मञ्जुकुमारी पाैडेलपाका मान्छेका प्रजनन् स्वास्थ्य समस्या र अधिकार
प्रत्येक व्यक्तिलाई आफ्नो जीवनचक्रको विभिन्न अवस्थामा आवश्यक पर्ने प्रजनन् स्वास्थ्य सेवा सर्वसुलभ, स्वीकार्य र सुरक्षित रुपले पाउने अधिकार हुनेछ ।

प्रजनन् स्वास्थ्य भनेको हरेक शारीरिक, मानसिक तथा सामाजिक रुपमा नै प्रजनन् प्रणाली, यसको कार्य र प्रजनन् प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । प्रजनन् स्वास्थ्यले प्रजनन् प्रणाली र प्रजनन् अङ्गहरूको स्वास्थ्यका साथै यसैसँग सम्बन्धित विषयवस्तुहरूको बारेमा कुरा गर्ने गर्दछ । प्रजनन् स्वास्थ्यमा गर्भवती र प्रसूती अवस्थामा सुरक्षित राख्ने तथा उपयुक्त स्वास्थ्य सेवाको पहुँच र बाबु आमाको स्वस्थ शिशु जन्माउने अवसर जस्ता कुराहरूलाई समेत समेटिएको छ ।
प्रजनन् स्वास्थ्यको तत्वहरू भन्नाले परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार, गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरूको रोकथाम तथा उपचार, यौन रोग संक्रमण तथा एचआईभी र एड्स, बाँझोपनको रोकथाम तथा उपचार, किशोर किशोरीहरूको प्रजनन् स्वास्थ्य, प्रौढ महिलाहरूको स्वास्थ्य र लैङ्गिकतामा आधारित हिंसा जस्ता विषयवस्तुहरू रहेका छन् । यसले परिवार नियोजन, पाठेघर र प्रजननद्वार संक्रमण, एचआईभी/एड्स, पाठेघर खस्ने समस्या वृद्धवृद्धाहरूको हेरचाह जस्ता वृहत् विषयहरूलाई बुझाउँछ ।
आज प्रजनन् स्वास्थ्यको अधिकारलाई महत्वपूर्ण मानव अधिकारको रुपमा स्वीकार गरिएको अवस्था छ । विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज र विश्व सम्मेलनहरूले यौन तथा प्रजनन् स्वास्थ्यको अधिकारलाई मानव अधिकारको रुपमा स्थापित गरेका छन् । नेपालको अन्तरिम संविधान २०६३ ले पहिलो पटक संविधानमा नै प्रजनन् स्वास्थ्य तथा प्रजनन् सम्बन्धी हकलाई महिलाहरूको मौलिक हकको रुपमा स्थापित गरेको थियो भने हाल नेपालको संविधान २०७२ को धारा ३८(२) मा यसलाई मौलिक हकको रुपमा निरन्तरता दिइएको छ जसका कारण वर्तमान विश्वका केहि विकसित देशमा आधुनिक संविधानमा मात्रै पाइने उपरोक्त व्यवस्था नेपालको संविधानमा मौलिक हकको रुपमा रहनु भनेको प्रजनन् स्वास्थ्य अधिकार वाध्यात्मक नभई स्वतन्त्र रुपमा उपयोग गर्न पाउने अधिकारको रुपमा रहेको भन्ने बुझिन्छ । यसका बाबजुद संविधान प्रदत्त मौलिक हकका कार्यान्वयनार्थ सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ समेत जारी गरी सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारलाई सम्मान, सुरक्षा र परिपूर्ति गर्दै यी सेवाहरूलाई सर्वसुलभ, गुणस्तरीयता र पहुँचमा वृद्धि गर्दै लगिएको छ । हाम्रा लागि यी सबै विषयवस्तु निकै महत्वपूर्ण र गौरवको कुरा हुन् ।
