साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएकालाई अनौठा लक्षणकाे चिन्ता !

सरोकार तहकाले नेपालमा कुल जनसङ्ख्याको दश प्रतिशत बढी र मताधिकार प्राप्तमा चालिस प्रतिशत पाकाको हितमा पाकाशास्त्रका स्वास्थ्य शक्ति उत्पादन गर्न ढिलो भएन र ?

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मानिसले थाहा पाएका र थाह नपाएका हजारौँ आकाशगङ्गामध्ये एउटा शौर्यमण्डलको एक भागमा हाम्रो पृथ्वी अत्यन्त सानो भू-भाग हो । कुनै पनि त्यस्ता नक्षत्र वा ग्रह वा तारामण्डलमा हामीले थाह पाएसम्म जीवित प्राणी अनुकूल वातावरण नभएको धेरैले मान्दछन् । अहिलेसम्म हामीले पत्ता लगाएका कुनै पनि खगोलिए पिण्डमा पृथ्वीमा जस्तो जैविक सम्पन्नता छैन । हरेक प्राणीको विभिन्न विविधतासहित यो जीवित पृथ्वीमा मात्र एकपटक सबैले आफ्नो अनमोल जीवन पाउँछ । आफ्नो ठम्म्याई, ज्ञान र प्राप्यताका आधारमा हामी कुनै बस्तुको मूल्याङ्कनमा अदभूत, दुर्लभ, बिरलै भन्दै थाह नपाएका कुरामा ‘भगवान मान्ने वा दैवको लिला’ भन्ने अल्झो लगाइदिन चटकी वस्ताजलेझैँ कल्पना गर्दछौँ ।

त्यस्तै मान्छेका विभिन्न उमेरसमुहमा भिन्न-भिन्न प्रकारका उमेरजन्य भावना, ज्ञान र शिपको प्रश्फुटन साथै परिपक्वता आएको हुन्छ । त्यस क्रममा शारीरिक अवस्था तथा मानसिक स्तरमा फरक हुन्छ भने सकारात्मक र नकारात्मक प्रभाव पनि बेजोडले पछि लागेको पाइन्छ । उमेरजन्य अवरोधमा उमेरिदा पाका मान्छेमा पहिले अनुभव नभएको र अनौठा प्रकारका लक्षणहरू व्यक्तिपिच्छे अलग-अलग किसिमले दुखदिन थागेका पाइन्छन् । रोगले च्यापेर हैरान पार्ने यस्ता व्यथामा अप्रत्यक्षरुपले प्रभाव पारेर सामान्य गरिने अभ्यास तथा आनीबानीको जोहो गर्दा पनि स्वस्थ भई पाको उमेरमा सुखमय जीवन बिताउने अवशर मिल्न सक्छ ।

जीवनशैलीः
उमेरले थामुञ्जेल, बल-बर्कतले धानुन्जेल सानोतिनो रोगव्याध र पिर-पिराउले मान्छेलाई सिन्को बराबर पनि चिन्ता हुँदैन । त्यहि मान्छे उमेरिदा भने सामान्य रुघाखोकी लाग्दैमा, एकदुई पटक पखाला चल्दैमा, एक रात निद्रा कचमचिँदैमा वा एकछाक रुच्न दिगमिग लाग्दैमा ओछ्याननै परेका हुन सक्छन् । उमेर र शारीरिक बचावटको आवश्यक्ताले विज्ञानसम्मत व्यवहारिक प्रक्रिया अवलम्बन गर्नु साटो ‘म यस्तै थिएँ, अब यस्तै बाँच्छु’ भन्ने अर्थहिन म्याद खुस्केको जिद्दीमा रमाउने उमेरिएका पाकाले जीवनको उत्तराद्र्धमा अलि बढि दुख पाउन सक्छन् । बयस्क हुँदा भइरहेको र गरिरहेको चलखेलबाट उहि गतिको स्फूर्तिमा चल्न मुस्किल परिरहेको हुन्छ । अशल बिचार, दर्शन तथा व्यवहार घटाउने होइन बरु गति र सकृयता घटाएर भए पनि लागिरहने मनोकाङ्क्षा जीवित राख्नु पर्छ । दैनिकीमा विज्ञानसम्मत धारणा र व्यवहार छोड्नु भनेको थप रोगहरू बढाउनु नै हो ।

