विष्णुहरि पाैडेलबूढालाई बैँसको टक
कानालाई रहर मनमा हुन्छ के खोज्छ आँखो । हट्टा कट्ट युवक युवती रूप कल्पन्छ पाको । पाउन्नन् क्वै पनि अजमरी बैँस, सौन्दर्य, भाग्य । पालो नैसर्गिक छ दुनियाँ ताक्छ मस्ती मनग्य ।

विष्णुहरि पौडेल :
गाला खुम्चे रहिन तरुनो हुन्छु आफै भरङ्ग ।
हेर्दा हेर्दै कति युवतिका वैलिए रूप-रङ्ग ।
वेला आएपछि महकिने फूल लाग्यो जवानी ।
बल्दा बल्दै धिपधिप हुने दीप हो जिन्दगानी ।१।
मेरो पालो अलि अघि थियो आज नौला उदाए ।
फुच्चे फुच्ची कुसुमित हुँदै बैँसले भर्भराए ।
साना हुर्के चमक भरियो देख्छु शोभायमान ।
स्वार्थी हुन्छन् नजर जनका रूपका हुन् गुलाम ।२।
कुप्रो, च्याँसे तसबिर सबै भन्दछन् चाहिँदैन ।
कस्ले देला नव वय कतै सापटी पाइँदैन ।
लाली पोतेँ किरिम नि दलेँ, गाजले पार्छु नैन ।
जे जे लाऊँ तुजुक सकियो सक्कली देखिँदैन ।३।
हीरा, मोती, सुन किन फिका हुन्न लाग्दैन दाग ।
मेरै गालाभरि किन मुजा पर्छ चाट्यो दिमाग ।
साथी राम्रा कुन रहनु खै देखिए ख्याक तुल्य ।
वेला घर्केपछि शुरु हुने बैँसको चाख, मूल्य ।४।
पौँठा बस्ता पनि नकचरो बन्छु लाग्दैन लाज ।
के बिर्सन्थेँ युवक वयको राग श्रृङ्गार स्वाद ।
जिब्रोभन्दा अधिक रसको पारखी चित्त चोर ।
बूढा हुन्छन् तरुण वयसी रूपदेखिन् विभोर ।५।
बूढालाई विष छ तरुनी भन्दछन् भन्नलाई ।
तन्नेरी यो मन छ नखरा पार्छ यो मान्नलाई ।
हेर्दा थोते छ तर किनुवा दाँत लाएर हाँस्छ ।
भाले बन्ने रहर छ,,युवा स्वाङ पारेर वास्छ ।६।
कानालाई रहर मनमा हुन्छ के खोज्छ आँखो ।
हट्टा कट्ट युवक युवती रूप कल्पन्छ पाको ।
पाउन्नन् क्वै पनि अजमरी बैँस, सौन्दर्य, भाग्य ।
पालो नैसर्गिक छ दुनियाँ ताक्छ मस्ती मनग्य ।७।
लोभी पापी नजर हुनु हो धृष्टता, बेइमानी ।
देखे राम्रो असल अरुको डाह गर्ने छ बानी ।
भोगे आफ्ना सुख चयन जो भैसकेथे जवान ।
थाकून् बूढा, नव युवककै निम्ति हो वर्तमान ।८।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































