साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेलाई साँझपख सम्हालौँ !

पाका मान्छे ‘हरदम परिवार र आफन्तका मायाका भोका हुन्छन्’ भन्ने आत्मसात अरुले गरिदिए समस्या घट्नेमात्र होइन हट्ने पनि हुन्छ ।

Nepal Telecom ad

पृथ्वीमा भएका सबै प्राणीमा मौसमअनुसार विभिन्न गतिबिधि गर्ने क्षमता र प्रयाश भएकै हुन्छ । त्यस्तै दैनिक पनि चौबिसै घण्टा आआफ्नै तरिकामा सक्रिय र निस्क्रिय हुने अवधि हुन्छ । बन्यजन्तु निस्क्रिय अवस्थामा पनि प्राकृतिक कारणले सतर्क रहेका हुन्छन् भने कृतिमता बढेकाले मानिसहरू आराम गरेको अवस्थामा कम होसियार हुन्छन् । सबै प्राणी सबै समय सक्रिय हुँदैनन् भने मानिस त प्रायः सबैतिरका रातमा आराम गर्ने र दिउँसो सक्रिय हुन्छन् । औद्योगिक विकास बढी भएका ठाउँमा कामको चापले त्यस्तोमा आश्रित मानिसहरू रातमा पनि सक्रिय भएको पाइन्छन् ।

प्रजातिगत र बंशानुगत रोगव्याधहरू सबैलाई एउटै अनुपातमा नहुन पनि सक्छ भने कतिपय नयाँ खालका रोगले सङ्क्रमण गरेको पनि हुनसक्छ । कतिपय पाका मान्छेमा केही रोगब्याधले थला पारेको र लगातारको औषधिसेवनले शरीरभित्र खासै रोग खुट्ट्याएको नभए पनि प्राय साँझ परेपछि बाआमा अत्तालिन थाल्छन् । त्यस्ता बिरामीको हप्तामा पाँच दिन ठिकै भए पनि छैठौँ दिनको साँझदेखि गाहारो भएको गुनगुन सुरु गर्छन् र सप्ताहान्ततिर त उस्तै परे अस्पताल आकस्मिक कक्षमा दौडाउनुपर्ने अवस्था हुन्छ । यस्तो कसलाई बढी हुन्छ ? किन हुन्छ ? परिवार वा हेरबिचार गर्न राखेकाले नियमित अनुगमन राम्ररी गरे कारण थाहा पाउन सजिलो होला । त्यसबाहेक निम्न कुरामा पनि ध्यान दिएर तुलनात्मक हेक्काराखे बिरामी हुनेलाई सुबिस्ता पुर्‍याउन सहज र सजिलै सकिन्छ ।

समस्याः
वयस्क उमेरसम्म काम वा खानपान अचाक्ली गरे पनि शारीरिक दौडधुपका कारण र आन्तरिक जैविक प्रक्रिया बलियो रहे सम्म ठाँगेले पनि छोएको हुन्न । हिजोआज त उमेरिदा पहिले कहिल्यै नभएका र नसुनिएका रोगव्याध हुन सक्छन् । तोडा जम्मा गर्न उद्यत उद्योगपतिहरू औषधिको विकासमा अनेक थरीका उपाय पनि गर्दैछन् र एकै रोगमा पनि औषधिको विविधता देख्ता रोगनै उमार्ने मिहेनतमा लागेझैँ लाग्न सक्छ । धेरैजसो चाहिँ बदलिँदो परिस्थितिमा आएको अप्राकृतिक कारणले मानव शरीरमा पारिरहेको बहुकोणको नकारात्मक आक्रमणको उत्पादनले हो । रोग निको पार्न गरिने उपचारको एकतर्फी उपायले शरीरमा हुनसक्ने प्रत्युत्पादक असरलाई आद्योपान्त अध्ययन नगरी गरिएको सेवनको फल पनि हुनसक्छ । प्राय औषधोपचारको पद्धती धेरै ठाउँमा धेरै चिकित्सकले अरुलेनै अध्ययन अनुसन्धान गरी सिफारिस गरेका औषधिनै अमुक रोगमा कामलाग्ने भनि जानेका हुन्छन् । बिरामी सम्पर्कमा आएपछि उस्का समस्या बिस्तृत सुनि आफैँ जाँचपड्ताल गरी कुन फाप्ला भनि निरोपण गर्नुभन्दा बजारमा चलेका औषधिनै सेवन गर्ने सल्लाह दिइएको पाइन्छ ।

