
पाका मान्छेलाई माया गरौँ !
पाका मान्छेलाई खुशी र सुखी पार्न कत्ति गाह्रो छैन, ससानो प्रेमपूर्ण आज्ञाकारिताले पुग्छ । उहाँहरूलाई त केवल अरू उमेरसमूहको आदरयुक्त बचनकासाथ साह्रोगाह्रोमा माया चाहिएको छ, बस् ।

डा. मुकेशकुमार चालिसे :
उमेरिँदा प्रायः साठी वर्ष नाघेपछि पाका मान्छे भनिन्छन् र कान्छो व्यवहारमा पनि ज्येष्ठनागरिक नामवाचक शब्दको रूपमा चलेकै छ । अनुभव तथा आर्जित ज्ञानका आधारमा सुसंस्कृत समाज र परिवारमा यस उमेरसमूहलाई मानिला मानिसमा सगर्व गनिएको पनि देखिन्छ । दैनिक कामकाजबाट अलग्याएर धेरै संघसंस्थाबाट ‘तिमी अब हामीलाई कामलाग्ने भएनौ’ भनेझैँ गरी गर्न सक्दासक्दैको सेवाबाट निवृत्त गरी बिदा दिने चलन छ । धेरैजसो परिवारमा पाका मान्छेलाई आदरको नाममा निस्क्रिय बनाउने उक्ति प्रयोग ‘डाँडामाथिका जून’ बनाई बसोबासको एक कुनोमा आश्रय लिन पनि बाध्य पारिएको छ । सबै मानव समुदायमा चलिआएको भनाई एउटै छ, ‘उमेरिएका पाका मानिसलाई अरू उमेर-समूहकाले आदर र मानमनितो गर्नु पर्दछ ।’ विभिन्न अवस्थामा रहेका पाका मानिसलाई एकै मिसिल, एकै टङ्कारमा केवल ‘आदरभाव’ देखाएर मात्र पुग्ला त ?
के उपल्ला वर्गको देखासिखी ‘हजुर-हजुर’ वा ‘आइस्योस्, गरिस्योस्’ वा ‘ज्युनार होस्, बसिस्योस्’ गरेर मात्र पाका मान्छेका चाहना र उमेरजन्य आवश्यक्ता पूरा होलान् त ? भनिआएको ‘आदर र मान कायम राख्ने’ चलन र व्यवहारमा परिमार्जन गरेर ‘आदर, मान, ईज्जतका साथै माया’ गर्नथाले समाजमा विग्रह मत्थर होला कि ? अद्यावधिक जानकारीको हेक्का, शारीरिक अवस्था, ज्ञानको सिमा र भएको-नभएको विवेकी भई छ्यान-विछ्यान छुट्ट्याई माया गर्दा पो राम्रो होला नि ! उहाँहरूको अवस्थाअनुसार समयसापेक्ष हेरविचार गर्नेले ‘माया’ थपेर हामी सबैले आदर गर्नसके समाजमा विखण्डनको टण्टो नरहला र ज्ञानको पुस्तान्तरण गर्न सहज होला कि ? ‘पाका मान्छेका हितमा काम गर्छु वा हेरविचारमा छु’ भन्नेले त्यसरी सोच्न र व्यवहार गर्न थाल्ने कि ?
सामान्य स्थितिः
संसारभरीका सबै मानिस-समूह, सम्प्रदाय, आस्था र नश्लका मानिसहरू बीचमा पाका मान्छेको आदर र ईज्जत गर्नुपर्छ भन्ने धारणानै पाइन्छ । सुसंस्कारी परिवारमा प्रायः धेरैजना एकअर्काको सुखदुःखमा साथसाथै बसेका पाइन्छन् । आधुनिकताको खोक्रो जामा लगाउन आत्तुर भएका परिवारमा ‘सबै कुरा टक्का, नभए हुँदैन पक्का’ भन्दै मानविय चरित्रमा अवमूल्यन भई विखण्डन र घोचपेचतिर उन्मुख हुन्छ । त्यस्ता हुँडलो भएको परिवारमा आयआर्जन गरिरहेका मानिसको ‘सुईसुई र साईसाई’ बाहेक अरू उमेरका सदश्यहरूको ख्याल कत्तिको होला ? त्यसमध्ये करिब निस्कृय वा नियमित आय नभएका पाका मान्छेको कत्तिको आदरभाव र हेरविचार भएको पाउनु भएको छ ? सुन्नु भएको वा देख्नु भएको छ ?
