साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका उमेरिँदा गर्नहुने, नहुने कुरा !

जनताको भजन त गाउने तर आफ्नै वर्गको हितमा काम गर्ने नाइकेहरू नीतिनिर्माण तहमा र राजकीय ढुकुटीमा पुग्ने भएकाले सबै अवसर उनीहरू र आसेपासेकै भूँडी भर्नमै केन्द्रित हुन्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

हिजोआज केही सामुहिक हितमा भएका बाहेक उन्नत प्रणाली रहेको भनिएका मुलुकहरूमा समेत उमेरिएका मान्छेका अवस्था पूँजिवादी नाफामुलक व्यक्तिवादको चपेटामा परेर सामाजिक, आर्थिक र भावनात्मक हरेक किसिमले स्तर खसेको पिरलो साथै, दीनहीन कुरूपसमेत देख्न सकिन्छ । अन्तरराष्ट्रियरूपमा फैलाइएको अवसरको खोजी, केही गर्ने फोश्रो अहम, व्यक्तिगत समृद्धि र चलेका नैतिकता काम नलाग्ने ठहर सुनाई उम्लिएका वर्ग मात्र होइन देखासिकी गर्ने धेरै न्युन वर्गका युवाहरू ‘कमाई हुने विदेशको स्वर्ग’ दौडीन लागेका छन् । यस्ता उद्देश्यको हल्लाले उनीहरूमा एकल परिवार र व्यक्तिगत मनखुसीले रजगज गर्ने भित्री मुरादले काम गरिरहेको हुन्छ भने अत्यन्त न्यून सङ्ख्यामा देशभित्र साँच्चिकै सोचेको शिक्षा र योग्यता अनुसार अवस्था नभएकाले परदेश हिँडेका छन् । नेपालमा मात्र होइन भौतिक उन्नति कम भएका सबै देशहरूका कथा यस्तै छन्, नजिकमा भारत, बङ्गलादेश र पाकिस्तानमा भएका ज्येष्ठ नागरिकका अनुभव सुने हामीलाई पुग्छ ।

घोटिएर काम गरे जहाँ पनि कमाई गर्न गाह्रो हुन्न, विदेशमा अलि कमाउन सकेको त् एक्लै भएर पनि हो भने कतिपय ठाउँमा मानवीय श्रम महँगो भएर पनि हुनसक्छ । एकदुई जनाको उडन्ते इच्छामा घरका अभिभावकले ‘अतिमाया र सन्तानको जिद्दीमा हारेर’ घरखेत गरेर पनि सन्तानलाई बाहिर पठाउँछन् । उनीहरूले पाउने भनेको सन्तानले बेलाबखत स्नातक उत्सवका नाममा ‘आफ्नै ऋणपानमा आउन सके आउनोस्’ भन्दा विदेश गएको बडप्पन जोरीपारी र इष्टमित्रलाई देखाउन/सुनाउन उत्सुकहरू केही महिना सन्तान गएकैतिर हराउँछन् । विभिन्न बहानामा एकल परिवार विदेशिएकाहरू दरसन्तान प्राप्तिमा तेल भिसाको उपयोगमा सस्तो श्रम पाउन बाआमालाई उता बोलाउँछन् र उताको बच्चा हेर्न लाग्ने खर्च बचाउँछन् । कहिल्यै आफ्नै मेची-महाकाली नगएका पनि उताको बिदामा घरायसी काम कम हुँदा सन्तानले घुमाइदिएका ठाउँका फोटा ‘आज यता गइयो’ भनि गर्वसाथ राखेर सामाजिक सञ्जाल रङ्गाएका हुन्छन् । नजाउँ सन्तानले चित्त दुखाउने, जाउँ अभिभावकका काम जता गए पनि नघट्ने रणभुल्लमा रहेका पाका मान्छे ‘भित्री कुरा लुकाई भेटघाट र सामाजिक जमघटमा रुञ्चे हाँसो सहित विदेशीको प्रशंसामा फक्किने’ मध्यम वर्ग अचेल नेपालमा प्रसस्त लरबराएका भेटिन्छन् ।

