डा. मुकेशकुमार चालिसेपाकाले रनबनमा हिँड्ने गरौँ !
हरेक पाका मानिसलाई सके दिनदिनै करेसाबारीमा डुलाऔँ नभए हप्तामा एक दिन भए पनि खुला ठाउँ, बगैँचा, पार्क र निकुञ्जतिर घुमाऔँ । पाका मान्छेलाई लाग्ने रोगव्याधमा श्रमको मिसावटले निकै कमी आउने छ ।

डा. मुकेश चालिसे :

पाका मान्छेलाई प्राकृतिक बनजङ्गलमा घुम्नजाने वा लैजाने गर्नाले मस्तिष्क क्षमता कायम राख्न र शरीरलाई तरोताजा बनाई राख्न मद्दत भएको अनुसन्धानबाट देखिएको छ । प्रकृतिले शरीर स्वस्थ राख्न चमत्कारिक प्रभाव पार्न सक्छ भन्ने धेरै चिकित्सकको रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा बस्ने डा. डाफ्ने मिलर ९३ वर्षकी भइन् र कहिलेकाहीँ उनको उपचार विधिमा औषधि किन्न र बीमा खोजिरहनु पर्दैन । हो, उनले भनेको मान्ने हो भने कहिलेकाहीँ घामले छाला डढ्ने र कीराहरूले टोक्ने हुनसक्छ । उन्ले आफ्ना नियमित आउने बिरामीलाई कहिलेकहीँ थप औषधिको सट्टा अचम्म लाग्ने सल्लाह लेखेका कागत मात्र दिएका हुन्छन् । उनी यस्तो लेख्छन्, जस्तोः थप उपचारः समुन्द्री किनारमा टहल्ने, मात्राः कम्तीमा ४५ मिलेट, अवधिः हरेक हप्ताको चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार), समयः बिहान ७ बजे । एक हप्तामा बिरामीलाई फाइदा अनुभव भएमाः सँधै उही तालिका दोहोर्याउने । गजप छैन त परम्परागत रासायनिक औषधि थप्ने चिकित्सक भन्दा डा. मिलरको उपचार गर्ने पद्दति ?
डा. मिलरले जाँचेपछि लेख्ने कागतमा प्रकृतिको मात्रा लेखिएकै हुन्छ । चिन्ता गर्ने, विशादमा रहने, दुःखी हुने र बिर्सने रोग जस्ता मानसिक रोगको उपचारमा गरिने उपचारको समग्र एकिकृत भागमा प्राकृतिक दृश्य उपयोगलाई समेटिएकै हुन्छ । उनी जोड गर्दै भन्छिन् ‘बाहिरफेरको डुलफिरले बिरामीलाई ठोस मात्रामा उपलब्धि हुनथाल्छ’ अरु चिकित्सक पनि परीक्षण पछि अहिले त्यसै भन्न थालेका छन् । त्यसैले उनी भन्छिन्, ‘प्राकृतिक चिकित्साले अहिले ख्याती पाउँदैछ । लाखौँ जनताले अहिले प्राकृतिक अवलोकनले खासखास उद्येश्य प्राप्त गर्न र मस्तिष्कलाई स्वस्थ राख्न मद्दत लिइरहेको पाइन्छ ।
