भावना न्याैपानेआश्रमकी एउटी आमाको कथा
माइतमा दाइ, भाउजू पनि आमालाई राख्न चाहँदैनन् । मेरो घरमा लगूँ आमाको सम्पत्ति खान आमालाई फकाइ, फकाइ लगेकी भन्छन् ।

हिजो म आफैं बिरामी थिएँ तर पनि आश्रममा रहेका सम्पूर्ण बृद्धअवस्थाका बाबा, आमाको लागि राम्रोको कामना गर्दै बर्त बसेँ । यो मेरो असल कर्म अनि धर्म पनि हो ।
मलाई बृद्धअवस्थाका बाबा, आमा सबैको उतिकै माया तथा स्नेह लाग्छ । आफ्नो घरका हजुरबुबा, हजुरआमा अनि बाबा, आमा र आश्रमका बा, आमाको धेरै नै माया लाग्छ । उनीहरूको हाँसो खुसी, दुखसुख, बिरामी हुँदा साथ दिनु, तातोपानी तताएर दिनु मेरो धर्म हो । निकै समयदेखि म यो धर्म निर्वाह गरिरहेकी छु ।
आश्रममा एउटी आमा छिन् । उनको नाम धनमाया महर्जन हो । उनका एक छोरा छन्, अनि छोरी । नाति नातिना पनि छन्, बुहारी छिन् तर घरपरिवारमा यति धेरै हुँदाहुँदै पनि घरबाट उनी निकालिएकी छिन् ।
सबै छन् तर उनलाई माया गर्ने कोही छैनन् यही कारण उनी त्यो घरबाट निकालिएकी हुन् । लावारिस अवस्थाबाट उनी यो आश्रममा आइपुगेकी हुन् । एकपटक आश्रममै उनी निकै बिरामी भइन् । उनलाई हस्पिटल लैजाँदा उनकी छोरी पनि हामीसँगै आएकी थिइन् । उनले आमाको बारेमा सबै कुरा मलाई भनिन् । माइतमा दाइ, भाउजू पनि आमालाई राख्न चाहँदैनन् । मेरो घरमा लगूँ आमाको सम्पत्ति खान आमालाई फकाइ, फकाइ लगेकी भन्छन् । म के गरुँ भन्थिन् ती बिचरी दिदी । न उनीहरूले राम्रोसँग हेरबिचार गर्दछन्, न त ती छोरीलाई नै हेरचाह गर्न दिन्छन् ।
एकदिन यस्तोसम्म भएछ- बुहारीले बासी खाना खान दिएर रातभरि पखाला चलेछ । रातभरि बाथरुम आउँदा जाँदा केही आवाज आयो होला नि होइन र ? यो बूढीले हामीलाई रातभरि सुत्न दिइन भन्दै छोराले ती आमालाई बेसरी कुटपिट गरेछ । आखिर आफ्नो जन्म दिने आमा हुन् नि ! आफ्ना आमा, बाबालाई कसरी कुटपिट गर्न सक्छन् होला ? कुटपिट गरेर घरबाट निकालिदिएछन् ।
आफ्नै जन्मदाता आमालाई कसरी घरनिकाला गर्न सक्छन् ? यो त जघन्य अपराध नै हो । बिचरी ती आमा त्यसै दिनदेखि मानसिक समस्यामा पनि परेकी रहिछन् । घरबाट निकालिएकी आलाई छोरीले आफ्नो घरमा लिएर गइछन् । छोरीको घरमा पनि दिउँसो त ठिकै हुन्थ्यो रे, जब राति हुन्छछ “मलाई त्यसले मार्छ, मलाई त्यसले मार्छ” भनेर चिच्याउने गर्थिन् रे । कतिसम्म अन्याय अत्याचारमा राखेका छन् हाम्रो समाजमा आफ्ना बूढा भएका बाबा, आमालाई ? न राम्रो हेरचाह, न उचित खानपिन, न उचित स्वास्थ उपचार ! यस्ता सन्तान हुनुभन्दा नभएकै बेस हुन्छ ।
अहिले ती आमा आश्रममा छिन् र राम्रोसँग बसेकी छिन् । समयमै खाना, खाजा, औषधी उपचार पाइरहेकी छिन् । छोरा उता ढुक्क छ रे सम्पत्ति बाँड्न परेन भनेर । उनका पनि दुईवटा छोरा छन् रे ! समयको चक्र घुमिफिरी उसको पनि त्यही दिन नआउला भन्न कहाँ सकिन्छ र ?
आफ्नो विवाह गरेर ल्याएकी बुढीलाई आफ्ना बूडाले राम्रोसँग हेरचाह गर । के माग्छिन्, के गर्न मन पराउछिन् त्यही गरिदिए भैहाल्छ त । छोराले पनि उल्टै आमा, बाबालाई हेप्छ, हेला गर्छ । अनि त्यो अर्काको छोरी त परि, कहाँ माया गर्छन् र ? यस्तो समस्या हाम्रो समाजमा ब्याप्त छ । कहाँ, कहिले गएर समस्या हल होला खै । घरै बदलिएको छैन, गाउँ बदलिएको छैन, समाज, राष्ट्र त खै कहिले बदलिएला र जेष्ठ नागरिकहरूका लागि ।
त्यसैले आजैदेखि हजुरहरूले पनि आफ्ना बाबा, आमालाई सम्मान गर्नुहोस्, ईज्जत्ले राख्नुहोस्, उचित रेखदेख गर्नुहोस्, माया, ममता र उचित खानपान, स्वास्थ्य उपचार गराउनुहोस् । स्नेहले राख्नुहोस् । ता कि उनीहरूको आँखामा आँसु कहिले नहोस्, मनमा चोट कहिले नपरोस्, मन कहिले अमिलो नहोस् । मरेर गए पनि सधैं अनन्त आकाशबाट हजुरहरूलाई हेरि सधैं आशिर्वाद दिइरहुन् आफ्ना प्रिय आमा, बाबाले ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest




