भूक्तभोगीका कुराः
विकासोन्मुख मुलुकहरूका मात्र होइन धनी कहलिएका देशका पाका र अतिपाका नागरिकहरूले सामाजिक सञ्जालमा आफ्ना अनुभवहरू बहुतै हृदयविदारक रहेको अभिव्यक्ति अचेल छ्यापछ्याप्ती राखेका देखिन्छन् । सयौँ वर्षको उनीहरूको प्रजातन्त्रबाट पाका मान्छे तथा निमुखा गरिबको लागि खासै मानवीय व्यवहार पनि नपाएको गुनासो र पीडादायी कथा भेटिन्छन भने घरबार विहीनहरू बढ्दै गएकोले चित्त दुखाई थपिएको दर्दनाक अवस्था देखाइरहेका छन् । पाका मान्छेबाट सञ्चालित ‘जीवनको पाठ, जीवनको कथाबाचक, जीवन जीउने सल्लाह’ जस्ता ईन्टरनेट पानाहरू मार्फत आफुले भोगेका घटना र आफ्नो निणर्य अरुको लागि काम लागोस भनेर प्रचार गरिरहेछन् । यस्ता अनुभवसिद्ध सल्लाहले अहिलेका मात्र होईन हुनलागेका पाका मान्छेले पनि बेलैमा उमेरिँदा आफ्नै लागि व्यवस्थापन गर्न र सतर्करहन प्रेरणा मिल्न सक्छ भने अप्रत्यक्षरूपमा उनीहरूलाई आत्मनिर्भर र स्वतन्त्रतापूर्वक जिउन बाटो खुल्न सक्छ । समाजवादी व्यवस्था भएका मुलुकमा पाका र अशक्त मान्छेको हेरचाह गर्न स्वच्छ वातावरणमा सामुदायिक आवास निर्माण गरेर आवश्यक सुविधासहित व्यवस्थित बसोबास गराइएको पाइन्छ, त्यहाँ पारिवारिक हिंसा र सामाजिक तनाव नभएर उमेरिँदा सकेको काम र व्यायामगरी मनोरञ्जनात्मक परिस्थिति सिर्जना गरिएको देखिन्छ ।

सल्लाह बग्रेल्तीः
पाका मान्छेका जीवनबारे जीउँदो र भरपर्दो सल्लाहकारूपमा भूक्तभोगीका भनाई यस्ता रहेको बगे्रल्ती पाईन्छ । उहाँहरूको भनाईमा आफ्नो जीवन सुम्पेर साथलागेका र जतिसुकै अप्ठ्यारोमा पनि साथैरहेका श्रीमान-श्रीमती वा महिला-पुरुष मानिस नै सबैभन्दा महत्वपूर्ण तथा प्रिय मित्र हुन । दुवैले एकअर्कालाई उत्तिकै महत्व दिएर स्नेह गर्नु र सघाउनु आवश्यक छ, पाको उमेरमा अब मित्रता झन बढिभएर झङ्गियोस् घटने र कलुषित हुने परिस्थितिनै नहोस् भनि दुवै सतर्क रहनु पर्छ । मानिसहरूको जीवन अल्पकालीन वा दीर्घकालीन हुनसक्छ, कोही पाको उमेर लाग्दा नलाग्दा बित्ने छन् कोही शताब्दी आयु जिउने छन् तर एकआपसमा नकारात्मक घोचपेचको मौकानै आउनु हुँदैन र आफूबाट बिलकुलनै नहोस् भनि जिम्मेवार हुनैपर्छ । त्यसक्रममा आफुले आफैँलाई उचित माया गर्न र स्वास्थको शुरक्षामा चाहिँदो दया राखिरहनु पर्छ, ‘यत्ति त सक्छु’ भनि शरीरलाई अनावश्यक दुःख दिने काम गर्न अघि सर्नु हुँदैन । तपाईंको शक्ति र हैसियतबारेमा तपाईं आफैँ जति अरुले थाहा पाउने कुरा हुँदै हुदैन र आफुले अनुभूत गरेकोमा पुरा भरगर्नु पाको उमेरमा झन् आवश्यक हुन्छ भने एकल हुँदा त हरेक कुरामा आफैँ अन्तिम निणर्य गर्नुहोस्, अरुको भरगर्दा आफ्ना भावना फेरी मर्न सक्छ ।