पाको उमेर भएर सेवानिवृत्त भएका र एकमुष्ट वा मासिक केही आर्थिक सहायता पाई अब काम नभई थन्किएका छन् भने अहिलेको बजारभाउमा उहाँहरूको कमाई कति वर्ष टिक्ला र ? उहाँहरूको नियमित मनगुज आय नभएर हिजोआज आफ्नै घरमा आफ्नो स्वादको खाना बन्न छाड्यो होला ! भनेको ठाउँमा जान र घुम्न नियन्त्रण भएको होला भने हिजोसम्म तपाइँको कुशलक्षेम सोध्न आउनेहरूले पाउने ‘चिया टक्र्याउने’ काम ‘फुर्सद नभएर’ छुट्दै होला । कतिपय ठिकै अवस्थाको परिवारमा तपाइँ किनारा लाग्दै हुनुहुन्छ भने आएका खास तपाइँकै मान्छे ‘काम न काजका मान्छे बटुलेर सत्यानास गर्न तम्सेको’ अत्तो थपिएला । घरको बेढङ्गको व्यवहारबाट दिक्क भई साथी छुटाउन मन नलागी बाहिरफेर भेट्ने तनुखा मिलाउनु परेको होला ! परिवारका कारिणीले चाल पाए ‘म्याद गुज्रेका थोत्रा कुरा गर्न, हाम्रा कुरा काट्न, ढाँटेर जान कसरी सक्या ?, नगए पनि हुन्छ’ सम्म भन्न भ्याएका होलान् ।
सोझै नगर, नजा र नखा भन्न नसक्ने छन् भने ‘कति अझै सक्या ? हाम्रा लागि रौँ बराबर केही गरिदिया होइन, अरूनै साख, दिएको खानु लाउनु, घरमै थच्चिनु नि, एउटा हुन्छ नि !’ को बाछिटा चैते झरीझैँ ओइरिएलान् । तपाइँ-हामी पाका र अतिपाका मानिला मान्छेहरूलाई पहिला उमेराँ ‘परिवारको खुशीमा ईच्छा भएर प्राथमिकतामा नपरेको र रहर गर्दागर्दै धित नमरेका’ आफ्नो कामकुरो पक्कै होलान् ! के तपाइँलाई गरिने मानिला संवोधनले ती अब पूरा होलान् त ? बोली सुन्दा त आदरभाव सुनिन्छ तर भनाईको सञ्जोग र ध्वनिमा त्यस्ता कुरा पूर्ताल हुन खोजेको आभाष हुन्छ कि छनक ? के तपाइँले गरे भोगेका दुःखकष्टमा अनुगृहित भएर ‘कठै सक्दा ज्यान फालेर गर्नुभो, अब हाम्रो पालो र कर्तव्य पूरा गर्न दिनोस्’ भन्दै माया गरेर अघि बढेपो । अहिले तपाइँ कम सक्रिय अवस्थामा सोधीसोधी सम्पन्न गरी, यो उमेरमा सन्तोषको चरमानन्द अनुभूत गराइदिने परिवार पाउन दुर्लभ होला कि ? त्यस्तो छ भने त ‘ज्युँदै अमरावतीको सोख पाएकोमा’ आनन्द र गर्व गर्नुहोस्, अनि लैनो सुधी गाईझैँ जे भन्छन् लुरुलुरु गरिरहनोस् !
