
नेपाली ज्येष्ठ नागरिकहरूको सामाजिक धरातल
समाजभित्र पसेपछि यस्ता अनेकौँ तथ्य फेला पर्नेछन्, जो ज्येष्ठ नागरिकका हित विपरीत पाइनेछन् । ज्येष्ठ नागरिकका हित विपरीतका यस्ता अनेकौँ समस्या पहिचान गरी निराकरणका उपाय ढिलो नगरी खोजिनुपर्छ । अनि मात्र राज्यले ज्येष्ठ नागरिकका पक्षमा केही गरेको देखिनेछ ।

वासुदेव गुरागाईं :
ज्येष्ठ नागरिक । वृद्धवृद्धा सबैका लागि कानुनबमोजिम राज्यले विनापक्षपात समान हैसियतमा सबैलाई एकसाथ समान सम्बोधन गरी दिएको उपाधि । परिवार, समग्र समाज र राज्यबाट धरातलीय याथार्थिक व्यवहारमा उपेक्षा भए/गरिए पनि सम्बोधनमा असाध्यै आदरार्थी शब्द । ‘ज्येष्ठ नागरिक ।’ यो मानिसहरूको सामान्यतः अनुर्वर बलहीन अवस्था । शारीरिक शक्ति, राजनीतिक तथा प्रशासनिक पदीय हैसियत, आर्थिक उपार्जन, सामाजिक मान मर्यादा, पारिवारिक रेखदेख, बोलेका कुराको सुनुवाइमा ह्रास र उचित हेरविचार आदिका हिसाबले दिन प्रतिदिन ओरालो लाग्दै गएको अवस्थामा बुझ्न सकिने समूह ‘ज्येष्ठ नागरिक ।’
चढ्दो उमेरको समयमा आफ्नो नजरको मायालुलाई आकाशका जूनतारा टिपी दिन आँट गर्ने व्यक्ति अशक्तताको यस क्षणमा लखतरान परेर निवासको चार किल्लाभित्र सीमित हुँदै विगतका अनेकौँ कल्पनामा डुबुल्की मारिरहेको हुन्छ । स्मृतिमा रहेका अनेकौँ झिलीमिली क्षणहरू मनमा उतारेर विचरण गराइरहेको हुन्छ । सुखदुःखका सहज र कष्टकर जीवनको अनुभूति केलाइरहेको हुन्छ । शक्तिमा रहँदा कानुनलाई कर्यापच्याप पारेर आपूmखुसी डम्फु बजाउन खप्पिस स्वघोषित सज्जनहरू त अझ अहिले त्यही कानुनले कतै मलाई नै कर्यापच्याप पार्ने त होइन भनेर रातदिन तड्पिरहेका पनि हुन सक्छन् । अझ त्यसमाथि पनि कुनै पनि किसिमको पदीय जगजगीको जीवनकालका विविध क्षणमा आफ्ना सामु उपलब्ध सबै डुङ्गामा टेकेर चौरासी व्यञ्जन हसुर्ने मौका पाएकाहरू त रातदिन घोत्लिएर नजानिदो किसिमले आफ्नै लागि चिन्ताजनित मृत्युमार्ग निर्माण गरिरहेका हुन्छन् । यसका विपरीत जागिरे जीवनमा आफैलाई हतियार बनाएर थाहै नपाई अरूका सिकारमा परेकाहरू पनि विगत सम्झेर त्यसै त्यसै अताल्लिइरहेका हुन सक्छन् । कसैले दैवप्रति आभार र कसैले दैवप्रति धिक्कार प्रकट गरिरहेका हुन सक्छन् ।
