साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिँदै जाँदा आँखामा मोतीबिन्दुको समस्या !

सबै उमेर समुहमा हुने भए पनि उमेरिदा पाको हुँदै गएपछि हरेक मानिसलाई मोतीबिन्दु हुने सम्भावना रहन्छ । उपचारमा धेरै पिर नगरी शल्यक्रिया गरेपछि दृष्टिशक्ति पुनः फर्किन्छ र अन्धो हुनबाट बचिन्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

हरेक प्राणीको उमेरिदा ज्ञानेन्द्रीय र कर्मेन्द्रीयको कमजोरी विविध कारणले भएको पाइन्छ, त्यसैले पाका मान्छेले सुस्केरा हाल्दै भनेको सुनिन्छ, ‘उमेर भयो, सवरङ्ग गयो, आँगन भयो परदेश, मोहोर त फोहोर बराबर देख्छु, कानै बजेर रेडियो सुन्ने नपर्ने’, यस्तैयस्तै अनेक । हो, उमेरिने क्रममा शरीरमा स्वेच्छिक आफैँ जन्मिएदेखि चलेका, ईच्छाधीन काम गर्ने अङ्गप्रत्यङ्गमा मिहेनत अनुसार पुनर्निर्माण र सुरक्षात्मक प्राकृतिक तथा थाह भएपछि गरिने मर्मतसम्भार बेलैमा नहुँदा बिग्रन गएर वाञ्छित काम पुरा गर्न असमर्थ भएका पाइन्छन् । यसै क्रमलाई हरेक प्राणीको लागि प्रयोग गरिने सजिलो शब्द, ‘बिरामी भएको, रोग लागेको, उमेर खाएको’ र चलनचल्तीमा साह्रै हेय गर्दा ‘बुढेसकालले गाँज्यो’ भनि चित्त बुझाउने भाषा प्रयोग गर्छन् । बाँचुञ्जेल निर्धक्क र हाँसीखुसी भएर बाँच्ने हो, अनावश्यक चिन्ता तथा पाको उमेरको शरीरले वयस्क हुँदाको तुजुक, घमण्डमा ज्यान धान्न सक्दैन, उमेरिएकोमा ढुक्क भई सहज, सरल जीवन जीउन कोशिस गर्नुपर्छ र शरीरको चाहिँदो मर्मत गर्नैपर्छ ।

पाका मान्छेमा उमेरिदा नाक, कान, आँखा, छाला, मासु, जोर्नी, हाडलगायत भित्री प्रणालीले पनि धुकचुक गरेर भनेजस्तो काम गरिरहेको हुँदैन । भित्री असाध्य रोगहरूबाहेक बाहिर देखिनेमा छाला चाउरिनु, मासु फिलफिले हुनु, कान कम सुन्नु, नाकले गन्ध भेऊ नपाउनु, जोर्नी दुखेर थला पर्नु, जोर्नी घोटिएर हिँड्न नसक्नु सबै सहन सकिएला तर आँखै नदेख्ने भए, कमजोर भई हरेक चिजविज भएजस्तो नदेखिए र कम प्रकाशमा दोछायाँ परेर विचित्र अनुभूति भए दैनिकी कति बेमज्जाको हुन्छ होला ? अरु अङ्ग कमजोर र काम नलाग्ने हुँदा थोरबहुत अरुको सहयोगमा लखरलुखुर गर्न सकिएला तर आँखैको समस्या हुँदा त सधैं हरेक कुरामा अरुको सहयोग नलिई कसरी पाको उमेरको आफूलेमात्र भोग्ने जीवन कति निरश र परनिर्भर हुन्छ होला ! सोच्दा पनि आङ जिरिङ्ग भई काँडा उम्रन्छन् हैन त ? आँखाको दृष्टिशक्ति कम हुँदा र उमेरजन्य दूर वा निकट चिजविज ठम्म्याउन त विविध बजारकै शिशा वा प्लास्टिकका चस्माले सामान्य जाँचपछि ठाउँमा ल्याउन सकिन्छ तर मोतीबिन्दुजस्ता रोग लागेर आँखाको दृष्टि क्षमता घटाउँदै अन्धो बनाउने अवस्था आएमा के गर्ने होला ? भएको जानकारी यहाँ यसो साटफेर गरौँ है !

मोतीबिन्दुः
मोतीबिन्दु भनेको आँखाको नानीमा र वरपर फैलिएर दृष्टिलाई धमिलो बनाउने बादलु पत्र हो, उमेरिँदै जाँदा धेरैलाई यस्तो समस्या पलाउँदै आउन सक्छ । आँखाको नानी एक प्रकारको पारदर्शी सफा काँचजस्तै शरीरको भाग हो, यसैमार्फत बाहिरका चिजबिजको आकृति र रुपरङ्ग नानी पछाडिको आँखाको स्नायुमा जान्छ अनि हामी देख्दछौँ । घोटिएको, वाफ र धुलो लागेको ऐनामा जसरी आफ्नै अनुहार पनि प्रष्ट देखिन्न त्यसैगरी मोतीबिन्दुको लेग्रो लागेको नानीबाट त्यस्तै अस्पष्ट दृश्यमात्र पसेकोले हामी ठम्याउन गाह्रोमा पर्छौ । यो बाहिरी पत्रलाई बेलैमा रोकथाम र सफा गरिएन भने बिस्तारै समस्या बढ्दै गएर मानिस केहि उज्यालो देख्नेमात्र हुँदै अन्धो पनि हुनसक्छ । धेरै समस्या थपियो भनेर डराउने, आम्दानी नहुनेले के खर्च गर्नु भनि निशोके भई हरेक समस्यालाई लुकाउने वा अरुको भरमा के राम्रो हुनु भनि अति मायाले आफन्तबाट सहयोग नलिने गर्नुहुन्न ।

उमेरिदा प्रायः आँखाको मोतीबिन्दु हुनसक्ने सम्भावना रहन्छ, अमेरिकी आँखा प्रतिष्ठानका अनुसार पाका मान्छेमा यसको समस्या देखिएको हुन्छ भने असि वर्ष माथिका मान्छेमा त भएकै हुन्छ वा शल्यक्रिया गरिसकेका हुन्छन् । आँखा विशेषज्ञका अनुसार सन २०५० सम्ममा अमेरिकामा मात्र ५ करोडभन्दा बढि पाका महिला र पुरुष मोतीबिन्दुको समस्याबाट आक्रान्त भइसकेका हुनेछन । यस्तो समस्या नहुनबाट पूणर्तया बचावट त गर्न सकिन्न तर विभिन्न उपायबाट समस्या घटाउने, हुनलाई ढिलो गराउने र हटाउने कदमहरू व्यवहारमा लागु गर्न सकिन्छ । गतवर्ष हार्वाड मेडिकल स्कूलका स्वास्थ सम्बन्धी लेखक ड्यानियल येटम्यानले लेखेका मोतीबिन्दु बारेको एक बृहत लेखलाई विशेष पाका मान्छे उपयोगी भन्दै डा. विलियम ल्वायडले सिफारिस गरेका छन् । उक्त लेखमा रोग लाग्नासाथ आँखाविज्ञसँग सम्पर्क गरी उपचार गर्नु अघि आफ्नो आँखाको स्वस्थताबारे जाँच गरिरहनु समस्यालाई हुन नदिने वा घटाउने सर्वोत्तम उपाय भनि उल्लेख गरिएको छ । वंशानुगत गुण र पाको उमेर दुबैको गम्भीर प्रभावले आफ्नो मोतीबिन्दु भएको कुरा स्विकार गरी समस्याको खतरा घटाउने र ढिलो होस् भनि प्रयाश गर्न निम्न छ बुँदे सूत्रहरू अमेरिकी विज्ञहरूको रहेको छ ।

१. घामबाट जोगिऔँः
घाम हरेक प्राणीको उचित विकास र शारीरिक मजबुतीका लागि अति आवश्यक हुन्छ, त्यसैले बिहानका पारिला घाममा बस्न र ढाड सेकाउन सबैलाई मनपर्ने मात्र नभई आवश्यक पनि छ । सबैलाई थाह छ सूर्य किरणमा सात रङ्गको समिश्रण रहेको हुन्छ साथै यही सेतो उज्यालो किरण सँगसँगै परावैजनी किरणहरू पनि हुन्छन् । यी किरणहरू अल्पकालका लागि धेरै नोक्सानी नगरे पनि लामो समय सोझै आँखामा परेमा आँखालाई नोक्सानी पुर्‍याउन सक्छन् र मोतीबिन्दुको विकास हुन थाल्दछ । ती किरणहरूको अति शूक्ष्म अध्ययनले ज्वलनशील काम गरेर नोक्सानी गर्ने देखाएको छ, यसो हुँदा आँखाका नानी वरपर सहयोगी भूमिका खेल्ने स्वाधिन अणुहरूले प्रोटिनलाई क्षय गराएर उल्टै नानीकै वरपर थुप्रिएर बसी मोतीबिन्दु बनाउन सघाउँछन् । सन २०२०मा गरिएको एक बिस्तृत अध्ययनले लामो समयसम्म सूर्यकिरणमा आँखा पार्ने काम गरेका मानिसमा मोतीबिन्दुको खतरा अत्यधिक रहेको पाइएको छ ।

प्रत्यक्ष र लामो समय आँखामा सोझै सूर्यकिरण नपारी परावैजनी विकिरणबाट आँखा जोगाउनै पर्छ, त्यसका लागि दिउँसो बाहिरफेर निस्कँदा घाम छेक्ने चस्मा र छत्रेटोपी लगाउने गर्नाले आँखामा पर्ने त्यस्ता विकिरणको मात्रा घटाउन सकिन्छ । यसो गर्दा प्रत्यक्ष विकिरणको असर पर्ने सम्भावना कम रहन्छ र नानीलाई जोगाउन मद्दत गर्दछ । सबैभन्दा राम्रो कडा घाम हुने मौसममा घरबाहिर निस्कँदा आँखा विज्ञले भनेको र चस्मा पसलमा पाइने विकिरण रोक्ने प्रमाणित विशेष प्रकारको चस्मा प्रयोग गर्नु फाईदाजनक हुन्छ । त्यसो भए कहिलेकाहीँ सोझै सूर्यकिरण आँखामै परेमा पनि नोक्सानीबाट बच्न सकिन्छ र आँखा मोतीबिन्दु हुनबाट जोगाउन सजिलो पर्दछ ।

२. धुमपान रोकौँः
धुमपानले स्वास्थ्यका सबै समस्याहरूमा कुनै नकुनै किसिमले नकारात्मक भूमिका खेलेकोनै देखिन्छ, लत बसेकाले भन्ने गरेका फाइदा त व्यक्तिको मनोविज्ञानको कथामात्र हो । धुमपानमा चुरोटबिँडी सल्केर धुवाँ छोड्नेसम्ममा सूर्ति बलेर निस्कने रसायन र धुवाँबाट आँखाका विभिन्न भागमा कुप्रभाव पारेर मोतीबिन्दु हुने खतरा निम्त्याउन मद्दत गर्दछ । धुमपानसँग मोतीबिन्दुको सम्बन्धको अनुसन्धानका आँकडाले देखाएको छ, धुमपान नगर्नेको भन्दा गर्नेमा तिनगुना बढी मोतीबिन्दुको खतरा हुनसक्ने भएको देखिन्छ । धुमपानले उमेरिदा हुने एउटा अनौठो रोग लाग्न सक्छ, यसको लक्षणमा आँखाको प्रष्ट र तेजिलो प्रकारले कुनै चिजविज देखिनुको सट्टा फगत टाटा मात्र देखिने, आकृति धुमिल हुने अवस्था भित्री सत्व क्षयीकरणको कारणले हुन्छ । यो मोतीबिन्दु भन्दा फरक तथा प्रष्टतामा अन्योल हुने पाका मान्छेलाई हुनसक्ने रोग हो र धुमपान बढि गर्नेलाई बढी हुनेगर्छ । यस रोगबाट बच्ने र भएको घटाउने उपाय भनेको धुमपान छोड्न सकेमा दुबै रोग निराकरणको लागि सबैभन्दा सजिलो तरिका हो ।

३. सन्तुलित खाऔँः
हरेक सकृय मानिसलाई पौष्टिक खानाको आवश्यक्ता पर्छ, सबैले खान पाएँ र मनपर्ने खाना छ भने बढि लोभिने गर्छन् तर हरेकले सम्भव भएको खानेकुरा सन्तुलित हिसावले खाने बानी बसाल्नु पर्छ । शरीर स्वस्थ राख्न र रोगहरू विरुद्ध जुध्न साथै सबै आवश्यकीय पदार्थ पाउन खानामा सन्तुलन गर्नैपर्छ । आँखाको लागि सन्तुलित खाना भन्नाले हरेक पटकको भोजनमा विविध प्रकारका मौसमी फलहरू, ताजा तरकारी धेरै मात्रामा हुनु राम्रो हुन्छ भने तयारी खानेकुरा घटाउनु मोतीबिन्दुको खतरा कम गर्नु सावित हुन्छ । कतिपय उच्च आर्थिक स्तर भएका मानिसहरू त्यस्ता खानेकुरा नखाएर बजारिया तयारी खाना वा अतिप्रशोधित खाना च्याप्दै कमाउन व्यस्त हुन्छन् र शरीरको आवश्यक्ता भनेर औषधि पसलबाट पौष्टिक खुराकीको रुपमा ओखतिनै किनेर सेवन गर्छन् । सन २०१९ को अनुसन्धानले त्यस्तो व्यवहार गर्ने मानिसमा नगर्ने मान्छेमा भन्दा मोतीबिन्दु बढि देखापरेको पाइयो र त्यस्ता पौष्टिक पदार्थ खानेमा मोतीबिन्दु हुने खतरा रोक्न वा ढिला गराउन सफल भएको देखिएको छ ।

त्यसैले अति थोरै केहि मात्रामा प्रतिउपचायक (एन्टीअक्सीडेन्ट) सहित सन्तुलित आहार सेवन गर्ने बानीनै पाको उमेरमा मोतीबिन्दु रोकथाम गर्ने सरल र सहज उपाय हो । थोरै मात्रामा प्रति छाक खानुपर्ने विशेष त्यस्ता बस्तुहरूमा भिटामिन सि र ई हुन, यी पदार्थले शरीरमा जथाभावी स्वतन्त्र पैदा भएर गरिने नोक्सानी हुन नदिई प्रतिरोध शक्ति बढाएर शरीरलाई विभिन्न रोगबाट बचाउने क्रममा मोतीबिन्दुको खतरा पनि रोक्नसक्छ । यस्ता भिटामिनले बिग्रिएका कोष निर्माण तथा बिगार्ने रसायन शरीरभित्र उत्पादन भएमा हटाउने, प्रतिरोध गर्ने र निश्कृय बनाइदिएर हुनसक्ने नकारात्मक प्रतिक्रियाबाट शरीरलाई बचाउँछ ।

मानिसका विभिन्न उमेरसमूह र पाका मान्छेमा मोतीबिन्दु सम्बन्धित समस्यालाई केन्द्रीत गरी भएको अनुसन्धानमा फलफूल, सागपात, भिटामिन सि, जीयाजान्थीन, लुटेइन, मिश्रित भिटामिनका पुरक ओखति मात्रा भएका पदार्थको सेवन खानामा हुँदा मोतीबिन्दु लगायत आँखासम्बन्धी धेरै रोगनै नहुने, घट्ने र भएको हट्ने देखिएको छ । यस्तो सेवन पश्चात हुन लागेका रोग नहुने वा साह्रै कम मानिसलाई हुने परिणाम सहितको अनुसन्धान रिपोर्ट प्रकाशित भएको छ । स्वास्थ्य सम्बन्धी जानकारी दिने सूचनाको आधारमा शरीरको उचाईअनुसारको तौल हुनुपर्ने र चिनीजन्य सेतो पन्यालो झोल निस्कने (कार्बोहाईड्रेट) कम खाने गर्नाले मधुमेहको टाईप-२ नहुने हुनसक्छ । मधुमेहका धेरै प्रकार विकसित हुनुको अर्थ पाको उमेर हुँदैजाँदा मोतीबिन्दु हुने सम्भावना नहुनेको भन्दा पाँच गुना बढि भएको अध्ययनले आङ्कलन गरेको छ ।

४.चोटपटक ननिम्त्याऔँः
आँखा अग्लो नाकको डाँडीबाट दुबैतिर र आँखीभौँको डिलबाट तल खाल्डोमा रहेको, प्रकृतिलेनै अनुहारमा सबैभन्दा सुरक्षित राख्नुपर्ने अङ्ग भएकाले हो कि ? हरेक कोणबाट मानिसको मानसिक र शारीरिक सर्वाङ्गीण विकासमा इन्द्रियहरूमा आँखा एक महत्वपूणर् भाग हो, त्यसैले त मानविय संवेदनाका हरेक अवयवमा आँखा, नानी शव्दहरू अर्थपूणर् ढङ्गले उपमा, उखान, बखानमा प्रयोग भएको पाइन्छ । आँखामा हुने चोटपटक साथै अवाञ्छित बाह्यपदार्थको प्रवेशले दृष्टि क्षमतामा प्रतिकुल प्रभाव पार्नसक्छ, अन्य नकारात्मक भवितव्यमा मोतीबिन्दु सबैभन्दा खतरनाकनै मध्ये पर्दछ । बाहिरफेर हिँड्दा, खेलकुदमा भागलिँदा टाउकोमा आँखाको महत्व भएकालेनै विशेष सुरक्षाको कवचको रुपमा गुणस्तरको चस्मासाथै अरु ढकनी प्रयोग गर्नु मोतीबिन्दु रोक्ने सरल पूर्वउपाय हुन् ।

