
आमा
यो सारा सृष्टिको तन्ना, आमाले नै फिँजाउँछिन् कतै शुष्क भए घाँटी, आमाले नै भिजाउँछिन् खुवाइ सन्ततीलाई, भोकै बस्ने पनि उनै उठाइ दुनियाँलाई, आफू खस्ने पनि उनै ।

खगेन्द्र नेउपाने :
आमा हुन् जिन्दगी मेरो, आमाको साथमा म छु
जे जस्तो चोटमा ऐय्या ! आमा भनी पुकार्दछु
आमाकै ममता पाइ, फैलिरन्छ चराचर
आमा तुल्य यहाँ कोही, बन्नसक्ने कहाँ छ र ?
आमा हुन् ज्ञानकी पुञ्ज, उनै हुन् कखरा पनि
सिकेर उनकै भाषा, पूर्ण हुन्छ यो जीवनी
आमाको साथमा बस्न, भाग्यले मात्र पाउँछ
आमाभन्दा मिठो गाना, दुनियाँमा को गाउँछ ?
स्वार्थ जाल पसारेर, आमा भेट्न सकिन्न नि
आमा हुन् दीपको ज्योति, उज्यालो छर्दछिन् पनि
चन्द्रमा जसरी ज्योत्स्ना, अँध्यारोमा खसाउँछ
आमा जस्तो अरु कस्ले, प्रेम बास बसाउँछ ?
आत्म प्रिय सधैँ उन्को बात मिठो सधैँभरि
फुल्दछन् फूलका थुङ्गा, शोभा दिएर बेसरी
प्रेरणाकी उनै धारा, शब्द विम्ब पनि उनि
आमाको स्नेहको छायाँ, सौदा गर्दैछ बैगुनी ।
पुत्रपुत्री भए घाती, यहाँ भूकम्प चल्दछ
पग्लेर खस्दछ नेत्र, हियो कलेजो जल्दछ
तापनि छन् धेरै स्वाँठ, आमा बिक्री गरिकन
किन्दछन् सुनको थाली, सोहोरी पापको धन ।
सुन्दरी र सुरा पान, डुल्न घुम्न मजा लिन
घाँडो भइन् कतै आमा, नाम खोल्न म सक्दिन
मस्तीमा दम्पति हिँड्छन्, आमा राखी बृदाश्रम
तैपनि भन्दिनन् आमा, छोरा छोरी छन् अधम ।
यो सारा सृष्टिको तन्ना, आमाले नै फिँजाउँछिन्
कतै शुष्क भए घाँटी, आमाले नै भिजाउँछिन्
खुवाइ सन्ततीलाई, भोकै बस्ने पनि उनै
उठाइ दुनियाँलाई, आफू खस्ने पनि उनै ।
यसरी लेख्दछु आमा, काव्यधारा तिमी बन्यौ
अँध्यारो लोकको मार्ग, दीव्य तारा तिमी बन्यौ
आमाबाटै सुरु हुन्छ, आमामै अन्त्य हुन्छ त्यो
संसारी सिर्जना शक्ति, आमामय बनिरह्यो ।
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest