दीनानाथ पाेखरेल“बा” (काव्यांश – १२)
झिक्ता अस्थिसमेत दुख्दछ हियो धिक्कार ! सर्वत्र छ । ईर्ष्या, हर्ष, खुसी सबै मगजका भागे गए शून्य छ ।। आओ विज्ञ उठेर चल्न तन यो चाहिन्छ केके ? भन । प्राणी प्राण विहीन बन्छ कसरी ? यो तथ्य देख्ने बन ।।

दीनानाथ पाेखरेल :
झुल्के चन्द्र र सूर्य यो अवनिमा झुल्केन ज्योत्स्ना नयाँ । 
साँच्चै छौ यदि दैव दीन मनमा आएर देऊ नियाँ ।।
पस्दा गेहविषे छ प्रश्न कटिलो को दिन्छ खै उत्तर ?
सोध्छन् थाम तथा तला पलङले खोसी सबै जाँगर ।।९५।।
माईको ध्वनि उच्च भो बिरहले पोख्छिन् बिलौना अति।
हाम्रो होसहवास छैन सँगमा रोकिन्छ बोल्ने गति ।।
चारैतर्फ विशाल बार छ खडा भित्तो सरीको बनी
डस्दै बज्रसमान हान्छ उरमा के साध्य पीडा भनी ?९६।।
आमा अश्रु बगाउँछिन् सकसले सम्झाउने के गरी ?
रुन्छन् भाइ उता दुखेर बहिनी आघात वर्षा गरी ।।
भोभो भन्दछु कष्ट छन् अति कडा पार्दो छ आँखा झरी ।
आफ्नै सृष्टि निमोठ्छ दैव किन हो ? लुक्छन् दयाला हरि ।।९७।।
मैले खाइन दुख्दथे अझ पिता खाने दिँदै प्रेरणा ।
मैले लाइन दुख्दथे अझ बढी बोकी कडा वेदना ।।
मैले प्राप्ति गरे खुसी अति भई उत्साह थप्थे बल ।
फाल्थे झट्ट उठेर कर्मपथका अज्ञानका दुर्मल ।।९८।।
उम्दा प्रेमिल कर्म पारख दिने पाइन्न दोस्रो जन ।
बाबाकै पथमा बढे सहज छन् सद्ज्ञान अग्ला धन ।।
छाती चस्चस घोच्छ डढ्दछ हियो निस्तेज पारी तन ।
औडाहा भुमरी परी सकसमा काँप्दो छ आफ्नो मन।।९९।।
बारीमा अझ अन्नबोट जति छन् खोज्छन् उनैको पथ ।
पुड्को दीन र बुद्धिहीन म भएँ के चल्छ उम्दा रथ।।
ओजस्वी पथ शब्दमा रहरिला खुल्थे सुनौला कला।
तेजस्वी गति पक्रिने पथ लिए सम्झेर खुल्थ्यो गला ।।१००।।
जम्मै ज्ञान र शक्ति टाढिन गयो बाबा बितेकै छिन ।
कस्ता कर्म विशेषको फल दिइस् ? हा ! दैव तैँले किन ?
बग्छन् अश्रु अनेक पूर्व मनले सम्झाउँदा यो क्षण ।
उठ्ने तागत लुप्त भो मनविषे बढ्दो छ निम्जोपन।।१०१।।
झिक्ता अस्थिसमेत दुख्दछ हियो धिक्कार ! सर्वत्र छ ।
ईर्ष्या, हर्ष, खुसी सबै मगजका भागे गए शून्य छ ।।
आओ विज्ञ उठेर चल्न तन यो चाहिन्छ केके ? भन ।
प्राणी प्राण विहीन बन्छ कसरी ? यो तथ्य देख्ने बन ।।१०२।।
छैनन् देव भनी गरोस् बकबकी सङ्कष्टमा देव छन् ।
यी आफ्ना भवका विधान पथमा रोकिन्न है प्रस्ट छन्।।
मान्छे कानुन गर्छ सिर्जन उहीँ कुल्चन्छ बेहाल छ ।
भोग्दा कष्ट कडा दुखी भवविषे सन्ताप बेताल छ।।१०३।।
केके योग्य अयोग्य छन् सब कुरा ? के चिन्छ मान्छे मन।
आफ्ना पर्न गए बदल्छ सहजै फेर्दै स्वयम् कानुन ।।
साक्षी छन् भवका अनेक घटना आगो तथा छालमा ।
झुल्कून् सूर्य र चन्द्र छन् विधिसँगै हुन् भिन्नता कालमा।।१०४।।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