आँखालाई विभिन्न दुर्घटनाबाट बचाउन मान्छेहरू बिच नजिकैबाट प्रतिस्पर्धा हुने खेलमा टाउको साथै आँखा र अनुहारको सुरक्षाका लागि अगाडि पारदर्शी भाग रहेको हेलमेट प्रयोग गरिन्छ । रासायनिक पदार्थ चलाउने बेलामा, बाण वा बन्दुकमा जस्तो कुनै चिज बलपूर्वक निस्कने रमाइलो, हावामा कावाखाने, पानीमा हाम्फाल्ने, द्रुतगतिमा हाँकिने साइकल वा मोटरसाइकल चढ्ने खेलहरूमा आँखा बचाउने बस्तु प्रयोग गर्नु आवश्यक हुन्छ । फलाम कारखानामा बिजुली वा आगोबाट निर्माण र जोडजाड गरिने काममा झिल्काहरू उडने, उछिट्टने हुँदा, औद्योगिक उत्पादनका कारखानामा आँखाको शुरक्षा हुनै पर्दछ । यस्ता निर्माण क्षेत्रमा मात्र होइन धुलो, धुँवा उड्ने र आगोको प्रयोग हुने हरेक ठाउँमा आँखाको सुरक्षाका उपायहरू अबलम्बन हुनैपर्दछ । असुरक्षित वातावरणमा लामो समय काम गर्दा आँखाको मोतीबिन्दु लगायत अन्य समस्या सजिलै उत्पन्न हुनजान्छ ।

५. मद्यपान कम गरौँः
अत्यधिक मद्यपानले शारीरिक र मानसिक विविध समस्या ल्याउँछ भने नियन्त्रित नभएमा थोरै मात्राको सेवनले पनि अन्यत्र साथै आँखालाई पनि असर गर्दछ । रहँदाबस्दा आँखामा मोतीबिन्दु देखा परेर दृष्टि क्षमतामा समेत प्रभाव भएकाले पाका मान्छे त आँखाको समस्या परेर गनगनाई रहन्छन् । सन २०२२मा गरिएको एक अनुसन्धानात्मक अध्ययनले त जीवनभरी मद्यपान गर्ने सबै स्तरका मानिसमा मोतीबिन्दुको खतरा बढि भएको देखियो भने त्यस्ता मानिसहरू मध्येमा पुरुषले वर्षभरीमा ९० पटक र महिलाले ४० पटकभन्दा बढि मद्यपान गर्नेमा उल्लेखनीय रोगव्याध थपिएको पनि पाइयो ।

मद्यपान बारेमा कहीँ पनि राम्रो पक्ष भनेर प्रशंसा गरिएको पाइन्न, मात लागेको, नशा लागेको वा मद्यपान गर्ने महिला-पुरुष कसैलाई अशल नभनेर एक छेस्को काम बिग्रनासाथ ‘जड्याँहा स्वभाव’ मा गन्ती भइहाल्छ । कतिपय नाम चलेका मानिस त मद्यपानको लत बसेकाहरूलाई जति राम्रो भए पनि रद्दीमा गणना हुने परिस्थिति मद्यपानको खराबीको मात्रा बढि भएरनै होला ? आँखाको स्वास्थ्यमा अत्यधिक नकारात्मक प्रभाव हुने भएरनै सगुन र सर्वसाधारणको चलनको अभिन्न भाग रहेको मद्यपानबारे मतवाली भनिने र पश्चिमाहरूले पनि नियन्त्रित वा आक्कल-झुक्कललाई सहे पनि नियमित सेवनलाई बहिस्कृत गर्नुपर्ने पेयमा गन्दछन् । मोतीबिन्दु र आँखाको विविध रोगले ग्रस्त पार्न सक्ने भएरनै यसको सेवन बर्जित गर्नुपर्छ भन्नेमा दुईमत पाइन्न ।

६. नियमित जचाऔँः
सुरुसुरुमा सामान्य असजिलो लाग्नेबाहेक आँखामा लाग्ने रोगको धेरै प्रष्ट लक्षणहरू नदेखिन सक्छ, बिरामी आफैँ पनि दुईटा आँखा छ, एउटामा केही भए अर्को छँदैछ भनेझैँ बेवास्ता गरेको पनि पाइन्छ । आँखा महत्वपूणर् इन्द्रिय भएको र आँखा नभए वा कमजोर भए दृष्टिभ्रम मात्र होईन उपचार ढिलो गरेमा नदेख्ने हुन सक्छ । त्यसैले मानिसको हेराई र आकृति बारेका ठम्म्याईबाट फरक अनुभूति अरुले गर्नथालेको चाल पाउनासाथ आँखा जचाएर ओखति वा परहेज गर्न थालिहाल्नु पर्छ । नत्र त बेलामा एक टाँकाले सद्दे हुने लुगापछि दश टाँकाले पनि दुरुस्त नभएझैँँ हुन बेर लाग्दैन, त्यसमाथि आँखाजस्तो संवेदनशील अङ्गमा हेलचेक्र्याइँ गर्न ैहुन्न । सामान्यतया पाको उमेरमा वर्षको एकपटक शरीरका विभिन्न जाँच गर्दै बाहिरी र भित्री स्वस्थ्यबारे एकिन गर्न खोजेजस्तै इन्द्रियहरू मध्ये आँखाको दृष्टिशक्तिमा कमी, दोछायाँ र धमिलोपनजस्ता तलमाथि भएको सामान्य भनिएकोमा पनि जँचाउने गरेमा ठूलो समस्या भोग्नबाट बचिएला । आँखाका सामान्य केही रोगहरू केटाकेटी वा वयस्क उमेरमानै लागेर दुख पाइसकिएको भए उमेरिदा पाका मान्छेले गम्भीर प्रकृतिका समस्या नआउने पनि हुनसक्छ ।