कामप्रति मायाः
चिजविज र भौतिक सुविधाका सामान केवल निष्प्राण वस्तु हुन, त्यसमा बडप्पन देखाउने नगरौँ, आर्थिक स्तरअनुसार प्राप्त गर्न सकिने सामान्य कुरा हुन्, घमण्ड बढाउने, फूर्ती देखाउने अवयव होइनन् । त्यस्ता कुराको सट्टा आफ्नो किमती अनुभव र समयको ख्याल गर्नु होस् साथमा आफ्नो उमेरको विचार गरेर सुरक्षित हुन मात्र कोशिश गर्नुहोस् । अनावश्यक ईश्या र डाह गर्ने स्वभाव नराख्नुहोस्, यस्तो बानीव्यहोराले भइरहेको सामान्य सम्बन्ध भत्किन सक्छ र मनमुटावले शत्रुता बढदै नोक्सानी हुनसक्छ । आफ्नै नजिकका मान्छेलाई सम्बन्ध नबिग्रेसम्म पुरा मात्रामा निशर्त विश्वास गर्नुपर्छ, नजिककालाई विश्वास नगरे कस्लाई गर्नुहुन्छ त ?

सामान्यतया आफुले मनपराएको विषयमानै काम पाएको भन्ने गर्दछन् तर यो अशल टिप्पणी र भनाई होइन । ठिक काम भनेको तपाईंले केही समय मनपराएको कामनै हो, त्यस्ता काम केही समय थप पनि मन परिरहेको होला र त्यही कामले गर्दा तपाइँको आवश्यक्ता पुरा भइरहेको पनि होला ! त्यसैले आफ्नो कामलाई माया गर्नोस्, खुशी हुनुहोस् र प्रशंसा गर्नुहोस् । हो, सबैलाई आफुले गरिरहेको काम सधैँ मनपर्ने काम नहुन सक्छ, तर मानिसको धारणा प्राय नभएको र नगरिएको कामनै राम्रो र फाइदाजनक भएको अप्रमाणित विचारमा चुकचुकाउनेनै हुन्छ । यस्तो सोचाई सर्वथा बेठिक हुनसक्छ र असन्तोष बढाउने कारण बनिरहेको हुन्छ, त्यसैले ‘सन्तोषी सदा सुखी, असन्तोषी सदा दुखी’ भन्ने उखान चलेको होला ?

सधैँ काम पछि काम भनेर जीवनमा आफैँँलाई स्वचालित मेसिनजस्तो बनाउनु पनि मानवीय जीवनको धेय होइन । त्यसो गर्नु भन्दा अहिलेकै अवस्थामा जेसकेको शान्तपूर्वक फर्कनु होस् र वरपरका सुन्दर तथा आनन्द दिने वस्तुहरूमा मनोरञ्जन लिने अवस्था सिर्जना गर्नुहोस् । आफ्नो पहुँच र हैसियतले भ्याउने कुरा मात्र प्राप्तगर्ने र मुट्ठीमा राख्ने प्रयास गर्नुहोस्, भएका कुरामा ढूक्क भई आराम तथा सन्तोषको श्वास लिँदै आफैँलाई सान्त्वना दिई मक्ख परेर जिउनु होस् ।

पछाडि फर्केर हेर्दा तपाईंले जीवनमा छिचोलेका राम्रा-नराम्रा कुइनेटाहरूलाई लामो समयमा भोगे पनि अहिले झिमिक्क आँखा गर्दा भर्खर भएजस्तो क्षणिक लाग्नसक्छ । कलिलै उमेरमा विवाह गरेको भए ‘अलि वयस्क भएपछि गर्नुपर्छ, आफ्नो जीवनमा गर्नुपर्ने काम धेरै छन्’ भन्ने सल्लाहकासाथ अबका युवालाई ‘ठाउँठाउँ घुम्न, धेरै कुराको अनुभव गर्न र मानिसको जीवनबारे सकेको जानकारी बटुल्न ढिलो नगर्न’ भन्नुहोस् । आफ्ना सन्तानकालागि धेरै धनसम्पति जगेर्ना गर्ने विचारमा पूर्नविचार गर्नुहोस्, केटाकेटी अवस्थामा जस्तै पराधिन मनोदशामा हुर्काउने काम नगर्नुहोस्, बरू आफ्नो खुट्टामा उभिने आकाङ्क्षा भएको बनाउन कोशिश गर्नुहोस । त्यसैले सुरुमा बाटो देखाउन गरिएको प्रयास र त्यसमा टेकोपुढो बाहेक थप सहयोग गरी अतिमायाले चरित्र बिगार्ने मन्दविष आफ्नै सन्तानलाई किन ? पछि यही कारणले माग बढेर तपाईंको आय नभएको पाको उमेर उनीहरूलाई बोझ बन्नसक्छ ।

