साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेमा धङधङीका कारण !

‘आयुर्वेदिय ओखतिले नकारात्मक प्रभाव पार्दैन’ भन्ने नाममा अफिमजन्य, रक्तचापका ओखती उचित मात्रा र समयभन्दा बढि सेवन भएमा जोकोही उमेरसमुहलाई त धङधङी गराउँछ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

शारीरिक-मानसिक समस्या भएका मानिसहरूमा सानै उमेरदेखि नै पनि विभिन्न किसिमका रोगव्याध लागेको हुनसक्छ भने अति पाको हुँदा त निको भएका पुराना रोगहरू बल्झेर आउन सक्छन् । कतिपय मानिसमा यसअघि नभएका समस्याहरू पनि उमेरिदै जाँदा देखापर्न सक्छन् । पाको उमेरका समस्या व्यक्तिवादी सोच र तथाकथित आधुनिकताको भूतचढेकालाई राम्ररी बुझ्नको साथै अनुभूतिगर्न उनिहरूनै ओछ्यान नपरेसम्म चेत नफिर्ने अवस्था अहिलेको देखिन्छ । कतिपय बेला र समूहमा ‘जाच्न लगेकै छ तथा सकेसम्म चिकित्सकले भनेको ओखती ल्याइदिएकै छ’ भनि उमेरिएका मान्छेलाई एकातिर लडाइदिएर मात्र हुन्न । उहाँहरूलाई जाँच्न लगेपछिको सन्तुष्ठी र ओखतीले गरेको असरबारेमा सचेतरुपले हेक्का राख्नैपर्छ । माया गर्नेले प्रत्यक्ष निगरानी आफैँगर्ने र अन्यत्र पनि काममा जानुपरेमा भरपर्दोको जिम्बालगाई फर्केर अद्यावधिक जानकारी राख्नुपर्दछ ।

उमेरिँदा सुरुभएका जाँचपडतालका क्रमिकता र ओखती सेवन अस्थायी नहुन सक्छन् । पाका मान्छेहरूमा शारीरिक बर्कतले आफ्नो दौडधुपगर्ने अवस्था घटदै गएको हुन्छ । उहाँहरूले सक्ने भनेको अनुभव र ज्ञानका आधारमा सरसल्लाह दिई दिशा बोध सम्म गराउने हो । तर धेरै अभिभावक सन्तानको अतिमाया साथै बढदै गएको उमेरमा शारीरिक कमजोरीका कारण आफुजस्तै सन्तान पनि कमजोर भएझैँ बडो सतर्क भई नयाँकुरामा प्रयास गर्न डराउने हुन्छन् । त्यसैले हरेक कामकार्वाहीमा अर्ति-उपदेश र सावधानी राख्न भनिरहन्छन्, यस्ता व्यवहारलाई बैँस लागेका, बलिया-बाङ्गा र तुजुकभएका सन्तानले कथम ‘गनगनको रुपमा’ व्यवहार गर्न थाल्छन् । अनि पाका मान्छे पनि ‘भन्या मान्दैनन् के हुन्छ होला ?’ भनि बाहिर निस्केदेखि सकुशल नफर्केसम्म घरको एक कुनामा बसि पुराना कुनै कमीले केहि नोक्सानभएको भए त्यहि भनेर ठुसठुसाई रहन्छन् । ओखती सेवन नियमितगर्न कतिपय बेला मनका तरङ्गमा अल्झेर बिर्सन सक्छन् भने कतिपय बेला एउटै ओखती उहीबेला दोहोर्‍याउन सक्छन् । शारीरिक-मानसिक रोगव्याध, ओखतीको दुष्प्रभावले पनि उमेरिँदा मानिस थिर नभएर हिँडडुलमा धङधङी नै हुन्छन् ।

