डा. मुकेशकुमार चालिसेबाआमा सन्तानबाट के चाहन्छन् ?
मानव समुदाय बनैया र घरपालुवा जन्तुकोसमेत हितमा काम गर्न सक्छन् भने यसै मानव प्रजातिका पाका मान्छेले सन्तानको हितमा काम गर्दैनन् होला र ? उहाँहरू त ओहोरात्र आफ्ना अनुभवको जलपमा सन्तान दरसन्तानको प्रगति, उन्नति र सुखमय जीवनका लागि चिन्तनशील हुने गरेको पाइन्छ ।
डा. मुकेशकुमार चालिसे :
अहिलेका पाका मान्छे अर्थात बा, आमा, हजुरबा र हजुरआमा उमेरिदै जाँदा आफ्ना छोराछोरी र सन्तानहरूबाट टाढाटाढा हुन बाध्य भइरहेको देखिन्छ । त्यस्तो भोग्ने बाआमाका परिवारका युवातन्नेरीलाई सोधेमा ‘कुरै मिल्दैन, जनरेसन ग्याप नि’ भनेर पन्छिन खोज्छन् । उमेरिएकालाई सोधेमा कतिपयले विदेश जाने मौका पाएर ‘बेलाबेला कहिले केटाकेटीको ग्र्याजुएसन र कहिले नवजातको हेरबिचार गर्न बोलाउँछन्’ भनि चित्त बुझाएका छन् । केटाकेटी आफ्नै संसारमा रमाएर बेलाबखत पैसो नपर्ने भनिएको ‘वाईफाईबाट अनुहारसहित बोल्न पाउँदा’ जमघटमा धाक लगाउन पनि चुक्तैनन् । उमेरिदा मुख बोलाउ घरमा नभएर, बलिन्द्र आँसुका थोपा लुकाएर सन्तानको सम्झनामा कुँढिन्छन् । बिचरा पाका बाआमाहरू आफ्नै परिवारमा तेस्रो दर्जाका सदस्य भएको चाल पाएर सकुञ्जेल त लर्याङलुरुङ गर्दै हुन्छन्, नसक्नेले के गरून् ? अलि गाह्रोसाह्रो परेमा टिलपिल गर्दै आफन्त, सहानुभूति राख्ने कोही झुल्की हाल्छन् कि भनि आशा गर्छन् । मायालु बनि कोही आएमा कोक्किएर सुँक्कसुँक्क गर्दै ‘आफूले अभिभावक भई दुखमा गरेका काम’ अगाडि परेकालाई भन्न भ्याउँछन् ।
कम वास्ता गरिएका, नपुछिएका उमेरिदा एक्लै वा दोक्लै भएका बबुरा बाआमा सन्तानले ‘जहाँको खाजा उहीँको पोल्टो’ गरेपछि सुनिदिने भेटेभने विरहका गीत गाएको सुन्दा ‘काल पर्खिरहेको’ आभाष हुन्छ । उहाँहरूसँग अब सन्तानलाई आफ्नो लयमा फर्काउने आँट पनि हुन्न र प्रयाश पनि असफल हुने पक्का भएकाले ‘कति दुख गरेर हुर्काइयो, चराका बचेराले गुँड छोडेझैँ भयो, कालबेला उल्टो भयो अबत्’ भनि चित्त बुझाउन खोज्नुहुन्छ । उहाँहरू मसक्कै निणर्य गर्दै भन्न छोड्नुहुन्न, ‘बुढाबुढी कुना पसी रोई, एक्लै जन्मियो एक्लै मर्ने त होला, कलि युगको मार अझै कति भोग्नु पर्ला’ जस्ता नकारात्मक, निराशायुक्त सुस्केरा सुनाउनु हुन्छ ।
वास्तवमा यस्ता परिवारका सदस्यको हुर्काई पहिले बेढङ्गसँग भएको हुन्छ र केटाकेटीले वयस्क हुँदा आफ्नो सुखसुबिधा बाहेक केही नहेरेको देखिन्छ । सिक्दाभोग्दानै कुसंस्कार र व्यक्तिवादको चलखेलले हुर्किएका परिवारका बालबच्चा वयस्क हुँदा आफूबाहेक अरुलाई देख्दैनन् । त्यस्ता वयस्कले नेपाली वणर्मालामा म अक्षरलाई भनेझैँ ‘राम्रो म’बाहेक अरु केही जान्दैनन् र मान्दैनन् । फलत आफन्त बित्दा समयमै नआई ‘टिकट नमिलेको तुरुफ’ तेस्र्याउँछन् ।