त्यसो गर्दा चलनचल्तीका कुरा घट्न गई तत्कालिन आवश्यक्तामा आफ्नो टेकोपुढोमा बल गई मान्छेहरू उमेरिदा पनि शान्ति तथा सुखमय दैनिकी बनाउन सक्ने हुन्छन् । त्यसैले आफ्नै छनौटमा समय कसरी बिताउने, सकेसम्म कसरी अनुकुल वातावरण कायम राख्ने भन्ने कुराले धेरै कुराको निर्धारण गरेको पाइन्छ । हुन त उमेरिदा हुने सबै खालका अक्षमता र असामान्य समस्याबाट बच्न सकिन्न तर जीवनशैलीमा उचित परिवर्तन, खानपिनको स्वास्थ्य अनुसार विविधताले ढिम्कन खोजेका रोगव्याध रोकिन सक्छन् । त्यसरी आनिबानीको परिवर्तनले रोग लागिसकेको अवस्थामा नियन्त्रण, खतरा बढाउन नदिने र निको पार्ने चरणमा पाका मान्छे रहने साथै अनौठा चरित्र हट्न जाने हुनसक्छ ।

पेट/मुत्राशयका व्यथाः
‘पेटको अग्नी कमजोर भएको’ भनिने अपच वा कब्जियतका रोग सामान्य मानिन्छन् । पेटको कमजोरीपन बेला न कुबेला ‘हगौँ-हगौँ, मुतौँ मुतौँ’ भएर हुनेलाई यहि व्यथा नै सबैभन्दा अप्ठ्यारोमा पार्ने मानिएको छ । अनुसन्धानले कुनै किसिमको शारीरिक वा मानसिक आघातले मलमूत्रको समस्या हुने निक्र्योल भएको छ । बेलाबेला पेट दुख्ने, लगातार पखाला चल्ने, नयाँ ठाउँमा जानासाथ पानी नफाप्ने अथवा गोटा जम्नेभई कब्जियतले सताउँने हुन्छ । बेलाबेला यस्तो लक्षणबाट पीडित हुने पाका मान्छे ‘दुई सयको खाना खाएर चारसय खर्च गरी दीर्घशङ्का गर्नुपर्छ’ भनि मलिन हाँसोयुक्त सुस्केरा हाल्छन् ।

त्यस्तो लक्षण भएको रोगले ठूलो नोक्सान त पुर्‍याइसकेको पाइँदैन तथापि यसले मानसिक-शारीरिक थकाई र चिन्ता अनुभव हुन्छ । यस्तो परिस्थितिमा आफ्नो दैनिक कामको समय तालिकामा व्यवधान पार्नसक्छ र चिन्ताले बढाउने अरु रोग लाग्न सक्छ । खासै कारण ठम्म्याउन नसकिने यस्ता रोगको उपचार छैन तर अनुकुल वातावरण के हुँदा, खाँदा लक्षणहरू बढछन् र के हुँदा, के खाँदा घटेको पाइन्छ त्यसको स्वअनुभवले केहि घटाउन वा नियन्त्रण हुनसक्छ । पेट बलियो गराउँदै पाचन-निस्काशन प्रणालीको प्राकृतिक पक्षमा परिवार र विशेषगरी पीडित आफैँ सतर्करहँदा सुधार हुने सम्भावना बढेकै पाइन्छ ।

कतिपय पाका पुरुषहरूलाई उमेरिन थालेपछि चालिस वर्ष पछिनै मुत्रथैलीको निस्काशन हुने ढुङ्ग्रोको मुखैमा दुबैतिर भएका मसिना प्रोस्टेट ग्रन्थीका कारण पिसाबको समस्या हुन्छन् । आन्तरिक विभिन्न कारणले यी ग्रन्थी सुन्निएर वा सुकेर मूत्र निस्काशन सजिलै हुँदैन र शुक्रकिट पनि निस्काशनमा बाधा परेर हैरान नै गराउँछ । पिसाब नली साँगुरो भएर छिटोछिटो हुने, ननिख्रने, पोल्ने, थोपाथोपा हुने भएर जीउ गन्हाउने तथा पिसाब नलीमा अप्ठ्यारोले गर्दा पोलेको अनुभव हुन्छ । पहिला ‘खाएपिएपछि दिसाशौँच त जसरी पनि हुन्छ’ भन्ने प्रत्याभूतिसाथ भनिने कुरा अहिले त्यसैले दुख पाउँदा अनौठो लाग्छ तर उमेरिदा त्यहि वास्तविकता हुन्छ ।