विनाअपराध सामाजिक सम्मानमा आएको आँच उनीहरू कहिल्यै बिर्सँदैनन् । यसरी नै अपार कल्मष व्यापारका पारखीहरू पनि आफ्ना पुराना कर्तुत केलाएर राज्यशक्तिका तमाम हस्तीहरूलाई विगतमा जस्तै आफ्ना औँलामा नाचिरहेको देख्छन् । सम्पर्कमा आएका आसेहरूलाई अल्मल्याउन र सामाजिक एकतालाई खल्बल्याउन खप्पिस राजनीतिककर्मीहरू यस किसिमको बुढ्यौली जीवनमा अझैं पनि कोही आफ्नो चाकडी/चाप्लुसीमा आउँछन् कि भन्दै चौबिसै घण्टा ढोका खुला गरेर बस्न बेर लगाउँदैनन् । यो सबै अवस्था आँगनलाई परदेश देख्न र खुट्टा लर्बराउन थालेका समाजका जुनसुकै भूमिकाका ज्येष्ठ नागरिकहरूको हो, जो विगतमा उपलब्ध शक्तिका उन्मादका कारण आफूलाई जङ्गलको राजा सिंह झैं सम्झेर अरूलाई तृण बराबर पनि ठान्दैनथे ।
नेपालका सन्दर्भमा ज्येष्ठ नागरिक कानुनअनुसार दुई किसिमका छन् । साठी र अठसठ्ठी वर्ष उमेर (पहिला यो हद सत्तरी वर्षको थियो) नाघेका । सरकार साठी वर्ष उमेर नाघेपछि परिचयपत्र दिन्छ खान दिँदैन । अठसठ्ठी वर्ष नाघेपछि वृद्धभत्ताका नाममा अलिकति खान पनि दिन्छ । सरकारले खान दिएको यो भत्ता पनि नेपाली समाजका कतिपय परिवारभित्र अर्को सरकार खडा भएर खोसिदिन्छन् । वृद्धभत्ताबाट विमुख गराइदिन्छन् । काम गर्ने कालु मकै खाने भालु भने झैं गरी वृद्धवृद्धाले सरकारको से्रस्तामा सही गरेर लगेको रकम विनासहीछाप खोसिदिन्छन् र बाबु, आमा वा अरू जोसुकै हुन् तिनलाई प्रताडनामा पुर्याइदिन्छन् ।
कुरो बोलौँ बोलीसाध्य हुन्न, खोलौँ खोलीसाध्य हुन्न । भत्ता खोसुवाका दायाँबायाँ चलमलाएका आँखाले उनीहरूलाई तर्साइदिन्छ र आँखाबाट आँसु बर्साइदिन्छ । यो स्थिति सामान्य आर्थिक हैसियत भएका घरपरिवारमा मात्र नभएर उच्च हैसियत भएका र पढेलेखेका ठहरिएका घरपरिवारका सदस्यमा पनि देखिएको छ । बुढापाकाले गर्ने श्राद्धादि तथा अन्य पूजाआजाका काममा वृद्ध भत्ता निकाल्न दबाब दिने यस्ता परिवारले आफ्नो भविष्य पनि पछि यस्तै हुन्छ भन्ने कहिल्यै सोचेका देखिन्नन् । घटना, परिवेश र सामाजिक चरित्र फरक होला तर वृद्धवृद्धाप्रतिको यस्तो शोषण समाजमा बगे्रल्ती पाइन्छन् । परिवारका कतिपय सदस्यले सोझै वृद्धभत्तामा आक्रमण नगरे पनि तिनबाट हुने वचनाक्रमणले बुढाबुढीको मन विरक्त्याएको हुन्छ । जो हरदम सहन बाध्य छन् अपवाद बाहेकका नेपाली वृद्धवृद्धाहरू । यसो भनिरहँदा कतिपयलाई लाग्न सक्छ – ‘सरकारले सोझै उनकै हातमा भत्ता दिएको हुन्छ, त्यस्तो पनि कहीँ हुन्छ र ?’