उपचार गर्ने चलनचल्तीको यो पद्धती झण्डै प्राथमिक बिद्यालयमा गुरुले ‘ल, पढपढ भनेर क, ख, ग’ भनेर सिकाए जस्तै भएन र ? किन क पहिले किन ख त्यसपछि भन्ने कुरा विश्वविद्यालयबाट उत्तीर्ण भएसम्म पनि थाह हुन्न सबैलाई, तर क नै पहिलो अक्षर हो, सबैलाई थाह छ । त्यस्तै कस्तो हावापानी, कुन नश्लका मान्छे, कस्तो शारीरिक बनौट र जैविक क्षमताका मान्छेमा प्रभावकारी हुने भन्ने निक्र्योल भएको औषधि जहाँकहीँ उस्तै होला र ? शरीर त ठाउँअनुसार पनि अनुकुलन हुन्छ होइन र ? नेपालका सेर्पा समुदायको जस्तो तराईतिर बस्नेका छाला, रङ्ग, फोक्सो र रातो रक्तकणहरू किन हुन्न ? हिमालको छेउछाउ र उच्च पहाडतिर बस्नेहरूलाई लेक किन कम लाग्छ ? तराईका बस्तुभाउ पहाड लैजाँदा र पहाडका तराई लैजाँदा किन पानी लाग्छ ? के नेपालको अहिलेकै सरहदभित्र बस्नेमा पनि सारिरीक विविधता छैन र ?

विविधता मानिसहरू बिचमा छ भने उस्तै देखिएको भनेर रोगका औषधि र उपचार तरिका उस्तै गरेहुन्छ भनि लागुगर्नु कति वैज्ञानिक होला ? चारवर्ण छत्तिस जात र एकसय पच्चिसभन्दा बढी नेपाली मानव समुदायलाई उही औषधिले उस्तै प्रभाव पार्ला र ? यस्ता कुरालाई मनन् गर्दा हरेक ठाउँका चिकित्सकले मान्यताप्राप्त प्राज्ञिक तह पार गरेपछि स्थानिय विशेषतामा अध्ययन अनुसन्धान गर्नु परेन त ? कि आफैँ गर्नुपर्‍यो कि समान परिस्थितिको अध्ययनको नतिजा पछ्याउनु पर्‍यो । एकताका नेपालमा बिभिन्न देशमा पढेर आएका चिकित्सक फरक व्यवहार र औषधि दिएकोबारेमा बजारमा खुब हँस्यौली त्यहीकारण हुन्थ्यो । उनिहरूले जे पढेर आए त्यही त भन्ने होलान् ! अनि नेपालमा अमुक देशका जस्ता औषधि र भौतिक वातावरण नहुँदा विरामीलाई गैरनेपाली परिस्थितिको सल्लाह कतिको काम लाग्ला ?

यस सन्दर्भमा हामीले पाका मान्छेका रोगव्याधबारेमा पनि ध्यान पुर्‍याउनु पर्ने देखिन्छ । पाका मान्छेको उमेरजन्य विशेषतासँगै औषधोपचारका तरिका र मात्रा पक्कै फरक हुन्छन् । किशोरकिशोरी र वयस्कलाई फाप हुने कतिपय औषधिका मात्रा र तरिकाहरू पाका र अति पाका मान्छेलाई प्रभावहिन वा अफाप हुनसक्छ । त्यस्तै, प्राय अरु उमेरसमुहमा नदेखिने तर पाका मान्छेमा रोगकैरुपमा देखिने एक प्रकारको अनौठो लक्षणसहित अवस्था, व्यवहार र सिकिस्तता देखिन्छ । मनोविज्ञानमा असर गर्ने एक प्रकारको रोगकै रुपमा विकसित हुने रोगमा झुनिलाग्ने वा औँशिपूर्णे लाग्ने स्वभाव पनि एक हो ।

