विष्णु प्रभातभैरव अर्यालको हास्यव्यङ्ग्य
लेखनाथले काव्यभाषा प्रदान गरेझैँ निबन्धमा भैरव अर्यालले विशिष्ट व्यङ्ग्यशैली प्रदान गरेका छन् र त्यही विशिष्टता अर्यालको सर्वस्व हो

हास्यव्यङ्ग्यकार भैरव अर्याल कस्ता प्रतिभा हुन् भन्ने कुरा उनको शिक्षक, पत्रकार, कवि, सम्पादक, निबन्धकार तथा समालोचक व्यक्तित्व भित्रबाट निरूपण गर्नुपर्ने देखिन्छ । उनी मूलतः हास्यव्यङ्ग्य निबन्धकार व्यक्तित्वमा नै बढी परिचित हुन पुगेको र हास्यव्यङ्ग्य लेखनका सन्दर्भमा लोकप्रिय बनेको अवस्था उनको सङ्क्षिप्त जीवनी र व्यक्तित्वको विवेचनाबाट प्रस्टिन्छ ।
१.१ जीवनी तथा व्यक्तित्वको सङ्क्षिप्त अध्ययन
वि.सं. १९९३ असोज ५ गतेका दिन ललितपुरको कुपन्डोल नजिक शङ्खमूल भैरव मन्दिरको सत्तलमा जन्मेका एक बालक पछि गएर नेपाली हास्यव्यङ्ग्य साहित्यका विशिष्ट प्रतिभा भैरव अर्याल भनी परिचित भए । माता खेमकुमारी र पिता होमनाथ अर्यालका जेठा छोरा तीर्थनाथलाई भैरवको आशीर्वादस्वरूप प्राप्त भएको ठानी भैरव भनेर बोलाउन थालियो र पछि त्यही नामबाट नै उनी प्रसिद्ध भएका हुन् । भैरव अर्यालको बाल्यकाल आर्थिक दूरावस्थामा बित्यो । कारणवश दरबार पसेकी आफ्नी सानिमाको सरसहयोगमा बाबु होमनाथले पुलिसको जागीर पाएका थिए र उनी पनि केही समयसम्म तिनै सानिमासँगै भैरव मन्दिरको सत्तलमा बसेका थिए । उक्त सत्तल जुद्धशमशेरले सानिमालाई ‘उपहार’ दिएका थिए । उनले भैरवका पितालाई केही आर्थिक मद्दत पनि गर्दथिन् । पछि मात्रै होमनाथ जोरपाटी गोकणर्मा बस्न थालेका हुन् ।
भैरव अर्यालको शिक्षादीक्षा चण्डी रुद्री र अमरकोश पढ्दै सुरु भयो र औपचारिक शिक्षा रानीपोखरी पाठशालामा भर्ना भएर पढ्न थालेपछि नै अघि बढ्यो । वि.सं. २०१० सालमा भैरवले बनारसबाट व्यक्तिगत परीक्षार्थी भई सम्पूणर् मध्यमा र २०११ सालमा नेपालबाट समान तहको प्रवेशिका परीक्षा उत्तीणर् गरे । त्यसै साल उनले प्राथमिक शिक्षक शिक्षण तालिम (नर्मल तालिम) पनि लिए ।१ भैरवको विद्यार्थी जीवन क्रमबद्ध रहेन । उनले पढ्दै-पढाउँदै, काम गर्दै अघि बढे । झन्डै एक दशक जति उनको उच्च शिक्षा आर्जन गर्ने धोको पूरा हुन सकेन । २०२२ सालमा उनले आफ्नो पढाइ अघि बढाए र वि.सं. २०२३ सालमा आइ.ए. पूरा गरे । वि.सं. २०२५ मा बी.ए. र २०२६ मा व्यक्तिगत परीक्षार्थीको रूपमा एम.ए. गरेका थिए । भैरव अर्यालले ‘साहित्य रत्न’ पनि उत्तीणर् गरेका थिए ।
१.२ विवाह तथा नोकरी
भैरव अर्यालको विवाह बाल्यकालमै वि.सं. २००५ साल वैशाख अक्षय तृतीयाको दिन बाह्र वर्षको उमेरमा आफूभन्दा ६ वर्ष कान्छी शोभासँग भएको थियो । आफ्नो हजुरबा भूमिनन्दको जोडमा उक्त विवाह भएको थियो । दाम्पत्य जीवनको प्रारम्भपछि उनको जेठो छोरा दीपक र माइलो प्रकाशका अतिरिक्त कान्छो शौरभ र छोरीहरू रश्मी, शशी र विनु जन्मिएको जानकारी पाइन्छ ।२ दीपक र प्रकाश हाल अध्यापनमा संलग्न छन् । शौरभ बालकैमा बेपत्ता भएको हुँदा कुनै जानकारी छैन ।