पिटर जेम्स हार्वाड स्वास्थ्य हेरचाह संस्थानको जनसाङ्खिक औषधिका सहप्राध्यापक हुन् । उनले एकलाख एक्काई हजार महिलाको दशकौँ स्वास्थ्य आँकडा र प्रकृतिको तुलनात्मक अध्ययन गरे । उनी र उनका सहपाठीले धेरै हरियाली भएको ठाउँमा बस्ने महिलाहरू नभएको ठाउँमा बस्नेभन्दा १२ प्रतिशतले मृत्यु चाँडै नभएको पाए । यस्तो घटनाको रिपोर्ट २०१६ मा नै प्रकाशित भएथ्यो र विशेषगरी अबुर्द रोग र श्वासप्रश्वास सम्बन्धी रोगीमा बढि लागुभएको पाइएथ्यो । जनस्वास्थ्य सम्बन्धी हार्वाडका संस्थाहरू अहिले हरियोपरियो वातावरण र रुखबिरुवाको उपस्थितिले मृत्युको दर घटाउँछ भन्ने बारेमा तथ्य पत्ता लगाउन लागिपरेका छन् । के हरिया बोटबिरुवाले हावाको प्रदुषक पदार्थहरू सोस्ने भएर हो कि ? कि बगैँचा र खुला ठाउँ नजिक बस्ने मानिस कसरत गर्ने ठाउँ पाएर हो ? त्यो अध्ययन गरिरहेको समुह शारीरिक कसरत बढ्नु र प्रदुषकको स्तर घटनुसँग मृत्यु दर नगाँसिएको निस्कर्षमा पुग्दा अचम्भित भएका छन् । बरु वातावरणको दृश्यावलोकनले मस्तिष्क स्वास्थ्यको स्वस्थताका कारण उन्माद र वितृष्णा घटेकाले जीवन जीउने चाहना बढेकाले भएको निचोडमा पुगेका छन् । थोरै भए पनि त्यस्ता विरामीलाई रोग कम हुन जाने महत्वपूणर् भूमिका सामाजिक परिवेशले निर्वाह गर्ने कुरा बिर्सनु हुँदैन ।
हरियाली मोह :
हरिया बनउपबन, करेसाबारी, बगैँचा, उद्यान र पार्कहरूले दिने वा प्रभाव पार्ने मनग्य फाइदाको सट्टामा संसारमा अझैसम्म कुनै निश्चित औषधि भने विज्ञानले पत्तो लगाइसकेको छैन । बाहिरफेर हरियाली भएको ठाउँमा घुम्दा, विविध फूल र बास्नाको प्रभावले मस्तिष्कलाई हुने फाइदाबारेमा अनुसन्धान गरिएर थुप्रै लेखहरू लेखिएका छन् । प्राकृतिक सौन्दर्य भएको वातावरण र मानवनिर्मित कृत्रिम वातावरणमा समय बिताएका सहभागीहरूमा देखिएको मानसिक स्वास्थ्य विवेचना गर्दा शारीरिक क्षमतामा नै विविधता पाइयो ।
कृत्रिम ठाउँमा बस्नेको चिन्ता र उन्मादले मुखमा आउने र्यालको तात्विक कमि भएको, मस्तिष्कको सोच्ने क्षमता घटेर नकारात्मक बिचार बढेको पाइयो । झ्याल र ढोका चौडा भएका घरमा बस्ने र साँगुरो कोठामा बस्ने तथा जहिल्यै बाहिरका अरुले भित्र देख्छन् भनि झ्याल लगाउने मानिसमा यन्त्रवत् नकारात्मक बिचारको चक्र आइरहने पाइयो । खुला ठाउँमा हिँडडुल गर्ने र झ्यालकौसीबाट प्राकृतिक दृश्य हेर्ने मानिसमा सकारात्मक सोच बढ्ने र रोगहरूमा कमि आउने हुनसक्छ भनेर अचेल धेरैले मान्न थालेका छन् । घर अनुकुल ठाउँमा भए आफ्नै घरका कौसी, झ्यालढोका र कोठाबाट वरपरका पहाड, डाँडा, हरियाली र बगैँचाहरू नियाल्दा पनि मानसिक स्फूर्ति बढ्छ । ती ठाउँमा जाँदा पर्ने सामान्य परिश्रमले पनि तपाइँको छुटेको कसरतको पूर्ताल भई पुनर्ताजगी हुनसक्छ ।