जीवन जिउँः
जीवनलाई बोझको भारी कहिल्यै नठान्नोस् मानिसको जीवन क्षणभङ्गुर भनिन्छ, यसको सिमा कतिनै होला ? एक सय वर्ष ? बहुत गाहारो छ हो जीवन बिताउन ! तर पिरलोले सच्चिने त् होईन नि, बरू सकारात्मक उपाय गरौँन् समाधान आईहाल्छ नि ! हो, जीवनमा कहिले साह्रै पिरलागेर मर्न मनलाग्ने हुनसक्छ, आत्महत्या गर्ने पनि विचार आउन सक्छ, आफुले खाइनखाई जोडेको सम्पतिलाई तृण बराबर नठानी सन्तानले हेलाँहोचोगरी अर्घेलो बनाउँदा वितृष्णाभएर विलौनाको कहर बढ्न सक्छ । एकबारको जीवन जतिसुकै अन्धकार र आशारहित देखिए पनि बहुमूल्य छ, अर्को पटक जन्म हुँदैन, यसै जीवनको निरन्तर क्रम जोडिदैन, त्यसैले भएको जीवनलाई जतिसुकै फ्यान्ते भएपनि हाँसीखुसी जीउन सिक्नोस् । जीवनमा हरेकको आआफ्नै अस्थित्व, महत्व रहेकै हुन्छ भने असन्तुष्ठी र पिरलो पनि साथै हुन्छ, किन व्यर्थमा नचाहिने कुराको पछि लाग्ने ? मानिसको जीवन साह्रै निर्दयी र ज्याद्रो छ है, त्यसै हारखाने मानसिकता बनाउनु हुन्न । रोई रोई बाँच्ने, हरेक कुरामा पिलपिल गर्नेलाई कसैले रौँ बराबर गन्दैनन्, जीवनका आँधी र हुरी जस्ता विपरित कुराका विरुद्ध जुझेर हाँस्नेलाई सबैले नायक ठान्छन । तपाईं के हुने, परिवार र समाजलाई छाप छोड्नेनै हुनुपर्छ, तर आफु स्वतन्त्र हुनुहुन्छ, त्यसैले आफैँ निणर्य गर्नुहोस् !

तपाईंले अभरमा खबर गर्दा रातबिहान नभनी तुरुन्त आउने मान्छे साँच्चैको मित्र हो, अरु धेरै मानिस त चिनजानका हुन्, त्यस्ता मान्छे मेला, उत्सव र खानपानमा बोलाउँदा निश्चय पनि आउँछन् । धेरै मित्रहरू नझुम्मिएकोमा दुखी नहुनुहोस् राम्रा केही आफ्ना छन्भने उनीहरूसँगको सम्बन्ध बलियो बनाइरहनु होस्, शिकार सफल हुन एउटै गोलीनै काफी हुन्छ, सयौँ छर्राको आवश्यकतानै पर्दैन । परिवारका केटाकेटी तथा कम उमेरका सदस्यहरू चाँडै बढछन, तपाईंभन्दा अघि नयाँ कुरा थाहपाई सक्छन् र लागु गर्लान्, कि तपाईं सँगसँगै बसेर सिक्नोस कि उनिहरूलाई हस्तक्षेप हुनेकाम नगर्नोस्, परिवारमा शान्ती कायमगर्ने यो एकमात्र तरिका हो । तपाईंका प्रश्न र नकारात्मक सुझाव उनीहरूको चाहनामा तुषारापात गर्ने मूल कारक नबनोस् नत्र तपाईं ‘म्याद खुस्केको ओखतिजस्तै’ परिवारका अन्य सदस्यबाट फोहोर फालिएझैँ परित्यक्त हुन बेर छैन ।