अहिले मानिसको हरेक समुहमा एकातिर अनुभव, ज्ञान र सिपले उमेर खाएका पाका मान्छे र अर्कोतिर जाँगर, जोश, नयाँनयाँ ज्ञानभएका युवायुवती र वयस्कहरू अलग हुने स्थिति किन भयो होला ? दुबै उमेरसमुहले किन आआफ्नै डम्फु बजाउने काम गरी पुस्तान्तरणको बिचमा हुनसक्ने राँटो खाडल बनाई झन गहिरो र नमेटिने पार्न किन खोजेको होला ? किन मानव मानवबिचमा पनि भावनात्मक समन्वय गर्न त्यतिविधि अप्ठ्यारो तेर्सिएको होला ? यस्तो प्रशङ्गमा हामीले सामाजिक विकासक्रम, गति, र प्रक्रियाबारे बुझ्न जरुरी देखिन्छ भने अहिलेका पाका मान्छेले पनि कसरी हुर्काई बढाई गरेको थियो समीक्षा गर्न आवश्यक छ । जन्मेदेखिनै केटाकेटीले के सुनेका छन् ? ‘विद्यालय गएपछि जसरी पनि धेरै नम्बर ल्याओस्, केही पढलेख पछि जसरी पनि पैसा कमाओस्, देशमा केही गर्न नसके विदेशमा नातेदारले देख्दैनन् भाँडै माझेर भए पनि खुब पैसा कमाओस्’ यस्तो आशय कतिले दिनरात सुन्न पाउनुभएको छ ? ‘नम्बर होइन ज्ञान आर्जन गर्नू, एकसरो योग्यता भएपछि उपयुक्त काम थाल्नू, एक्लो ज्यान त गल्लीको कुकुरले नि पाल्छ, सके गाउँ पाल्नू, कुलवंशको साथै विश्वमा आफ्नो देशको नाम उचाईमा पुर्याउन कोसिश गर्नू’ यस्तो भनाई कतिजनाले आफ्नो घरमा सुन्न र मनन् गर्न पाउनुभएको छ ?
मानिस सामाजिक प्राणी हो, उसको चेतना, बरव्यवहार समाजकै बस्तुगत अवस्थाबाट बढि प्रेरित हुन्छ । उसले उमेर बढ्दै जाँदा सिक्ने, जान्ने र मस्तिष्कमा संस्मरण राख्ने क्षमतासँगै आफ्नो र अरु जैविक प्रजातिका ऐतिहासिक विकासबारेमा धेरै जानकारी बटुल्न सक्छ । मानव प्रजातिकै विकास, राजनीतिक प्रणालीको औचित्व, लिइनुपर्ने बाटो, घरघरमा गरिनुपर्ने शिक्षा, सिप र तदअनुसार व्यवहार आफू अनुकुल स्विकार गरी अघि बढ्न खोज्छ । त्यसैले पाका पुस्ताले कम उमेरका लागि कसरी मार्ग निर्देशन गर्छन्, त्यसले धेरै हदसम्म आउँदो पुस्ताको वैचारिक र व्यवहारिक आधार तयार पारेको देखिन्छ । यस कुरालाई मान्ने हो भने कलिला पुस्तालाई हुर्काउने जिम्बेवारी पाका पुस्ताको दायित्वभित्रनै परेको निश्चित हुन्छ । पाका पुस्ताले आफू पाको भएपछि वयस्कबाट खोज्ने व्यवहार हिजो सिकाएको थियो कि थिएन ? भन्ने कुरानै महत्वपूणर् हो ।
