साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“बा” काव्यांश- २३

आफ्ना उत्तम धर्मकर्म जति छन् रक्षा सधैँ गर्दछु । आज्ञापालन हुन्छ नित्य सब त्यो सङ्कल्प यो गर्दछु ।। जम्मै शक्ति गुमेर कम्पित भएँ लत्रन्छ काया गली । बाबा अर्पण गर्छु सादर म ता यो रिक्त श्रद्धाञ्जलि ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

अज्ञानीपन बढ्दछन् मगजले चिन्दैन बाटो कता ?
साँच्चै बोध विहीनझैँ म बनिएँ बढ्छन् जतै दीनता।।
आई मानव झिक्दछन् जति कुरा सामीप्य गासौँ भनी ।
हाम्रो चेत झरेर दुर्बल भयो उठ्दैन झैँ भो जुनी ।।२०२।।

जस्तै ताप र कष्ट हुन् मनविषे छोपेर बस्दा पनि ।
भाग्यो शान्ति र कान्ति हर्ष दिलको फर्कन्न कैल्यै पनि।।
आँखा डम्म फुले दुवै जल भरी दुख्छन् परेला मनि ।
फिर्ला के दिन हाल खस्दछ हियो गल्दो छ आशा पनि।।२०३।।

खोजूँ ओखत योग्य यो अवनिमा जम्मै रमून् मानव ।
राखूँ जीवित शक्ति होस् तन भरी विज्ञानको वैभव।।
चिन्ता ताप र कष्ट चेतभरका जम्मै निकाला गरूँ।
हाँसो हर्ष खुसी झुमोस् गृहविषे यो सौख्य खोजी छरूँ ।।२०४।।

आशा छिन्न छ चेतमा हरघडी होओस् उज्यालो खुली ।
जम्मै कष्ट भुली निरन्तर रमूँ उल्लास लागोस् चुली ।।
खेल्छन् बालकतुल्य मानव सबै पाएर इच्छा फल ।
डुल्छन् सुन्दर भावमात्र भवमा बग्छन् खुसीका भल ।।२०५।।

मान्छे ज्ञान टिपोस् उठोस् अवनिमा बालेर नौलो दियो ।
आफ्ना अग्रज बाँच्दछन् खुस हुँदै यो भाव बोकोस् हरियो ।।
जाँदैनन् जब कष्ट चेतभरका टाढा हटी सर्सरी ।
झर्छन् अश्रु अवश्य मानव बुझून् वर्षा बनी बर्बरी।।२०६।।

आफ्नो यो बल सिद्धियो सिथिलता बढ्दै छ दैनन्दिन ।
आशादीप निभेर दर्द छ कडा भागे खुसीका छिन ।।
उठ्छन् छालसमान भाव गहिरा पोलेर तर्साउँछन् ।
उठ्ने हिम्मत लुट्दछन् हृदयका सङ्कष्ट बर्साउँछन् ।।२०७।।

आफ्ना उत्तम धर्मकर्म जति छन् रक्षा सधैँ गर्दछु ।
आज्ञापालन हुन्छ नित्य सब त्यो सङ्कल्प यो गर्दछु ।।
जम्मै शक्ति गुमेर कम्पित भएँ लत्रन्छ काया गली ।
बाबा अर्पण गर्छु सादर म ता यो रिक्त श्रद्धाञ्जलि ।।२०८।।

(काव्य समाप्त)

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x