बिन्दु दहाल ‘मूकदर्शक’एक वृद्धको गथासो (१ )
दुबै कर्ण मेरा भए ठप्प बन्द म देख्दै छु आँखाहरू मन्दमन्द भएको छु नाङ्गो उदासी पखेरो छ लौरो सहारा सबै थोक मेरो ।

बिन्दु दहाल ‘मूकदर्शक’
सबै दाँत फुक्ले कुनै छैन सग्लो
न साथी न सङ्गी भएको छु एक्लो
गरे सूक्ष्म गल्ती सधैँ खान्छु गाली
उपेक्षा छ प्रायः न पाइन्छ ताली ।१
तिरस्कार खप्दै कतिन्जेल बाँचू
म रोऊँ कि एकान्तमा फिस्स हाँसू
भए आङ नाङ्गो न पाइन्छ नाना
न पाइन्छ लाग्यो भने भोक खाना ।२
म हेपिन्छु आफ्नाहरू माझमा नै
न बोल्छन् रमाई दिवा साँझमा नै
म लाटो भएको छु बोली हरायो
बसे हातगोडा हियो धर्मरायो ।३
सबै वृद्धभत्ता धरोधर्म लान्छन्
मलाई घरैमा महा शत्रु ठान्छन्
कुनै मिष्ठ पक्वान्न पाके दिँदैनन्
व्यथा दर्द सुन्ने सुधी व्यक्ति छैनन् । ४
कुनामा बसी त्रासले खोक्छु खालि
म गालीहरूको भएको छु माली
हिँडे हातखुट्टाहरू काम्न थाल्छन्
बुढो लड्छ भन्दै सधैँ बार हाल्छन् ।५
सधैँ घाम लाग्छन् मलाई अँध्यारो
भयो जिन्दगी यो दुखीको निन्यारो
म बोले सबैको हुने गर्छु घाँडो
म कामै नलाग्ने बनेको छु भाँडो ।६
म सम्झिन्छु मेरो युवाबाल्य काल
जवानी हुँदाका खुसीका निदाल
सबैको म प्यारो थिएँ बैंस डुल्दा
चुबुर्को भएँ वृद्धमा केस फुल्दा ।७
छिटो काल आओस् भने आउँदैन
चिता गीत गाई यता धाउँदैन
अरे कष्ट कस्तो सहेँ आज मैले
बुझेनन् दुखीका गथासो कसैले । ८
बढे केस दाह्री छु झ्याप्ले भएको
छुरा ब्लेड छैनन् त्यसैले रहेको
म काटूँ दुवै हात काम्छन् डराई
भए पुत्र आफ्ना सधैँ यी पराई ।९
दुबै कर्ण मेरा भए ठप्प बन्द
म देख्दै छु आँखाहरू मन्दमन्द
भएको छु नाङ्गो उदासी पखेरो
छ लौरो सहारा सबै थोक मेरो । १०
भए वस्त्र मैला धुने आँट छैन
सुतूँ भन्छु प्यारो कुनै रात छैन
म भोग्दै छु जेजे अरूले नभोगोस्
गरूँ कामना यो सबैको भलो होस् ।११
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest






