प्रजनन् स्वास्थ्य भन्ने वित्तिकै हाम्रो मानसपटलमा १५-४९ वर्ष उमेर समुहका महिलाहरूलाई सम्झन्छौं र सोही उमेर प्रजनन् योग्य उमेर हो भनेर परिभाषित गरेका छौं । सोही उमेर पार गरेर आएका अधिकांश पाका महिलाहरू पनि प्रजनन् स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् तर यसतर्फ भने हामी कसैको ध्यान जान सकेको छैन । यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हरेक व्यक्तिको अधिकार भएको हुनाले यहाँ पाका मानिसहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका विषयमा केहि कुराहरू उठाउन खोजिएको छ ।
पाका मान्छे भनेर ६० वर्ष उमेरभन्दा माथिका व्यक्तिहरूलाई बुझाउँछ । पाको उमेरमा प्रजनन् स्वास्थ्य जटिलताहरू पुरुषहरूमा पनि हुने भए तापनि उनीहरूको तुलनामा पाका महिलाहरूमा यस्ता समस्या बढि हुने गर्दछ । कतिपय महिलाहरूको उमेर बढ्दै गएपछि पाठेघरलाई अड्याई राख्ने मांसपेशी कमजोर हुँदैजाने हुनाले पाठेघर योनीसम्म वा योनीबाट पनि बाहिर झर्ने गर्दछ । जुन अवस्थालाई पाठेघर झर्ने वा आङ खस्ने भनिन्छ । यस्तो समस्या भएका महिलाहरूले हाछ्युँ गर्दा, खोक्दा वा गह्रौं चिज उचाल्दा पनि पाठेघर पूरै बाहिर निस्कने वा खस्ने समेत हुन्छ भने केहि महिलाहरूमा पाठेघरको मुख, स्तन, डिम्बवाहिनी नली तथा योनी मार्गमा क्यान्सर समेत हुने गर्दछ ।
पाको उमेरमा आइपुग्दा महिलाहरूको रजस्वला बन्द हुन्छ । जसका कारण मानसिक चिन्ता बढ्नुको साथै शरीरमा एष्ट्रोजेन हर्मोनको उत्पादन पनि कम हुँदै जाने भएकोले हड्डी कमजोर भएर सजिलै भाँचिने र ढिला जोडिने हुन्छ । महिलाहरूमा तल्लो पेट, स्तन वा कम्मर दुख्ने समस्या हुँदैजान्छ । योनी रसको उत्पादनमा कमि आउने कारण यौन सम्पर्कमा कठिनाई वा पीडा महसुस हुनुको साथै आफ्नो श्रीमानबाट बढी मात्रामा यौन हैरानी सहनुपर्ने र यौन रोगले पनि अत्यधिक सताउने गर्दछ ।
यसैगरी पाको उमेरका पुरुषहरूमा पनि लिङ्ग पूर्ण रुपमा उत्तेजित नहुने र यौन अङ्गहरूको कार्य क्षमता घट्ने तथा शुक्रकिटको उत्पादनमा ह्रास आउने हुनाले यौन सन्तुष्टीमा बाधा पुग्नुका साथै मानसिक चिन्ता समेत बढ्न जाने जस्ता समस्याहरू देखिन्छन् । यसैगरी टेष्टोस्टेरेन हर्मोनको उत्पादन घट्दै जाने र प्रोष्टेट ग्रन्थिको आकार बढ्दै जाने भएकोले मुत्रासय र मुत्र मार्गमा अवरोध खडा हुनुको साथै कतिपय अवस्थामा प्रोष्टेट ग्रन्थी, अण्डकोष र मुत्रासयको क्यान्सर समेत हुन पुग्दछ ।
