दीनानाथ पाेखरेलबा ! (काव्यांश- ३)
पिता खन्छन् बाटो सहज जन हिँड्छन् टुकुटुकु । उनै धुन्छन् जालो असलपन खेल्छन् ढुकुमुकु ॥ उठाए हौस्याए सबल मन पारे प्रणयले । गरौँ श्रद्धा सम्झी अटल मन नाचोस् अभयले ॥

दीनानाथ पोख्रेल :
पूजा मान दिएस् छ ज्ञान जसमा पस्रेर जम्मै लिएस् ।
वैरी घोच्दछ कृत्य कर्म सबमा यो ज्ञान स्वाट्टै पिएस् ॥
आफू झुक्न सके विशाल भव यो झुक्नेछ आफैँतिर ।
आफू झुक्न भुले झुकाउँछ जगत् भर्नेछ ज्यादै पिर ॥१७॥
पिता हुन् धर्तीका सुदृढ पथका साधक बडा ।
उनैका शिक्षाले युगलय चिनी आज छु खडा ॥
गरेँ रित्तो श्रद्धा सयल बटुलेँ सौख्य पथका ।
रहोस् आशिष् उम्दा शठपन हटोस् माग्दछु म ता ॥१८॥
थियो माया अग्लो लुटुपुटु गरी बालक सरी ।
बित्यो बेला रम्दै अब दिन हरे! बित्छ कसरी ?
छरी ऊर्जा आफ्नो सुत र दुहिता पालन गरी ।
दिए मान्छे बन्ने असल युगका चिन्तन भरी ॥१९॥
उनैका अर्तीले भुवन सब खुल्ने रविसरि ।
हियाका चिन्ताको सबल गुरुझैँ मार्जन गरी ॥
अनेकौँ शिक्षाले मन सबल पारी पथ दिए ।
बनाए योद्धाझैँ भय पर गरी साहस सिए ॥२०॥
सिकेँ शिक्षा अग्लो गुण शिखर पुग्छन् सहजले ।
स्वयम् बिर्से त्यागे सकस खुद झेल्छन् मगजले॥
बुबा दिन्थे शिक्षा पर जनविषे खुल्नु कसरी ?
क्रिया उम्दा पस्की भुवनभर छर्थे हरघडी ॥२१॥
हटोस् कालो जालो नयन हित चुन्छन् लय टिपी ।
सिकेँ श्रद्धा उम्दा उदर मल भाग्छन् गुण खिपी ॥
लिएँ शिक्षा बाँच्ने सुख र बह चिन्ने मन उठी ।
लुला पाटा फ्याँकी अटलपन जागे लय जुटी ॥२२॥
पिता खन्छन् बाटो सहज जन हिँड्छन् टुकुटुकु ।
उनै धुन्छन् जालो असलपन खेल्छन् ढुकुमुकु ॥
उठाए हौस्याए सबल मन पारे प्रणयले ।
गरौँ श्रद्धा सम्झी अटल मन नाचोस् अभयले ॥२३॥
रहे आफू रित्तो तनयदुहितामा मन दिए ।
सधैँ दुख्लान् बाला अटल सुख बाँड्ने पथ लिए ॥
उठी हाम्रो छाती विगत कृत देखोस् शुभ जति ।
खुली हेरोस् आँखा हित पथ निको सिर्जन गति ॥२४॥
नराम्रा केके हुन् ? सब अगुण चिन्ने मन दिए ।
उज्याला बाटामा सुकृत फल टिप्ने बल दिए ॥
त्यही पक्री शिक्षा कृत पथ बढेँ सौख्य सँग छन् ।
भुले बिर्से बढ्छन् हृदयतल जानोस् अकृत झन् ॥२५॥
०००
सूर्यविनायक, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































