रामशरण न्याैपानेसाठी कटेको दिन
चोरी गाँस र बास नै गरिबको नाच्छन् यहाँ दुर्जन जो कङ्गाल बनाउँछन् मुलुक झन् लाएर रेलो धन यस्ता साथ मिलेर मान धन भो चाहन्न मैले लिन छोडेँ लोभ र मोह मांस मद नै साठी कटेको दिन ॥

रामशरण न्याैपाने :
कर्मैबाट मनुष्य हुन्छ कलिमा द्यौता तथा दानव
मान्छेको जय गर्न उद्धत हुने त्यो हो महामानव
मैले सत्य कुरा उजागर गरेँ फर्जी कुनै बोलिन
छोडेँ लोभ र मोह मांस मद नै साठी कटेको दिन ॥१
चोला मानवको मिले पछि त हो आदर्शको जीवन
बाँच्नु पर्दछ नित्य लोक हितमा सुम्पेर देही मन
बिर्सी उत्तम मुक्तिको पथ हरे जन्जाल रोजूँ किन ?
छोडेँ लोभ र मोह मांस मद नै साठी कटेको दिन ॥२
मैले गर्नु छ उच्च कर्म सहसा कैलासमा पौँचिन
के पो हुन्छ घडा र पूर्ण जलको थाल्योभने पोखिन
देखी भ्रष्ट दलालको मति अहो! लाग्यो मलाई घिन
छोडेँ लोभ र मोह मांस मद नै साठी कटेको दिन ॥३
पापी जीवन बाँच्नु छैन घुसको खाएर कालो धन
हाली भ्रष्ट दलाल काँध दुनियाँ गर्दै ठुलो दोहन
मैले चाहिन कालकूट विष त्यो खाएर भौँतारिन
छोडेँ लोभ र मोह मांस मद नै साठी कटेको दिन ॥४
चोरी गाँस र बास नै गरिबको नाच्छन् यहाँ दुर्जन
जो कङ्गाल बनाउँछन् मुलुक झन् लाएर रेलो धन
यस्ता साथ मिलेर मान धन भो चाहन्न मैले लिन
छोडेँ लोभ र मोह मांस मद नै साठी कटेको दिन ॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