नेपालमा भएका नेत्र सङ्घ र आँखा अस्पतालले बेलाबेला साना बालबालिका र पाका मान्छेका आँखाको रोगहरूबारे शिविर सञ्चालन गरी प्रचार-प्रसार गरेका छन् तर आवधिक सर्वसाधारणको आँखा जाँचपड्तालको ठोस योजना देखिँदैन । अमेरिकी आँखा प्रतिष्ठानले हरेक ४० वर्ष माथिका नागरिकका लागि एकिकृत आँखा परीक्षणको तालिकानै बनाएको छ । त्यसअनुसार हरेक ४०-५४ वर्षकाले दुईदेखि चार वर्षमा आँखा जँचाउनु पर्छ, ५५-६४ वर्षकाले एकदेखि तीन वर्षमा जँचाउनु पर्छ र ६५ वर्ष माथिकाले वर्षेनी र ढिला भए दोश्रो वर्षभित्र जँचाउनै पर्छ भनेको छ । मधुमेहको टाईप १ र २ हुनेले उमेरको नापो होइन आँखाको समस्या बेलैमा पहिचान गर्न हरेक वर्ष जचाउनै पर्ने सल्लाह पनि दिइएको छ । यदि कोही आफ्नै स्वास्थ्य सम्बन्धी समस्याको कारणले, बंशानुगत कारणले अथवा समुदाय र क्षेत्रका आधारमा समस्याग्रस्त भागमा पर्छन् भने लक्षणहरू केही नदेखिए पनि नियमित जाँच गराउनु मनासिव हुन्छ ।

मोतीबिन्दु र अन्धोपनः
मोतीबिन्दु भएका मानिसको सबैभन्दा ठूलो समस्या यदी लामो समयसम्म ओखतिमूलो वा शल्यक्रिया नगरेमा दशकौँपछि आँखा अन्धो पनि हुनसक्छ । उमेरजन्य मोतीबिन्दुमा यो समस्या रहन्छ भने कुनैकुनै प्रकारका मोतीबिन्दुमा दृष्टिशक्तिनै कमी भएर अन्धो सरहनै हुनजान्छ भने स्नायुको समस्या पनि कारण हुनसक्छ । उमेरिएका मान्छेमा प्राय मोतीबिन्दु हुनु अस्वाभाविक होइन, खास गरेर धेरै देशहरूमा आँखाको उपचार पद्दती भए पनि अन्धो हुने प्रमुख कारणमा मोतीबिन्दुनै देखिएको छ ।

आँखामा मोतीबिन्दु कसरी हुन्छ र दृष्टिशक्तिमा के कति असर गर्छ भनेर सबैले बुझ्नुपर्छ । उमेरिदै जाँदा आँखाको नानी भागको बाहिरी सतह र वरिपरी सामान्यतया वातावरणीय र दैनिक जीवन पद्दतीको कारणले ऐनामा बाफ लागेझैँ बादल जस्तो पलाउँँछ । यो वास्तवमा आँखामा अक्सिजनको जैविक उत्पादन र सञ्चितीमा हुन आउने असन्तुलनको कुप्रभावको फल हो । मोतीबिन्दुको बादल लाग्दा आँखाको भागमा प्रोटिनका पत्रहरू लामो समयसम्म अरु पदार्थसँग मिलेर नगलिकन जम्मा भएर हुन्छ, यस्तो अवस्थाले नानीबाट उज्यालो पस्न सक्दैन र आकृतिको चित्र परावर्तित भएर जान नसक्ने हुन्छ । यस्तो प्रोटिन त्यसरी टुक्रा नभई रहने शारीरिक अवस्था चालिस वर्ष नाघेपछि द्रुतगतिमा हुनथाल्छ, त्यसैले त चालिस वर्ष र पछि मोतीबिन्दु हुने सम्भावना बढि भएको हो । पाका मानिस असी वर्ष नाघेपछि कुनै नकुनै प्रतिशतमा मोतीबिन्दुको प्रभावमा परेका पाइन्छन् र त्यसको सुरुवातमा केही लक्षणहरू देखापर्न थाल्छन् । त्यस्ता समस्या दृष्टिमा केही नयाँ लक्षणहरू देखिने हुन्छः आकृति धमिलो, आँखा वरपर सेता चक्र घुम्नु, हरेक रङ्ग फिका देखिनु, उज्यालोको चहक खोज्नु, सामान्य अँध्यारो निस्पट्ट अनुभव हुनु, हरेक बस्तु दोछायाँ देखिनु, आदि । हुनत्, केटाकेटी देखिनै आँखाको समस्याले मोतीबिन्दु हुनसक्छ तर उमेरजन्य मोतीबिन्दु प्राय पैँतालिस पचास वर्षदेखि धेरैलाई सुरु हुन थाल्छ ।