धेरै काम र प्रयास गर्न खोज्दैमा कोही मरी हाल्दैन, सकेको काम मिहेनतपूर्वक गर्नैपर्छ, जस्तोसुकै शारीरिक मानसिक समस्या भए पनि ‘लुतोलागेको परेवाझैँँ झोक्राएर बस्ने’ होइन बरू सक्रिय जीवन बनाउने हो । हो, घरपरिवारमा आइपरेका काममा आफू पनि लागिमेली गर्नुहोस्, उसले गर्ला वा यसले गर्ला भनी पिँढी साँढे भई आफू सिन्को नभाँच्ने अरुलाई मात्र अह्राउने ठालु बानी मनबाट हटाई हाल्नोस् । कतिपय आफ्ना नितान्त नीजि काम अरुले गरिदेला भनि आशामूखि नबन्नोस् बरू कसरी म आफैँ गर्नसक्छु भनि प्रयत्न गर्नुहोस्, सकिन्छ, मानिसले चाहेमा नसकिने कुरा संसारमा छैन है ! अझ तपाईं त अनुभव, ज्ञानको भण्डार अनि एकताका सारा परिवारमा हर्ताकर्ताभई सबैको हितमा कामगरेको पाको मान्छे, आलोकाँचो होर भन्या ?

आफ्नो पहिचानः
सन्तुलित आहारा दैनिकी बनोस्, लुब्ध भई सित्तैँ पाएको बेला भनेर भोज भतेर वा निम्तानाम्तीमा अपबितो खाने बानी नगरौँ, ‘खानको लागि होइन, बाँच्नको लागि खाना खानुपर्छ’ भन्ने भनाई अक्षरस लागू गर्ने उमेर पाको उमेरनै हो । उचित खानपान पछि मधुमेह र मुटुका बिरामीले गर्ने जस्तै व्यायामलाई दैनिकीमा गर्नु तपाईंको प्रमुख गतिविधिमा पार्नुपर्छ, त्यसो भए पो तपाईंलाई कहिल्यै त्यस्ता अजोडी रोगले ढिम्कन पाउँदैन, ‘बसीबसी खानेमात्र अवकास जीवन’ भन्ने अल्छी भनाई मनबाटै हटाउनोस् । पाको उमेरमा जाबो दिसापिसाब जस्ता त्याज्य शारीरिक उत्पादनले त दुःख दिन्छन्, एउटा दाँत हल्लँदा पनि ज्वरो फुटाल्न सक्छ, अरुको कुरा के गर्ने ? नियमित दैनिक क्रियाकलाप सहज बनाउन पेट सफा हुने र दाँत मुखको समस्या नहुनेगरी शारीरिक सफाईमा रहने काम गर्नोस् । आफुले प्रयोग गर्ने लुगाफाटो, ओड्ने ओच्छ्याउने पुराना हुनसक्छन् तर मर्मतभएका राम्रो र सफा होउन्, मानिस नजिक आउन घिन नमानुन्, सकिन्छ भने त जमाना अनुसार लुगा लगाउनु बढि सामाजिक हुने बट्ठ्याइँ भएपनि आफूलाई मनपर्ने लगाउँदा तपाइँ एक पृथक पहिचानको हुनसक्नु हुन्छ ।

अरुका कुरा सबै सुन्ने धैर्य गर्नुपर्छ तर आफैँले सही र हुँदो निणर्य गर्नुपर्छ, आफुलाई नितान्त कमजोर पिउसो सम्झेर अरुका सल्लाह रामवाण जसरी अङ्गिकार गर्नुहुँदैन । हो, अनुभवले खारिएको र तपाईंको हितमा बारम्बार खरो उत्रिएको आदरणीयको सल्लाह भने तपाईं आफैँ समस्यामा हुँदा माग्न सक्नुहुन्छ, उहाँको भनाई र तपाईंको परिस्थितिको तादत्म्यता छ भने आफूलेनै मसक्क निर्णय लिँदा समाधान सजिलै होला ! यस्ता निर्णय तपाईं आफ्नै बलमा लिइएकाले अपनत्व पनि हुन्छ नत्र धरमराएर गरेको निर्णयमा सफलता भएन भने सल्लाह दिनेलाई अपजस दिएर थपशत्रु कमाउने बाहाना हुन्छ । यो त ‘मागि विवाहमा राम्रो घरबारसँग सम्बन्ध भए आफ्नु कर्मले, नराम्रो परेमा लमीलाई दोष’ दिएको परिस्थिति जस्तै भएन र ? एक पटकको दोष सधैँको दोषजस्तो पनि नहोस् चाहिँदो योग्यता र अनुभव भएकासँग गुणअनुसार सल्लाह लिनु फलदायी हुन्छ । ‘कानले नसुने पनि सर्पले बिणाअनुसार टाउको हल्लाउँछ, सुन्नसक्ने भैँसीको अगाडी बजाउँदा तर्सिन्छ’ भन्नेमात्र होइन आफ्नै फुस्केका जोर्नी त निको भएपछि झरी बादल लाग्दा दुख्छ भने सम्बन्ध बिग्रेपछि बनाउन निकै धामा पर्छ, बेलैमा विचार गरौँ !