जेम्सको भनाईमा हरियाली भएको ठाउँमा पाइने मनमोहक आनन्दीपन भौतिक विज्ञानको उत्पात उन्नतिसँग दाँजिने कुरानै होइन । कम्प्युटर कार्यक्रममा देखिने नक्साहरूले रुखबिरुवा, घाँसेमैदान र रङ्गिचङ्गी फूलहरूका वणर्न गरी आङ्कलन देखाउलान् तर कोठामा बसेर लिइने त्यस्ता सुबिधाले प्रत्यक्ष स्पर्श अनुभूति दिन सक्दैनन् । त्यसैले जानकारी बटुलिने आधुनिक सुबिधाले शरीरिक र मानसिक स्वास्थ्य समस्यामा बाञ्छित फलदायी असर पुर्याउन गाह्रो हुन्छ । जीवन्त हरियाली क्षेत्रमा पुगेर सामिप्यता गर्नाले मानिसका सबै ईन्द्रियहरूलाई झकझक्याउने भएर हाम्रा अनुभूतिका विविध आयामलाई असर गरिरहेको हुन्छ ।
प्राकृतिक देखिने बोटबिरुवा र आवाजको गुञ्जन भएका कृतिम क्षेत्रनै पनि सिनेमा हेर्दा कति मनमोहक हुन्छन् ? जेम्सको भनाईमा ‘अकाट्या सत्य के हो भने हामी आफैँ प्रकृतिकै उपज हौँ । हामी झ्यालढोका र वरिपरी वातावरण नचाहिने प्राणीको रुपमा बिकसित भएकै होइनौँ । त्यसैले बन्द कोठामा आधुनिक सुबिधाले घेरिएर रहने, मानसिक र शारीरिक जैविक चाहनालाई अनलाईन र कम्प्युटरबाट पूर्ताल गर्नै सक्दैनौ ।’ अप्राकृतिक वातावरणले सधैँभरी एकै खालको उपस्थिति, जडता र सून्यता कायम गर्ने हुनाले रहँदाबस्दा बेस्वादको अनाकर्षक बोझ बन्न जान्छ । निशव्द एकोहोरो उपस्थितिले हामीमा मनको चइन हराउने र मानिसमा तनाव पैदा भई मस्तिष्क क्षमतालाई थकित बनाई दिन्छ ।
बन उपचार :
डा. सुसाने अबूकिरे ९१ वर्षकी पुगिन् र अझै मानिसमा गरिने उपचारका विविध आयाममा गरिने भनाई राखिरहन्छिन् । उनी भन्छिन्, ‘हामी मानिस प्रजाति रुखबिरुवासँगै विकसित भएका हौँ । विज्ञानकै कुरा गर्ने हो भने बनमा पाइने रुखबिरुवाका विभिन्न बास्नादार गन्ध र मिश्रणहरूले हाम्रो प्रतिरोधी क्षमतालाई कति बलियो असर गरेको पाइन्छ भने शुद्ध माटोको असरले हाम्रो पाचनप्रणालीमा रहेका शूक्ष्मजीवलाई नियन्त्रण गरिरहेको देखिन्छ । त्यसैले औषधि कारखानामा उत्पादित रसायनको निश्चित औषधिले बनउपबनले मानिसलाई गरिदिने बृहत्तर फाइदा कहिल्यै पुर्याउन सक्दैन ।’ डा. अबूकिरेको लागि प्रकृति उपचार गरिदिने प्राकृतिक सहचिकित्सक र धेरै ज्ञान दिने सहप्राध्यापक दुबै हो । उनी हार्वाड चिकित्सा विज्ञानकी प्राध्यापक र ब्रिघाम कलेज र महिला अस्पतालमा जटिल स्वास्थ्य सेवा प्रणाली विषयक लामो समय काम गरेकी छिन् । धेरै वर्ष अघिदेखि उनले आफूले बनाएको पाठ्यक्रम अन्तरगत विद्यार्थीहरूलाई प्राकृतिक वतावरणीय प्रणालीका जटिलता अध्ययन गराउन कक्षा कोठा बाहिर बनउपबन लैजाने गरेकी छिन् । त्यसै क्रममा उनी शिनरीन-योकु भनिने बनमा समय बिताउने जापानी उद्गमको चिकित्सा विधिप्रति आकर्षित भएकी थिइन् । यस विधिबारेमा सन १९८०मा जापानी सरकारले प्रोत्साहन दिएकाले मानिसको मानसिक स्वास्थ्य समृद्ध भएको बारेमा सैयौँ अध्ययनका नतिजाहरू प्रकाशन भएका छन् ।