अहिले पनि बालबालिका हुर्काईमा उपरोक्त मूलकुरा ध्यान दिइएन भने अहिलेका पाका पुस्ताले मात्र होइन भोलिका पाका पुस्ताले झन दुख पाउने निश्चित छ । त्यस मर्मलाई ध्यानमा राखेर नै यसअघिका पुस्ताले बालबालिका हुर्काईमा धेरै ध्यान दिन्थे । घरव्यवहारको काममा सघाउन सिकाउने, आत्मनिर्भर कसरी बन्ने उपाय भन्ने, सबैजना बाँडीचुँडी स्रोतको उपयोग गर्ने, एकअर्कालाई मद्दत गर्ने, घरमा बनाएको सुरक्षित खाना खाने, हेर्दा आकर्षक तर जीउ बिगार्ने बजारीया खाना नखाने, मद्यपान धुमपान गर्न नहुने आदि अनुशासनमा पर्दथ्यो । ज्ञान र उपलब्धिलाई सादर सिको गर्ने, सहिष्णु र दयालु हुने, उमेर अनुसार आदर, स्नेह र माया गर्ने आदि गुणहरू प्रशंसित हुने नै सामाजिक शिष्टाचार बनाए । अब अहिलेका बाआमाले धेरै केही नसके पनि ‘तिन स’को तरिका र विचारलाई अबलम्बन गर्दै बालबालिका हुर्काउनु आवश्यक छ । अहिले धेरैले सन्तानबाट आशा गरेको चाहिँ बेलामा नगरेर पछि खोजेको जस्तो पक्कै बुझिन्छ । त्यसैले कम्तीमा अहिलेका पुस्ताले आफ्ना बाआमाले भनेको ‘गनगन र म्यादगुज्रेको’ होइन वास्तविकता हो भनि मान्नै पर्छ ।
शरीर स्वास्थ्यः
हरेक मानिसको शरीर स्वस्थ हुनु आवश्यक छ, ‘क्षिण शरीरको क्षिण बुद्धि’ भन्ने भनाई पनि छ । स्वस्थ्य रहन सफाईसुघ्घर बाहेक नियमित उपलब्ध खाना ताजा र पोषक चाहिन्छ भने काम, आराम र सुताई शरीरलाई सुहाउँदो हुनैपर्छ । बेमौसमी भन्दा मौसमी अन्न, फलफूल र तरकारी उपयोगमा जोड दिनु राम्रो हो । ‘कामले फुर्सद छैन, पश्चिमाको यस्तै हो, विकास गरेका छन्’ भन्दै दिउँसो काम गर्नेले रमाइलो गर्न आधारातसम्म अनिदो बस्नु ठिक नहोला ! निरन्तर प्रविधिको प्रयोग पनि हानीकारकनै होला, अत्यधिक उपयोग त राम्रो कुराको पनि बेठीक हो नि । ‘चिनी त धेरै खाएपछि नमिठो हुन्छ’ भन्ने उखान त्यतिकै चलेको होइन होला ! नयाँ प्रविधि सिकारु केटाकेटी तथा वयस्क हिजोआज मोबाईल र कम्प्युटरमा सामाजिक सञ्जाल र खेलमा अल्झेर रातभरी जाग्राम रहनु स्वास्थ्यको हितमा कति राम्रो होला ? हुँदाहुँदा खाना खाँदा वा बाटो काट्दा पनि मोबाईलमा झुण्डिने बानी कतिको सुरक्षित होला ? के शरीरको मनोविज्ञानमा अन्यत्रै केन्द्रित रहँदा खानाको स्वाद, मात्रा र पाचन प्रणालीले ग्रहण गर्ने जैविक क्रिया उस्तै होला र ? पाका मान्छेले त्यसैले हरेक काम ‘बेलाअनुसार शरीरलाई गाफिल नपर्नेगरी गरिनु पर्छ’ भनि जोड गर्छन्, यो नितान्त आवश्यक कुरा हो ।