सरकारले साठी वर्ष उमेर नाघेपछि सम्मानका साथ दिएको ज्येष्ठ नागरिक परिचयपत्र पनि कहिलेकाहीँ बाहककै बगलीमा बसेर आफै धुरुधुरु रोइरहेको हुन्छ । यो कहिले बस, मिनिबस र माइक्रोका सहचालकसँग आपूmले भाडामा पाउने छुटका लागि गलफत्ती गरिरहँदा रुन्छ । कहिले स्कुले ठिटाठिटीहरू ज्येष्ठ नागरिकका सिटमा ढसमस्स गरेर बसिरहने र ज्येष्ठ नागरिक उभिएर जिउ थाम्न नसकी हल्लिइरहँदा रोइरहेको हुन्छ । वृद्ध भत्ता पनि खाने बसमा छुट पनि खोज्ने भन्दै कुर्लने चालक, सहचालकलाई पछि तँ पनि त्यस्तै हुन्छस् भनेर सम्झाउन सक्तैन जो कसैको खल्तीमा रहेको ज्येष्ठ नागरिक परिचयपत्र । कहिले बैँङ्किङ सङ्घसंस्था र मतदान आदिका लामहरूमा बिस बाइस बर्से ठिटाठिटीसँग घण्टौँसम्म उभिनुपर्दा पनि लाजले रोइरहेको हुन्छ त्यस्तो ज्येष्ठ नागरिक परिचयपत्र । यस्ता अनेकौँ उदाहरण छन् सामाजिक परिवेशमा । सुन्नेलाई यो कथा हुन्छ भोग्नेलाई हुनसम्मको पीडा । खुट्टाको चोटवालाले हातको चोटवालाको मर्म र दुखाइ बुझ्दैन, पेटको रोगवालाले कानको रोगवालाको मर्म र दुखाइ बुझ्दैन भने झैं छ ज्येष्ठ नागरिकको मर्म र पीडा । त्यसैले जो भोक्ता छ उसले मात्र चाल पाउँछ समाजमा रहेका यस्ता वृद्धवृद्धाको यो अवस्था ।
स्वयं यो पङ्क्तिकार केही समयअघि त्रिवि शिक्षण अस्पताल गएथ्यो पैँसठ्ठीको वयमा । चिकित्सकको उपस्थितिपछि चिकित्सकीय परीक्षणका लागि ‘ल सत्तरी नाघेका ज्येष्ठ नागरिक आउनुस्’ भनेर ढोकेले ह्विप जारी गर्यो । जोडले करायो । पङ्क्तिकार अर्को घानमा त साठी नाघेकाको पालो आउँछ भनेर मख्खियो । तर अर्को घान त्यस्तो भएन सबै सरोबर । जिज्ञासा राख्दै पङ्क्तिकारले सोध्यो – खोइ त ! साठीमाथिका अरू ज्येष्ठ नागरिकको पालो ? हामी पनि ज्येष्ठ नागरिक परिचयपत्रधारी हौँ । अपत्याए हेर्नुस् भन्दै खल्ती छाम्यो । प्रत्युत्तरमा ढोकेले भन्यो – त्यस्ता ज्येष्ठ नागरिक हामी मान्दैनौँ । हाम्रो संस्थाले त्यस्तो नागरिक चिन्दैन, जानुस् जसले दिएको छ उसकोमा कराउन । हामी कहाँ त त्रिसठ्ठी वर्षसम्म त जागिरै खान पाइन्छ, साठी नाघ्दैमा केको ज्येष्ठ नागरिक ।
झल्याँस्स भयो पङ्क्तिकार । हो त ! निजामती र कतिपय सरकारी संस्थाका कर्मचारी भए सन्ताउन्न वर्ष एघार महिना उनन्तिस दिनसम्म युवा, सरकारी विद्यालयका शिक्षक र स्वास्थ्यकर्मी भए उनान्साठी वर्ष एघार महिना उनन्तिस दिनसम्म युवा । त्रिविका प्राध्यापक, कर्मचारी र कुनै कुनै तहका अदालतमा भए बासठ्ठी वर्ष एघार महिना उनन्तिस दिनसम्म युवा । सर्वोच्च अदालत र अन्य सबै संवैधानिक निकायमा भए चौसठ्ठी वर्ष एघार महिना उनन्तिस दिनसम्म युवा । राजदूतहरू जति बुढा उति उम्दा । राजनीतिककर्मीका लागि शब्दकोशमा बुढ्यौली शब्द नै छैन, केको बुढा ! सबैका सबै सधैंका लागि युवा ।
