दीनानाथ पाेखरेलबा ! (काव्यांश- ५)
आइस् के कसरी ? भनी सकसले बोलेर सोद्धा अझ । छाती दर्द बढी भयो छटपटी केके सुझाऊँ अब ? पाएका जति कष्ट हुन् हृदयमै छोपेर ढाँटेँ अनि । आएँ सर्सर सौख्यमै सहजले खोजेर पोखेँ पनि ॥

दीनानाथ पाेखरेल :
आफ्नाझैँ जति कष्ट छन् तनयले झेल्नै नपर्ने पथ ।
खोज्ने नित्य अनेक कर्म बलले पारेर पक्का रथ ॥
अग्ला श्रेष्ठ रहून् स्वसन्तति गमी बाँच्ने कला बाँड्दछन् ।
छातीका भय,द्वन्द्व फ्याँक्न श्रमले दुर्भावना फाँड्दछन् ॥३५॥
पापी रोग पसेर डस्छ अहिले बाबा भनेको सुनी ।
लाग्यो छालसमान हल्लन हियो नौलाख तारा मनि ॥
आफैँ रुग्ण थिएँ थिएन बह क्यै बाबा दुखेको सुनी ।
छाती ढक्ढक धढ्कियो भय लिई चिन्ता अनेकौँ बुनी ॥३६॥
पैले ता मन वायुयानतिर गो जाऊँ यसैमा घर ।
सोधेँ बन्द उडान भो भनिदिए थप्दै झमेला दर ॥
जाँदा हायस सोध्न छैन सिट ता लौ बस्नको लायक ।
खोज्दै मोटरमा पुगेँ सिट मिल्यो होला कि झैँ पायक ॥३७॥
आफ्नो ख्याल रहेन चञ्चल बनी के हाल होलान् भनी ?
जाने भेट्न भनेर तर्खर गरेँ सन्ताप पोको बनी ॥
गाडी खोज गरेँ पुगिन्छ कि छिटो भन्ने बिचारेँ तर ।
ज्यादै बेर भयो बढी भुटभुटी पुग्दैन गाडी घर ॥३८॥
गाडी गुड्छ सही रहोस् समय ता गुड्दैन मेरो मन ।
बाटाबाहिर दृश्यमा मन कतै अल्झन्न खोला वन ॥
पुग्ने मात्र हतार बढ्छ मनमा बेला अबेला बनी ।
बज्दा बाह्र इलाम पुग्न सकियो एकेक बेला गनी ॥३९॥
ओर्लेँ चोक बजारमा अनि हिँडे बस्थ्यो जहाँ मोहन ।
जाऔँ साथ भनी कुरेर घरमा बाटो विचारीकन ॥
पुग्दा ठिक्क छ खान दाइ घरमा खाएर जाऔँ भनी।
इच्छा जान थियो कुरेँ सँगसँगै खाएर लाग्यौँ अनि ॥४०॥
हामी बाइकमा गयौँ सरसरी पुग्दा बजेको दुई ।
आए सर्सर सम्झना मगजमा रम्थेँ म चढ्दा बुई ॥
ऐले रोग पसेर लुछ्दछ हरे ! पीडा बिसाऊँ कहाँ ?
पोलेको मन जाकियो सकसमा घोच्दै दुखायो त्यहाँ ॥४१॥
पर्दा दृष्टि मुहारमा सकस भो आक्रान्त सोला दियो।
आत्मा शान्ति लुट्यो सबै बल टुट्यो घोचेर नौनी हियो ॥
के बोलौँ मन अल्झियो सकसले गाँठो परेझैँ भयो ।
बोली सुन्न थियो हतार बहुतै थिच्थेँ डरेको हियो ॥४२॥
आइस् के कसरी ? भनी सकसले बोलेर सोद्धा अझ ।
छाती दर्द बढी भयो छटपटी केके सुझाऊँ अब ?
पाएका जति कष्ट हुन् हृदयमै छोपेर ढाँटेँ अनि ।
आएँ सर्सर सौख्यमै सहजले खोजेर पोखेँ पनि ॥४३॥
आफ्ना दर्द लुकाउँदै सकस के ? मेरा बुझेका छिन ।
लाग्यो दुःख बडो विशाल बह त्यो आफ्नो भुलेका किन ?
बोल्दै दुख्छ अवश्य वक्ष उनको छोपेर बोलेपछि ।
बिग्र्यो अन्तर हाल यो हृदयको सङ्कष्ट घोलेपछि ॥४४॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