हरेक दिन निद्रा खुलेपछि आफू सकुशल बिउँझेर उठेकोमा मक्ख परेर दिनमा गर्नुपर्ने योजना बनाउनु होस्, ओछ्यानमै हलुका व्यायाम गरेर बिस्तारै उठ्नुहोस्, नियमित कर्म गरेर थप व्यायाम र पाएसम्मको बिहानीको जलपान खुशी साथ खानुहोस् । तपाईंले यतिखेर सबै गर्नैपर्ने कामहरू चाहिँ सम्झनुहोस् र आफूले जीवनमा प्राप्त गर्नु पर्ने उपलब्धि अझै बाँकी भएकाले झुक्किएर पनि आफु ६० वर्ष नाघेर पाको मान्छेभएकोे नसम्झनुहोस् । उमेरिएको चिन्ताले तपाइँलाई झनबढि बुढ्यौलीतिर तान्छ, जाँगर तथा उत्साहलाई खँगार्छ अनि निश्कृय बनाईदिन्छ । एकपटक पृथ्वीमा आएका हामी मानिस, सबैभन्दा ठूलो क्षमताको मस्तिष्क लिएर विकसित भएका छौँ, यसले विवेक प्रयोगगरी अरुको हितमा काम गर्न सक्छ र भविष्यको लागि योजना बनाउन सक्छ । देश, समाज, समुदाय कसैलाई नसके परिवारलाई त आफ्नो अस्थित्वको केही छाप छोडेर जानैपर्छ, नत्र त हुनु र नहुनुमा के फरक भयो र ? सित्तैमा पाएको अक्सिजन प्रयोग गरेर बाँचेका हामी, एकदुई दिन अस्पतालमा अक्सिजन लगाउँदा कति धेरै रकम तिर्छौ भने जीवनभरी कति प्राकृतिक अक्सिजन लियौँ होला ? त्यसको मूल्य सुकाम गर्नालेनै तिरिन्छ भन्ने बुझ्नै पर्छ ।

दैनिकीः
जीवनमा सबैभन्दा खुसीको क्षण ठानेर वर्तमानलाई उपयोग गर्नुहोस्, यो उमेरमा हरेक ससाना कुराले आनन्द दिनसक्छ । हिजो वास्ता नगरिएका प्रकृतिका रम्यता, बोटबिरुवाका कोपिला, फूल, काँचा र पाकेका फलहरू आकर्षक हुनसक्छन भने सानाठूला चराका बिहानी चिरविर तथा आफन्तबिचका वार्ता सुन्नुहोस् त, कति मज्जा आउँछ ? उनिहरूका प्रतिस्पर्धा र माया कति निश्छल तरिकाले भइरहेको हुन्छ, मानिसले कम्तीमा उमेरिँदा त सिकौँ, कसरी मिलेर बस्ने भनेर । पहिला पढाई, कामधाम र कमाईको चिन्तामा दौडधुप गर्दा कसले वरपर हेर्दै हिँडथ्यो र ? त्यसरी रमाएर पनि त्यतिखेर अभिष्ट पाईन्नथ्यो, अहिले तपाईं तुलनात्मक हिसाबले फूर्सदिलो हुनुहुन्छ, अनि समाज, समुदाय र प्रकृतितिर ऋण तिर्न फर्किनु परेन भन्या ? आफ्ना चिनजान र इष्टमित्रमा आफूजस्तै उमेरकाको स्थिति बुझ्नुहोस्, गएर भेट्न र गफ्फिन नसके अचेलका सजिला साधनहरू प्रयोग गरेर सम्पर्क गर्न सकिन्छ होला नि, प्रयास गर्नुहोस् । तपाईंको सामान्य वार्ताको कति ठूलो भावनात्मक प्रसंशा हुन्छ, हेर्नुहोस् त, कुनै हास्यव्यङ्ग्य पढेको वा सुनेको भन्दा मज्जा आउँछ कि आउन्न ! पक्कै एकपटकको वार्ताले हप्तादिनको कोटा पुग्छ, सधैँ भए त सुख र खुशी पाउन अन्त कतै जानै पर्दैन, सबै रोगव्याध बिर्सिएर तपाईं तरोताजा व्यवहार गरेको देखेर परिवार सदस्यनै छक्क पर्नेछन् । यस्तो परिस्थिति अरुले होइन तपाइँ आफैँले निर्माणगरी मलजल र नियमित बनाउनुनै उमेरिँदा गरिने मूल काम हो ।

