डा. मुकेशकुमार चालिसेपाका मान्छेमा धङधङीका कारण !
‘आयुर्वेदिय ओखतिले नकारात्मक प्रभाव पार्दैन’ भन्ने नाममा अफिमजन्य, रक्तचापका ओखती उचित मात्रा र समयभन्दा बढि सेवन भएमा जोकोही उमेरसमुहलाई त धङधङी गराउँछ ।
डा. मुकेश चालिसे :
शारीरिक-मानसिक समस्या भएका मानिसहरूमा सानै उमेरदेखि नै पनि विभिन्न किसिमका रोगव्याध लागेको हुनसक्छ भने अति पाको हुँदा त निको भएका पुराना रोगहरू बल्झेर आउन सक्छन् । कतिपय मानिसमा यसअघि नभएका समस्याहरू पनि उमेरिदै जाँदा देखापर्न सक्छन् । पाको उमेरका समस्या व्यक्तिवादी सोच र तथाकथित आधुनिकताको भूतचढेकालाई राम्ररी बुझ्नको साथै अनुभूतिगर्न उनिहरूनै ओछ्यान नपरेसम्म चेत नफिर्ने अवस्था अहिलेको देखिन्छ । कतिपय बेला र समूहमा ‘जाच्न लगेकै छ तथा सकेसम्म चिकित्सकले भनेको ओखती ल्याइदिएकै छ’ भनि उमेरिएका मान्छेलाई एकातिर लडाइदिएर मात्र हुन्न । उहाँहरूलाई जाँच्न लगेपछिको सन्तुष्ठी र ओखतीले गरेको असरबारेमा सचेतरुपले हेक्का राख्नैपर्छ । माया गर्नेले प्रत्यक्ष निगरानी आफैँगर्ने र अन्यत्र पनि काममा जानुपरेमा भरपर्दोको जिम्बालगाई फर्केर अद्यावधिक जानकारी राख्नुपर्दछ ।
उमेरिँदा सुरुभएका जाँचपडतालका क्रमिकता र ओखती सेवन अस्थायी नहुन सक्छन् । पाका मान्छेहरूमा शारीरिक बर्कतले आफ्नो दौडधुपगर्ने अवस्था घटदै गएको हुन्छ । उहाँहरूले सक्ने भनेको अनुभव र ज्ञानका आधारमा सरसल्लाह दिई दिशा बोध सम्म गराउने हो । तर धेरै अभिभावक सन्तानको अतिमाया साथै बढदै गएको उमेरमा शारीरिक कमजोरीका कारण आफुजस्तै सन्तान पनि कमजोर भएझैँ बडो सतर्क भई नयाँकुरामा प्रयास गर्न डराउने हुन्छन् । त्यसैले हरेक कामकार्वाहीमा अर्ति-उपदेश र सावधानी राख्न भनिरहन्छन्, यस्ता व्यवहारलाई बैँस लागेका, बलिया-बाङ्गा र तुजुकभएका सन्तानले कथम ‘गनगनको रुपमा’ व्यवहार गर्न थाल्छन् । अनि पाका मान्छे पनि ‘भन्या मान्दैनन् के हुन्छ होला ?’ भनि बाहिर निस्केदेखि सकुशल नफर्केसम्म घरको एक कुनामा बसि पुराना कुनै कमीले केहि नोक्सानभएको भए त्यहि भनेर ठुसठुसाई रहन्छन् । ओखती सेवन नियमितगर्न कतिपय बेला मनका तरङ्गमा अल्झेर बिर्सन सक्छन् भने कतिपय बेला एउटै ओखती उहीबेला दोहोर्याउन सक्छन् । शारीरिक-मानसिक रोगव्याध, ओखतीको दुष्प्रभावले पनि उमेरिँदा मानिस थिर नभएर हिँडडुलमा धङधङी नै हुन्छन् ।