हाल समाजमा हेर्ने हो भने धेरै पाका महिलाहरू पाठेघर खस्ने समस्याबाट ग्रसित छन् । यसमध्ये कतिपयको त निकै दयनिय अवस्थामा समेत रहेको र पाठेघर नै बाहिर निस्केर दङदङी गन्हाउने हुनाले घर परिवार र समाजबाट नै उपेक्षित हुनु परेको अवस्था पनि छ । अन्य धेरैजसोमा पाठेघरको मुखको क्यान्सर रहेको देखिन्छ भने पाठेघरकै क्यान्सरको कारण कतिले शल्यक्रिया गरी पाठेघर नै निकाल्नुपर्ने बाध्यता रहेको छ । कसै कसैले आर्थिक अभावका कारण उपचार समेत नपाएर क्यान्सर नै लिएर बाँच्नु परेको पनि देखिन्छ । अर्को ठूलो समस्या भनेको पाठेघरमा ट्युमर पलाउनु पनि एक हो । अधिकांश महिलाहरू यो समस्याबाट पीडित छन् भने यी मध्ये कतिलाई समयमा यसको जानकारी नहुँदा अत्यधिक रक्तश्रावका कारण मृत्यु समेत भएको देखिन्छ । विभिन्न कारणबाट विभिन्न प्रकारका यौनरोगहरूलाई आफ्नो शरिरमा पालेर बस्न बाध्य भएका अझै धेरै उदाहरणहरू हाम्रै सामुन्ने छन् । धेरै जसोले आफ्नो पाको उमेरको कारण चेकजाँचमा जान नमान्ने र लाजले गर्दा छोरा, बुहारी, छोरी आदिसँग आफ्नो समस्याको वारेमा नसुनाउने भएकाले समाजमा यस्ता खालका समस्याहरू बाहिर आएको देखिंदैन । एक त पाका मानिसका अन्य विषयहरू समेत ओझेलमा रहेको अवस्थामा प्रजनन् स्वास्थ्य समस्या त सम्बोधन हुने कुरै भएन ।
पाका मानिसहरूका प्रजनन् स्वास्थ्य समस्याहरू भनेका आजका कारणले उत्पन्न हुने भन्दा पनि हिजोका उपजहरू हुन् । विगतमा भएका छिटो उमेरमा गरिएको विवाह, उमेर कलिलो उमेरमा आमा बन्ने र वर्षेनी सन्तान उत्पादन गर्दा उत्पन्न भएका समस्याहरू हुन् । गर्भवती वा सुत्केरी अवस्थामा अस्पतालको नामसम्म पनि नसुनेका र आफ्ना जीवनकालमा अस्पतालका मुख नै नदेखेका हाम्रा आमा, हजुरआमालाई अझै पनि हामीले भेटिरहेका छौं । सुत्केरी अवस्थामा अर्थात बच्चा जन्मने वितिकै घाँसको भारीमाथि बच्चा राखेर घर आएका कथाहरू त हामीले सुन्दै आएका छौं । सुत्केरी हुँदा एक महिनासम्म गाईको गोठमा बस्नुपर्ने र छोईछिटो बार्नुपर्ने बाध्यताले गर्दा विभिन्न रोगका कारण कतिपयले आफ्ना बच्चाहरू समेत गुमाउनु परेका पीडादायी अवस्था पनि छन् । आज पनि सुत्केरी स्याहार नपाएर होस् वा बच्चा जन्माउन नसकेर कतिपयले अनाहकमै ज्यान गुमाउन परेको घटना दिनदिनै घटिरहेका छन् । विगतका त्यस्ता परिस्थितिहरू पार गरी आज सात दशक वा सो भन्दा बढि उमेर पार गरेर आएका पाका महिलाहरूमा यस्ता विभिन्न खालका समस्याहरू रहेका छन् । अन्य धेरैले लैङ्गिक तथा घरेलु हिंसा समेत भोग्दै आइरहेका छन् । यस्ता गम्भीर समस्याहरूलाई पनि हामीले सम्वोधन गर्नु आवश्यक छ ।
यसरी पाका मानिसहरूका कुनै पनि यौन तथा प्रजनन् स्वास्थ्य समस्याहरू देखा पर्ने बित्तिकै चिकित्सकको सल्लाह लिने र वृद्ध अवस्थामा हुनसक्ने यौन तथा प्रजनन् समस्याहरूको बारेमा यौन तथा प्रजनन् शिक्षा प्रदान गर्नु पर्दछ । जसका कारण सबैले उमेरसँगै आउने परिवर्तनलाई सजिलै आत्मसात् गर्न सकुन् । पाको उमेरमा यस्ता समस्याहरू हुन नदिन बेलैमा गर्भवती र सुत्केरी अवस्थामा विशेष ख्याल राख्नुपर्ने र असुरक्षित गर्भपतन गराउन नहुने कुरालाई विशेष ख्याल गर्नु आवश्यक छ ।