भोगाईः
माया भन्ने बडो अनौठो भावनात्मक तथा जिम्मेवारीपूणर् मनोविज्ञान हो । नेपालमा त मायाका विभिन्न रूप र मात्रा हरेक उमेरसमूहका लागि फरक-फरकनै पाइन्छ । बालबालिकालाई गरिने माया, किशोर-किशोरी बीचको प्रेम, वयस्कहरू वीचको स्नेह र सद्भाव अनि पाका मानिसहरूलाई गरिने आदरयुक्त मानमनितो सबैका प्रकार विविध अभिव्यक्तिमा पाइन्छन् । प्रायः माया अनुसारनै व्यवहारमा पनि लागु भइरहेको पाइन्छ भने जिम्बेवारी लिनुपर्नेले ससाना केटाकेटीलाई बाहेक अरूसँगको सम्बन्ध अलि फितलो देखिन्छ । त्यस्ता सम्बन्धमा देखापर्ने भनाई र गराईमा सामान्य कारणले पनि फरक परेको भेटिन्छ । त्यस्ता कुरा व्यवहारको कसीमा हेर्ने हो भने पाका मान्छेको सन्दर्भमा बढि नकारात्मक भेटिएका छन् ।
परम्परागत रूपमा भनिएको चाहिँ पाका मान्छेलाई आदर गर्नुपर्छ, मान गर्नुपर्छ भन्ने हो । राम्ररी सोचौँ, पाका मान्छेलाई जुनसुकै अवस्था भए पनि मान गरेर मात्र पुग्ला त ? मान र आदर भनेको ‘शब्दले बोलीमा’ मात्र हो र ? उहाँहरूको अवस्था हेरेर सहयोग गर्न तम्सिनु र उहाँहरूको ईच्छाअनुसार गरिदिनु पनि हो नि ! बोलीचालीमा ‘ज्येष्ठ नागरिक’को पगरी गुथाइदियो अनि सकियो, हो र ? के जीविका नचल्ने अलिकति आर्थिक भत्ता दिँदैमा जीवननै धानेको गुड्डी हाँक्न सुहाउँछ र ? त्यस्तै, सोमतले ‘एकसरो लाउन दिएकै छ, भएको खान दिएकै छ, भन्या ठाउँ बस्ने, दिन काट्ने’ भनेर पाका मान्छेलाई ठूलो गुन लगाएझैँ कुरा गर्न होला त ? अरू उमेरसमूहलाई जस्तै चलेको खाना, नाना र ओढ्ने-ओच्छ्याउने दिएर ‘खाइस्योस्, लाइस्योस्’ भनेर काम गर्ला त ?
उमेरिँदा शरीरका जैविक प्रणालीहरू थाकेका, कमजोर वा रोगी भएका हुन सक्छन् । सदावर्ते भान्छा पाका मान्छेलाई अपाच्य हुनसक्छ, ‘जाडोमा मकै-भटमास राम्रो’ भनि हल्लिएका दाँत वा गिजा बाँकी रहेकालाई खानु भन्दा के होला ? मधुमेहले शरीर गलेकालाई फुस्रा रोटी खान दिँदा ‘भुटुवा तरकारीसँग खाइस्योस्’ भन्दा पाचनमा के असर होला ? हरेक खानेकुरा मतापले ‘हाँप र झाप नगरी’ मुख हल्लाई हल्लाई खाएकालाई, ‘कति मिठो पकाएर दिए पनि ङ्याचाङ्ग ङ्याच्याङ्ग गरेर उग्राइरहने’ भनि टिप्पणी गर्नु कति मनासिब होला ? धेरैबेर मुख चलाएर मनग्ये र्याल निकालेर मिठो मानेर चाटीचुटी खानु त स्वास्थ्यको लागि राम्रै होला नि होइन र ? फेरि खाने बान्कीमा आ-आफ्नै तरिका पनि होलान्, पाका भएकालाई सिकाउनु पर्ला र ?