प्रवेशिका तथा मध्यमा उत्तीणर् हुने क्रमसँगै नर्मल तालिम लिएको हुँदा भैरव अर्यालको जागिरे जीवन शिक्षकबाट सुरु भएको थियो । वि.सं. २०११ कै अन्त्यतिर उनी सरकारी शिक्षकको रूपमा कास्की जिल्लाको सदरमुकाम पोखरा नजिकै रहेको कन्धनीडाँडामा खटिए । भैरवले त्यहाँ जुनसुकै विषय पनि राम्ररी पढाइदिने हुँदा जनप्रिय पनि बने । तर पछि उनी काठमाडौँ सरुवा भई पासीखेल भन्ने ठाउँमा हालको इन्द्रायणी गाउँको स्कूलमा पढाउन थाले । आफ्नै पहलमा विद्यालय भवन निर्माणका लागि रकम जुटाउँदै भवन बनाए । त्यतिखेरका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यलाई घेरी आर्थिक सहायता जुटाएको रोचक घटना पनि उनका समकालीनहरूले उल्लेख गर्ने गरेका छन् । शिक्षण पेसाबाट मात्रै आफ्नो आर्थिक आवश्यकता पूरा नभएपछि भैरवले ‘हालखबर’ भन्ने पत्रिकामा काम गर्न थाले । वि.सं. २०१४ पछि उनको पत्रकार जीवन सुरु हुन्छ र केही समय सगरमाथा संवाद समितिमा पनि काम गर्दछन् । त्यसै समयमा उनले थुप्रै कविता, हास्यव्यङ्ग्य रचनाहरू पनि लेखे । शिक्षण पेशा छाडेर पत्रकार बनेपछि उनको कलम दैनिक लेखनकार्यमा घोटियो । पत्रिकामा जे विषयको खाँचो पर्छ त्यो लेख्दै जान थाले । त्यसै बीच उनका केही रचनाहरूका ससाना सङ्ग्रहहरू पनि प्रकाशित भए । वि.सं. २०१६ मा उनको ‘के के भयो’ कवितात्मक गीतिकाव्य र २०१८ मा ‘उपवन’ कवितासङ्ग्रह निस्कियो । २०१८ सालमै उनी हालखबर पत्रिका छाडेर ‘गोरखापत्र’मा प्रवेश गरे । गोरखापत्र संस्थानमा उनी जीवन पर्यन्त नै कार्यरत रहे । त्यहीँ रहेर नै उनले साहित्यिक पत्रकारितातर्फ पनि काम गरे र राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा आफ्नो कार्यकलापलाई विस्तार गर्दै, अनुभव र सिर्जनाले सम्पन्न बन्दै हास्यव्यङ्ग्यकार भैरव अर्याल बन्न पुगे ।
१.३ भैरव अर्यालको भौतिक व्यक्तित्व
भैरव अर्यालको बाह्य व्यक्तित्व हेर्दा निकै आकर्षक देखिन्थ्यो । अग्लो जीउ डाल, लाम्चो अनुहार, बाटुला ओठ र ठूला आँखासँगै शिरमा टोपी, जीउमा लबेदा सुरुवाल र कोटमा सजिएका भैरव अर्याल विचित्रैका देखिन्थे । विचारेर बोल्ने, नम्र र हँसमुख स्वभावका भनी धेरैले उल्लेख गरेको पाइन्छ ।३ उनको व्यक्तित्वको अर्को स्वभाव केही अन्तरमुखी थियो भन्ने पनि छन् ।४ मितभाषी व्यवहारसँगै हाँसेर बोल्ने निडर र बचनका पक्का व्यक्ति थिए भन्ने पनि छन् । हालखबरमा काम गर्दाका भैरवलाई भेट्दा उनको भौतिक व्यक्तित्व आकलन गर्दै रोचक घिमिरे लेख्छन्-
“लबेदा सुरुवाल, सुतीकोट, कालो भादगाउँले टोपी लगाएको, निधारमा कालो कोठी र गालामा केही डण्डीफोर बोकेको, कलेटी परेका ओठमा चुरोटको सूर्ती टाँसिएको, लाटोलाटो अनुहार परेको मान्छे टेबुलमा निहुरेर कलम धस्तै रहेछ ।”५
भैरवको बाह्य व्यक्तित्व अनाकर्षक थिएन तर एक सूरको हिँडाइमा कहिलेकाहीँ त देवकोटाकै छायाँझैँ मान्नेहरू पनि थिए । चिन्तनशीलता, मनको छटपटी र कवित्वभाव उनको अनुहारलाई प्रभाव पार्ने तत्व थिए । ती तत्वभित्र घरव्यवहार, परिवार, आर्थिक-सङ्कट, साथीसङ्गीहरूको अस्वस्थ प्रतिस्पर्धा सबै एकसाथ आइलाग्दा कहिलेकाहीँ अत्यासिएको अनुहारमा पनि भैरव देखा पर्दथे । तर उनको भौतिक व्यक्तित्वभन्दा पृथक् अर्को एउटा भैरव थियो, जो बौद्धिक व्यक्तित्व थियो र त्यो निकै सिर्जनशील, बहुआयामिक थियो ।
१.४ भैरव अर्यालको बौद्धिक व्यक्तित्व
भैरव अर्यालको बौद्धिक व्यक्तित्वको प्रारम्भ २००९ सालमा उनले लेखेको पहिलो कविता ‘नयाँजीवन’ बाट आरम्भ भएको हो ।६ यही रचनाले उनको साहित्यिक व्यक्तित्वको सोपान ठड्याउने काम गर्यो । यद्यपि धेरैले वि.सं. २०१३ मा प्रकाशित ‘नवनिर्माण’ कवितालाई उल्लेख गर्ने त्रुटी दोहोर्याएको पाइन्छ ।
सामान्य कवि व्यक्तित्व भैरवको पहिलो बौद्धिक व्यक्तित्व हो । कवि व्यक्तित्वको झलक दिने के के भयो ?