हामीले आफ्ना परिवार र समुदायमा भएका पाका मानिसहरूलाई स्याहार गर्ने, नियमित रुपमा उहाँहरूको स्वास्थ्यको वारेमा खोज खबर लिने र नियमित रुपमा स्वास्थ्य उपचार गराउने हो भने पक्कै पनि यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ । राज्यले दिएका जेष्ठ नागरिकका सबै कानुनी अधिकारलाई कागजी पानामा मात्र सिमित नराखि बिस्तारै यसलाई कार्यान्वयनमा ल्याउन उतिकै जरुरी रहेको छ भने राज्यले जेष्ठ नागरिकको स्वास्थ्य उपचार तथा स्वास्थ्य बीमाका लागि दिएका सहुलियत र सामाजिक सुरक्षालाई कडाईका साथ व्यवहारिक रुपमा प्रयोग गर्नु गराउनु हामी सबैको दायित्व बन्नु पर्दछ ।
राज्यद्वारा पाको उमेरका महिला तथा पुरुष दुबैको यौन तथा प्रजनन् स्वास्थ्य आवश्कता पुरा गरिनुको साथै राज्यले हरेक व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ अधिकारको ईज्जत, संरक्षण र पुर्ति गर्नु पर्दछ । सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार ऐन, २०७५ ले समेत प्रत्येक व्यक्तिलाई प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा, परामर्श तथा सूचना प्राप्त गर्ने अधिकार हुनेछ । प्रत्येक व्यक्तिलाई आफ्नो जीवनचक्रको विभिन्न अवस्थामा आवश्यक पर्ने प्रजनन् स्वास्थ्य सेवा सर्वसुलभ, स्वीकार्य र सुरक्षित रुपले पाउने अधिकार हुनेछ । यसैगरी प्रत्येक महिलालाई स्वास्थ्य संस्थाबाट प्रजनन् स्वास्थ्य रुग्णता सम्बन्धी परीक्षण गराउने, परामर्श लिने तथा उपचार प्राप्त गर्ने अधिकार हुनेछ भनि उल्लेख गरेको छ । यस प्रकार राज्यद्वारा प्रदत्त प्रजनन् अधिकारहरूलाई आत्मसात् गर्दै जेष्ठ नागरिकहरूका लागि पनि पहुँचमा ल्याउनु उत्तिकै जरुरी छ ।
अन्तमा जेष्ठ नागरिकहरू समाजका ज्युँदा इतिहास भएकोले स्थानिय तह, राज्य सरकार र समाजमा रहेका सामाजिक संघसंस्था संगठन तथा हरेक व्यक्ति र समुदायले यिनीहरूका अन्य स्वास्थ्य समस्यासँगै प्रजनन् स्वास्थ्य समस्यालाई पनि महत्वपूणर् स्थान दिई यसमा चासो राखि विभिन्न चेतनामुलक कार्यक्रमहरू गर्नु आवश्यक छ । पाका मान्छेहरूलाई बेवास्ता गरेर न त विकास हुन्छ न त हाम्रो समाज वा राष्ट्र नै उँभो लाग्छ । त्यसैले सामाजिक अभियान कर्ताहरूले पनि आ-आफ्नो कार्यक्षेत्रमा रहेर जेष्ठ नागरिकको समस्या समाधान र सम्भावनाको उपयोगको लागि सम्बन्धित निकायमा दबाब दिनुका साथै राज्यले जेष्ठ नागरिकका लागि अख्तियार गरेका नीतिहरूका सम्बन्धमा समेत जनचेतना अभिवृद्धि र अभियान सञ्चालन गर्दै सहकार्य गरी अगाडि बढ्नु पर्दछ ।
०००
लेखिका पौडेल उप-प्राध्यापक र अधिवक्ता हुनुहुन्छ ।
Subscribe
Login
0 Comments
Oldest




