मुख्यकुरा मान गर्ने नाममा पाका मान्छेको फाप र अफापमा ध्यान नदिई खानेकुरा र मौसमी फलफूल ‘बेलाको चिज हजुरलाई नटक्र्याई कसरी खानु’ भनि कर गर्नु मनासिब होला र ? ‘भिटामिन सीले हाड बलियो बनाउँछ र रूघाखोकी लाग्दैन’ भन्दै ज्यान कमजोर भएका पाका मान्छेलाई भोगटे साँधेर खान दिनु र खानामा ज्यामिर निचोरी दिनु कति मान होला ? वयस्कले दौडधुप र कामको पेलाइले पचाउन सक्ने चिल्लोपिरो पाका मान्छेलाई अपच हुने र झाडापखाला चल्ने हुनसक्छ । ‘भुटेको र कवाफ लगाएर मरमसला बेस्सरी हालेको ज्युनार गराउने गरेको’ धाक लगाउनु पनि मान नहोला कि ? उमेरिएकाहरूको स्वास्थ्यमा बडो ख्याल राख्ने नाममा सधैं फरक-फरक तरकारी बनाइदिएको छ भनी ‘बिहान आलुप्याज, बेलुका प्याजआलु अनि बिहान दालभात बेलुका भातदाल’ पनि ठिक होइन । त्यस्तै, ‘रोगलाई ध्यान दिएर सुखा रोटी ख्वाउने गरेको छ वा जाउलो बनाउने’ भनि मान गरेको नाममा रसिला तरकारी बिनाका रोटी र सधैं एकै दालको जाउलो पनि ठिक होइन ।
‘फोहोरले रोग थपिन्छ, सफा बस्नु पर्छ, हामी सफा गरिदिन्छौँ हजुरको कोठा’ भन्ने नाममा कोठामै बसिरहेको बेला र ओछ्यानमै पल्टिरहेका बेला पाका मान्छेलाई ठाउँ नसारी क्रियाकलाप गर्नुले कति आदर गरेको ठहरिएला ? ‘जमाना अनुसार लुगाफाटो लाइस्योस्, हाम्रो पनि ईज्जत रहोस्’ भनि मान गर्ने नाममा शरीरमा कस्सिने, भुवा निस्केर खार लाग्ने, लगाउन सहजै नसकिएर टाँक, तुनामा अल्झिनु पर्ने लुगाफाटो, पाका मान्छेलाई काल बन्न सक्छन् । बाक्लो, चाक्लो राम्रो नाममा गरूङ्गो सिरक र धेरै लच्किने डसना पनि पाका मान्छेलाई बेफाइदा पुर्याउने साधन हुन् । ‘बालिष्ट दिया छ नि बूढाबूढी भनेर’ भनि ईष्टमित्रका अघि आदर देखाउनु पाका मान्छेलाई पेच हान्नु जस्तै हो । ओढ्दाखेरी श्वासप्रश्वास सहज नहुने शिरक र अति नरम भएर ढाड लच्किने डसना मान होइन धेरै प्रयोगमा थप समस्याको कारक बन्नसक्छ ।
आन्तरिक ऊर्जा उत्पादन गर्न पुरानिएका अङ्गले कमी भएर जाडो महिनामा दुईटा शिरक खाप्दा पनि ‘जाडो कताबाट पस्छ हँ ?’ भनि सोध्ने पाका मान्छेलाई चिसो बढी अनुभव हुन्छ । जाडो महिनाको त कुरै छाडौँ, अरू महिनामा पनि स्याँठ चल्दा वा मुसलधारे पानी पर्दा पाका मान्छेले अलि बाक्ला लुगा खोजेको कुरामा गिल्ला गर्न मिल्ला ? टेक्न, छेक्न र ओढ्न हुने भनि घाम चर्कने र झरी लाग्ने महिनामा डण्डीवाल छाता लिई हिँड्ने पाका मान्छेलाई ‘भाँच्ने छाता नबोकेको’ भनि नाक खुम्च्याउनु कत्तिको ठिक होला ? शरीरको सुरक्षाका लागि बाक्लोचाक्लो रोजेर एक छिमल घाम, पानी र चिसो बतास रोक्ने पहिरनलाई ‘म्यादगुज्रेका पुरानियाँ’ भनि होच्याउन मिल्ला र ?