जीवनमा अप्ठ्यारो पर्दा कहिलेकाहीँ ऋणपान र उधारोमा काम चलाइएको हुनसक्छ, तपाईंले सकेसम्म भाका नाघ्नु अघि चाँडै फिर्ता गर्नु महत्वपूर्ण वचन पालन हुन जान्छ र विश्वासको वातावरण कायम रहन्छ । सकेसम्म आफ्ना चाहनालाई सिमित राखेर उधारो र ऋणमा भौतिक आनन्दको मोजगर्ने सपना त्याग्नु पर्दछ, पहिला गरेपनि पाको उमेरमा नगर्नु, चिन्तालाई आफु नजिक नबोलाउनु हो । उमेरिँदाको चिन्ताले विस्मृतिमा जाने, उन्मादमा फँस्ने र स्नायुका समस्याले मस्तिष्कनै खराब बनाउने सम्भावना हुन्छ, यस्तो गल्ती हामीले गर्नैहुँदैन । पहिलेको अनुभवले भोगीसक्नुभयो होला परिवारको वाहवाही र इष्टमित्रलाई इख्याउन ऋणमा लिएका सवारीसाधन तथा अरु भौतिक साधनको व्याज तिर्दातिर्दा सावाँभन्दा बढि तिरीसक्नु भयो होला ? के फाइदा मानवीय श्रमलाई अरुको नाफाको लागि मरिहत्ते गरी मोज गर्ने कुरा ? यो त केटाकेटीले एकछिनको रमाइलोको लागि तिहार ताका बालेका झुरझुरे जस्तो भएन र ? हज्जारौँको ज्यान तलमाथि पारेर सर्वसाधारणको भलाईमा देश विकास गर्नु पर्नेमा पदमा पुगेपछि आफ्नो परिवारको हितमामात्र ह्याकुलो पेल्ने भ्रष्टनेताहरू जस्तो भएन र ?

अहिलेको महत्वः
पाको भएपछि उमेरिँदा कतिपय देखेका भविष्यका सपना र हुनुपर्ने कुराहरू प्राप्त गर्ने अहिले सुनौला मौका हो, आफ्ना बारेमा सोच्ने यो भन्दा अघि कहिल्यै नगर्नेले पनि पूरा गर्ने अवसर हो । होला, शारीरिक हिसावले आफैँ अक्षम होलान् तर आफैँले कमाएका पूँजी परिचालन गरेर मानवीय सहयोग लिई पूरा गर्न कसले रोक्ला र ? परिवारको संस्कार जतिसुकै व्यक्तिवादी र दपेटने चरित्रको भएपनि तपाईंको श्रमपूर्ण आर्जनमा तपाईंकै प्राथामिक हकको समाजवादी अधिकार कायम गर्न पछि नपर्नोस् । साथै सहयोगी परिवार छ भने निर्धक्क आफ्ना मनका कुरा भन्नुहोस्, तपाईंले दुःख गरेको, हुर्काएको र आर्जन गरेको कीर्तिमा थप मलजल उनीहरू गर्नेछन् र तपाईं ‘काल्पनिक स्वर्गको आनन्द’ जिउँदै आफ्नै घरमा अनुभूत गर्नुहुनेछ ।