डा. अबूकिरेले उक्त विधिको उपादेयता बढि भएको देखिन र आफ्ना विद्यार्थी र सहयोगीहरूलाई पाका मानिसमा आउने बढी थकाईको उपचारमा लागु गर्ने कोशिस गरिन् । सफलताका केहि चरण पछि चिकित्सकीय प्रणालीमा त्यो विधि समावेस गरेर उनलाई बन उपचार पद्दतिको प्रमाणपत्र दिइयो । हरेक महिना उनले ब्रिघाम र महिला चिकित्साका विद्यार्थीको समुहलाई हार्वाड विश्वविद्यालयको एकातिर रहेको बोष्टनको उपबनमा लैजान्छिन् र बनको गन्ध, दृश्य र आवाज पहिल्याउन भन्छिन् । रुखबिरुवाको चाल र नजिक रहेका बोटहरू बिचको सम्बन्ध अनुभूत गर्न भन्छिन् । विद्यार्थी चिकित्सकहरूको छलफलमा बिरामीसँगको काम र प्रकृतिको चक्रमा तादात्म्यता रहेको धेरै मात्रामा पाइयो । ढलापडा रुखबिरुवाबाट अघि बढ्ने वातावरण प्रणाली र मानविय जीवनमा धेरै मिल्दाजुल्दा घटना भएको पाइयो । बिरुवाका उमेर अनुसारको रुपरङ र बनावटको व्याख्याले अवस्था अनुसार मानिसमा औषधि ख्वाएकोजस्तै सहयोग गरेको देखियो । यस्ता प्रक्रियाले भर्खरका चिकित्सकहरूमा उपचार गर्ने विधिमा पूनर्विचार र पूनर्ताजगीकासाथ उपचार गर्न बिचार पलायो । अबूकिरेको भनाईमा ‘विद्यालयमा परम्परागत पढेको-जानेको ज्ञानबाट गरिने उपचारमा हाम्रो सोचाईको धरातल परिवर्तन भई स्नायुप्रणालीमा नयाँ सोचाई विकास भयो ।’ यसरी हाम्रा मस्तिष्कका कतिपय भाग आराम गरिरहँदा स्वयम सञ्चालित प्रणाली र अधिल्लो भाग सतर्क भएर स्नायुजन्य विकारमा औषधि गर्न सहज भयो ।
नेपालमा पनि गाउँठाउँ र हरियाली वातावरण बस्ने मानिसले सानैदेखि नास्पाती र मयल तथा कोइरालो र टाँकीको फूलको बास्ना छुट्ट्याउन सक्छन् । खन्युँ र अञ्जीरको फल पाक्दा बास्नाकै आधारमा सजिलै फरक भन्छन्, घ्राण शक्तिको तिक्ष्णता मात्र होइन मस्तिष्क क्षमता ताजा राख्न समेत अनेकौँ विविध ज्ञानले मदत गरिरहेको हुन्छ । आँखा चिम्लेर छोएको भरमा कागती, ज्यामिर, निबुवा, बिमिरो र भोगटे सजिलै छुट्ट्याउने क्षमताले मस्तिष्कलाई बहुतै कसरत भएको हुन्छ । बास्ना र स्वादको ज्ञानले शारीरिक मानसिक अग्रसरता बढाएको पाइन्छ भने त्यस्ता प्रक्रियाले मानिसमा स्नायु प्रणालीमा स्फूर्ति आई रोग हुनबाट बच्न सकिन्छ ।