(गीतिकाव्य, २०१६) राष्ट्रिय आह्वान (२०१८) उपवन (कवितासङ्ग्रह २०१८) विरही राम (२०२०), फूल र मृत्यु
(खण्डकाव्य, २०२६) जस्ता सङ्ग्रह छन् । यी रचनासँगै पत्रपत्रिकाहरूमा छरिएर रहेका थुप्रै कविताहरूको अलग्गै अध्ययन/विश्लेषण गरिनु उचित हुनेछ ।
शिक्षक व्यक्तित्व उनको दोस्रो चिन्हारी हो । नर्मल तालिम लिएर कास्कीको पोखरा नजिकै पर्ने कन्धनीडाँडामा उनले झन्डै एक वर्ष पढाए । त्यहाँ भैरवले जुनसुकै विषय पढाउँथे र भाषागत रूपमा पनि संस्कृतको कौमुदीदेखि नेपाली र अङ्ग्रेजीसमेत पढाउने गर्दथे । सभामुख तारानाथ रानाभाटले प्रारम्भमा भैरवसँगै अङ्ग्रेजी पढेका थिए ।७ कास्कीबाट काठमाडौँ फर्केपछि भैरवले इन्द्रायणी गाउँको पासिखेल स्थित विद्यालयमा पढाउन थाले । त्यसबखतका प्रधानमन्त्री टङ्कप्रसाद आचार्य साँखु गएर फर्कंदा विद्यार्थीसहित भएर घेराउ गरी विद्यालय भवन बनाउन सरकारबाट आर्थिक सहायता निकासा गराएका थिए । अर्यालको विद्रोही स्वभाव व्यवहारमै प्रकट हुने गर्दथ्यो भन्ने कुराको उदाहरण त्यस घटनाले पनि दिन्छ ।
पत्रकार व्यक्तित्व भैरव अर्यालको तेस्रो व्यक्तित्व बनेर प्रकट हुन्छ । उनी शिक्षक हुँदाहुँदै पनि हालखबरमा काम गर्न थाल्छन् र सँगसँगै जसोगरी हास्यव्यङ्ग्यकार व्यक्तित्व विकसित हुन्छ । हास्यव्यङ्ग्य लेखनमा उनका दौतरी, गुरुवर्गहरूको प्रोत्साहन थपिन्छ । हास्यव्यङ्ग्यात्मक शैलीको उनको पहिलो निबन्ध- “सरकारले दुलो खोज्नुपर्ला !” भन्ने शीर्षकमा रहेको छ र त्यो “पुरेत बा” भन्ने छद्म नाम र ‘खोलापारी’ ठेगाना दिएर उही हालखबर पत्रिकामा प्रकाशित छ ।८ उक्त रचनाले भैरव अर्यालको हास्यव्यङ्ग्यकारिताको छनक प्रारम्भिक रूपमा प्रदर्शन गरेको छ । भैरवको बौद्धिक व्यक्तित्वको मूल आयाम पत्रकारिता हो । हालखबर, सगरमाथा सम्वाद समिति (वि.सं. २०१८) हुँदै गोरखापत्रको सम्पादन कार्यमा संलग्न हुन पुगेका अर्यालको पत्रकारिता व्यक्तित्वको पनि दुई पाटा छन् । एउटा हो- सूचना पत्रकारिता र अर्को- साहित्यिक पत्रकारिता । अखबारी पत्रकारितासँगै उनले रेडियो नेपालमा ‘सामयिक चर्चा‘ लेख्दथे । त्यस्तै गोरखापत्र मधुपर्कसँगसँगै उनले रचना, रत्नश्री, मधुपर्क, अर्पण, रूपरेखा आदिसँग पनि आफ्नो निकटता र संलग्नता राखेका थिए । यही क्रममा भैरव अर्यालको सम्पादक व्यक्तित्व फस्टाउँछ र पत्रिकासँगै पुस्तक सम्पादन कार्यतिर पनि संलग्न हुन पुग्दछन् । पहिलो हास्यव्यङ्ग्य कविता सङ्ग्रह छ्याक्कन (२०२५), साझा कथा (२०३१), साझा निबन्ध (२०२६) भैरव अर्यालकै सम्पादनमा प्रकाशित भए । ती सङ्ग्रहहरूको भूमिका लेखनका क्रममा अर्यालको समालोचक व्यक्तित्व पनि प्रकट हुन पुग्दछ ।