मनमनै यति सोचेपछि अस्पतालको ढोकेसँग केही बोलेन पङ्क्तिकार । आफू अझै युवा नै रहेछु भनेर सरोवरको लाइनमा खाँदियो मज्जैसँग । यस्तो छ हाम्रो सामाजिक परिवेश र धरातल । सरकारकै दृष्टिमा दोष र व्यवहारमा खोट । भन्ने कसलाई हो थाहा छैन, सुन्ने कसले हो थाहा छैन । जसको शक्ति उसको भक्ति । अरू सबै राम त राम तर जिल्लाराम ।
ज्येष्ठ नागरिकका पक्षमा किन हुनुपर्ने जति काम हुन सकिरहेको छैन ? के सडकमा निस्केर कराउन नसक्नु नै ज्येष्ठ नागरिकहरूको कमजोरी हो ? के यही कमजोरीकै कारण उनीहरूका विषयमा सम्बोधन हुनुपर्ने जति विषय सम्बोधन हुन नसकिरहेको हो ? के सामाजिक मान मर्यादा पाउन पनि सडक सङ्घर्ष गर्नुपर्ने ? यस्ता गम्भीर र सम्वेदनशील मुद्दामा पनि घर, परिवार र समाज किन मौन छ ? अरू त भए भए सबैको सुबिधा र सुरक्षाको जिम्मा लिएको राज्य स्वयं पनि किन कणर्विहीन हुन्छ यस्ता विषयमा ? मनमनै प्रश्न गर्न मन लाग्यो । सुनिश्चित भविष्य कसको छ ? के आजका बुढा मात्र बुढा हुन् ? भोलिका दिनमा कसैले बुढो हुनु पर्दैन ?
पङ्क्तिकारले २०६६ पुसको दोस्रो हप्तातिर ज्येष्ठ नागरिकका समस्या र न्यूनीकरणका उपाय विषयक बहस ध्यान दिएर सुनेको थियो । सगरमाथा एफएमको ‘आजका कुरा’ कार्यक्रममा थिए दुई वृद्ध । इन्जिनियर स्व. हुतराम वैद्य र वरिष्ठ पत्रकार भैरव रिसाल । ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भन्ने उखान सानैदेखि सुनेको थियो पङ्क्तिकारले । उसलाई लाग्यो – यस्ता वयोवृद्धका कुरामा राप हुन्छ, गहनता र वजन हुन्छ । समाज र राष्ट्रले सुन्नु पर्ने अर्ती उपदेश हुन्छ । मनन गर्नु पर्ने विषय हुन्छ ।
इन्जिनियर हुतराम वैद्य भन्दै थिए – यस्ता विषयमा मैले धेरै कुरा भनिसकेँ । सुन्ने कोही छैनन् । कराउँदा कराउँदै थाकिसकियो । उता भैरव रिसाल भन्दै हुनुहुन्थ्यो – निणर्य तहमा सबै जना कनिष्ठ छन् । कनिष्ठले ज्येष्ठका कुरा सुन्दै सुन्दैनन् । वरिष्ठका कुरा कनिष्ठले नसुनेकै कारण ज्येष्ठ नागरिकको यो हबिगत भएको हो । भनाइ सामान्य थियो तर ती भनाइ मलाई दर्दनाक लागे । दुवैको निष्कर्ष थियो बुढाहरूको हितका विषयमा राज्यको वेवास्ता । पन्ध्र वर्ष अगाडिको यो गुनासो अहिले पनि यथावत् छ । कुरो कसैले सुनिरहेको छैन । सुन्नका लागि राज्यका संरचना छन् तर शून्य सुनाइका ।
त्यतिखेर त्यो बहस सुनेपछि मलाई पनि लागेथ्यो – आजका कनिष्ठ नै भोलिका ज्येष्ठ नागरिक हुन् । यसमा कुनै विवाद नै छैन । एक मतले ठोकुवा गर्ने विषय हो यो । त्यसैले निणर्य तहमा बसेका कनिष्ठले यस्ता कुरामा ध्यान दिनैपर्छ । विषय मनन गर्नैपर्छ । ज्येष्ठ नागरिकका लागि भनेर कनिष्ठले गर्ने आजको निणर्य भोलि उनकै पक्षमा हुने निणर्य हो । अन्ततोगत्वा त्यस्तो निणर्य निणर्यकर्ताकै पक्षमा हुन्छ । के यस्ता कुरामा पनि कुनै शङ्का गरिरहनु पर्छ र ? पर्दैन नि ।