झुनिलाग्नेः
हरेक हप्ता सुरुदेखि चारपाँच दिन सप्ताहान्तको रमाइलो, आराम र पुनर्ताजगी पछि कामको स्फूर्ति सबैमा भएको हुन्छ । पाका मान्छेमा पनि नयाँ हप्ताका दिनहरू एक किसिमका उत्साहले चल्छन् । धेरै मान्छेमा सबैतिर कामकाजको वातावरण हुन्छ भन्ने मनोवैज्ञानिक ढाडसले पनि निर्धक्कता पाइन्छ । तर दिनभरी अरु उमेरसमुह र उमेरदार आआफ्ना कामकाजमा दौडने तर घरघरमा प्राय एकान्त समय व्यतित गर्ने पाका मान्छे एक्ला परेका हुन्छन् । उहाँहरूमा जीवनप्रति र पारिवारिक सम्बन्धबारे आखिर दुख त आफैँ व्यहोर्नुपर्ने रहेछ भनि एक प्रकारको बाउँटोपन, निराशा, मन बिग्रेर अतिस्पष्टता र रुखो बोली हुन थाल्छ । मनोविज्ञानमा आएको बिग्रहले हरेक दिन साँझ पर्दै गएपछि दिनभरिको निराशा थेग्रिएर बिष्फोट हुन खोजेझैँ पाका मान्छेमा लक्षणहरू देखा पर्दछन् । दिनभरी भेट हुँदा ठिकै, नरम र मिलनसार कुराकानी गर्ने पाका मान्छेहरू साँझ परेपछि अलमलिने, उत्तेजित हुने, कतै जान लागेझैँ अछन्द्याइलो ढङ्गले लुगाफाटो मिलाउने पनि गर्दछन् ।

त्यस्तो भएका पाका मान्छे घरभित्र रहँदारहँदै कतै घुम्न गएर आफ्नो घर फर्कन लागेझैँ गुण्टा कस्ने र जुत्तामोजा लगाएर हिँड्न खोज्छन् । दिगभ्रमित भएर सामान कहिले कता र कहिले कता राख्ने पनि गरिरहन्छन् । कुनै चिजविज देखेर टोलाइरहने वा सजीवसँग जस्तै सम्वाद घनिभूत गर्न थाल्दछन् । ननिदाएसम्म उनीहरूको क्रियाकलाप विचित्र किसिमको हुन्छ भने कोही सामान्य अरुको बोलीमा पनि उतर्सिने वा एकोहोरो फतफत गरिरहने भएको पाइन्छ । हार्वाड मेडिकल कलेजका डा.ट्रेय टोडको भनाईमा यस्तो स्वभाव देखिनु नियमित बानीजस्तो लागे पनि भावनात्मक र मस्तिष्कको गडबडीनै हो । नेपालमा ‘बेलाबेला औँसी पूर्णिमा लाग्ने मान्छे’ भनि गिल्ला गर्ने बाहेक उपचारमा ध्यान दिएको देखिन्न ।

कतिपय बेलामा घरघित्रनै कोठाचोटा गर्न अलमलिनु, कुनै ठाउँ जान बाटो नदेख्नुजस्ता लक्षणलाई नेपालमा झुनीलागेको भन्छन् । मन एकातिर अर्थात सोचाई एकातिर र काम अर्कोतिर गर्न खोज्दा पनि त्यस्तो भएको पाइन्छ भने यस्तो हुनमा मानसिक र स्नायुरोगको कारणले भएको बढी देखिन्छ । त्यसैले त विस्मृति, उन्माद र अल्ज्हाइमरको शिकार हुन खोजेका प्राय पाका मान्छेमा यस्तो झुनिलाग्ने लक्षण बारम्बार भइरहेको पाइन्छ । हरेक साँझ उहाँहरू अनौठा प्रतिक्रिया देखाउने, बरबराउने र गाह्रो भएको भन्नुहुन्छ र बानी पर्दै गएपछि एक्लै ‘अइया आत्थु’ गर्ने वा ‘हँ…हँ’ गरिरहेको सुनिन्छ । मस्तिष्क र स्नायुमा आएका हावाका लहरजस्ता परिवर्तन अरु बेलामा सामान्य रहन्छन् र चिकित्सकको उपस्थितिमा नभएको हुनसक्छ र विक्षिप्त भएको समय जाँच गर्न बिरामी उतर्सिएर सहयोगी हुन्न । अनि खास के के कारण भएको होला भनि निक्र्योल गर्न कठिनाई भएको भनाई धेरै मनोवैज्ञानिक तथा स्नायुका चिकित्सकहरूको पाइएको छ ।