उमेरिँदा लागेका रोगव्याध वा कथम् दीर्घरोगले झम्टीसकेकोभए बिभिन्न थाङने रोगविरुद्ध बाँचुञ्जेल ओखती सेवन गरिरहनु पर्ने हुनसक्छ । एक समयावधि पछि त्यसै ओखतीको प्रभावले त्यतिखेर मात्रा पुगेको ओखती आन्तरिक जैविक परिवर्तनले त्यही मात्राले प्रभाव नपर्ने हुनसक्छ । ओखतीको नियमित सेवनले कुनै पदार्थ शरीरभित्र बढने र कुनै घटने पनि हुनसक्छ र ओखती आन्तरिक अवस्था हेरेर फेर्नुपर्ने हुनसक्छ । त्यसैले त एउटै रोगमा पनि चिकित्सकले रगत जाँचेर र शारीरिक अवस्था हेरेर ओखती फेरिरहने गरिएको पाइन्छ । कतिपय ओखतीको सेवनपछि रोगव्याधमा अनुकुल प्रभाव पारे पनि दीर्घकालिन प्रयोगले त्यहि ओखतीको दुष्प्रभावले उमेरिएका मानिसहरूमा ठडिएर हिँडन नसक्ने वा धरमराउने वा पछारिने हुन्छन् । जण्डो रोगव्याधका कडा खाले ओखतीले रोग निकोपार्न र मथ्थरपार्न सफलहुँदा पनि अतिरिक्त दुष्प्रभावले धमिलो दृष्टिहुने, बेलाबेला रिङ्गटाचल्ने, निद्रालागेझैँ लोलाउने र मानसिक शतर्कता लोपहुन सक्छ । कुप्रभाव बढदैगएमा कुनैपनि छ्यान बिछ्यान छुट्ट्याउन नसक्ने, हिँडाई असन्तुलन हुने र माँसपेशी सबै कमजोरभई फिलफिलगर्ने अवस्था हुनजान्छ । पाका मान्छेले घरीघरी धङधङीने भएमा सकेसम्म एकैठाउँ सँधै नगुँडुल्किई बेलाबेला अनुकुल सुविस्ताको ओछ्यानबाट उठि हिँडडुलगर्ने, मनले पत्त्याएको ठाउँ तथा मान्छे भेटेर रमाइलोगरी समय काटनुपर्छ । दैनिक केही पलको आनन्दले दिनभरीलाई उर्जा र आत्मविश्वास बढेर ‘सक्छु अझै त’ भन्दै जाँगर आउने साथै हिँडने व्यायाम भएर लडने समस्या कम हुनसक्छ ।
गुदी कुरोः
उमेर ढल्केपछि धेरै मान्छेका ढाडका समस्या भएका नै पाइन्छन् भने पाकोउमेरमा देखापर्ने विभिन्न रोगका कारण ओखती धेरै सेवनले पनि तिनका रसायन थिग्रेर दुष्प्रभाव पर्नथाल्छ । कहिलेकाहीँ त्यसको कुअसरले ज्यान नै जोखिममा पर्नसक्छ भने शरीरमा धेरैजसो प्रतिक्रियास्वरुप आङ जिरिङ्गहुने, सुँक्क-सुँक्क भइरहने, फोका उठने, राँटा र मुश्ला आउने हुनसक्छ । अति कुप्रभावमा छटपटी हुने, बेहोश हुनखोज्ने, कुनै अङ्ग काम्ने, कामगर्न नसक्ने र लुलोभई अठोटेकोजस्तो नहुने हुनसक्छ । हिँडन लरबराउने, लागुबस्तु खाएझैँ चाल बिग्रनु र बेलाबेला सामान्य अल्झो वा तलमाथिमा ठोस्सिएर पछारिने हुन जान्छ । यस्तो असन्तुलनको अवस्था किन आउँछ त ? भन्ने कारण यथेष्ठ जानकारी लिएमा त्यसको समाधानका उपायहरू एकपछि अर्को लागुगरेमा उमेरिएका मानिसहरूका रोग बिस्तारै सुध्रिएर, ठमठमाएर मज्जाले हिँडडुल पनि गर्नसक्ने हुनसक्छन् ।