हावामा प्राणबायु अक्सिजनसहित अरु अवयव शुद्धरुपमा पाइने उच्च पहाडी र हिमाली क्षेत्रमा जाँदा नाकमा सफा सिँगान आएको सबैले देखेकै भोगेकै होलान् भने हरेक झर पानी पछि महानगरमा आकाश सफा भएको पनि सहरीयाले भोगेकै हुन् । हावापानी र वातावरणकै प्रभावले ज्ञानको विकास र सूचना बढीघटी हुनु स्वभाविकै हो, त्यसैको फल विभिन्न प्राकृतिक गन्ध, दृश्य र उपस्थितिले वातावरणमा परेको प्रभाव मानिसको शरीरमा परिरहेको हुन्छ । जति बढी मानिस प्राकृतिक बस्तुको नजिक रह्यो त्यति बढी उसको क्षमतामा विकास भइरहेको हुन्छ अनि रोगव्याधको सिकार कम हुने वा भएकोमा कमी आउँदै जान्छ । त्यसैले त आश्रम र उपचार केन्द्रहरू सकेसम्म भौतिक विकास कम भएका ठाउँमा राख्न खोजिन्छ र बिरामीलाई वातावरण शुद्ध भएको ठाउँमा चलखेल गर्न भनिन्छ ।
हरियाली अचुक औषधि :
हरियालीको फाइदा लिन घना, ठूलो बन अथवा प्रमाणित योग्यतानै चाहिने होइन । डा. अबूकिरेको भनाईमा ‘सहरका ससाना उद्यान, बगैँचा र घाँस उम्रिएका बाटो छेउका सोतो क्षेत्र पनि उपयुक्त हुन्छ ।’ कुरो के हो भने तपाइँ घरबाट निस्किएर कम्तीमा हरियाली ठाउँमा पुगेको आभाष भई नयाँ बस्तु देख्न पाएँ भनि मन फुरुङ्ग हुनुपर्छ । उनले मनोविज्ञानको सिमाना विषयक लेखमा सन् २०१९मा उल्लेख गरेकी थिइन्, सहरीयाहरूलाई आफूले प्रकृतिको आस्वादन गरेको समय, ठाउँ र अवधिको अध्ययन गर्न भनेकी थिइन् । अध्येताहरूले बिस मिनेटको अल्प समयमा पनि ‘प्राकृतिक पाचक’ले यदि हप्ताको तिन पटक मात्रै गरे पनि र्यालबाट निस्कने कोर्टीसोलको मात्रा घटाई सकारात्मक प्रभाव पार्न सक्छ । अमरत्व प्राप्त गर्न खोजेको र सहर-गाउँमा पूर्वाग्रही भएको पनि होइन, जहाँजहाँ प्रकृति, रुखबिरुवा र बगैँचाको समिश्रणमा जीवनयापन गरिन्छ रोगव्याधको प्रकोप भए पनि पाका मान्छे सहज जीवन जीउन सक्छन् । त्यसैले हामी दैनिक गतिविधिमा समय मिलाएर त्यस्तो प्रक्रियाको संयोजन गर्दै रहनुपर्छ ।
भौतिक विकासको नाममा ठूला महानगरहरूमा ससाना हरियाली क्षेत्र सिमेन्ट र कालोपत्रे बाटोले हराएका छन् । सर्वसाधारण र पाका मान्छेका स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावलाई बिचार गरेर हरियाली कायम गर्नुपर्ने तर्फ नीतिनिर्माता र सहरीबिकासका पदाधिकारीले ध्यान दिनेछन् । सर्बसुलभ हरियाली कायम गरेरमा समाजका सबै तह र वर्गका मानिसका स्वास्थ्य सहज कायम बनाउन मदत पुग्नेछ । त्यसैले