अचेल चिकित्सा विज्ञानका विज्ञहरू हरेक मानिसका शरीरभित्र जैविक चौबिस घण्टे चक्र हुन्छ भनि भन्न थालेका छन् । सायद उज्यालो, तापक्रम र शरीरका क्रियाकलापले जैविक प्रक्रियाले झाँटिएर साँझ पर्दै गएपछि नकारात्मक असर गर्न थाल्छ । त्यसको प्रत्यक्ष प्रतिक्रिया मस्तिष्क र स्नायु प्रणालीले देखाउन थाल्दछ र चित्तमा लागेका कुरा बौरिन थाल्दछन् जुन अरु देख्ने सुन्नेलाई अचम्भित पार्ने र असामान्य लाग्दछ । त्यसक्रममा शरीरको पाकृतिक नियमित प्रक्रिया- भोक, तिर्खा, यौन, शरीरको तापक्रम, रक्तचाप र निद्रामा हाम्रो मस्तिष्कमा हाइपोथालामसको दाहिने पट्टि रहेको सम्बेदनशील माथिल्लो जोडाई भनिने कोश र यसको नाभिकले नियमितता गराउने हो । त्यो अङ्गनै गडबडिएर वा उत्तेजित भएर अरुलाई अनर्थ लाग्ने काम र गतिविधि गराउन बाध्य हुन्छ । मस्तिष्कघात भएका र मस्तिष्कस्राब भएका मानिस पक्षघात हुनपुगेको छ र लामो समय थला परेर उपचार गरेको अवस्थामा बिस्तारै साँझको झुनीलाग्ने व्यथाले समात्न सक्ने लक्षण नेपालमा पनि देखिएको छ ।

इमोरी विश्वविद्यालयको चिकित्सा स्कूलका स्नायु विभागका प्रोफेसर डाक्टर डोनाल्ड ब्लिवाइजका अनुसार साँझ भुतभुताउने र अचम्भका गतिविधि गर्ने मान्छेमा त्यो प्राकृतिक चक्र बिथोलिएको हुन्छ । उनी थप्छन्- तर सूर्यास्त सँगसँगै किन अनर्थ र नकारात्मक प्रतिक्रिया गर्छ मान्छेले भनि किटान गर्न अलि गाह्रो छ । हार्वाडका डाक्टर टोडको ठम्याईमा मस्तिष्कमा मेलाटोनिन वा अरु रसायनको गलत उपस्थिति र स्नायु प्रणालीको नियमितता बिग्रेर यस्तो आक्रामक अवस्था सिर्जना भएको हुनसक्छ । मुसाको मस्तिष्कमा आक्रामक हुने स्वभाव बनाउने भागमा त्यो रसायन निकाल्ने वंशाणु हटाउँदा त्यस्तै स्वभाव देखाएको पाए । उनको भनाईमा मानिस मुसाभन्दा जटिल मस्तिष्क भएको प्राणी भएकाले त्यस्ता खराबीबाहेक अरु कारण पनि हुन सक्छन् भनि अनुसन्धान जारी राखेका छन् ।