महिलामा प्रोस्टेट ग्रन्थी त हुँदैन तर प्रजनन् अङ्गको जटिलता र सफाईमा तलमाथि पर्दा मुत्ररोगको सङ्क्रमण धेरै पाका महिलाहरूमा भएको पाइन्छ । सफाइसुघ्घर र स्वास्थ बीमासहित उच्चस्तर भनिने अमेरिकामा दिसापिसाब खुस्कने तथा नियन्त्रण गर्न नसकेर उपचारमा रहेका ३ करोड २० लाख छन् । नेपालमा जनस्वास्थ रक्षागर्न सरकार कत्तिको ध्यान दिई, के कस्तो अवस्थामा छ ! सबैले भोगेकै हो । समाजको स्वास्थ चेतना न्युन र बेवास्ता गरिएको अवस्थामा नेपालमा घरघरै यस्ता बिरामी भएको अनुमान गर्न सकिन्छ । सामान्य सचेतभई सफाइमा मात्रै ध्यान दिएमा सङ्क्रमण तथा रोगको सुरुवात हुँदै चिकित्सकको सल्लाह अनुसरण गरेमा गुहुमुत चुहिने समस्या बेलैमा निराकरण हुनसक्छ ।

वजन ठिक्कः
उमेरिदा मानसिकमात्र होइन शारीरिक स्वास्थ पनि तन्दरुस्त हुन जरुरी हुन्छ । त्यसको लागि ‘अथुल्याएको बुढ्यौली मासु तथा बोसो’ नलाग्नु नै उत्तम हो । शरीरमा भुँडी भ्यात्त र गोडा टिङ्ग्रिङ्ग सिन्काजस्तो देखिनु भनेको मोटापा रोगले च्याप्नु भन्नेभएर यसलाई ‘धनिको कुरुपता’ पनि भनिन्छ । यस्तो कुरुपता महिला-पुरुष दुबैमा अरु रोग पनि निम्त्याउने सबैभन्दा खतरनाक मूख्य कारक दुर्गुण हुन् । अझ पाका महिलाका लुँदायुक्त जीउले त शरीर निश्कृय बनाइ चलहल गर्न मुश्किल पार्ने हुन्छ । फिला र पुच्छभागको मांसपेशीे नसुहाउने गरी बढेकाले साह्रै असजिलो बनाएपछि ति माँसपेशीले बस्ने हिँडने काममा दुखाई उत्पन्न गराउँछन् । त्यसपछि तिनै निश्कृय मासुको बोझले कम्मर मुनिको जाङ्ग हुँदै तलमाथि गएका स्नायुका नसाहरूको प्राकृतिक काममा बाधा पुग्दछ ।

यसो भएपछि विशेषत दिसापिसाबको काममा नियन्त्रण गर्ने क्षमतामा रुकावट आई स्वाधिन मांसपेशीको काममा ह्रास आउँछ । अनि भनेको बेला खलास नहुने, एकै पटक ननिख्रिने, एकैछिन रोक्न पनि नसकी निद्रामै फुस्किने वा सामान्य हाँस्दा वा उठदा बलपरी चुहिने पनि हुन्छ ।

त्यस्तो शारीरिक अवस्था भएपछि अर्थात शरीरको तल्लो भागको काम लगायत मूत्र र दिसा निस्काशनमा हाम्रो नियन्त्रण प्रणाली थोरै भए पनि इच्छाधिनको शक्ति गुम्दछ । स्नायु प्रणालीमा नै नकारात्मक प्रभाव पार्ने शरीरको तौल बढ्ने रोग मोटापा राम्रो मानिदैन । खानामा परहेज, व्यायाम र बोसो चिल्लोभएको खाना नखाई शक्तिबर्द्धक  पनि धरै नखाने सन्तुलित खाना ठिक्क गर्नाले तौल घटाउन सकिन्छ र शल्यक्रियाबाट पनि राहत मिल्नसक्छ । हार्वाड मेडिकल स्कूलको रिपार्ट अनुसार दश प्रतिशतमात्रै शारीरिक तौल घटाउन सकेमा दिसापिसाब निस्काशनको समस्यामा पचास प्रतिशतले घटाउन सकिन्छ ।