हावापानी र मौसमअनुसार सुकिला र शरीर सुरक्षित गर्ने लुगा लगाउनु उचित होला कि चलेको फेसन भनि नयाँमै ठाउँ- ठाउँमा च्यातेका, नचाहिँदा नारा लेखिएका, अस्वाभाविक चित्र भएका लुगा झुण्ड्याएर हिँड्नु ठिक होला ? मानिसको छालाले घामका पराबैजनी किरणलाई थेग्न सक्दैन र हावा बतासले छालाको आद्रता उडाइदिएर प्रतिकुल बनाइदिन्छ । मानिसले लुगाको आविष्कार त असामान्य वातावरणमा पनि मानिसको शरीरलाई बचाउन र रक्षाको लागि पो भएको हो । के साह्रै गर्मी ठाउँका मानिस लुगा नलगाई हिँड्छन् र ? शरीरको हिफाजत कुनै पनि प्राणीको प्राथमिक काम नै हो, देखीसुनी मनपरी गर्न त पाइन्न नि ! त्यसैले त पाका मान्छेले ‘जीउ भए घिऊ खाउँला’ भनि आफ्ना सन्तान मात्र होइन कम उमेरसमुहका सबैलाई उचित लुगा लगाउन भन्ने गरेका छन् । हेलचेक्र्याइँ गर्ने, नियमित जीवनका कुरामा हेपाहा प्रवृत्ति हुने मान्छे शारीरिक रुपले कसरी सक्षम हुन सक्ला ? त्यस्ता मान्छे चाहिँदो कुरामा ध्यान नदिने भई, रहँदाबस्दा सामान्य कामको लागि अरुको दयापात्र बन्दै जान्छ । परनिर्भरता मानिस, समाज र देशकै लागि पनि अस्तित्वमा खतरा आउने सम्भावना बढाउनु हो । त्यसैले पाका मान्छे आफ्ना र भनेको सुन्नेलाई शरीर स्वस्थ्य राखेको राम्रो भनिरहन्छन् उहाँहरूको मुख्य कामना कामलाग्दो छैन त ?
सचेत दिमागः
समाज परिस्थितिअनुसार हरेक समस्या र मुद्दामा विज्ञानसम्मत व्यवहारिक चेतना भएका सन्तान र समाज होस् भन्ने नै पाका मान्छेको चाहना हुन्छ । परम्परागत मान्यता र संस्कारमा कतिपय अवैज्ञानिक र अव्यवहारिक चलन तथा विश्वास चल्दै आएका हुन्छन् । अशल पक्षको जगेर्ना त गर्नैपर्छ तर ‘म्याद खुस्केका औषधिजस्तो’ एउटा कालखण्डमा ठिक भएका वा लागेका चलन र सोचाई परिवर्तित अवस्थामा नमिल्ने हुनसक्छ । त्यस्ता कुरा तथा सोचाईमा सचेत परिवर्तन गरेर मानव समाजको हितमा विज्ञानसम्मत चलन चलाउनु पर्छ । नत्र त हामी कुनै बेला बिरालोले पवित्र कार्यमा दुख दियो भनेर अहिले बिरालो कम हुने बेलामा र वरपर नहुँदा ‘बिरालो खोजी खोजी बाँध्नु पर्छ’ भनि भौँतारिए जस्तो भएन र ? आजका पाका मान्छेले ‘घोकन्ती विद्या, पण्डितमात्र हुने शिक्षा’ बाहेक विज्ञानसम्मत उत्सुकताामा मन दिएर कतिपय आविष्कार गरी जनहितमा अगाडि बढेको होइन र ? कैयौँ अनुभवलाई लिपिबद्ध नगरे पनि शिकारु जम्मा पारी ज्ञानको हस्तान्तरण गरेका होइनन् र ? अहिलेका चिन्तक व्यक्तित्व, अनुसन्धाता, कतिपय मूर्तिकार, चित्रकार, सुचिकार, अनेक सिपका परम्परागत कर्मी, खेतीमा सफल किसान, आदिले विश्वविद्यालयका ठूला तहमा अध्ययन त गरेनन् तर अनुभव र विज्ञानसम्मत खोजपूणर् धामाले ज्ञानको भकारी भरिएका जनप्राध्यापक भएर देशविदेशमा प्रख्याती कमाएका छन् ।