जेम्स भन्दछन्, धनाढ्य र विकसित ठाउँका मानिसभन्दा खेतीपाती र बनउपबन भएका ठाउमा बस्ने गरिबहरू हरियालीकै कारण स्वास्थ्य समस्यामा धेरै फाइदा लिइरहेका हुन्छन् । त्यसैले सहर विकास गर्दा अचेल खुला ठाउँ, उद्यान र ससाना पार्कहरू बनाउने चलननै चलेको छ जहाँ सुन्दरता बढ्ने मात्र होइन, पाका मान्छे साथै सबै उमेरसमुहकाले स्वास्थ्य बनाउने फाइदा लिन सकुन् ।
डा. मिलरको अनुभवमा ठाउँठाउँको हरियाली र टाढाटाढाको घर निर्माणले गरिबी र कम जनसङ्ख्या भएको सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने बासिन्दा पाको उमेरमा फाइदा भएरै अस्पताल कम धाएको देखिन्छ । दैनिक सामान्य हरियाली क्षेत्रमा घुम्ने अवसर पाउने त्यस्ता ठाउँका मानिसमा स्वास्थ्य राम्रो भएको र मस्तिष्क तनाव कम भएको अनुसन्धानले देखिएको छ । यसै कारण अमेरिकाको उत्तरी रिचमोण्ड, क्यालिफोर्निया यस्तो वातावरण सहितको जनस्वास्थ्यको उदाहरण हो । उनी भन्छिन्, ‘स्वास्थ्य र हरियाली बिचमा भएको प्रभाव प्रष्ट हुन्छ, त्यसैले त आजकाल बिरामी जँचाउन आउँदा रक्तचाप र मुटुको चाल नाप्नेभन्दा आगन्तुकलाई उहाँको घर नजिक कतिको हरियाली छ’ भनि सोधिन्छ । त्यस्तो ठाउँमा उहाँहरू सुरक्षित भई कत्तिको घुम्नुहुन्छ भनि चिकित्सक उत्सुक हुनुको पछाडि बिरामी प्रकृतिमा कत्तिको घुलमिल भएको छ भनि बुझ्न खोजेको नै हो ।
अन्त्यमा,
मानव प्रजातिले उन्नतिको नाममा भौतिक सँरचना बढाएर शारीरिक र मानसिक स्वास्थ्य बिगारेकै हो । अब कोठाकोठामा हरिया प्लास्टिकका बिरुवा र रङ्गिचङ्गी फूल होइन परम्परा र पर्यटनकै नाममा भए पनि प्राकृतिक बनैया बासस्थान र बनउपबन घुम्न निस्कनु पर्यो । हरेक पाका मानिसलाई सके दिनदिनै करेसाबारीमा डुलाऔँ नभए हप्तामा एक दिन भए पनि खुला ठाउँ, बगैँचा, पार्क र निकुञ्जतिर घुमाऔँ । पाका मान्छेलाई लाग्ने रोगव्याधमा श्रमको मिसावटले निकै कमी आउने छ र मानसिक तनाव, गनगन तथा शारीरिक कमजोरी टाढा हुनेछ । नेपालमा तीर्थका नाममा भएका मठमन्दिर वरपर जङ्गल भएको र ‘तिनलाई मासेमा भगवान रिसाउने र पापलाग्ने’ भनाई प्रकृतिलाई सुरक्षित राख्न भनिएको होला । पानीका स्रोतलाई नबिटुल्याउन र बग्ने पानीमा सफाई काम गरिने प्राकृतिक प्रभावलाई कायम राख्न गरिएका प्रयास हुनसक्छन्, त्यसमा विज्ञानसम्मत अर्थ खोजौँ ।
०००
पुस २७, २०८०
चालिसेडाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest



