उमेरिँदा लागेका रोगव्याध वा कथम् दीर्घरोगले झम्टीसकेकोभए बिभिन्न थाङने रोगविरुद्ध बाँचुञ्जेल ओखती सेवन गरिरहनु पर्ने हुनसक्छ । एक समयावधि पछि त्यसै ओखतीको प्रभावले त्यतिखेर मात्रा पुगेको ओखती आन्तरिक जैविक परिवर्तनले त्यही मात्राले प्रभाव नपर्ने हुनसक्छ । ओखतीको नियमित सेवनले कुनै पदार्थ शरीरभित्र बढने र कुनै घटने पनि हुनसक्छ र ओखती आन्तरिक अवस्था हेरेर फेर्नुपर्ने हुनसक्छ । त्यसैले त एउटै रोगमा पनि चिकित्सकले रगत जाँचेर र शारीरिक अवस्था हेरेर ओखती फेरिरहने गरिएको पाइन्छ । कतिपय ओखतीको सेवनपछि रोगव्याधमा अनुकुल प्रभाव पारे पनि दीर्घकालिन प्रयोगले त्यहि ओखतीको दुष्प्रभावले उमेरिएका मानिसहरूमा ठडिएर हिँडन नसक्ने वा धरमराउने वा पछारिने हुन्छन् । जण्डो रोगव्याधका कडा खाले ओखतीले रोग निकोपार्न र मथ्थरपार्न सफलहुँदा पनि अतिरिक्त दुष्प्रभावले धमिलो दृष्टिहुने, बेलाबेला रिङ्गटाचल्ने, निद्रालागेझैँ लोलाउने र मानसिक शतर्कता लोपहुन सक्छ । कुप्रभाव बढदैगएमा कुनैपनि छ्यान बिछ्यान छुट्ट्याउन नसक्ने, हिँडाई असन्तुलन हुने र माँसपेशी सबै कमजोरभई फिलफिलगर्ने अवस्था हुनजान्छ । पाका मान्छेले घरीघरी धङधङीने भएमा सकेसम्म एकैठाउँ सँधै नगुँडुल्किई बेलाबेला अनुकुल सुविस्ताको ओछ्यानबाट उठि हिँडडुलगर्ने, मनले पत्त्याएको ठाउँ तथा मान्छे भेटेर रमाइलोगरी समय काटनुपर्छ । दैनिक केही पलको आनन्दले दिनभरीलाई उर्जा र आत्मविश्वास बढेर ‘सक्छु अझै त’ भन्दै जाँगर आउने साथै हिँडने व्यायाम भएर लडने समस्या कम हुनसक्छ ।

गुदी कुरोः
उमेर ढल्केपछि धेरै मान्छेका ढाडका समस्या भएका नै पाइन्छन् भने पाकोउमेरमा देखापर्ने विभिन्न रोगका कारण ओखती धेरै सेवनले पनि तिनका रसायन थिग्रेर दुष्प्रभाव पर्नथाल्छ । कहिलेकाहीँ त्यसको कुअसरले ज्यान नै जोखिममा पर्नसक्छ भने शरीरमा धेरैजसो प्रतिक्रियास्वरुप आङ जिरिङ्गहुने, सुँक्क-सुँक्क भइरहने, फोका उठने, राँटा र मुश्ला आउने हुनसक्छ । अति कुप्रभावमा छटपटी हुने, बेहोश हुनखोज्ने, कुनै अङ्ग काम्ने, कामगर्न नसक्ने र लुलोभई अठोटेकोजस्तो नहुने हुनसक्छ । हिँडन लरबराउने, लागुबस्तु खाएझैँ चाल बिग्रनु र बेलाबेला सामान्य अल्झो वा तलमाथिमा ठोस्सिएर पछारिने हुन जान्छ । यस्तो असन्तुलनको अवस्था किन आउँछ त ? भन्ने कारण यथेष्ठ जानकारी लिएमा त्यसको समाधानका उपायहरू एकपछि अर्को लागुगरेमा उमेरिएका मानिसहरूका रोग बिस्तारै सुध्रिएर, ठमठमाएर मज्जाले हिँडडुल पनि गर्नसक्ने हुनसक्छन् ।

शरीरलाई सन्तुलनमा राख्ने काम वास्तवमा स्वचालित स्नायुप्रणालीको क्रियाकलापको प्रक्रियाले हुनेगर्छ । उमेरिने क्रममा शरीर कमजोर बन्दैगएमा पचासको दशकदेखिनै मान्छेहरू हिँडडुल र चलखेलमा अस्थिरहुँदै जान्छन् । उसका स्नायुप्रणाली कमजोर पनि हुँदैजान्छन् र स्वचालित प्रणालीमा पनि विभिन्न जैविकरसको कमी वा बढिभएर पहिलेजस्तै सकृय नहुनसक्छ । त्यसपछि पाका मानिसमा स्थिरता हुँदैन भनेर नै हिँडडुल गर्न चाहनेहरू ‘के झोक्रायर घरमा गुँडुल्किएर बस्नु’ भनि लौरो टेकेर भएपनि हिँडन सक्छन् । हिँडडुल गर्न धरमराउनुमा माँसपेशी नष्टभई कमजोरीले हुनसक्छ भने आँखाको दृष्टिक्षमतामा तलमाथि हुँदा सतहको एकीन अवस्थाबारेमा भ्रमित हुँदा पनि पाइला चाल्न दोमनभई चाल धरमराउन जान्छ । स्वास्थका केहि समस्याहरू जस्तैः कानको भित्रीभागमा सङ्क्रमण, जाली र ध्वनीयन्त्र (कोकलिया)ले काम नगर्ने, मुटुको ढुकढुकी चाल तलमाथिहुने, दुख्ने, शरीरका अङ्गहरू लाटोहुने अवस्थामा पनि शरीरको सन्तुलन बिग्रन सक्छ । असन्तुलन बढदै गएमा हिँडडुल गर्दा वा ठाडो उभिनखोज्दा टाउको गर्‍हुङ्गोभएझैँ निहुरिने र ढनमुनिएर लडने डर पनि हुनसक्छ ।