प्राय पुरुषहरूमा पुच्छभागको माँसपेशी लगायत प्रोस्टेटका समस्याले पिसाब ननिख्रने र चुहिने समस्या हुँदा प्रोस्टेटको शल्यक्रियाले हल हुनसक्छ । महिलाहरूमा बिशेषत् नसाको कमजोरी, मुत्रप्रणालीको सङ्क्रमण र पुच्छभागको चलायमान हुनेमा निश्कृयताले मलमुत्र प्रणालीका दुबै भाग खुकुलो भएर पनि हुन्छ । पुरुषहरूमा मधुमेह टाइप-२ भएकाले वजन घटेकोलाई सकारात्मक मान्नुपर्छ । यस्ता मान्छेलाई तौलकै कारणले दिसापिसाबको निस्काशन प्रक्रियामा कुनै बाधा नपरेकाले थाहै नभई चुहिने पनि हुँदैन । मोटापा र नियमिततामा समस्याको कारण प्राकृतिक प्रक्रियाको अवरोधलाई हटाउन शल्यक्रियाले धेरैजसो अल्पकालिन मात्र राहत दिने तथा कसैलाई निमिट्यान्न पार्ने चाहिँ हेक्का राख्नुपर्दछ है !

धुमपान रोकौँः
धुमपानले फोक्सो सम्बन्धी रोगको खतरामात्र होइन त्यसको नियमित सेवनले नकारात्मक प्रभाव शरीरका अन्य अङ्गहरू तथा आन्तरिक जैविक प्रणालीमा पारिरहेको हुन्छ । पाका पुरुषको दाँजोमा पाका उमेरिएका महिलाहरूमा धुमपानको असर दोब्बर भन्दा बढि कुप्रभाव परेको हार्वाडका अनुसन्धानकर्ताहरूको रहेको छ । आफूलाई युवती र बयस्क भएको देखाउन धुमपानमा उत्सुक महिलाहरू पहिला थिए भने अहिले त विद्यालय स्तरमै त्यो स्वास्थबिरोधी शोख धेरैमा छताछुल्ल भएको पनि देखिन्छ । यस्तो गलत बानीले महिलाहरूमा मांसपेशी र स्नायुप्रणालीको तनाव बढि हुन्छ ।

उमेर लाग्दै उकालो लाग्दा महिलालाई प्राकृतिक आवश्यक्ताले बैँशमा बढि मासु थुप्रिदा धुमपानको अतिशय नकारात्मक असरले मलमुत्र निस्काशनको नियमिततामा आँच आउन थाल्छ । यस्तो हुनु खासमा धुमपानको असरले नियमित कडा प्रकारको खोकि लागेर थपिएको चिन्ताले नै बढि नकाम गरिरहेकोले हो । पुरुषहरूमा गरिएको अनुसन्धानले चाहिँ वर्तमानको मात्रै धुमपानको मात्रा हेरेर होइन बिगतको धुमपानको कसर बाँकी रहेकाले पनि चिन्ताजनक धेरै खालका मुत्रप्रणालीका रोगहरू बल्झिएका हुन सक्छन् । यसमा अकस्मात पिसाबको निस्काशन अवरुद्ध हुने, पोल्ने र चुहुने जस्ता नचाहिँदो समस्या पनि परेको पाइन्छ । तर महिलाहरूको तुलनामा पुरुषको समस्या चिन्ताले त्यति खतरनाक स्तरमा पुर्‍याएको देखिँदैन ।

सकृय रहौँः
धेरै पाको उमेरमा पुगेपछि र उमेरिदै जाँदा शारीरिक कमजोरी बढेपछि चिकित्सकको सल्लाह नलिई सार्‍है पसिनाले भिज्नेगरी, गर्‍हौँ बस्तु उचाल्ने खालका व्यायाम गर्नुहुन्न । खेलकुदमा ज्यादै दौडधुप र उफ्रिने फालहाल्नु पर्ने फुटबल जस्ता खेल खेल्ने काम नगर्नु शारीरिक हिसाबले राम्रो हुन्छ । त्यस्ता व्यायाम र खेलकुदहरूले एक त शारीरिक तागत घटेर कमजोर बनाउँछ अकोतिर तदअनुकुल पानीको आपूर्तिगर्न मन नलागेर वा बढिगरेर पिसाब थैलिमा अप्रत्यासित भार पर्छ ।