सामान्यतया विज्ञानका कुरा उठदा ठूलाबडा कलकारखाना, सवारीसाधन, यन्त्रयुक्त प्रविधिका कुरा अनि ब्रह्माण्ड र खगोल विषयक भनि अर्कै गहन अध्ययनको पाटो जस्तो सोचेर मानिसहरू अति सम्मान गर्ने वा सामान्य जानकारी बहिरकोझैँ विमुख हुनखोज्ने गर्दछन् । वास्तवमा विज्ञान सबैतिर र जीवनजगत्का सबै विषयमा नछुट्टिने गरेर टाँसिएको हुन्छ । दैनिक घरेलु कामदेखि नयाँनयाँ सामाजिक आविष्कारमा विज्ञान जोडिएकै हुन्छ । चराचर जगतका सकारात्मक र नकारात्मक घटनाको उत्पत्ति प्रक्रिया, असर र फलमा विज्ञान अन्यानोश्रित ढङ्गले जोडिएकै हुन्छ । विज्ञानले ठिक बेठिकलाई बिना मोलाहिजा हुनुपर्ने प्राप्तिलाई प्रष्ट भन्दछ । अलि अघिदेखि ‘ठिकलाई बेठिक भनाउन र बेठिकलाई ठिक देखाउन’ सामाजिक, प्रशसनिक र घरेलु व्यवहार, रितीरिवाज र विज्ञानलाई अलग पार्न खोजियो । पछिल्लो खेप त प्रष्टरुपमा प्राविधिक र प्रशासनिक दुबै आकाश-जमिन भएझैँ फरक छ भनि ‘आफ्नो कोग्ल्याँटोपन लुकाउन’ राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणालीमा रहेको अन्तरसम्बन्धलाई भत्काइयो । समाज विज्ञानको बृहत्तर छातामुनि मानव समाजका हरेक विधा नै आउँछन् भन्ने सर्वसम्मत धारणालाई वैचारिक हिसाबले पछि परेका समाजमा अझै पत्याइएको छैन ।
छुटाउन नमिल्ने भएर हिजोआज कम्तीमा विद्यालय अध्ययनका हरेक विधालाई विज्ञान झुण्ड्याउने चलन छ । हुन पनि समाजशास्त्र मात्र होइन राजनीतिसम्म विज्ञाननै हो भनि धेरै देशले स्विकारेका छन् र त्यसै भन्छन् । समाजका घटना, उतारचढाव खास प्रक्रियाबाट हुने भएर समाजको विश्लेषण विज्ञानसम्मतनै हुनु पर्दछ र त्यस्तो राजनीतिमात्र सर्वसाधारण र देशमुखी हुन सक्छ । यसैले विज्ञानसम्मत राजनीतिक मुद्दा नउठाउने हरेक देशका दलहरू ‘उदाउँदै अस्ताउँदै’ गएको देखिन्छ । पाका मान्छेहरू आफ्नो कम्तीमा पाँच दशक लामो सचेत अनुभवबाट ‘गर्नुपर्ने र गर्न नहुने’ बिचार र क्रियाकलाप जान्दछन् र आउँदो पुस्ताले पच्छ्याओस् भन्ने चाहन्छन् । उहाँहरू उमेर, अवस्था र सचेतनता जाँचेर मानिसमानिस बिचमा सम्बन्ध राख्न र सकेको मद्दत गर्न विज्ञानसम्मत ढङ्गले अग्रसर हुन सिकाउन खोज्नुहुन्छ ।
त्यसैले पाका मान्छे आजकल केटाकेटीलाई गर्ने चलनचल्तीको ‘लोलोपोतो घसेर माया गरेको देखाउने व्यवहार गरी स्वाङ नगरौँ, बरू आदर गरौैँ’ँ भन्नुहुन्छ । केटाकेटीलाई आदर गरेमा उनीहरूको सिकाईनै आदर हुने हुनाले पछि अरुलाई आदर गर्ने संस्कारनै बन्छ । आदरसाथ सम्झाइएका कुरा केटाकेटीले राम्ररी सिक्न सक्छन् र पछि यही संस्कारले आफू पाको हुँदा फिर्ता पाउँछन् । त्यसैगरी केटाकेटीलाई पाका मान्छेलाई भेट्दा ‘म के सहयोग गरुँ तपाइँलाई’ भनि माया गर्न सिकाउँ । यसले शारीरिक-मानसिक हिसाबले