झुनीलाग्दा पीडित व्यक्ति एकसुरे र आँखा खुल्ला भए पनि उसको मस्तिष्कमा चलिरहेको द्वन्दबाट निर्देशित भई चलफिर गर्ने भएको पाइन्छ । त्यस्तो झुनिलाग्ने अवस्था प्राय साँझ र राततिर हुने गरेको कुरा पाका मान्छेका अनुभव सुन्न पाइन्छ । अठोटेको वा लाए अह्राएको जरुरी काम फत्तेगर्ने पिरलो र त्यसको शुभ-अशुभ नतिजाको चिन्ताले दिमागमा अत्यधिक चापपर्दा स्नायु प्रणालीमा सबैतिर अत्यधिक सतर्कता हुन्छ । त्यसैको फल प्राय सामान्य अवस्थाका हरेक उमेरसमुहमा नयाँ असामान्य व्यवहार देखिन सक्छ । अति ज्वरो आउँदा बरबराउनु, विद्यार्थी भोलिपल्टको परीक्षाका उत्तरबारे राती सपनामै भूतभुताउनु, बिहानै काममा टाढा जानुपर्ने चापले रातीनै उठेर हिँड्नु, मन अतिबिरहमा पर्दा नीर्जिवसँग कुरा गरिरहनु, आदि मानसिकतामा परेको अत्यधिक चापनै प्रष्टिएको हो । हो, यस्तो बारम्बार भइरहे रोगकै रुपमा विकसित भएर उन्माद, विस्मृति र अल्ज्हाईमरले घर गर्न सक्छ, त्यसैले पाका मान्छेमा त्यसो नहोस् भनि परिवार र आफन्तले बेलैमा होस राख्नुपर्छ ।

हालै प्रकाशित वायमिङ विश्वविद्यालयका स्नायु वैज्ञानिक डा.टे्रय टोडको भनाईमा सन २०२० सम्म प्रकाशित यस विषयका लेखरचना अध्ययन गर्दा झुनीलाग्ने यदि नियमित हुँदैछ भने करिब उही समयमा साँझपख हुने गर्छ । धेरैजसो चार घण्टाजति अनौठो व्यवहार बिरामीले देखाउँछन् र सारसौँदो मान्छे समय भएपछि अचानक त्यस्तोबाट ग्रसित भएको देखिन्छ । बिजुली बाल्ने स्विच थिचेर उज्यालो वा अँध्यारो भएझैँ क्रमिक रुपमा हुने नभएर यो रोग तुरुन्तै शुरु र बन्दको लाग-छोड स्वभाव देखापर्न सक्छ । विस्मृतिमा जान लागेका बिरामीमा यस्तो असाध्य अवस्था बिस प्रतिशतमा सामान्यतया देखिएको उनको निस्कर्ष छ ।

अर्को खालको अनौठो प्रतिक्रिया देखाउने, काम्ने, दाँत किट्ने, कपाल भुत्ल्याएर लडिबुडी गर्ने, चाहिँदो नचाहिँदो बोल्ने र मानसिक असन्तुलनजस्तो गर्ने महिलाहरूमा पनि देखिन्छ, सुनिन्छ । मानसिकरुपले विक्षिप्त भएझैँ गर्ने त्यस्ता व्यवहारमा प्राय बोक्सी लागेको भनेर नचाहिँदो अमानविय व्यवहार पनि गरेको पाइन्छ । केही दशक अघिसम्म बोक्सी चढेको बेला डामे निको हुन्छ भन्ने नाममा मुखमा, अनुहारमा पोलिएका महिला घरगाउँतिर भेटिन्थे । वास्तवमा घरायसी असन्तुलन, आर्थिक समस्या, यौन अतृप्तता र परिवारको दमनमा परेका निरीह महिलाहरूमा त्यस्ता लक्षण भेटिन्छन् । त्यो रोग नभएर अति मानसिक चाप र मनले नमानेका व्यवहारको नकारात्मक असरको परिणाम भएको धेरै उदाहरणबाट थाह हुन्छ ।