यसले नसा र मुत्रप्रणालीमा तनाव बढाएर नियमिततामा खलल पुर्‍याउँछ । त्यसपछि कम्मर तलका अङ्गहरूमा थकान बढि भएर स्नायुप्रणालीको सकृयता अवरोध भई ती भागका प्रणालीमै असर गर्दछ । त्यसैले मलमुत्र प्रणालीको प्राकृतिक सूचारुपन बिग्रन जान्छ र त्यसले गर्दानै दिसापिसाब बढिघटिहुने, चुहिने, थाम्न नसिकने र अरु खालका रोग पनि निम्त्यउने हुनसक्छ । समस्या हुन्छ, बढछ भनेर शारीरिक काम तथा हलुका व्यायाम गर्ने सकृयता भने छोडनु हुन्न । जीउले सकेको गर्नैपर्छ, केहि नभए दौड होइन प्रतिदिन समय छुट्ट्यएर हिँडडुल गर्ने बानी बसाल्नु पाका मान्छेको लागि अति आवश्यक हुन्छ ।

चिकित्सा क्षेत्रका विज्ञदेखि परिचारिकाहरूका अनुभव सङ्कलनमा के देखिएको छ भने बिरामीलाई सहयोगी लिएर भए पनि सुरु गरिएको अभ्यासले अरु खालका बिरामीलाई पनि चाँडै तङ्ग्रिन अनुकुल बनाउँछ । त्यसैले पाका उमेरमा सकृयतापूर्वक शारीरिक श्रम गर्नाले दिसापिसाबका समस्याहरू न्युनगराउन समेत मद्दत पुगेको देखिएको छ । हार्वाडका परिचारिकाको अध्ययन अनुसन्धान समुहको रिपोर्टमा पुरुषको तुलनामा असाध्य हुने महिलाका त्यस्ता समस्याहरूमा नियमित भौतिक श्रमयुक्त काम गर्ने अधबैँसे देखि पाकी महिलालाई असामान्य मलमुत्रका समस्या हुने सम्भावना कमनै रहने उल्लेख गरिएको छ ।

बिगार्ने पेय घटाऔँः
आधुनिकता देखावा बानीले हामी हिजोआज सहरबजारको टाढाका गाउँघर र पाखापहराका बस्तीमा समेत बिहान दिउँसो तातो चिया पिउने बानी गर्न थालेका छौँ । प्रतिकुल मौशम र जाडो महिनामा त न्यानो हुन्छ भनि पिउने काम दिनभरिमै धेरै पटक भएको पाइन्छ । भित्र पेटमा केहि तातो पुगेकाले एकछिन शरीर तातेको अनुभूति हुने हो तर पछि त सामान्य नै हुन्छ । यस्तो कुरा लगभग जाडो हुँदा ‘चुरोट, बिँडी, खैनी, सूर्ति, तम्बाखु र मदिरा सेवनले जीउ तात्छ’ भनेर खानेपिउने गरेको जस्तै हो ।

वास्तवमा त्यस्ता धुमपान र मद्यपानले स्नायुप्रणाली हलुकादेखि बढिनै लट्ठ्याउने भएर जाडो अनुभूत नभएजस्तै लागेको हो । त्यहि बस्तु पहिलो पटक सेवन गर्दा कस्तो भएथ्यो सम्झनोस् त ? त्यसैबाट थाह हुन्छ, तपाइँ भित्र जाने बस्तुमा त्यस्तो विषालु पदार्थ पनि छ जसमा बानी नपर्दा हानी गरेको थाह हुन्छ तर निरन्तरको अभ्यासले शरिरभित्र त्यस्ता बस्तुको मात्रा रहिरहेकाले थपिँदा खासै फरक नपरेको अनुभव भएको हो । बिस्तारै बिलिन हुनै त्यस्ता विष शरीरभित्र जब सिद्धिन थाल्छन् तब तपाइँलाई फेरि थप्न मन लाग्छ ।