शरीरलाई सन्तुलनमा राख्ने काम वास्तवमा स्वचालित स्नायुप्रणालीको क्रियाकलापको प्रक्रियाले हुनेगर्छ । उमेरिने क्रममा शरीर कमजोर बन्दैगएमा पचासको दशकदेखिनै मान्छेहरू हिँडडुल र चलखेलमा अस्थिरहुँदै जान्छन् । उसका स्नायुप्रणाली कमजोर पनि हुँदैजान्छन् र स्वचालित प्रणालीमा पनि विभिन्न जैविकरसको कमी वा बढिभएर पहिलेजस्तै सकृय नहुनसक्छ । त्यसपछि पाका मानिसमा स्थिरता हुँदैन भनेर नै हिँडडुल गर्न चाहनेहरू ‘के झोक्रायर घरमा गुँडुल्किएर बस्नु’ भनि लौरो टेकेर भएपनि हिँडन सक्छन् । हिँडडुल गर्न धरमराउनुमा माँसपेशी नष्टभई कमजोरीले हुनसक्छ भने आँखाको दृष्टिक्षमतामा तलमाथि हुँदा सतहको एकीन अवस्थाबारेमा भ्रमित हुँदा पनि पाइला चाल्न दोमनभई चाल धरमराउन जान्छ । स्वास्थका केहि समस्याहरू जस्तैः कानको भित्रीभागमा सङ्क्रमण, जाली र ध्वनीयन्त्र (कोकलिया)ले काम नगर्ने, मुटुको ढुकढुकी चाल तलमाथिहुने, दुख्ने, शरीरका अङ्गहरू लाटोहुने अवस्थामा पनि शरीरको सन्तुलन बिग्रन सक्छ । असन्तुलन बढदै गएमा हिँडडुल गर्दा वा ठाडो उभिनखोज्दा टाउको गर्हुङ्गोभएझैँ निहुरिने र ढनमुनिएर लडने डर पनि हुनसक्छ ।
पाका र उमेरिएका महिला-पुरुषमा देखिने सन्तुलनका समस्याबारेमा हार्वाडका विज्ञ चिकित्सकहरूले ५३ पानाको अनुसन्धान प्रतिवेदन (रिपोर्ट) नै सन्तुलन बारेमा बुझाएका थिए । त्यसअनुसार जो कोहीलाई धङधङीलागेर सधैँ लडिने र पछारिने डर लागिरहने अनुभवभएमा आवश्यक ओखतीसहित हिँडने तिब्रइच्छा हुनेले असन्तुलन चाँडै हटाउन सक्छन् । यसको अर्थ लडिने डर सोच्न बन्दगरी दृढभई ‘मैले चाहेमा हुन्छ, डराएर किन चाँडै पिल्सेर मर्नु ?’ भनी आँटगरेमा यो समस्याबाट मुक्तहुन सिघ्र सकिन्छ भन्ने बिज्ञहरूको भनाई छ । यस्तै समस्या अरु उमेरसमुहमा पनि हुनसक्छ र उपचारको पद्धती उस्तैउस्तै हुन्छ ।
शरीरको सन्तुलन प्रणालीः तपाईंहरू चाहे डिँडनुहोस्, दगुर्नुहोस्, तलमाथि गर्नोस्, ओछ्यानबाट उठनुहोस, उठबस गर्नुहोस् वा ठिङ्ग उभिनुहोस् शरीरका विभिन्न प्रणालीहरूको आन्तरिक समन्वय भइरहेको हुन्छ । हरेक क्रियाकलापमा केन्द्रिय स्नायु प्रणाली (दिमाग र मेरुदण्डिय स्नायु), भेष्टिबुलार प्रणाली (दिमागमा रहेका तन्तु र कानको भित्रीभागको ध्वनीयन्त्र), दृष्टि प्रणाली (दिमाग र आँखा) र स्थानविशेष थाहापाउने माकुराको जालोजस्तै शरीरभरी छरिएका परिधिय स्नायुहरूको प्रणाली सक्रिय हुन्छन् । त्यसैले त हामीहरू आँखा चिम्लेर पनि कसैले छोएको ठाउँको हेक्का हुने, पाइताला मुनीको कुरा थाहपाउने, आदि स्पर्श बस्तु चिन्छौँ वा अन्दाज गछौँ । हामी धनमनिन थाल्यौँ भने कुन प्रणालीको सम्योजन भएन भन्ने बुझ्नुपर्छ अनि जानकारी पछि उपचारमा लाग्दा ठिक निदानले यो समस्याबाट मुक्तहुन सक्छौँ । यसले बिज्ञ चिकित्सकलाई अङ्गअनुसार उपचारगर्न सजिलोभई पाका मान्छे चाँडै ठमठमाएर हिँडनसक्ने हुनसक्छन् । धरमराएर हिँडने समस्याको खास उदगम स्थान पिडितले नै सकेसम्म आफैँ थाह पाई र बिज्ञको फेलापरेमा सुरक्षितपूर्वक ठडिएर उभिन र हिँडडुलगर्न कुनै समस्या नहुने ठोकुवागर्न सकिन्छ ।