उपचारः
मोतीबिन्दु भएकाको दृष्टिशक्ति क्षिणभएर सामान्य लेखपढ गर्न साथै झिनामसिना काम गर्नसमेत अलमल भइरहने अवस्थामा बिज्ञको सल्लाहमा मोतीबिन्दु फुट्नु अघिनै शल्यक्रिया गरेर हटाई हाल्नाले अन्धो हुनबाट जोगाउन सकिन्छ । क्याथराइन डनकेनले लेखेका मोतीबिन्दुको निराकरणको लागि शल्यक्रिया गर्नु अहम महत्व हुन्छ भन्ने लेखलाई डा.राचेल जिमिचले सन २०२३ मा उपयुक्त चिकित्सकीय लेख भनि प्रशंसा गरेका छन् । मोतीबिन्दु रोगबारे लामो अनुसन्धान र ओखतिको प्रक्रिया बिताएर विकसित भएको नानीको पर्दा हटाउने र नयाँ लगाउने पद्दतीले लाखौँ मानिसको दृष्टि प्राप्त गरेको सुखद घटनाहरू अहिले सामान्यतया सुनिन्छ । शल्यक्रियामा नानीको पर्दा (लेन्स) अलिअलि ढाकेर त्यति समस्या नहोला तर पुरै ढाकेको छ भने त लेग्रा हटाउनुबाहेक नानीको पर्दानै फेर्नु पर्दछ । प्रकृतिलेनै त्यो पर्दा चस्माको सिसाजस्तै बनाएकाले त्यसलाई निकाल्न सजिलै सकिन्छ र क्रित्रिम पर्दा पनि त्यस भागमा मिलाएर राख्न सकिन्छ, आँखाको मोतीबिन्दु शल्यक्रियामा यही काम हुन्छ । मोतीबिन्दुबाट मुक्त हुन र दृष्टिमा लगभग प्राकृतिक स्तरको शक्ति ल्याउन शल्यक्रियानै सर्वोत्तम उपाय हो ।

मोतीबिन्दुको शल्यक्रिया त्यति खतरनाक र आत्तिने खालको हुँदैन । शल्यक्रिया गर्नु केहीबेर अघि आँखा फुलाउन हालिने थोपा ओखतिले आँखाको दृष्टिमा निकै असर गरेर असजिलो लाग्न सक्छ र वरपरका चिजविजको आकृति बढेको, फैलेको र बढी उज्यालो भएको अनुभव हुनसक्छ । चिकित्सकले आँखा उघारै राखेर जाँतो घुमाएझैँ बहुत नरम तरिकाले सफा गर्दा विभिन्न शितल झोल ओखतिलाई निरन्तर फूलेको आँखाको लेग्रापत्र सफा गर्न अविरल झारेका हुन्छन् । थप समस्या शल्यक्रियामा नआए करिब आधा घण्टामा आँखाको सफाई र नयाँ पर्दा हाल्ने काम सकिन्छ । यस प्रक्रियामा अरु शल्यक्रियामा जस्तो बिरामीलाई नसामा पानी वा रगत दिइरहनु पर्दैन भने पुरै शरीर लट्ठ्याउने त झन गर्नै पर्दैन ।