सल्लाहको पोको पुन्तुरोमा विदेशी मात्र होइन नेपालका उमेरिएका मानिस भन्छन्, हाम्रो मगजलाई सबैभन्दा हानी गरी विषाक्त पाररहेको जात, धर्म, लिङ्ग, समुदाय, उमेर, लवाई-खवाई र बाहिरी आवरणको मुल्याङ्कनगरी गरिने पूर्वाग्रही तथा अवैज्ञानिक संस्कारबाट हामी मानिस त्यसमाथि पाकाहरू मुक्त हुनैपर्छ । हाम्रो उमेरसमूहका सबै बराबर छौँ र उस्तै परिस्थिति भोग्दै छौँ, यतिखेर कसरी यस समुहका मान्छेले सामाजमा विपरित अवस्था भोग्न बाध्य भए साथै विभेदमा परे भन्ने समस्याको जरोलाई पहिचानगरी जाने हो । प्रमुख कारणको निरोपण गरेपछि समाज भाँड्ने त्यो ऐँजेरु विचार र व्यवहार उखेल्न कटिबद्ध आफू हुने र बुझ्ने वयस्कलाई आफ्नो पङ्तिमा सामेल गर्दै अघि बढ्ने हो, व्यक्तिगत गनगनमा अल्झिने होइन ।

अन्त्यमा,
पाका मान्छेले देश, काल र परिस्थिति विचार गरेर चल्नु पर्दछ, हण्डरठक्कर खाएर अनुभवले खारिएका उमेरिएका पुस्ताले आफू रहेको समाज, व्यवस्था र घरघरका संस्कार अनुसार आफ्नो अन्तिमसम्मको हित कसरी हुन्छ भन्नेतिर ध्यानदिनु पर्छ । हरेक मुलुकका राजनीतिले त्यस देशका सबै तहका मानिस र वर्गलाई प्रभाव पारिरहेको हुन्छ, सोझो अर्थमा भन्ने हो भने जनमूखी व्यवस्थामा मात्र सर्वसाधारणले उत्पीडन नभएको सामाजिक संरचनामा आनन्द पाउँछन् । धेरै देशमा जुन वर्गको शासनसत्ता हुन्छ त्यही वर्गको हाईहुकुमत र रजगज हुन्छ, अरु त विविध तरिकाले पिल्सिएकै हुन्छन् । बहुसङ्ख्यकको हितमा नभएपनि बहुमतको भरमा चल्ने राज्यव्यवस्थामा अदना, निमुखा साथै शारीरिक/मानसिक समस्यामा रहेका उमेरिएका पाका मान्छे त्यस्ता प्रजातान्त्रिक व्यवस्थामा राष्ट्रिय प्राथामिकतामा समस्याको पिँधमा थिचिएका हुन्छन् ।

जनताको भजन त गाउने तर आफ्नै वर्गको हितमा काम गर्ने नाइकेहरू नीतिनिर्माण तहमा र राजकीय ढुकुटीमा पुग्ने भएकाले सबै अवसर उनीहरू र आसेपासेकै भूँडी भर्नमै केन्द्रित हुन्छ । त्यसैले सत्ताका केही छाडेर इतरका जनतालाई उनीहरू हरेक चुनावमा आफ्नै हितगर्न आश्वासन त बाँड्छन तर कार्यान्वयन तहमा जाँदा ‘नियमले दिएन’ भन्ने बज्र अघि सारेर निराश गराउँछन् । मौका पर्दा नियम कानुन समेत फेर्न सक्नेहरू जनताको पक्षमा नियम बनाउन कञ्जुस्याइँ गर्छन र ‘बिरोधिले रोकेर नत्र देशलाई स्वर्ग बनाउने’ सम्मको बकम्फुसे गफ गर्न चुक्तैनन् । गरिब राष्ट्रका यही चालबाट शिक्षित त्यस्ता व्यवस्थाका माउ देशहरू अचेल आफ्नो हैकम कायम राख्नुका साथै आफ्नो देशमा सर्वसाधारणको आक्रोश रोक्न सुविधा र राहतका पोकापुन्तुराले पाका मान्छे, न्यून आयभएका र पहुँच नपुगेलाई फकाउन उद्यत्त देखिन्छन् ।

हाम्रा देशका पाका मान्छेले छोटो अवधिमै सबै खालका राजनीति भोगेकाले आफ्नो अहित गर्ने आजसम्मका व्यवस्था पत्याएका छैनन् भने साञ्च्चो सामाजिक परिवर्तनकालागि भिन्नै अठोटगर्दै भएको साङ्गोपाङ्गोमा सर्वसाधारणको हितमा उपयोग गरिरहेका छन । नेपाली पाका मान्छे कम ज्ञानी छन र भन्या !

०००
चालिसे डाँडा, ललितपुर
असार १०, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x