यसै व्यवहारलाई चलनचल्तीको भाषामा तलतल लागेको भन्छौँ । बस्तुप्रति पहिलो पटकमानै घृणा लागे चाखेर छोडनेले सहजै र त्यसका नकारात्मक प्रभावले शारीरिक समस्याभएको कारण स्विकार गर्नेले ‘चाँडै मर्नुभन्दा धेरैवर्ष बाँच्छु’ भनि छोडने मानिस भेटिन्छन् । मलमूत्र निस्काशनमा अवरोध ल्याउने त्यस्ता पदार्थ ‘स्वास्थको शत्रु’ भनी त्याग्नैपर्छ ।

सामाजिक पेयकोरुपमा चिया र कफि पिउने चलन पढेलेखेका देखि अनपढसम्मले देखावटी ठस्साको अभिव्यक्ति स्वरुप पाहुना आउँदा पहिलो सत्कारकै तरिका व्यवहारमा ल्याएका छन् । कतिपयले घरमा बिहान उठनासाथ चियाकफी र दिउँसो खाजासँग पनि कफिचिया पिउने बानी बसालेका छन् । अम्बलका दासहरूले चुरोटबिँडी फुसफुसाउँदै मलमूत्र त्याग गर्ने बानी बसालेझैँ चिया र कफि नपिई मलमूत्र आउँदै आउन्न भनि पिउने कुरालाई उचित भएको सिद्धगर्न खोज्छन् । यो सरासर अप्राकृतिक भ्रममात्र हो । के त्यस्ता बस्तुको सेवन नगर्नेले मलमुत्र त्याग गर्न सक्तैनन् र ? त्यस्ता बस्तुको बजारीकरण नहुँदा हाम्रा पूर्खाले के खाएर मलमूत्र त्यागगर्थे होलान् त ?

नहुँदा वा बढिहुँदा बरु रोकथामका जडिबुटीकोे अनुभवभए प्रयोग गर्थे होलान नभए उचित श्रम र सकेको कामको निरन्तरताले बढि स्वस्थ पो थिए होलान् ! हो, सरुवा रोगहरू र बाह्य कारणले बेलाबेला मानव प्रजाति बेमाख हुनसक्थ्यो होला तर प्राकृतिक बसोबास र सुद्ध खानपानकै कारणले त करिव बिस हज्जार वर्षदेखि निरन्तर हामी अझै सङ्ख्या थपिनेमात्र होइन, बिभिन्न शारीरिक, मानसिक र भौतिक विकास गर्न सक्षम प्राणिमा प्रमाणित भएका छौँ ।

घटाउने कुराः
उमेर पाको हुँदै गएपछि कतिपय कुरामा लुब्धहुन छाडनु पर्छ, शारीरिक क्षमता घट्दै जाने बेला ‘बैँशमा यसो गरिन्थ्यो उसो गरिन्थ्यो’ भनि त्यहीअनुसार गर्न हौसिन हुँदैन । सबै आन्तरिक प्रणाली सकृय र बलियो हुँदा भूइँमा नै सुते पनि मस्त निदाइन्छ र जेजस्तो खाए पनि पचाउन सकिन्छ । अङ्गहरू पुरानिएर जाँदा ति भागको क्षमतामा ह्रास हुँदै जान्छ र आन्तरिक जैविक रसहरू पनि उत्पादनमा कमी हुनसक्छ । निर्माण र बृद्धिको सट्टा शरीरको बचावट तथा भएको स्थिति कायम गर्न पाको उमेरमा शरीरका प्रणालीहरू सकृय हुन्छन् ।

यस्तो अवस्थामा कुफत खाने, उर्जा बढि खपत हुने र प्रणालीहरूलाई असर गर्ने खानेकुरा सकेसम्म खानु नै हुँदैन । कुनै कुनै खाने कुराले नियमित जीवनमा अप्ठ्यारो निम्त्याउन सक्छन् । धेरै दौडधुप पछि सेवन गर्ने अचेल वायुयुक्त कार्बेिन मिसिएका बजारी पेय पदार्थ, पिउन चिसोमिठो र एकछिनलाई आनन्ददायक होलान तर त्यसको कुपभ्राव शरीरलाई पर्नेकुरा ध्यान दिनै पर्छ । अत्यधिक व्यापार बढाउन मिठास बढाउने क्रितिम मिठोपन, आकर्षक चिप्लोपन देखाउन रासायनिक चिल्लो र स्वादिष्ट बनाउन विविध रसायन मिसाउने गरिन्छ । यस्तो खानपान साथै विभिन्न अम्बल र अप्राकृतिक पेयले गर्दा शरीरमा असर गरेर मलमूत्रको नियन्त्रण तथा लगातारको नियमन प्रणाली अवरुद्ध भई क्रियाकलापमा रोकावट वा प्रणालीमा हुनुपर्ने अङ्कुस नभई निरन्तर रहने हुनसक्छ ।