समालोचक व्यक्तित्व पनि त्यही क्रममा प्रखर रूपमा अगाडि आयो । भैरवले थुप्रै लेखकहरूका पुस्तकको भूमिका लेख्ने क्रममा मात्र होइन पुस्तक परिचयदेखि सिङ्गै समीक्षात्मक ग्रन्थहरूसमेत तयार गरेर उनले आफ्नो समालोचकीय क्षमता प्रदर्शन गरेका छन् । नेपाली समालोचनामा हास्यव्यङ्ग्यात्मक शैली प्रयोग गरी ‘दश औतार‘ (२०३३) लेखे । यस प्रकारको समीक्षा लेख्ने उनी नै पहिला व्यक्ति बन्न पुगेका छन् । प्रज्ञा-प्रतिष्ठानबाट ‘नेपाली काव्यमा प्रकृति’ (२०३०) नामक समीक्षा ग्रन्थको प्रकाशन, साझाबाट साझा कथा र साझा निबन्ध सङ्ग्रहको सम्पादनका क्रममा लेखिएका भूमिकाहरूले उनको बौद्धिक व्यक्तित्वलाई उजेल्याएका छन् र तत्कालीन नेपाली समाजले सम्मानपूर्वक स्वीकारेको पनि देखिन्छ ।
निबन्धकार व्यक्तित्व भैरवको मूल व्यक्तित्व हो र त्यही विधालाई हास्यव्यङ्ग्यात्मक विशिष्टता दिएर उनले आफ्नो कलम चलाए । उनलाई हास्यव्यङ्ग्यकार भनी चिनाउने काउकुती (२०१९) र जयभुँडी (२०२२) पहिलो चरणमै प्रकाशित भइसकेका थिए । हास्यव्यङ्ग्यकार व्यक्तित्वको परिचायक कृति ‘गलबन्दी‘ (२०२६) पछि प्रवेशिका निबन्ध (२०२७) र पछिल्लो कृति ‘इतिश्री‘(२०२८) जस्ता सङ्ग्रहहरूले भैरवको व्यक्तित्वलाई राष्ट्रिय चिनारी दिइरहेको थियो । उनको हास्यव्यङ्ग्यकारिताबाट नेपाली पाठकहरू प्रभावित एवं आकर्षित भइरहेका थिए । दैनिक गोरखापत्रमा छापिने रचनाका अतिरिक्त तिनताका साहित्यिक पत्रिकाहरूमा प्रायः भैरव अर्यालका कुनै न कुनै रचना छापिएका हुन्थे ।
हास्यव्यङ्ग्यकार व्यक्तित्वका रूपमा उनले नेपाली साहित्यको निबन्ध विधालाई निकै उजेलेका छन् । हास्यव्यङ्ग्यमा नवीन प्रयोग, नवीन शैलीमा समालोचना गर्ने काम भैरवले नै थालनी गरे । यसरी भैरवले आफ्नो बौद्धिक व्यक्तित्वलाई बहुमुखी प्रतिभा प्रदर्शन गरेर स्थापित गरे । साहित्यिक प्रतिभाको चिन्हारीमा दिगो बनाए ।
१.५ साहित्यकार भैरव अर्याल
साहित्यकार भैरव अर्याल जीवन जगत् निरपेक्ष साहित्य रुचाउँदैनन् । विष्णु शर्मा उपनामबाट लेखेको एक लेखमा उनी भन्दछन्- “साहित्य जीवनका निम्ति हो । कविता होस् कि कथा होस्- आजको साहित्य आजकै जटिल जीवनको व्याख्याता र नयाँ मूल्यहरूको निर्माता हुनुपर्छ ।” भैरव अर्याल अगाडि भन्दछन् -“साहित्य जीवनका लागि, साहित्य प्रगतिका लागि, साहित्य शोषित पीडितको उत्थानका लागि भन्ने माक्र्सवादी दृष्टिले साहित्यको जीवनसित के सामञ्जस्य छ भन्ने कुरा छर्लङ्गै हुन्छ ।”९ भैरव अर्यालले वनमाली निराकारलाई लेखेको पत्रमा अझ प्रस्ट उल्लेख गरेका छन् । “ग्रह-ग्रहान्तरको यात्रा र मुटुको साटफेर आदिबाट मानवीय भविष्यप्रति जतिसुकै आस्था बटुल्न खोजे पनि प्रलयङ्कारी शस्त्रास्त्रको होड, आर्थिक विषमता र नैतिक क्षीणताहरूले मानवीय अस्तित्वलाई नै आशङ्कित पारिरहेको यो बखतमा कुनै पनि देशको सचेत साहित्यकार प्रकृतिका पत्र केलाएर वा स्तुतिपद्यमा मगज घोटेर मख्ख पर्न सक्दैन । युगिन यथार्थमा आँखा चिम्लेर दायित्वदेखि पन्छन ऊ पाउँदैन ।”