उपचारः
खासै उपचार विकास नभएको भए पनि यस्तो बारम्बार भएको मानिसलाई साँझ पर्न लागेपछि बस्ने ठाउँमा चहकिलो प्रकाश पारिरहँदा यसको सम्भावना कम भएको देखिएको छ । उज्यालोले जैविक चक्र दिउँसोको जस्तै नियमित गर्न मद्दत पुग्ने भएर समस्या कम हुन सक्छ । यो विधि विस्मृतिका बिरामीलाई पनि प्रयोग गरिँदै आएको छ र फाइदा पुगेको देखिएको छ । अर्को अप्रत्यक्ष उपायमा नियमित व्यायामलाई प्राथमिकतामा राखी शारीरिक तन्दुरुस्ती कायम गरेमा फाइदा पुग्ने भनिन्छ । चिकित्सकले बिरामीको उल्टोपाल्टो व्यवहार अध्ययन नगरी झण्झट कम होस् भनि औषधिमा जोड गर्छन्, यो बिरामीलाई पन्छाउन खोज्ने व्यवहार हो । औषधि सेवन अन्तिम उपाय हो, मानसिक र स्नायु समस्याहरूमा । नेपालमा पनि स्नायु बिरामीले दुख दिन थाल्यो भनि चिकित्सकहरूले मानसिक रोगीलाई लट्ठ्याउने औषधि दिने गरेका छन् । यो सर्बथा गलत तर अन्तिम उपाय हो । यस्ता बिरामी त आफन्त र चिकित्सकको माया र सहयोगी व्यवहारका आकाङ्क्षी हुन्छन् ।

औषधिले मुटुफोक्सोमा प्रत्युपादक असर गर्नसक्छ र झुम्म पार्ने औषधिले अलिकति होस आउनासाथ बिरामी हिँडडुल गरेमा दुर्घटना हुनसक्छ । लामो समय लट्ठ्याउने औषधि सेवनले रगतमा नकारात्मक प्रभाव पारी चिनिनुनको मात्रा बिगारेर बिरामीलाई थप समस्या हुनसक्छ । बिरामीलाई निस्क्रिय मुढो बनाउनु हुन्न, बरु आफन्तले पालैपालो समय दिएर बाँचुञ्जेल सुखसँग हाँसखेल गर्ने वातावरण बनाइदिनु पर्छ । ध्वंसात्मक व्यवहार नभएसम्म बिरामीलाई लट्ठ्याउनु र परिवारका अरु आफ्नो मोजमस्तीमा रमाउनु त पाका मान्छेप्रति गरिने अमानविय व्यवहार हो । यस्तो कुरालाई चिकित्सकहरूले त झन प्रोत्साहन गर्नैहुन्न ।

हिजोआज पश्चिमा देशहरूमा बिरामीको बिगत खोजपडताल गरी उसलाई के मनपर्छ त्यस्तो उपलब्ध गराउने, उत्तेजित गराउने पदार्थ सेवन घटाउने र हटाउने गरिन्छ । अल्ज्हाईमर सङ्घका बेथ कल्ल्मेअरका अनुसार बिरामीमा नचाहिने रसायन प्रतिक्रिया गर्न मस्तिष्क र स्नायुमा प्रसारण नहोस् भनि मधुर सङ्गित, मन परेका मानिस तथा कुराकानी सुनाउने गर्दा पनि बिरामीका लक्षणहरू घटेका पाइएका छन् । मानसिक शान्तिले धेरै कुरा हल गर्ने भएर त आजकाल पूर्विय संस्कृतिमा उल्लेख भएका योग, ध्यानका कुरामा पश्चिमाहरू पनि आकर्षित भएको पाइन्छ । मानिसको सुख र मनको चईन नै प्रमुख कुरा रहेछ नि हरेक प्रणाली र विचारधारामा, होइन र ?