शारीरिक रूपले अलि कमजोर भइसकेका पाका मान्छेलाई कसैको बाधाबिघ्न र घच्चा नहोस् भन्दै बुईंगल वा दुईतीन भर्याङ चढेर माथि जानुपर्ने कोठातिर ‘घाम, हावा प्रशस्त, कसैको बाधा पर्दैन’ भनी थच्याउनु पनि मान गरेको हुँदैन । उस्तैपर्दा तलमाथि हिँड्न त समूह हुन्छ भने आफ्ना मनपरेका सामान लिइहिँड्न त प्रलय भइहाल्छ नि । बोकेको सामानले नै कता अल्झेर खुट्किलामा लरबरिएर बर्लङ्ग भई ‘घुँडो खुस्काउने हो कि ढाड मर्काउने हो !’ के ठेगान ? अनि परिवारमा परेको थप आर्थिक भारमा ‘के को लर्याङलुरुङ गरिरहेको होला ? नसक्ने एकै अजकको ठाउँमा बसिस्योस् न, रकम पाए हामीनै ल्याइदिउँला’ भनि मान गरेको देखाउनु कति जायज होला ? उमेरिँदा दिसा-शौच गर्ने असहज भौतिक संरचनाले धेरैलाई दुःख दिएको हुन्छ । सफा पानी, हातमुख धुने सावन, पुछपाछ गर्ने रूमाल र आवश्यक्तामा फेरफार गर्ने लुगाफाटो सहज पहुँचमा छ कि छैन ? ‘त्यहीँ राख्द्यात छ नि, अलिअलि आफैँले तन्याकतुनुक जिउ चलाएर लिइस्योस्’ भन्दै कोठामा धेरै माथि वा निहुरीमुण्टो लाएर खोज्नुपर्ने ठाउँ कति सुविधा दिएको र मान गरेको भन्ने ?
घरमै राखेर मान गरी सुबिधा दिएको नाममा ‘टिभी खोलेर घरैमा बसे भइहाल्यो नि’ भनेर हिँड्डुलमा खतरा होला भन्ने बहानामा शरीर कुँज्याउनु पाका मान्छेलाई राम्रो होइन । बाहिर जाने झञ्झट मानेर पाका मान्छे पनि कुनै निम्तानाम्तीमा ‘म गएर के काम ? तिमीहरू गए खानपिन पनि होला, भेटघाट पनि हुन्छ, बरु टिभी खोल्देर जाओ’ भनि डल्लिन खोज्छन् । हार्वाडका विज्ञानका पत्रकार डा.एण्ड्रयु बुडसन र बेलायती बायोबैँक संस्थाले विभिन्न उमेरसमूहका पाँच लाख मानिसमा गरिएको अध्ययनअनुसार धेरै टिभीमा बसिरहने मानिसमा स्नायु सम्बन्धी विभिन्न रोगहरू देखिएका छन् । दैनिक एकदुई घण्टाभन्दा बढि एकोहोरो टिभी हेरिरहनेमा बाटोघाटो बिर्सने, बाहिरफेर जाँदा दृष्टिभ्रम हुने, समस्या परेमा समाधानभन्दा अल्झिने र सामान्य जानिरहेका गणितका अङ्कसमेत बिर्सने हुन थालेको पाइयो । नियमित लामो समय टिभी हेरिरहने पाका डेढलाख भन्दा बढिमा सन २०२२ को अध्ययनले एकतिहाईमा अल्ज्हाईमर शुरू भएको देखाएको छ ।
अन्त्यमा,