१० यस प्रकारको प्रगतिशील दृष्टिकोण राख्दाराख्दै पनि उनमा सैद्धान्तिक स्थिरता रहेन । उनले पछि साझा कथाको भूमिकामा भने “आजको मान्छेलाई माक्र्सको आँखाले मात्र छाम्न सकिँदैन भने बुद्धको आँखाले र फ्रायडको आँखाले मात्र पनि सकिँदैन ।११ गजपको विरोधाभास ! साहित्य सिर्जनालाई आँसु पेलेर हाँसो निकाल्ने माध्यम बताउने भैरव अर्यालले समन्वयकारी सोच राखेर ती कुराहरू भनेका थिए । तत्कालीन परिवेशको गहिरो चाप तथा जागिरको अप्ठेरोले मात्र उनको भनाइ आएको मान्न सकिँदैन । वास्तविक तात्पर्य ठम्याउन थप अध्ययन र विश्लेषण हुनुपर्दछ ।
उनको हेराइमा साहित्य, कला र संस्कृतिहरू भावनात्मक विषय हुन् । यिनमा निकै विविधता रही आएका छन् र मान्छेले आफ्नोपन सञ्चित गर्दै ल्याएको छ । त्यसैले साहित्यमा राष्ट्रियतालाई सुदृढ र सम्मृद्ध पार्ने तत्व समावेश हुनुपर्दछ । सरलतासँगै गम्भीरता र तार्किकता रहनुपर्दछ । विषयवस्तु छनौटमा व्यापकता रहनुपर्दछ । अभिव्यक्तिमा उक्ति वैचित्र्य, छन्दविन्यास, प्रयोजनपरकता जस्ता कुराहरू साहित्यका तत्व हुन् भन्ने धारणा भैरव अर्यालको थियो । उनी कलात्मक अभिव्यक्तिलाई निकै महत्व दिन्थे । निरन्तरको साधना र सेवाबाट मात्र साहित्यले उच्च स्थान पाउँछ भन्ने धारणा अर्यालले राख्दथे । कवितामा लय विधानले प्रभावकारिता अभिवृद्धि गर्छ भन्ने ठम्याई भैरव अर्यालको थियो ।१२ हास्यव्यङ्ग्य सिर्जनासँग सम्बन्धित रहेर पनि भैरव अर्यालले आफ्नो साहित्यिक मान्यताहरू व्यक्त गरेका छन् । उनी भन्दथे- “हास्यव्यङ्ग्य विचारमा होइन, कलामा चम्कन्छ ।”१३ उनले आफ्ना हास्यव्यङ्ग्य रचनाहरूको पूर्वाद्धमा हँस्यौली प्रधान रहेको र उत्तरार्धमा व्यङ्ग्यको प्रचुरता रहेको कारण खोल्दै भन्दछन्- “जीवन जगत्का सचेष्टता, युग र अवस्थाप्रतिको सचेतता र देश र दायित्वका बोधहरू जति जति बढ्दै जान्छन् हास्यव्यङ्ग्यमा हास्यको मात्रा पातलिँदै व्यङ्ग्य बाक्लो हुन जान्छ ।”१४ निबन्धका बारेमा भैरव अर्यालको धारणा मननीय रहेको छ— “आत्मगत व्युत्पत्ति र विनोदपूणर् कल्पना वा भाव प्रवाहको नागबेली उडानलाई निबन्ध भन्नु ठीक होला ।”१५ उनी यथार्थको उद्घाटन, आदर्शको अन्वेषण र जीवनको उपासनालाई निबन्धको कर्म धर्म र मर्म ठान्दछन् ।१६ अर्याल अगाडि भन्दछन्- “प्रबन्धको निम्ति अध्ययन र अनुसन्धानपूर्वकको बौद्धिक क्षमता अपेक्षित हुन्छ तर निबन्धमा स्वाध्यायनको भन्दा स्वानुभूतिको तीव्रता चाहिन्छ ।”
भैरव अर्यालका साहित्यिक मान्यता केलाउँदा देखापर्ने अर्को एक मान्यता समग्र देशलाई ध्यानमा राखेर कलम चलाउने सोच पनि हो । उनले कविवर माधव घिमिरेको ‘राजेश्वरी‘ काव्यको विवेचना गर्दा यो धारणा व्यक्त गरेका छन्- “विषयवस्तु र परिवेश लिँदा देशका सबै भाग र जनतालाई सम्झनुपर्दछ । नेपाली जीवनमा पनि तराई र भ्यालीको जीवन उपेक्षित रही खाली ‘मेरा प्यारा लमजुङ तन्हौँ पोखरामा गएर’ उहाँको प्रेरणा स्रोत हुन्छन् । गुरुङ्सेनी भाउज्यूको घलेकसँगै ज्यापूनी मैजुको पटासी र मुसहर भैयाको गम्छालाई पनि कहिलेकाहीँ सम्झनु भए कति राम्रो हुन्थ्यो ।”१७