अन्त्यमा,
नेपालको परिप्रेक्ष्यमा सप्ताहान्तमा परिवारका सदस्य अन्यत्र जानसक्ने, रमाइलोमा लाग्ने र आफूलाई हेरबिचार गर्नेको अभावमा के होला भनि पाका मान्छे आत्तिने हुनसक्छन् । सकेसम्म परिवार र हेरालुले अशक्त भएका पाका मान्छेलाई त एक्लो पार्नैहुन्न । कम सक्षम भए पनि सहृदयका र आदरकासाथ पाका मान्छेलाई हरेक कार्यक्रममा सहभागी गराउनु पर्छ । पाका मान्छे बिदाका दिनमा हेरबिचार गर्ने मान्छेको कमी अनि स्वास्थ्य संस्थाहरूमा पनि बिदा हुने हुनाले आफूलाई अप्ठ्यारो परे ‘मरिने पो हो कि, कोही नहुँदा ?’ भनि आत्तिएर पनि त्यस्तो अनुभूति भएको हुनसक्छ । फेरि हप्ताभरिको थकानले पनि साताको अन्तिमतिर सबै थिग्रेर जम्मा भएको मनोवैज्ञानिक पिरोलोको कारण पनि हुनसक्छ । पाका मान्छे ‘हरदम परिवार र आफन्तका मायाका भोका हुन्छन्’ भन्ने आत्मसात अरुले गरिदिए समस्या घट्नेमात्र होइन हट्ने पनि हुन्छ ।

सामाजिक स्थिरता र न्यायपूर्ण बितरण प्रणाली नभएका देशमा मानसिक समस्यामा धेरै जनता परेका हुन्छन् । लगातारको गलत थिचाईका कारण स्नायु प्रणालीमा पनि गलत असर पर्नसक्छ । एकाएक बेसुरका कुरा गर्ने, कुचेष्टा लागेकोजस्तो बोली र व्यवहार कतिपय अवस्थामा सोझै आक्रमण वा विद्रोह गर्ने आँट नहुँदा गरिने आत्मघाती मनोविज्ञान हो । मानिस जब एक्लो वा सबैबाट हेलित आफूलाई सम्झन थाल्छ र आफ्ना कुरा शतप्रतिशत सहि ठान्छ त्यतिखेर उसले गर्ने अनौठा भनिने गतिबिधिनै हो । किन कि त्यो ‘अनौठो’ भनिएको बानी अरु पीडकहरूलाई हो, सत्यतथ्य चाहिएकोलाई होइन । त्यसैले हरेक स्पष्ट र तिखा बोल्ने मानिस बौलाहा वा मगज खुस्केका होइनन्, यो कुरा दशकौँ अनुभवी पाका मान्छेका तरङ्गी भनिएका कुरामा पनि लागु हुन्छ । टाढा किन जानु सत्यतथ्य कुराका प्रतिक कवि गोपालप्रसाद रिमाललाई सत्ता र समाजमा नानारङ्गी लाभ कुम्ल्याउन पल्केकाले के मात्रै गरेनन्, भनेनन्, तर उहाँ समर्थवान कालजयी बोल्ने हुनुहुन्थ्यो भन्ने लुक्छ र ?

तत्कालिन सामाजिक परिवेशमा मानिसमा बढ्दो नवधनाढ्यका शोख पलाएर हैरानीमा भेटिन्छन् । हरेक मानिसले आफ्नो हैसियत र बर्कतले भ्याउने कुरामा मात्र आँटगरी आकांक्षी बन्नेगर्दा शरीरको सबैभन्दा सम्बेदनशील भाग मस्तिष्क र स्नायु प्रणाली चुस्तदुरुस्त राख्न सकिन्छ । कामधाम र मिहेनत नगरी सर्बोत्कृष्ट सुखको आशामा हवाईकल्पना गर्दा सामान्यरुपमा सोम शर्माको बाबुको सातुको घ्याम्पोबाट सातु पोखिएको घटनामात्र सावित नहोला, ठूलै मानसिक रोगलागी असमयमा दुख पाइएला ! उत्पादित बिजुलीको मात्रा जति छ त्यहि नै बितरण हुन्छ, आवश्यक्ताअनुसार हुँदैन, क्षमताअनुसार न पहुँचको आश गर्न सकिन्छ, होइन र ? आजका पाका मान्छे यस्ता कुराबाट टाढै हुन्छन्, आफ्नो कारणले अरुलाई दुख नहोस् मात्र होइन, सहँदो, बुझिँदो र सामाजिक हिसाबले आफूलाई अनुकुल पार्नेमात्र होइन अरुको भलोमा पनि सक्रिय रहन जान्दछन् ।
०००
फागुन २४, २०७९
ल.पु. चालिसेडाँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x