्जनामा अन्तरनिहित विनोदी भावलाई आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । भानुभक्तले आफ्ना कवितामा अड्डा अदालतमा जाँदा कर्मचारीहरूको भोलिवादले दुःख दिएको, जेलमा रहँदा जेलको दारुण स्थितिको कलात्मकताका साथ गरेको घोचपेचको प्रसङ्ग ल्याउँदै आदिकवि भानुभक्तको विषयमा – व्यङ्ग्यबाजेलाई एउटा खुल्ला पत्र शीर्षकमा भानुभक्तलाई नेपाली साहित्यका सुन्दर व्यङ्ग्य कविको रूपमा प्रस्तुत गरेका छन् । त्यसैगरी कवि शिरोमणि लेखनाथ पौडेलको लक्ष्मीपूजा नाटकको राम्रो समीक्षा हास्यव्यङ्ग्यमै गरेको देखिन्छ ।

यस्तै महाकवि देवकोटालाई व्यङ्ग्य विनोदी मानिएको छ । भीमनिधि तिवारीको विषयमा तिवारी गुरु र भान्छेबाजे, शीर्षकमा तिवारीलाई राम्रा व्यङ्ग्य कवि भनेर देखाइएको छ । व्यङ्ग्यकार रिमालमा गोपालप्रसाद रिमालका कवितामा रहेको अन्तरव्यङ्ग्यको चर्चा गरिएको छ । इतिहास शिरोमणि बाबुराम आचार्य, सम्पादक प्रेमराजा शर्मा र शङ्कर लामिछाने आदिका विषयमा समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । दश औतारमा रहेका साहित्य, इतिहास, र पत्रकारिताका बहुचर्चित व्यक्तित्वका बारेमा समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् ।
(क्रमशः)

०००
धुम्बाराही, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x