बिन्दु दहाल ‘मूकदर्शक’वृद्धका कर्म फेर्न
जुट जुट सब चाँडो देशलाई सिँगार्न युवक र युवती हो स्वर्गझैँ देश पार्न सविनय जनताको प्रेमको त्याग हेर्न युवक अनुज थाले वृद्धका कर्म फेर्न ।

बिन्दु दहाल मूकदर्शक:
हृदय मृदुल बोक्ने ज्येष्ठ छन् आज थोर
कुपित कुटिल कैयौँ वृद्ध हुन्छन् अघोर
हर समय तिनैको राजलाई नहेर्न
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।
कतिपय नमिलेका तिर्सना फाल्नुपर्छ
रसिक मन लिई झन् पाइला चाल्नुपर्छ
कलुषित मन बोक्ने वृद्धलाई नटेर्न
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।
सुमन मन नबोके जिन्दगी गर्त जान्छ
असमय रस सारा कालले मस्त खान्छ
जड मनमुटुले यो देशलाई नबेर्न
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।
कुसुमित दिल साँचे ज्येष्ठ हुन्छ्न् सुपूज्य
हरपल यदि कुर्सी हुन्छ ताक्ने अपूज्य
झटपट सब पापी वृद्ध खोजेर घेर्न
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।
जुट जुट सब चाँडो देशलाई सिँगार्न
युवक र युवती हो स्वर्गझैँ देश पार्न
सविनय जनताको प्रेमको त्याग हेर्न
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