अन्तर्वस्तु र रूपको सम्यक सम्मिलनको माग गर्ने भैरव अर्यालले विषय र परिवेशको व्यापकता र समग्रतालाई पनि जोड दिएका छन् । अभिव्यक्तिको एक कलाको रूपमा कथा विधा जीवनको प्रारम्भसँगसँगै हुर्केको र समयसँगै त्यसमा विकास भई आएको विश्लेषण उनले गरेका छन् । जीवनको कुनै अंशको छोटो वृत्तान्त, मान्छेका मूलप्रवृत्ति विवेचक, सन्देशवाहक, प्रसङ्ग- पूणर्, रोचक गद्यको विशिष्टतामा प्रवाहित कथनलाई कथा भन्न सकिने विचार व्यक्त गर्दछन् ।१८ ठोस बान्ना र बान्कीका साथ छरित्याइँ, प्रष्टयाइँ र सजिल्याइँलाई कथाको विशेषता मान्दछन् ।१९
समालोचना विधामा प्रशस्तै कलम चलाएका भैरव अर्यालले त्यसका बारेमा पनि आफ्ना मान्यता वा धारणा व्यक्त गरेका छन् । थुप्रै पुस्तकको भूमिका लेखन, परिचयात्मक समीक्षा, पत्रिका-चिन्हारी, काव्यकृति विवेचना, प्रवृत्तिगत अध्ययन- विश्लेषणमा समेत उनी संलग्न रहेका छन् । उनका पचासौँ समालोचनात्मक लेख रचनाहरू पत्रपत्रिकाहरूमै छरिएर रहेका छन् । तिनीहरूको सङ्कलन-सङ्ग्रहण गरी पुस्तकको आकारमा नल्याइएको अवस्थामा धेरैले भैरव अर्यालको समालोचक व्यक्तित्वलाई राम्ररी जान्न बुझ्न पाएको अवस्था छैन । हास्यव्यङ्ग्यात्मक समीक्षा- दश औतार (२०३३) र विवेचनात्मक समालोचना सङ्ग्रह- नेपाली काव्यमा प्रकृति (२०३३) बाहेक भैरव अर्यालको अर्को कुनै समीक्षा ग्रन्थ प्रकाशित भएको छैन । त्यसैले उनका धारणा छरिएका सामग्रीहरूबाटै लिनुपर्ने स्थिति छ । उनी भन्दछन्-
“जुनसुकै विषयमा पनि विवेचना गर्दा त्यसको उल्टो/सुल्टो दुवै पक्षका गुण/अवगुणको प्रष्ट विश्लेषण, संस्कार, वातावरण, विज्ञान, मनोविज्ञान आदि सबै दृष्टिकोणबाट गरी अतिव्याप्ती दोषबाट अलग्गिएर आफ्नो दृष्टिकोण तथ्य र यथार्थमा आधारित गर्न सक्नुमा नै विवेचकको उद्देश्य पूर्ति भएको सम्झनु पर्दछ ।२०
कृतिको द्वन्द्वात्मक विश्लेषण गर्नुपर्ने र मूल्याङ्कन गर्दा ऐतिहासिक परिपे्रक्ष्य नियाल्नुपर्ने कुराको छनक यस भनाइमा रहेको छ । यसमा भनिएको संस्कार रीति वा परम्पराको अर्थमा मात्र सीमित छैन । समालोचनाको क्षेत्रमा रहेको विसङ्गति प्रति भैरव अर्याल सचेत थिए- “नेपालमा समालोचना र भूमिका लेखनको एउटा विशेष पद्धति छ- ‘अनुहार हेरेर चिप्लो घस्नु’ । यसको एउटा विशेषता यो हो भने ‘दौरा हेरेर टिप्पणी गर्नु’ अर्को विशेषता ।” भन्दै समालोचकीय दायित्वलाई यथार्थपरक बनाउनुपर्ने खाँचो औँल्याइएको पाइन्छ ।
