साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिक ज्येष्ठ, व्यवहार कनिष्ठ

ज्येष्ठ नागरिक समाजका अमूल्य निधि र पथप्रदर्शक पनि हुन् भन्ने नभुलौँ र सम्मान गर्न नचुकौँ । ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध सबैजना सबै ठाउँबाट उभिऔँ ।

Nepal Telecom ad

पछिल्लो समयम नेपालमा अधिकारको बहस गर्दा ज्येष्ठ नागरिकका अधिकारलाई पनि महत्वपूर्ण अधिकारको रूपमा बहस गर्न थालिएको छ । देशको जनसंख्याको ठूलो हिस्सा ज्येष्ठ नागरिक भएका कारण बहसले प्राथमिकता पाउनु स्वाभाविक पनि हो ।

ज्येष्ठ नागरिक भन्नाले सामान्यतः ६० वर्ष उमेर पार गरेका मानिस भन्ने बुझिन्छ । अहिले विश्वका झन्डै १५ प्रतिशत मानिस ६० वर्ष उमेरमाथिका छन् । सन् २०५० सम्ममा यो संख्या बढेर २० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

२०६८ को जनगणनाअनुसार नेपालमा २४ लाख ६९ हजार मानिस ६० वर्ष माथिका छन् । यो नेपालको कुल जनसंख्याको झन्डै नौ प्रतिशत हो । विश्वमा अहिले ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड भएको अनुमान गरिएको छ ।

सन् २०५० सम्ममा यो संख्यामा वृद्धि भएर दुई अर्ब पुग्ने अनुमान गरिएको छ । तर विश्वको यति ठूलो जनसंख्या ओगटेको वर्ग दिनानुदिन उपेक्षित भइरहेको छ ।

विगतमा ज्येष्ठ नागरिक समाजका सम्मानित व्यक्तित्व हुन्थे । संयुक्त परिवारमा रहँदा ज्येष्ठ नागरिकको भूमिका नेतृत्वदायी हुन्थ्यो । तर पछिल्लो समयमा सानो परिवार सुखी परिवारको धारणा आई संयुक्त परिवार साना-साना टुक्रामा विभक्त हुन थालेपछि ज्येष्ठ नागरिक परिवारभित्रै अलपत्र पर्न थाले । पश्चिमा मुलुकमा सुरु भएको व्यस्त जीवनशैलीका कारण ज्येष्ठ नागरिक असहाय हुनुका साथै अधिकारबाट समेत वञ्चित हुन पुगे ।

त्यो परिपाटी नेपालमा पनि भित्रियो । यसरी समाजमा सम्मानित जीवनयापन गर्न पाउनुपर्ने नागरिक अधिकारबाट बञ्चित हुन थालेपछि पछिल्लो समयमा ज्येष्ठ नागरिकको अधिकारको विषयमा बहस चल्न थाल्यो ।

त्यसो त आजभन्दा ६८ वर्षअघि जारी भएको मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ मा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षासम्बन्धी व्यवस्था छ । संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकसम्बन्धी सिद्धान्त, १९९१ समेत जारी गरेको छ ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा भएका विभिन्न कार्यक्रममा पनि विश्वका सबै देशले ज्येष्ठ नागरिकप्रति राज्यले गर्नुपर्ने दायित्व सम्बन्धमा प्रतिबद्धता जनाएका छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, १९७९ मा ज्येष्ठ महिलाका अधिकारसम्बन्धी छुट्टै व्यवस्था छन् । राष्ट्रसंघबाट ज्येष्ठ नागरिकसम्बन्धी महासन्धि जारी गर्ने प्रयास भइरहेको छ । यति प्रयास हुँदाहुँदै पनि विश्वमै ज्येष्ठ नागरिकको अवस्था त्यति सन्तोषप्रद छैन ।

नेपालमा ज्येष्ठ नागरिकको अधिकार र कल्याणको लागि कानुनी रूपमा भने थुप्रै व्यवस्था गरिएका छन् । नेपालको संविधानको मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी स्पष्ट उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई परिवारले पालनपोषण गर्नुपर्ने, पालनपोषण नगरे ज्येष्ठ नागरिकले उजुरी गर्न सक्ने र पालनपोषण नगर्नेलाई कारबाही हुने, ज्येष्ठ नागरिकले आफ्नो सम्पत्ति आफू खुसी गर्न पाउने, ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाउन नहुने, सार्वजनिक सेवामा ज्येष्ठ नागरिकलाई छुट दिने जस्ता प्रावधान छन् ।

यस्तै ज्येष्ठ नागरिकको मुद्दाको सुनुवाइ छिटो गर्नुपर्ने, ज्येष्ठ नागरिकले गरेको अपराधमा सजाय कम गर्ने, ज्येष्ठ नागरिकको कल्याणको लागि केन्द्रीय तथा जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिको गठन गर्ने, ज्येष्ठ नागरिक कल्याणकोष स्थापना गर्ने, ज्येष्ठ नागरिक हेरचाह तथा दिवा सेवा केन्द्रको स्थापना, भत्ताको व्यवस्था, ज्येष्ठ नागरिकविरुद्ध कार्य गर्नेलाई दण्ड सजाय, ज्येष्ठ नागरिकको अधिकार हनन गरेमा त्यस्तो मुद्दा सरकारवादी हुने जस्ता व्यवस्था पनि ऐनमा रहेका छन् ।

यसैगरी सरकारले ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, शिक्षा स्वास्थ्यमा सुविधा दिने, ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक नीति र कार्ययोजना निर्माण गर्ने, वृद्धा श्रमहरू निर्माण गर्ने जस्ता काम गरेको छ । चालू तेह्रौं योजनामा पनि ज्येष्ठ नागरिकको लागि सेवा सुविधा विस्तार गर्ने उद्देश्य राखिएको छ ।