सन्तुलन समस्याको अनुसन्धानः
बेलाबेलाका गतिविधिमा यदि तपाईंका खुट्टा लगलगाउँ छन्, काम्न लाग्छन् साथै रिङ्गटा लागेझैँ टाउको घुमाउने, भनभनाउने र सँसारनै घुमाएको महसुश गरिरहन्छन् । यस्ता लक्षणहरू बारम्बार भइरहने भए आफैँ समस्याको उदगम, फैलावट र कमबढि पिडाभएका अङ्गहरूबारे जानकारी राम्ररी राख्नु पर्दछ । धरैजसोले अलिअली र कहिलेकाहीँ लडदा वा पछारिदा रोगलागेको भनि प्राय भन्न सक्दैनन् । सचेतभएर पिडित र आफन्तले पनि हेक्काराखेर घरीघरी लडन-पछारिन थालेपछि उपयुक्त चिकित्सक भएको ठाउँमा उपचारको व्यवस्थागर्नै पर्छ । यस्तो समस्या बेलैमा निराकरण र जोखिम कमगर्ने उपायहरू नगरिएमा पाका मान्छ स्नानक्षेत्रमा चिप्लियर वा बाटोमा धनमनियर पछारिई मस्तिष्क घात तथा मस्तिष्क रक्तस्राब हुने सम्भावना रहन्छ । घात र स्रावका मात्राहेरेर सघनभएमा अस्पतालबाट पाका मान्छे फर्कने सम्भावना न्यूनभएको पाइन्छ र फर्किहालेमा पक्षघात वा कुनै अङ्गले काम नगर्ने र सामान्य चलखेलगर्ने कामसमेत नसक्ने भएर आएको देखिन्छ । लडेपछि एउटा न एउटा तुसखत लिई फिर्ताहुने, चलहलका समस्या र बोलीमा अस्पष्टता भएका धेरै नै भेटिन्छन भने पूर्वका मोतिराम, प्राध्यापक चूडामणी रेग्मी पनि यस्तै पिडामा हुनुहुन्छ ।
सन्तुलनमा सघाउने गतिविधिः
उमेरमा होस् कि उमेरिँदा होस् त्यो प्रतिवेदनमा भनेझैँ असन्तुलन हटाउन मान्छेलाईे स्थिररहँदा वा चलखेलगर्दा दुबै अवस्थामा कामलाग्ने दुबैथरिका उपायहरू अवलम्बन गरिने सिकाई प्रयास गर्नैपर्छ । थोरै सामान्य उपायबाट पनि रिङ्गाउने समस्यालाई हटाउन सकिन्छ, जस्तो टाउको दायाँबायाँ गर्ने, बिस्तारै मुण्टो तथा गर्दन घडिको चालमा उल्टोसुल्टो साथै निहुर्याउने, ठाडोमात्र होइन पछाडी ढल्क्याउन खोज्नेगरेमा रिङ्गाउन कमहुँदै जानसक्छ । यसबाहेक टाउको ठाडो राखेर, टाउकोमा पालैपालो दायाँबायाँ, निधार र पछाडी घुच्चुकमा हत्केला राखेर टाउकाले घच्याडन खोज्ने र हत्केला डगमगाउन नदिने गरेमा टाउकाको साथै गर्दनको दुखाइ वा समस्या कमभई रिङ्गाउने कमहुँदै जानसक्छ । घाँटीमा रहेका रक्तनली र स्नायुको व्यायामले मगजमा सञ्चार र आपूर्ति दुबै सामान्यभई समस्या घटछन् ।
सन्तुलित र स्वस्थ रहनुः