बिस्तारै कमजोर हुँदैगएका पाका मान्छेलाई धेरै भरथेग हुन्छ । उमेरिदा चाहिने आडभरोस आफैँ पूरा गर्न हल न चल भएकालाई सानोमसिनो काम पनि असम्भव भएको हुन्छ भने चलहल गर्ने कतिपय उहाँहरूलाई हम्मे परेर फत्ये गर्न ‘लङ्काको लडाइँ जितेको’ प्रतित हुन्छ । पाका मान्छेले आदररुपी ‘चिप्लो’ले ‘माखो मर्दैन’ र आफ्नो कुनै भलाई हुँदैन भन्ने भोगिसक्नु भएको छ । बरु अनुकुल पर्नासाथ अघिपछि लागेर सघाइदिएको सह्रनीसाथ मनपराएको देखिन्छ ।
राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हरेक पक्षमा जान्न सचेत रहेका मान्छे पाको भएको अवस्थामा सबैभन्दा भरयोग्य हुन्छन् । विभिन्न दलका राजनीतिक दाउपेच, वास्तविक बहुसङ्ख्यक जनताको हितकारी व्यवस्थाको व्यवहारिकरुपले अनुभव गरेका पाका मान्छे बाटो देखाउन सक्छन् । कुन व्यवस्थामा आर्थिक उतारचढाव बढी हुन्छ ? कुन प्रणालीमा जनताको हैसियत कस्तो हुन्छ ? दैनिक आवश्यक्ता र समृद्धिको बाटो कसरी पहिल्याउन सकिन्छ, बिचार प्रणालीमा कुन ठिक हो ? अनुभवबाटै पाका मान्छेलाई थाहा हुनसक्छ । आफ्नै अनुभवले कस्ता साँस्कृतिक संरचना र प्रचलन विज्ञानसम्मत र जनहितकारी छन् भन्ने पनि अनुभवको क्रममा निक्र्योल गरिसकेका हुनसक्छन् । यस्ता अनुभवी पाका मान्छेको सचेत र तर्कयुक्त सल्लाहले केटाकेटी र युवायुवतीलाई प्रशिक्षित गरेमा समाजको समृद्धि बल्ल हुनेछ र आउँदो पुस्तालाई हरेक क्षेत्रमा अघि बढ्ने सचेत मस्तिष्कका बनाउन सकिन्छ । हामीले सचेत पुस्ता विकास गर्नैपर्छ जतिसुकै होचिअर्घेली र परित्यक्त अवस्था भोग्नुपरे पनि, हामी हाम्रो कर्तव्यबाट बिमुख हुनै सक्दैनौँ । आउँदो संसार मानवीय बनाउनै पर्छ, ज्ञानको बत्ती बाल्न नछोडौँ, नत्र त् अँध्यारो हट्दैन नि !
सक्षम सिपः
जीवन चलाउन विशेष सिप लगनकासाथ सिकेर सक्षम हुनैपर्छ र यो कुरा सचेत ज्ञानको ज्योतिमा मात्र सम्भव छ । आफ्नो स्तर र अवस्थानुसार सकेको राम्रो र अहिलेको लागि आवश्यक सिप सिक्न सधैं तत्पर भएर एक तह अङ्गीकार गरेको हुनैपर्छ । अबको सामाजिक अवस्थामा ‘भाग्यमा भए डोकामा दुध दुहे पनि अड्छ’ भन्ने उखान व्यवहारिक रुपमा गलत छँदैछ, ‘दैवले चाहे छानो फोरेर ओइर्याउँछन्’ भन्ने भनाई पनि अपत्यारिलो छ । सहि विचारबाट निर्देशित भई, निरन्तर प्रयाश र उपयुक्त जोरजामले मात्र धेरै कुरा सम्भव छ र सिपको हकमा पनि यस्तै धारणा लागु हुन्छ । सिप कुनै पनि प्रकारको हुनसक्छ, जुन सिकेको छ त्यसमा सक्षम र निरन्तर स्तरोन्नति गर्ने मनसायबाट अघि बढ्नु पर्छ । पाका मान्छे ‘बेइलमी, अराजक र गन्तव्यहिन’ पुस्ता हुर्काउननै चाहनुहुन्न, यसरी सोच्नु बेठिक हो र ? सन्तानले बिग्रनुअघि बेलैमा बुझ्नु पर्यो नि ।
