के.पी. पाैडेलभयो शून्यजस्तै उज्यालो कटेरो
गरा खेत बारी, बगैँचा पुकार्छन्। वधू पुत्र पुत्री, सबै दूर भाग्छन्।। पिता मातृ ठान्छन्, छ मायालु घेरो। भयो शून्यजस्तै, उज्यालो कटेरो ।।
कृष्णप्रसाद पौडेल `जस्ताघरे´:
गए पुत्र पुत्री, रमाई विदेश ।
निराकारजस्तै, भयो आज देश।।
यहाँ वृद्धवृद्धा, छ है बाँच्न गाह्रो ।
भयो शून्यजस्तै, उज्यालो कटेरो ।।-१
कुना लेक बेँसी, तराई पहाड ।
युवा शक्ति गुम्दा, भए झन् उजाड।।
अहो ! रुन्छ ज्यादै, यहाँको पखेरो।
भयो शून्यजस्तै, उज्यालो कटेरो ।।-२
युवा जत्ति हाम्रा, भए ती कमारा ।
पितादेव माता, बने बेसहारा।।
व्यथा धेर पोख्छन्, कँसेरो घँसेरो ।
भयो शून्यजस्तै, उज्यालो कटेरो।।-३
नदी ताल झर्ना, कठै सुस्त बग्छन्।
धुरा दुर्ग थुम्का, अझै रिक्त बन्छन्।।
हुँदा पुत्र टाढा, उदायो अँधेरो ।
भयो शून्यजस्तै, उज्यालो कटेरो।।-४
यहाँ चन्द्र तारा, खुबै दिक्क मान्छन् ।
गढी ग्राम किल्ला, नयाँ युक्ति खोज्छन्।।
दशा डाक्न खोज्दै, करायो चमेरो ।
भयो शून्यजस्तै, उज्यालो कटेरो ।।-५
गरा खेत बारी, बगैँचा पुकार्छन्।
वधू पुत्र पुत्री, सबै दूर भाग्छन्।।
पिता मातृ ठान्छन्, छ मायालु घेरो।
भयो शून्यजस्तै, उज्यालो कटेरो ।।-६
०००
बट्टार, नुवाकाेट । हाल: बालाजु, काठमाडाैं
भक्तपुर बुढ्याैली साहित्य समाजकाे छन्दअभ्यासबाट
Subscribe
Login
0 Comments
Oldest






