आर्थिक, समाजिक सुरक्षा कार्यक्रममा ज्येष्ठ नागरिकको पहुँच विस्तार गर्ने, विशेष जोखिममा रहेका नागरिकको ज्ञान, सीप र अनुभवलाई अधिकतम सदुपयोग गर्ने र सरकारले स्थानीय, निजी तथा दातृ समूह एवं गैसससँग सहकार्य गर्ने रणनीति तेह्रौं योजनामा लिइएको छ ।

राज्यका यति धेरै नीति हुँदाहुँदै पनि ज्येष्ठ नागरिकको अवस्था सन्तोषजनक छैन । शब्दकै कुरा गर्ने हो भने ज्येष्ठ नागरिकलाई राष्ट्रको अमूल्य सम्पत्ति भन्ने गरिएको छ । उनीहरू ज्ञान, सीप र अनुभवको भण्डार भएकाले नयाँ पुस्ताको लागि प्रगतिको साधक हुन सक्छन् भन्ने बखान गरिन्छ ।

तर व्यवहारमा भने उपेक्षा गर्ने गरिएको छ । विगतमा ‘कुरा सुन्नु बूढाको…’ भन्ने गरिएको उखान अब सान्दर्भिक हुन छोडेको छ । त्यसको सट्टा ‘खुकुरीभन्दा कर्द हान्ने बाउभन्दा छोरा जान्ने’ भन्ने उखान बढी समयसापेक्ष हुन थालेको छ ।

परिवार र समाजबाट अपहेलित हुनु र सानो परिवारमा बस्ने मोहका कारण परिवार विखण्डन हुनु नै ज्येष्ठ नागरिकको अधिकार जोखिममा पर्नुको मूल कारण हो । पहिले वृद्धा भएका घर भगवान् बस्ने घर ठानिन्थ्यो भने अहिले बोझको घर ठान्न थालिएको छ । पछिल्लो समय विकसित मुलुकको प्रभाव र संकीणर्ता नेपाली समाजमा भित्रिएको छ ।

‘पितृ देवो भवः मातृ देवो भवः’ को भावना हराएको छ । एकाकी जीवनका कारण वृद्ध उमेरमा उत्पन्न शारीरिक रोग, दर्द, पीडा, दुर्बलता र हीनताबोधका कारण वृद्ध जीवनमा आइपर्ने अप्ठ्याराबाट ज्येष्ठ नागरिकहरूको अधिकार नै जोखिममा छ ।

सरकारले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता न्यून तथा समयमा वितरण नहुनु, दुर्गममा कतिले भत्ता नै नपाउनु, ज्येष्ठ नागरिकसम्बन्धी सरकारी कार्ययोजना प्रभावकारी कार्यान्वयनको अभाव, शिक्षा स्वास्थ्य तथा अन्य सामाजिक सेवामा छुटको व्यवस्था भए पनि व्यवहारमा लागू नहुनु, वृद्धा श्रम सञ्चालनको स्पष्ट मापदण्ड नबनाइनु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको उपयोग हुन नसक्नु, ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने गैससहरूको काम पारदर्शी हुन नसक्नु, ज्येष्ठ नागरिकमैत्री वातावरणको अभाव हुनु, यस क्षेत्रमा कार्य गर्नेबीच समन्वयको अभावका कारण पनि धेरै समस्या देखिएका छन् ।

यसले गर्दा ज्येष्ठ नागरिकको सार्वजनिक सेवा, सुविधा र सामाजिक जीवनका हरेक क्षेत्रमा पहँच पुग्न सकेको छैन । ज्येष्ठ नागरिकलाई ‘आउटडेटेड’ ठान्ने हाम्रो अधकल्चो बुझाइका कारण पनि ज्येष्ठ नागरिकहरू थप उपेक्षित हुन पुगेका छन् । राज्य र समाजबाट ज्येष्ठ नागरिक कल्याणको लागि गरिएका काम कागजी रूपमा हेर्ने हो भने निकै लामो फेहरिस्त हुन्छ । तर व्यवहारतः प्रतिफल सन्तोषजनक छैन । अधिकांश नीति, कार्यक्रम र घोषणा औपचारिकतामा सीमित छन् ।

ज्येष्ठ नागरिक ज्ञान सीप र अनुभवको भण्डार र अर्ती-उपदेशका मूल स्रोत हुन् । तर आवश्यक हेरचाह, बसोबास, औषधी, मनोरञ्जनको अभाव र मानसिक सन्तुष्टिको पक्ष कमजोर हुँदा ज्येष्ठ नागरिक जोखिममा छन् । यस्तो महत्वपूणर् समूह समाज र परिवारबाट तिरस्कृत, अपहेलित र बेसहारा भई वृद्धाश्रममा बस्न बाध्य हुनु सभ्य समाजको लागि सुहाउने विषय होइन ।

एक दिन सबैले ज्येष्ठ नागरिक हुनुपर्छ भन्ने कुरा अन्तरात्माबाटै स्मरण गर्दै ज्येष्ठ नागरिकको आदर र सम्मान गरौँ । वर्तमान युवा पुस्ताले ज्येष्ठ नागरिरकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि ज्येष्ठ नागरिकको सम्मान गर्नेछ । ज्येष्ठ नागरिक समाजका अमूल्य निधि र पथप्रदर्शक पनि हुन् भन्ने नभुलौँ र सम्मान गर्न नचुकौँ । ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध सबैजना सबै ठाउँबाट उभिऔँ ।

०००
डा. पोखरेल मानव अधिकार आयोगसँग सम्बद्ध हुनुहुन्छ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x