ज्येष्ठ नागरिकका पक्षमा राज्यले केही गरेको छैन भन्ने पनि होइन । केही गरेको छ । उनीहरूका पक्षमा कानुनी व्यवस्था छ तर व्यावहारिकतामा उज्यालोपन छैन । राज्यका तर्पmबाट गरिएका कानुनी व्यवस्थाका कुरा गर्दा प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षको मङ्सिरमा बनाइएको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ बिर्सनु हुन्न । यो ऐनको उद्देश्य नै ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्नु रहेको देखिन्छ । ज्येष्ठ नागरिकप्रतिको ऐनको यो उद्देश्य प्रशंसनीय छ ।
ऐनले साठी वर्ष नाघेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषित गर्दै यिनलाई ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक र अशक्त ज्येष्ठ नागरिक गरी किसिमका हिसाबले तीन वर्गमा वर्गीकरण गरेको छ । यस्तै ऐनले ज्येष्ठ नागरिकको सम्मान, पालन पोषण तथा हेरचाह आदिका कुरा कानुनी रूपमा समेटेको छ । केन्द्रीय तहमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको अध्यक्षतामा र जिल्ला तहमा जिल्लास्तरकै स्थानीयको अध्यक्षतामा विभिन्न क्षेत्रका विभिन्न पदाधिकारी सम्मिलित समिति गठन गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । ऐनको व्यवस्थालाई हेर्दा विशेष योग्यता वा अनुभव हासिल गरेका ज्येष्ठ नागरिकको सेवा राज्यले लिन सक्ने, स्वास्थ्य सेवामा विशेष सुविधा, सार्वजनिक यातायातमा विशेष छुट, मुद्दामामिला र सरकारी काम कारबाहीमा प्राथमिकता दिने जस्ता विषय पनि ऐनले समेटेको छ । त्यसपछि पनि ज्येष्ठ नागरिकका विषयमा निणर्य तहमा धेरै व्यवस्था भएका छन् तर व्यवहारमा हो त नि जस्तो गरी उत्रिएको अवस्था भने छैन । यो अवस्था हेर्दा ज्येष्ठ नागरिकसम्बन्धी हालसम्मका कतिपय व्यवस्था उनीहरूका पक्षमा गरिएको कानुनी व्यङ्ग्य त हैन ? भन्ने अनुभूति हुन्छ । त्यसैले कानुन निर्माण मात्र राज्यको दायित्व होइन, त्यसभन्दा बढी दायित्व पारित कानुन कार्यान्वयनको हो ।
ज्येष्ठ नागरिकका पक्षमा राज्यले दिँदै आएको वृद्ध भत्ता भने अपवाद बाहेकको अवस्थामा प्रभावकारी देखिएको छ । सानै रकम भएर पनि कतिपय सरोकारवालालाई ठूलो सघाउ पुर्याएको छ यस रकमले । रकम प्राप्तिका सम्बन्धमा भने अभैm पनि थप परिमार्जन र सरल व्यवस्थाको माग गरिरहेको छ परिस्थितिजन्य कारणहरूले ।