साहित्यमा उखान-टुक्काहरूको प्रयोगका सन्दर्भमा भैरवको धारणा सकारात्मक छ— “उखानहरू एक प्रकारका लौकिक सूक्तिहरू हुन् । जसको स्रोत विभिन्न अज्ञात समयदेखि समाजका विभिन्न घटनाहरूबाट आर्जित वास्तविक अनुभूति नै हो । यसका साथै उखानहरू भाषालाई अलङ्कृत र उन्नत बनाउने भूषण हुन् । त्यसकारण यिनको राम्रो अन्वेषण र परिपालन हुनु ज्यादै आवश्यक कुरा हो ।”२१
त्यसरी नै उपमा वस्तुगत हुनुपर्ने विचार पनि अर्यालले व्यक्त गरेका छन् । कवि आनन्ददेव भट्टको कृति ‘अब हिमालय बोल्छ’ सङ्ग्रहको समीक्षात्मक टिप्पणी गर्दै भैरव अर्याल लेख्छन् -“जुत्ता फाटे पनि पीर लाग्दैन”, ‘हराएको लाहुरे छोरोदेखे झैँ” जस्ता उपमा प्रशंसनीय छन् तर “भूतिनीजस्ती काली” र “ख्याक जस्ती बेरूपकी” भन्नुलाई प्रगतिशील कविको हास्यास्पद प्रयोग भन्नुपर्ने हुन्छ ।२४
वास्तवमा भैरव अर्यालका साहित्यिक मान्यताहरू समय, समाज र सिर्जनशीलताका दृष्टिबाट हेर्दा जीवनवादी, जनप्रतिबद्ध एवं प्रगतिशील देखिन्छन् । उनले आफ्ना यिनै मान्यताका आधारमा नै कविता-काव्य, लेख, निबन्ध र समीक्षाहरू लेखेको देखिन्छ तर वैचारिक अडानको सुस्थिरता भने देखा पर्दैन । उनको अस्थिर मानसिकताको भित्री कारक भैरव अर्यालमा रहेको विविधात्मक सोच, सङ्गत, परिवेश र पारिवारिक पक्ष पनि विवेचनीय रहेका छन् ।
आफ्नो समयका स्रष्टाहरूको मूल्याङ्कन गर्दा विशेषगरी हास्यव्यङ्ग्यात्मक कवित्वको सन्दर्भमा अर्यालले भूपी शेरचनलाई सर्वश्रेष्ठ मानेका छन् । त्यसपछि नै लक्ष्मण लोहनी, भीमनिधि तिवारी, लीलाध्वज थापा आदिको नाम लिन्छन् ।२५ आफ्नो हास्यव्यङ्ग्य कवितालाई सुन्दर र प्रभावकारी बनाउनका निम्ति उनले सरलता, बक्रता, अलङ्कारिकता, भावको गम्भीरतासँगै उत्पीडितप्रति सहानुभूति, सङ्घर्षको आहृवान गर्ने पद्धति अँगालेका छन् । हास्यव्यङ्ग्य स्रष्टाहरू आफू रोएर अरूलाई हँसाउने स्रष्टा हुन् भन्ने धारणा अर्यालको छ । कविता, कथा, नाटक, समीक्षा र निबन्धमा उनले आफूलाई लगाएको भए पनि सुरुदेखि नै हास्य-व्यङ्ग्यात्मक निबन्धलेखनलाई कमानी बनाएर सिर्जनालाई घुमाएका छन् । अर्यालका अधिकतर निबन्धहरू हास्यव्यङ्ग्यप्रधान छन् र जो सरल अभिव्यक्तिका छन् तिनमा पनि कुनै न कुनै किसिमले व्यङ्ग्यको प्रयोग गरिएको पाइन्छ । भाषिक विचलन, विरूपीकरण, अतिरञ्जना, यथार्थको अङ्कन, प्रच्छन्न सन्देश र सङ्क्षिप्तता उनको व्यङ्ग्यकला बनेको छ । कविताको सन्दर्भमा विधागत मान्यताकै परिधिमा यी देखिन्छन् भने निबन्धमा स्वच्छन्द ढङ्गले कुदेका छन् । विधामिश्रणको प्रयोगले पनि शिल्पगत चमत्कार नै थपेको छ र त्यसले विसङ्गति विरेचक बहिव्र्यङ्ग्यको रूप ग्रहण गरेको छ । “कविताका सन्दर्भमा कुरा गर्दा लेखनाथले काव्यभाषा प्रदान गरेझैँ निबन्धमा भैरव अर्यालले विशिष्ट व्यङ्ग्यशैली प्रदान गरेका छन् र त्यही विशिष्टता अर्यालको सर्वस्व हो ।”२६
फुटनोट
१. ज्योति पाण्डे (हाल : खड्का) ‘साहित्यकार भैरव अर्यालको जीवनी र व्यक्तित्वको अध्ययन’ (अप्र. स्नातकोत्तर शोधपत्र, त्रि.वि. पुस्तकालय, २०३६) पृ. ८ ।