अहिलेको परिस्थितिमा सामाजिक बनावट, रुपियाँ पैसाको तरलता, सस्ता र कम खपालु भए पनि विभिन्न भौतिक सुविधाको पउलता छ । हिजोआज मानिसमा सञ्चारका कारण जानकारी पनि धेरै छ र तथाकथित आधुनिकता गाउँगाउँ पुगेका छन् । पाका मान्छेका आफ्नै सञ्चिती पनि होला, नभए परिवारको आयस्ता पनि दैनिक गुजारा गर्न दुखमसुखम सजिलो होला ! विभिन्न अप्राकृतिक बस्तुका कारण अन्य उमेरसमूह अनुकुलनमा भए पनि फरक वातावरणमा हुर्केका अहिलेका पाका मान्छेलाई बाँकी जीवन चलाउन गाह्रो परेको हुनसक्छ । त्यस अवस्थामा परिवारका सदस्यहरू र हेरालुले आदरभावका साथमा पाका मान्छेको अवस्था हेरी माया गर्नुपर्छ । त्यस्तो माया भनेको उहाँहरूको आवश्यक्ता र ईच्छाहरूलाई स्वीकारी भौतिक-मानसिक रूपमा सहयोगीको भूमिका खेल्नु हो । पाका मान्छेका अवस्थामा कसरी अग्रसरता लिने भन्ने कुरा हरेक उमेरसमूहमा उत्सुकता रहे ससाना बालबालिकादेखि वयस्कसम्म हरेकले उहाँहरूका आकाङ्क्षामा भाग लिने छन् । पाका मान्छे निश्चिन्त र हाँसीखुशी रहेको त्यस्तो परिवार र संस्था समाजको नमुना हुनेछ भने उमेरिँदै आउने त्यसै परिवारको लागि आफ्नो भविष्य सुनिश्चित र सुखमय बनाउने पाठशाला दरिने छ ।
परम्परागत रूपमा भनिएको पाका मान्छेलाई मान र आदर गर्नु ठिक हो । उमेरिए पछि भोगिने मानसिक र शारीरिक अनमेल र तनावपूणर् अवस्था अरू उमेरसमूहको कल्पना बाहिरका कुरा हुन् । उमेरिँदा पाका मान्छेमा देखिने मनोविज्ञान, शरीरले प्रतिक्रिया दिने लक्षण र जीवनप्रतिको उहाँहरूको सोचाई अरू उमेरसमूहका लागि कल्पनै गर्न नसकिने यथार्थ हुन् । हरेकले आफैँ पाको र अतिपाको नभएसम्म स्वीकार्न कठिन लाग्छ । अहिलेका पाका बाहेकका उमेरसमूहले आफ्नो कष्टकर पाको अवस्था आउन नदिन त्यस्तो हुनुअघि आफ्ना पाका मान्छेबाट सिक्ने र समस्या आत्मसात् गरी माया गर्न थाल्नु पर्छ । भोलिको कष्टकर जीवन नहुने समयमै निश्चिन्त गर्न राम्रो व्यवहारिक गुरु आफ्नो पाका मान्छेलाई मायाले दीर्घायुसम्म जोगाऔँ ।
घरमा रहेका पाका मान्छेलाई मानमाथि माया गर्ने बानी बसालौँ, पुगअपुग, सकअसक र बाहिरी र भित्री ईच्छा बुझौँ । उहाँहरू बदलिने समय अब रहेन, धेरै पाका मान्छे आफ्ना बसेका बानीव्यहोरा फेर्न र नयाँ कुरामा अनुकुलन गर्न सकिरहेका हुन्नन् । जीवनको पछिल्लो उमेरमा रहेकाले परिवारका सदस्य र हेरालुले अति नोक्सान हुने कुराबाहेक उहाँहरूका सबै कुरा सहानुभूतिपूर्वक मानिदिँदा नराम्रो हुन्न । उहाँहरूमा हौसला थपिएर झन निरोगीतातिर उन्मुख हुने, परिवारको प्रशंसामा दिन कटाउने र सहयोगी पनि बन्दै जानुहुनेछ । पाका मान्छेलाई खुशी र सुखी पार्न कत्ति गाह्रो छैन, ससानो प्रेमपूर्ण आज्ञाकारिताले पुग्छ । उहाँहरूलाई त केवल अरू उमेरसमूहको आदरयुक्त बचनकासाथ साह्रोगाह्रोमा माया चाहिएको छ, बस् ।
०००
वैशाख २२, २०८०
चालिसे डाँडा, ललितपुर