चनाखो होऔँः
हाम्रो शरीर कुशल र जटिल जैविक पिण्ड हो । यसो भएकाले आफ्नो शरीरले राम्रो-नराम्रो, शारीरिक-मानसिक लक्षणहरू कुनै पनि जानकारी गराउने गर्छ । हामीले जीउको सङ्केतहरू बुझ्न र त्यसअनुसार सतर्क रहन पूर्वजानकारीलाई गम्भीरतापूर्वक लिनै पर्छ । तपाइँका मलाशय र मूत्रथैली भरिएपछि निस्काशनको जानकारी शरीरले दिन्छ ।

त्यसलाई नबुझेर वा नसकेपछि चुहिने वा समय गुज्रान भएपछि ठाउँ न कुठाउँ निस्काशन भई मानसिक-सामाजिक समस्या हुनथाल्छ । त्यसैले त शौँचालय जानुअघि थामिएका मलमूत्र शौचमा बस्नासाथ सुरु हुन्छन् । तर सदाझैँ एकै समय वा प्रहर हुने दिसाशौच हुन छाडेपछि र तलमाथि पर्न थालेपछि भने शरीरले यस्तो क्रिया गरेकोमा नियमितता अवरुद्धको जानकारी दिइसकेकोलाई बेवास्ता गरेमा कब्जियत, पखाला र मूत्र बढि-घटीसाथै चुहिने समस्या पलाउन थाल्छन् । पछि गएर यस्तो क्रियाकलाप रोगको रुपमा देखा पर्छन् ।

यसरी आफ्नै अबुझक्की स्वभावले पाका मान्छेलाई धेरै उमेरिदा दुखबाहेक केहि हुन्न । त्यहि जस्तै खानाले कहिले कब्जियत हुन्छ कहिले पखाला चल्छ, अनि उत्तिकै पानी पिउँदा कहिले पिसाब गएको गई, कहिले आँत हरर भइरहन्छ । भित्री जिनिसमै असर भइसकेपछि प्रणालीको कामकार्बाहीमा अनियमितता आउनु स्वभाविक नै हो ।

बल नगरौँः
मलमूत्र त्याग गर्दा स्वाधिन र इच्छाधिन दुबै खालका माँसपेशी तथा स्नायुप्रणालीका प्रभावले हुन्छ । त्यसैले हामी स्वाधिन माँसपेशीले निस्काशनमा जोडगर्दा इच्छाधिन प्रणालीका बलले केहिबेर पछिसम्म निस्काशनलाई रोक्न सक्छौँ । तर त्यसको पनि सिमा हुन्छ तथा मलाशय र मुत्रथैली भरिएपछि भने इच्छाधिन प्राणालीले हार खाएर चुहिने र फुत्किने गराउँछ । यस्तो गर्न स्वाधिन प्रणालीलाई बारम्बार खुम्च्याउनु परेकाले पछिपछि दिसाशौच गर्न सङ्केत दिने प्रणाली सकृय हुन छोड्छ र भरिँदा चुहिने तथा फुत्किने हुनजान्छ । आफूखुसी स्वाधिन अङ्गको निस्कृयता, इच्छाधिनको बलियोपनले जोडगरेमा हुने प्रक्रियाको बानी गरे पछि मलाशय र मुत्रथैली भरिएको जानकारी पनि हुन छोडछ । त्यसैले बल लगाएर निस्काशन र धरै समय रोक्ने काम गर्नाले प्रणालीमै कुप्रभाव परेर असामान्य गतिविधि बढछ । यस्तो बलपूर्वकको बानी भएका महिला-पुरुषका कम्मरमुनीका माँसपेशी कमजोर हुन जान्छन साथै अनौठा लक्षणहरू देखिई रोगलाग्न थाल्छ ।