‘जीवन धान्न खासै सिप चाहिन्छ र ?’ भन्ने व्यवहार पाङ्दुरे स्वभावका, पैत्रिक सम्पतीमा मोज गर्न पल्केका पामरहरूको धारणा हो । हरेक प्रयाशलाई गुणयुक्त विकास गर्दै लैजाने सोचाईले सिप सिक्नु र आफूबाहेक अरुको पनि जीविकोपार्जनमा मद्दत पुर्याउनु मानिसमात्रको गुण हो । त्यसैले त खासखास विषयमा अघि बढेका सदस्य भएको परिवारमा तल्लो पुस्ता झन अघि बढेको देखिन्छ । ‘खुकुरीभन्दा कर्द लाग्ने’ भन्ने उखान अघिल्लोभन्दा पछिल्लो पुस्ता झन तेजिलो-धारिलो र खुबी भएको भन्ने अर्थमानै बुझ्नु ठिक होला ।
भौतिक र प्राज्ञिक उन्नतिले गर्दानै होला अहिलेका कलिला बालबालिका सानै उमेरमा धेरै जानकारी राख्दछन्, त्यसैले अचेल ‘उम्रदै तिन पाते’ भन्ने उखान पनि चरितार्थ भएको छ । यस परिप्रेक्ष्यमा पाका मान्छेले सिकाउने भनेको दक्षता हासिल गर्न एकाग्रता र लगनकासाथ गरिने मिहेनत र सक्षम हुने पोयो बसाउनु हो । बन्यजन्तुमात्र धेरै कुरामा आफ्ना प्रजाति बन्धुबान्धवसँग सहिष्णु भए पनि मानिसले जस्तो प्रत्यक्ष हातेमालो गरी सहयोग गर्दैनन्, त्यस्तो क्षमतानै विकास भएको हुन्न । मानिसले अरुलाई सक्षम बनाउन धेरै जुक्तिबुद्धिले शारीरिक मानसिक सहयोग गर्न सक्छ । पाका मान्छेले अहिलेका पुस्तालाई देश, समुदाय र परिवारको थप प्रगतिमा समयअनुकुल टेकोपुँडो प्रशस्त गर्न सक्छन् र गरिरहेका छन् । उहाँहरूका समयसापेक्ष हस्तक्षेप ‘नचाहिँदो गनगन, म्यादगुज्रेका कुरा र डरका पोकाको’ अभिव्यक्ति हो र ?
अन्त्यमा,
अहिलेसम्म ब्रह्माण्डको एकमात्र जीवित ग्रह पृथ्वीमा रहेका मानिस समुदायनै यस्तो प्राणी हो जसले आफ्नो प्रजातिमात्र होइन अरु जीव, बनस्पति, अजैविक पदार्थहरू लगायत विभिन्न स्रोतहरूको जगेर्ना र उपयोग गर्छ । मानव समुदाय बनैया र घरपालुवा जन्तुकोसमेत हितमा काम गर्न सक्छन् भने यसै मानव प्रजातिका पाका मान्छेले सन्तानको हितमा काम गर्दैनन् होला र ? उहाँहरू त ओहोरात्र आफ्ना अनुभवको जलपमा सन्तान दरसन्तानको प्रगति, उन्नति र सुखमय जीवनका लागि चिन्तनशील हुने गरेको पाइन्छ । त्यसैले उहाँहरू कम्तीमा तिन स त मानुन्, लागु गरुन् र अझै थपेर उन्नति गरुन् भन्नेनै चाहनु हुन्छ । यस्तो मानव समुदायकै हितमा सोच्ने पाका मान्छेप्रति अरु उमेर समुहले यथेष्ठ, आदर, सहयोग र माया गर्न चुकेको भए अब नगर्ने दृढता पक्कै राख्नु होला है ।
०००
जेठ २७, २०८०
ल.पु. चालिसेडाँडा
Subscribe
Login
0 Comments
Oldest



