जीवनमा हरेक विधामा आफुलाई सक्षम बनाउने, सिकाइगर्ने, सकारात्मक सोचाइ बनाउने तथा आवश्यक्तानुसार कुनै विषयमा पारङ्गतहुन करधक्त गर्नुपर्छ । उमेरहुँदै त्यसोगर्न उद्यत युवाहरूले आफ्नोसाथै परिवारको इज्जत समाजमा कमाउँछ भने पाको उमेर पुग्दा शारीरिक-मानसिक मिहेनतको कमीले त्यहि चाहाना पुरागर्न नसक्ने हुनसक्छ । पाको भएपछि धेरैजसो स्नायुप्रणालीको कमजोरी, हाडको बिचमा च्यापिने र गुजुल्टो परेर बिभिन्न अङ्गहरूमा सङ्कुचन वा नियन्त्रण अप्राकृतिकरुपले बढेको हुनसक्छ । त्यस खराबीमा धेरैजसो मस्तिष्कको कमजोरी र मेरुदण्डका नसाहरूको बितरण अबरुद्ध हुनजानाले भएको पाइन्छ । गर्दनका मसिना जोर्निहाडहरू भएर मगजमा जाने र मेरुदण्डहुँदै शरीरको तलतिर जाने स्नायुनसा र रक्तनलीमा अवरोधभएर टाउको दुखेर रिङाउने अनि शरीरका तल्लो भागहरू काम्ने भई मानसिले सन्तुलन गुमाउन थाल्छन् । मेरुदण्डको कम्मरका जोर्निहरूमा समस्याभएका पाका मान्छे ‘कटी कटकटायो, ठडिँदा शोला हान्याजस्तो दुख्छ’ भनि लौरो टेकेर हिँडदा पनि दुख्न र लरबराउन छाडेनभनि दुखेसो पोखिरहन्छन् ।
स्वस्थरहन धेरै नसके हलुका खालका व्यायाम र हिँडाई नियमित हुनु आवश्यक हुन्छ । नियमित प्रयासको फलस्वरुप मुण्टो गर्हौँ हुने, कम्मर दुखाई कमभई शारीरिक सन्तुलन सुदृढ हुँदैजान्छ । शरीरको अन्य कष्ट रहेपनि चलखेल र व्यायामले माँसपेशीहरू मार्फत रक्तसञ्चालन सहजहुने र स्नायु प्रणालीमा स्फूर्तिभई अङ्गहरूमा सञ्चार प्रबाह नरोकिएर दुख्ने, खुम्चिने तथा बाउँडिने समस्या घटन जान्छ । पछारिने कारण, प्रभावित स्थान र भाग थाह पाइसकिएको भए त्यसलाई केन्द्रितभएर अनुकुल व्यायाम समयलाई बढाउँदै जानुपर्छ साथै भित्री वा बाहिरी ओखती सेवनको नियमितता आवश्यक्तानुसार बिज्ञको सल्लाहमा गरिरहनु पर्छ । त्यस्तै, प्रभावित अङ्गहरूको स्थिति र जटिलता, बिज्ञको अनुमानका आधारमा चाहिँदो सहयोगी सामग्रीहरू किनेर ल्याई घरमानै दैनिकरुपले बिस्तारै बढाउने प्रयत्न गरिरहनु चाँडै निको पार्ने तरिका हो । असन्तुलन हटाउन गर्नसकिने सबैभन्दा सरल उपाय मध्येमा, दैनिक आफुलाई अनुकुल पर्ने दिनको समयमा ठाडोभई, हात चल्नेगरी र स्वासप्रस्वास बढनेगरी लम्केर हिँडने अभ्यास नै प्रमुख मानिएको छ ।
ओखतीका दुष्प्रभावः
भौतिक क्षति वा शारीरिक रोगव्याधका समस्याले हिँडाइको असन्तुलनहुनु एकपक्ष हुन भने कैयौँ वर्षदेखि धेरै ओखती सेवन गरिसकेका पाका मान्छेले उमेरिँदा थपसमस्याहरू देखिएमा थपनयाँ ओखती सेवन गर्नैपर्छ । थरीथरीका ओखतीहरू एकआपसमा नमिल्ने पनि हुन्छन् भने खाना अघि र पछि सेवनगर्ने ओखती मुट्ठिका मुट्ठी सेवनगर्दा शरीरभित्रका प्रणालीहरूमा के कस्तो प्रतिक्रिया होला ? त्यसलाई अरु कुराले नबुझै पनि कतिपय उमेरिएका पाका मान्छे अस्पतालमा बिभिन्न रोगव्याधहरूको निहुँमा भर्नाहुने अनि कलेजो बिग्रियर बितेका किन होलान ? कहिल्यै मापसे नगर्ने सबै वयस्क र उमेरिएकाहरू पनि अन्तिममा कलेजोकै समस्याले किन हामीलाई चाँडै छोडेर गएका होलान ? ओखती कम सेवनगर्नेमा किन थोरै मात्राले पनि राम्रो प्रभाव पार्छ ? किन भित्र्याँसका समस्या धेरै ओखती सेवनगर्नेलाई भएको देखिन्छ ? ओखतीको दुष्प्रभावले गर्दा नै मिर्गौला र फोक्सोको समस्याभएर अस्पताल भर्नाभएकाहरू अन्तिममा कलेजोले साथ नदिएर मृत्युभएका पाकाका थुप्रै परिवार नेपालमा भेटिन्छन् । फेरि अर्को तथ्य पनि के हो भने ओखतीको सदुपयोग र शरीरभित्र सोसिने शक्ति उमेरअनुसार भएको तथा उमेरिँदा कमहुने भएकाले एकअर्कामा सोझै मिसिदा प्रतिक्रिया हुने अवस्था आउँने हुन्छ । त्यस्तो मिश्रणले सोझै मरणासन्न बनाउनेदेखि बिभिन्न अङ्गहरू बेकामे हुने, निर्देशित काम गर्न नसक्ने, हातगोडा काम्ने र पुरै शरीर असन्तुलित बनाउन उकास्ने हुनथाल्छ । केही चाल बिगार्ने र असन्तुलित गराउने ओखती अन्य रोगकालागि ‘रामबाण’ भएपनि तुरुन्तै मिसिदा वा अतिमात्रामा हुँदा शरीरको सन्तुलन बिगार्छन् ।
त्यस्ता ओखतीमाः अवसादग्रस्त हुने, बिर्सने, उन्माद रोकथामको ओखतीले रगत जम्ने प्रक्रियाबिरुद्ध रगत र स्नायुहरू सक्रिय तुल्याउन छानिएका सेरोटोनिन पुर्नप्राप्ती अवरोधक तत्वभएको (एसएसआरआई) र सेरोटोनिन स्नायुनेफ्राइन पुर्नप्राप्ती अवरोधक भएका (एसएनआरआई) कारणले अतिसेवन तथा प्रतिक्रियाहुँदा शरीरलाई असन्तुलित बनाउन सक्छ । मानसिक चिन्ता हटाउन मद्दतगर्ने बेन्जोडाइजिपाइनस जस्ता ओखतीले कडा प्रतिक्रिया पनि दिनसक्छ । पेट बाउँडिन, दुखाई घटाउन, उन्माद र अल्ज्हाइमर जस्ता रोगमा प्रयोगहुने ओखतीले पनि उक्तरोगमा फाइदा गरेपनि अतिसेवनपछि शरीरलाई असन्तुलित बनाउन सक्छ । एन्टीहिस्टामिन ओखती प्राय आन्तरिक प्रतिकार लक्षण नियमनगर्ने, प्रतिरोधि क्षमता बढाउन उत्त्प्रेरितगर्ने, विभिन्न मौसमी रोगव्याधलाई कामलाग्ने एमाइन समुहको हुन्छ । यसले सङ्क्रमणलाई निकोगर्छ तर कतिपय पाका मान्छेलाई लट्ठ्याउने र निद्रालागेझैँ भएर गतिमा बाधा पुर्याई मादकपदार्थ सेवनगरेको अवस्थामा जस्तो असन्तुलित बनाउन सक्छ । रक्तचापको घटीबढिमा सेवनगरिने ओखती बिभिन्न जैविक रसायन निस्काशन वा नियन्त्रणगर्ने भएकाले नियमित सेवनबाट दीर्घकालमा असन्तुलित पार्नसक्छ । पिसाब बढि लगाउने, क्याल्सियमको लुन्द्रो रोक्ने, एसिइ रोक्ने, उच्चरक्तचाप रोकथाममा मद्दतगर्ने (एआरआइबि) जस्ता रसायनिक पदार्थले सरिरमा बिभिन्न प्रभावपारी चाल बिग्रन्छ । मधुमेह नियन्त्रणमा प्रयोगहुने इन्सुलिन, ग्लुकोट्रोल तथा ग्लाइबुरिड आदिले असन्तुलन गराउन सक्छ । मुटुरोगका बिटा