दैनिकी कायम राख्ने तथा खानामा रेसादार सागपात बढाई कब्जियत घटाउने र चाहिए जति पानीको आपूर्ति गर्नु बाहिरी विकल्पमा राख्ने गर्नुपर्छ । सबैभन्दा राम्रो, सुखी र निरोगी हुने अभ्यास भनेको शरीरको सङ्केत बुझेर सुधारको लागि मागेको काम सकेसम्म चाँडै सम्पन्न गरेर प्राकृतिक अवश्यक्ताअनुसार गर्नेबानी बसाल्नु नै उत्तम उपाय हुन आउँछ । कहिलेकाहीँ पुच्छ भागमा भएका अङ्गहरूमा रोगलागे जस्तोः हर्सा, बेर्नुनिस्कने, आन्द्राभूँडीका समस्या, प्रोस्टेट बढ्ने तथा महिलाहरूमा प्रजनन् र भँडाल्नु फर्कने रोगको शल्यक्रिया गर्नैपर्दा पछि के कस्तो प्रभाव हुन्छ र शारीरिक समस्या आउँछ कि भनि बुझ्नै पर्छ ।

त्यस्तै शल्यक्रिया गर्ने विज्ञलाई मलमुत्रको निस्काशन स्वभाविक वा गडबडी जे छ जानकारी दिनैपर्छ । शारीरिक-मानसिक स्तर बिचार गरेर मात्र त्यसपछि चिरफारको काम गर्न चिकित्सकलाई भनेमा सावधानीको हेक्का उनलाई हुन्छ र शल्यक्रिया सफल हुन्छ । अन्यथा रोग फालेँ भन्नेभन्दा अर्को रोग थप्ने वा अशक्तता निम्त्याउने काममात्र हुनजान्छ । अग्रभागकोभन्दा कम्मरदेखि तलको भागको शल्यक्रियामा अवगुन बढि देखेर नै सर्वसाधारण डराउने, तर्सिने मनोविज्ञान बनाएका हुन् । यस्तोमा बिरामी मात्र होइन चिकित्सकले पनि चनाखो हुनै पर्दछ र सबै सम्भावना हेरेरमात्र शल्यक्रिया गर्न अघिसर्नु पर्छ ।

अन्त्यमा,
पाका मान्छेले भोग्ने धेरै समस्याहरू त्यही उमेर नै नपुगी थाहा नहुने र त्यहि उमेरसमुहलाई मात्र अनुभूत हुनसक्ने धेरै हुन्छन् । पहिले समस्यापर्दा उमेरको बलमा बेवास्तागर्ने बानीले शरीरमा थिग्रिएररहेका कैयौँ रोगका टुसोहरू बाँकीरहेकाले झाङ्गिने भनेको उमेरिएको पाको उमेर नै हो । त्यसैले पाका उमेरका रोगहरू हेर्दाभन्दा सामान्य लागे पनि कमजोर शारीरिक र मानसिक अवस्थामा पुगेका महिला-पुरुषलाई ‘यमराजले झम्टा हानेको’ सकस हुनसक्छ । यस उमेरमा भएका समस्याबारेमा अति चिन्तित हुने होइन, सरल र सहज उपायबाट निराकरण गर्न घरका परिवारले होसियारी देखाउने हो ।

‘यो उमेरमा थाङने व्यथा लागिहाल्छ नि’ भनि पाकाले निच मार्ने पनि होइन बरु सतर्क रही नम्रताकासाथ जानकारी दिने हो । यतिखेर अनुभव थोरै मात्र कामलाग्ला, अहिलेको अवस्थामा रोगका जटिलता हेरेर पाका मान्छेका रोगव्याध, ओखती बारेमा अध्ययनगरेका स्वास्थ्य कर्मी नै काम लाग्छन् । ठाउँ, बणर्, समुदायका आधारमा अनुभवि बिज्ञ चिकित्सक, स्वास्थ्य सहायक, परिचारिकाले मात्र रोग खुट्ट्याएर त्यहिअनुसार कामगर्दा बिरामी निको पार्न सक्छन् । सरोकार तहकाले नेपालमा कुल जनसङ्ख्याको दश प्रतिशत बढी र मताधिकार प्राप्तमा चालिस प्रतिशत पाकाको हितमा पाकाशास्त्रका स्वास्थ्य शक्ति उत्पादन गर्न ढिलो भएन र ?

०००
चालिसे डाँडा, ललितपुर
असोज ४, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x