आर.सी. रिजालबुद्धिको बिर्को
जुन चिज मैले दिन सकिनँ। आज त्यसैको खोजीमा छु। अनि आफैंलाई धिक्कार्दै सान्त्वना दिँदैछु- जे रोप्यो त्यही फल्ने रहेछ।

आर.सी रिजाल :
म परिवारको पिता हुँ र २/३ गोटा संस्थाको संस्थापक पनि ।
म पिता / संस्थापक भएको कारण उनिहरुले संधै मेरो भनाइ मान्नुपर्छ भन्ने सोचमा रहेछु। उनीहरुले गरेको मायालाई मैले खासै वास्ता गरिनँ। कारण उनिहरुले मलाई त मान्नै पर्छ भन्ने घमण्ड पलाएको रहेछ।
पदाधिकारी वा सन्तानले अन्जानमा गरेका गल्तिलाई मैले कदापि क्षमादान दिन सकिनँ/जानिनँ। मभन्दा सक्षम भए तापनि मैले बढी भोटो फठाएको भनी मनमा खोटो टाँसेको रहेछु। आज सन्तान विदेशमा,संस्थाका नवांगतुकले चिन्ने कुरै भएन। अझ पनि सन्तानले मलाई खोजुन् र संस्थाले सधैं महत्त्वपूर्ण भूमिकामा रोजुन् भन्ने लागि रहन्छ।
सन्तान वा संस्थालाई जन्म दिएर मात्र हुँदोरहेनछ। उनीहरुलाई असल संस्कार र माया दिएर हुर्काउनु अभिभावकको कर्तव्य हुँदोरहेछ। म भने कर्तव्य बिर्सिएर अधिकार मात्र खोज्दो रहेछु। म जिउँदो इतिहास भनेर घमण्ड गर्नु बेकार रहेछ। जुन चिज मैले दिन सकिनँ। आज त्यसैको खोजीमा छु। अनि आफैंलाई धिक्कार्दै सान्त्वना दिँदैछु- जे रोप्यो त्यही फल्ने रहेछ।
समयले नेटो काटेपछि म स्वाँठको बल्ल बुद्धिको बिर्को खुल्यो।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