२. ज्योति पाण्डे, पूर्ववत् शोधपत्र, पृ. ३ ।
३. भैरव रिसाल, ‘मेरो साथी : भैरव अर्याल’, गोरखापत्र, (शनिवाशरीय, २०३३ कार्तिक २८ गते) पृ.५ ।
४. हरि अधिकारी, ‘अन्त्यपछि टिपिएका टिपोटहरू’ गोरखापत्र (शनिवाशरीय, २०३३ कार्तिक २८) पृ. ७ ।
५. रोचक घिमिरे, ‘सम्झनामा फक्रिएका थुँगाहरू, (ललितपुर : साझा प्रकाशन, २०५६), पृ.५८ ।
६. भैरवप्रसाद शर्मा अज्र्याल, ‘नयाँजीवन’ प्रतिभा (सम्पा. कुन्तीदेवी, प्रकाशकः अखिल नेपाल महिला सङ्घ, केन्द्रीय कार्यालय, काठमाडौँ, २००९, वर्ष १ अङ्क ७), पृ. ८ ।
७. तारानाथ रानाभाटसँगको कुराकानीबाट प्राप्त जानकारी ।
८. पुरेत बा (खोलापारी), ‘सरकारले दुलो खोज्नुपर्ला’ हालखबर, (काठमाडौँ : रङ्गनाथ शर्मा, २०१४, वैशाख २५ गते) पृ. ३ ।
९. विष्णु शर्मा, ‘चौतारो चिन्न प्रयासमा’ रचना, (सम्पा. रोचक घिमिरे, ३:४:२०२२), पृ.५५ ।
१० भैरव अर्याल, ‘आजको साहित्यकार र भोलिको नेपाल’ सुनाखरी, (२:२:२०२८) पृ. २१ ।
११. भैरव अर्याल, (सम्पा.) ‘कथाको कथा’ (भूमिका) साझा कथा (लपु. साझा प्रकाशन., २०३१) पृ. १८ ।
१२. भैरव अर्याल, ‘सङ्गीत र शिक्षा’, रत्नश्री (सम्पा. मदनदेव भट्टराई, ३:५:२०२४), पृ. ६४ ।
१३. भैरव अर्याल, ‘तपाईंंको मपाईं’ (भूमिका) मपाईं (लेखक-श्याम गोतामे, काठमाडौँ : स्वयं २०३८) पृ. ग ।
१४. बनमाली निराकार, पत्र सञ्चयन, २०६३ (तानसेन : पाल्पा साहित्य समाज) पृ. २७ ।
१५. भैरव अर्याल, निबन्ध एक प्रबन्ध, हिमानी (सम्पा. केदारमान व्यथित, २:३:२०२२) पृ.७४ ।
१६. भैरव अर्याल, ‘कुमारको यो सञ्चयन’ (भूमिका) (ले. कुमारबहादुर जोशी), सञ्चयन, पृ. ग ।
१७. भैरव अर्याल, ‘नेपाली साहित्य घिमिरे र राजेश्वरी’ रचना (सम्पा. रोचक घिमिरे, २:१:२०१९) पृ.८२ ।
१८. भैरव अर्याल, (सम्पा.) ‘कथाको कथा’, साझा कथा (ललितपुर : साझा प्रकाशन, २०३१), पृ.१० ।
१९. भैरव अर्याल, ‘हृदयचन्द्रका केही कथाहरू’ सुस्केरा, (हृदयचन्द्र विशेषाङ्क-२०२८, सम्पा. रामचन्द्र भट्टराई, २:२:२०२८ जेष्ठ-असार) पृ. ४६ ।
२०. भैरव अर्याल, ‘स्वास्नीमान्छे र स्वतन्त्रता’ हालखबर (दैनिक), २०१६, मङ्सिर १० गते ।
२३. भैरव अर्याल ‘लौकिक न्यायमणिमाला’ (ले. कृष्णचन्द्र अर्याल), हालखबर, २०१६ साल आश्विन १८ गते, पृ.३ ।
२४. भैरव अर्याल, ‘अब हिमालय बोल्छ’ हालखबर, २०१६ साल साउन १५ गते ।
२५. होम सुवेदी (सम्पा.) भैरव भन्छन् (२०३५) टेपउत्तार, पूर्ववत् पृ.६९ ।
२६. गोविन्दप्रसाद भट्टराई, ‘नेपाली साहित्यमा हास्यव्यङ्ग्यको सन्दर्भ तथा पिँडाली र अर्यालको तुलनात्मक लेखाजोखा’ उन्नयन, पिँडाली विशेषाङ्क (सम्पा. अच्यूतरमण अधिकारी, काठमाडौँ : उन्नयन प्रकाशन, २०५०), पृ. ३६ ।
आलेख, वर्ष- ४, पूर्णाङ्क- ३७/३८ (संयुक्ताङ्क) बाट
Subscribe
Login
0 Comments
Oldest



