नियन्त्रक र नाइट्रेटस् जस्ता रसायनका अति दुष्प्रभावले सन्तुलन बिगार्ने गर्छ । अति पिडाहुँदा प्रयोगगरिने अफिम सम्बन्धित र स्नायुप्रणालीका बिगारमा सेवनगरिने ओखतीले पनि लट्ठ्याएर झुमझुम लाग्नेभएर कतिपय उमेरिएका मान्छे अर्धनिद्रामा हिँडेझैँ असन्तुलित गराएको पाइन्छ । त्यस्तै समस्या ‘धतुरो, अफिमका दाना, भाङ, गाँजा र घोट्टा, आदि सेवनले पनि शरीर दुखाई, निद्रा समस्या, सुत्केरी पछि महिलाको आङ बाँध्छ’ भनि सेवनको अत्यधिक मात्राले हिँडाई र शरीरका क्रियाकलाप असन्तुलित भएको पाइन्छ । कष्ट कमगर्ने भनेपनि त्यस्ता जैविक बस्तुका सेवनले पनि क्षणिक फाइदा देखिएपनि शरीर कमजोर बनाएर सुकाउने र सामान्य उछलकुदमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ र स्नायुका समस्या बल्झन सक्छ । निद्रा कमलागेर निद्रापर्ने ओखती नियमित सेवनगर्ने पाका मान्छेहरूलाई एम्बिएन जस्ता औषधिले लागुपदार्थ खाएझैँ हुन्छ र सन्तुलन बिगार्छ ।
अन्त्यमा,
धङधङी लागेको भन्नु शारीरिक असन्तुलन र असन्तुलित गतिविधि हो । शारीरिक कमजोरी तथा स्नायुप्रणालीको केन्द्रिय, परिधिय र स्वेच्छिक प्रणालीको कमजोरी वा रोगव्याधले हुनेगर्छ । विशेषगरी मेरुदण्डको गर्दन र कम्मर भागमा हाडको समस्या तथा त्यहाँ स्नायुको बितरण क्षेत्रमा गुजुल्टिने, खिइने, च्यापिनेभएर हातगोडा राम्ररी नचल्ने, झमझमाउने भई पुरै शरीरको सन्तुलन अप्राकृतिक र लठेब्रो हुनजान्छ । त्यस्तो बाहेक उमेरिँदा रोगको खानीजस्तो शरीरभई विभिन्न खतरनाक रोग लागेमा एकअर्को सङ्गै सेवनगर्न नमिल्ने ओखती खानुपर्ने नीयतिमा ओखतीकै दुष्प्रभावले पनि पाका मान्छे लरबरिँदै हिँडन बाध्यभएको पाइन्छ । ‘आयुर्वेदिय ओखतिले नकारात्मक प्रभाव पार्दैन’ भन्ने नाममा अफिमजन्य, रक्तचापका ओखती उचित मात्रा र समयभन्दा बढि सेवन भएमा जोकोही उमेरसमुहलाई त धङधङी गराउँछ । अझ उमेरिएका पाका मान्छे झनबढी प्रभावित भई उपियाँ फडके जस्तै खुट्टा उफार्दै, आँखा रसिला रातोपारी र ओठबाट र्याल चुहाँउदै दलदलमा नाच्दै हिँडेझैँ गरेका नेपालमा पनि देखिन्छन् । बेलैमा रोग निदान। उपचार र ओखती प्रभावलाई नाटिकुटीकासाथ खानपानमा परहेजगरी सतर्करहेमा त्यसो हुँदैनहोला ! त्यसैले, उमेरिएका पाका भएका घरका परिवारले ‘बुढाबुढीका व्यथा यस्तै हुन्’, भनि हेपेर ‘छिः छिः दुरदुर’ भन्दा चासो बढिगरेर रोगको नियोजनतिर गएमा परिवार र उहाँहरूको सन्तोष सहित हेरचाह राम्रोगरेको यशलिन हामी चुक्नुहुन्न, है !
०००
चालिसे डाँडा, ललितपुर
कार्तिक १६, २०८१
Subscribe
Login
0 Comments
Oldest




