ज्येष्ठ नागरिक कुनै पनि लिङ्ग, जातजाति, समुदाय, भूगोल सबैमा छन् । यसमा हुने यसमा नहुने भन्ने छैन । ज्येष्ठ नागरिकलाई सम्बोधन गर्नु भनेको यी सबैलाई एकसाथ सम्बोधन गर्नु हो । तर सम्बोधन गर्ने कसले ? सबैको आआफ्नै स्वार्थ र गुटबन्दी छ । प्रशासन नियुक्ति, पुनर्नियुक्ति र आकर्षक अवसरहरूको खोजीमा छ । राजनीतिककर्मीहरू सत्ता प्राप्ति र प्राप्तिपछि टिकाउने र गिराउने खेलमा मात्र व्यस्त छन् । वर्तमान त्यही भन्छ । व्यवस्थापकीय तहमा सङ्कीणर् सोच भएका व्यक्ति तथा कनिष्ठको बाहुल्यता नहुने र उल्लिखित अवस्थामा सुधार हुने हो भने यी विषय सजिलै सम्बोधन हुन सक्छन् । यहाँ कुनै आकाशको फल झरिरहनु पर्दैन ।
कानुनी दस्तावेजहरूमा मिठा शब्द पस्किएर मात्र ज्येष्ठ नागरिकको चित्तबुझाइ हुन सक्तैन । उनीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम राज्यले ल्याउनुपर्छ ।
यसका लागि के गर्न सकिन्छ भनेर मिठा भाषण छँटेर र कल्पनामा डुबुल्की मारेर मात्र पुग्दैन । राष्ट्रिय तहदेखि स्थानीय तहसम्म वृद्धहरूको फोरम निर्माण गरी उनीहरूकै संंलग्नतामा उनका समस्या र सुझाउ सङ्कलन गरिनु पर्छ । यस्ता कार्यक्रममा सबै भूगोलका सरोकारवाला नागरिकलाई समेटिनुपर्छ । टाठाबाठाको मण्डलीको मात्र होइन कुनाकाप्चामा मौन अवस्थामा जीवन गुजारिरहेका वृद्धवृद्धाको आवाज पनि सुनिनुपर्छ । राजनीतिक दलका नेता तथा तिनका कार्यकर्ताले पनि ज्येष्ठ नागरिकहरूलाई मतका स्वार्थले मात्र नहेरी समाजका जिम्मेवार पाका नागरिकका रूपमा हेर्नुपर्छ र सोहीअनुसार सम्मानित व्यवहार गर्नुपर्छ । जसरी महिला हिंसाका विरुद्धमा कानुन कठोर भएर उत्रिन थालेको छ, वृद्धवृद्धाका हकमा पनि त्यसरी नै उत्रिनुपर्छ कानुनले । सार्वजनिक यातायातका साधन, सडक, बजार, टोल, छिमेक जहीँ कहीँ पनि वृद्धवृद्धाका विरुद्धमा हुने क्रियाकलाप तत्काल दण्डनीय हुनुपर्छ ।
यस आलेखमा उल्लेख गरिएका तथ्य, तर्क र सुझाव साङ्केतिक मात्र हुन् । प्रतिनिधिमूलक मात्र हुन । समाजभित्र पसेपछि यस्ता अनेकौँ तथ्य फेला पर्नेछन्, जो ज्येष्ठ नागरिकका हित विपरीत पाइनेछन् । ज्येष्ठ नागरिकका हित विपरीतका यस्ता अनेकौँ समस्या पहिचान गरी निराकरणका उपाय ढिलो नगरी खोजिनुपर्छ । अनि मात्र राज्यले ज्येष्ठ नागरिकका पक्षमा केही गरेको देखिनेछ । अन्यथा राजनीतिक दलका नेताले आफ्ना कार्यकर्तालाई अल्मल्याएझैं ज्येष्ठ नागरिक पनि राज्यका अगाडि त्यसरी नै अलमलिइरहनेछन् । कष्टकर जीवन सदासर्वदा उनको पेवा हुनेछ । सुखद जीवन सधैँ उनको रुन्चे सपना हुनेछ । नेपाली ज्येष्ठ नागरिकका सामाजिक धरातलमा भेटिने यस्ता संवेदनशील विषयमा अब पनि कोही नबोली बस्न मिल्छ र ? मिल्दैन । अवश्य बोल्नुपर्छ । काखे बच्चाले त उसको नैसर्गिक अधिकारमा रहेको आमाको दुध नरोईकन चुस्न पाउन्न भने अरूका के कुरा । त्यसैले यो भन्नैपर्छ – नबोलीकन, नकराईकन कहाँ कसका कुरा पो सुनिएको छ र अहिलेसम्म ? त्यसैले ज्येष्ठ नागरिकका विषयमा आवाज बुलन्द गर्ने काममा कहीँ कतैबाट कञ्जुस्याइँ गरिनु हुन्न । जय ज्येष्ठ नागरिक ।
०००
काठमाडौं ।