सावधानीः
शल्यक्रियापछि सामान्यतया घामको उज्यालो, धुलो, धुवाँ, आदि बाह्यबस्तुले अतिरिक्त असर आलो पर्दामा नपरोस् भनि कतिपय बेला चिकित्सकले आँखा छोप्ने कपाससहित टालोनै लगाइदिएका हुन्छन् । अवस्था हेरेर कालो चस्मा लगाएर मात्र पनि फर्की घर आउन सकिन्छ । केही दिन बिहान, दिउसो र बेलुका शल्यक्रिया गरिएको आँखामा संक्रमण रोक्न र रसिलो बनाएर सहज बनाउन दुई तीन थरिका थोपा ओखति हाल्नुपर्ने हुनसक्छ । केही दिन सवारी साधन आफैँ नचलाउने, बढि प्रदूषित वातावरणमा नजानेमात्र होइन आँखामा राखेको टालो हटाएपछि सुरुमा यस्ता ठाउँबाट टाढै रहनु पर्छ । बढिमा एक हप्ता भित्रमा मोतीबिन्दु शल्यक्रिया गरेका पाका मान्छे आफ्नो दैनिकी पहिलेजस्तै नियमित गर्न सक्छन् भने कतिपय जटिल प्रक्रियामा दुईदेखि आठ हप्ता पनि लाग्न सक्दछ । कसैलाई थप अप्ठ्यारो हुँदा चाहिँ आँखा सुखा भई कडा हुने, कसैलाई आँसु आइरहने, अझै बादल लागेजस्तो लाग्ने, दोछायाँ हुने, आँखाको सेतो भागमा रगतका थोप्ला देखिने आदि हुनसक्छ । दिइएको ओखति आँखामा हाली रहँदा कम हुँदै गएर निको हुन्छ भने नभएमा पुनः उही चिकित्सकलाई देखाउनु पर्छ र निको हुन्छ ।

दुबै आँखामा मोतीबिन्दु भएको छ भने सकेसम्म जुन आँखामा बढि आवश्यक्ता छ त्यसलाई शल्यक्रिया गर्ने गरिन्छ तर अति आवश्यक भए दुईटै आँखामा एकै पटक गर्न पनि हुन्छ । प्राय एउटा आँखामा गरेपछि एक दुई हप्तापछि अर्को गर्नाले एउटाले प्राकृतिकरुपले काम गरिरहँदा बिरामीलाई सजिलो लाग्दछ भने संक्रमण भएमा उपचार गर्न पनि सजिलो हुन्छ । केटाकेटीलाई मोतीबिन्दु शल्यक्रियापछि अप्ठ्यारोमा नपरुन् भनेर आँखालाई बचाउन र हातले जथाभावी नमाडुन् भनेर पनि अनुहारमा पारदर्शी मास्क लगाइदिने गरिन्छ भने पाका मान्छेले निदाएको बेला त्यस्तो गर्न सक्छन् भनि एकदुई रात लगाउनु भनिन्छ ।

अन्त्यमा,
सबै उमेर समुहमा हुने भए पनि उमेरिदा पाको हुँदै गएपछि हरेक मानिसलाई मोतीबिन्दु हुने सम्भावना रहन्छ । उपचारमा धेरै पिर नगरी शल्यक्रिया गरेपछि दृष्टिशक्ति पुनः फर्किन्छ र अन्धो हुनबाट बचिन्छ । पाको उमेरमा हरेक क्रियाकलापमा आफैँ सचेत रहन र खुट्ट्याउन बाध्य हुने परिस्थिति बन्दै गएको समाजमा उमेरिदा हुने यस्तो रोगलाई बेलैमा पञ्छाएर सुखी जीवनको काम गर्नुपर्दछ । केटाकेटीमा जन्मजात र बंशानुगत समस्याले हुने मोतीबिन्दु अलि जटिल हुनसक्छ, उनीहरूको हाउभाउ र चिजविजको ठ्याक्क वर्णन नगर्दा अभिभावकले थाह पाएर उपचारमा अघि बढ्नु पर्छ ।

विश्व ब्रम्हाण्डमा रहेका चिजबिज तथा बिचारको सकारात्मक र नकारात्मक पक्षमा देख्ने कुरा आँखाको काम नभएर मस्तिष्कको विश्लेषण हो, आँखाले भएका कुरामा प्रकाश ठोकिएर फर्केर आई नानीको पर्दाबाट भित्र गएर स्नायु प्रणालीमा परेर जानकारीमात्र पाउने हो । ‘कसैको आँखा त कस्तो-कस्तो देख्छ ?’ भनेर बस्तु भेट्टाउने सोझो कुरा हो, जेजस्तो अगाडि देखिन्छ निष्पक्ष वर्णन मात्र गर्ने आँखाको काम हो भने घटेको घटना, भनाईको मनशाय देख्नु र अन्तर्यबारे सोच्न लगाउने मस्तिष्क उपजको कुरा हो, यसैलेनै भूत, वर्तमान र भविष्य देख्छ, योजना र दृष्टिकोण बनाउँछ ।

०००
असार ७, २०८१
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x