पाका र उमेरिएका महिला-पुरुषमा देखिने सन्तुलनका समस्याबारेमा हार्वाडका विज्ञ चिकित्सकहरूले ५३ पानाको अनुसन्धान प्रतिवेदन (रिपोर्ट) नै सन्तुलन बारेमा बुझाएका थिए । त्यसअनुसार जो कोहीलाई धङधङीलागेर सधैँ लडिने र पछारिने डर लागिरहने अनुभवभएमा आवश्यक ओखतीसहित हिँडने तिब्रइच्छा हुनेले असन्तुलन चाँडै हटाउन सक्छन् । यसको अर्थ लडिने डर सोच्न बन्दगरी दृढभई ‘मैले चाहेमा हुन्छ, डराएर किन चाँडै पिल्सेर मर्नु ?’ भनी आँटगरेमा यो समस्याबाट मुक्तहुन सिघ्र सकिन्छ भन्ने बिज्ञहरूको भनाई छ । यस्तै समस्या अरु उमेरसमुहमा पनि हुनसक्छ र उपचारको पद्धती उस्तैउस्तै हुन्छ ।

शरीरको सन्तुलन प्रणालीः तपाईंहरू चाहे डिँडनुहोस्, दगुर्नुहोस्, तलमाथि गर्नोस्, ओछ्यानबाट उठनुहोस, उठबस गर्नुहोस् वा ठिङ्ग उभिनुहोस् शरीरका विभिन्न प्रणालीहरूको आन्तरिक समन्वय भइरहेको हुन्छ । हरेक क्रियाकलापमा केन्द्रिय स्नायु प्रणाली (दिमाग र मेरुदण्डिय स्नायु), भेष्टिबुलार प्रणाली (दिमागमा रहेका तन्तु र कानको भित्रीभागको ध्वनीयन्त्र), दृष्टि प्रणाली (दिमाग र आँखा) र स्थानविशेष थाहापाउने माकुराको जालोजस्तै शरीरभरी छरिएका परिधिय स्नायुहरूको प्रणाली सक्रिय हुन्छन् । त्यसैले त हामीहरू आँखा चिम्लेर पनि कसैले छोएको ठाउँको हेक्का हुने, पाइताला मुनीको कुरा थाहपाउने, आदि स्पर्श बस्तु चिन्छौँ वा अन्दाज गछौँ । हामी धनमनिन थाल्यौँ भने कुन प्रणालीको सम्योजन भएन भन्ने बुझ्नुपर्छ अनि जानकारी पछि उपचारमा लाग्दा ठिक निदानले यो समस्याबाट मुक्तहुन सक्छौँ । यसले बिज्ञ चिकित्सकलाई अङ्गअनुसार उपचारगर्न सजिलोभई पाका मान्छे चाँडै ठमठमाएर हिँडनसक्ने हुनसक्छन् । धरमराएर हिँडने समस्याको खास उदगम स्थान पिडितले नै सकेसम्म आफैँ थाह पाई र बिज्ञको फेलापरेमा सुरक्षितपूर्वक ठडिएर उभिन र हिँडडुलगर्न कुनै समस्या नहुने ठोकुवागर्न सकिन्छ ।

सन्तुलन समस्याको अनुसन्धानः
बेलाबेलाका गतिविधिमा यदि तपाईंका खुट्टा लगलगाउँ छन्, काम्न लाग्छन् साथै रिङ्गटा लागेझैँ टाउको घुमाउने, भनभनाउने र सँसारनै घुमाएको महसुश गरिरहन्छन् । यस्ता लक्षणहरू बारम्बार भइरहने भए आफैँ समस्याको उदगम, फैलावट र कमबढि पिडाभएका अङ्गहरूबारे जानकारी राम्ररी राख्नु पर्दछ । धरैजसोले अलिअली र कहिलेकाहीँ लडदा वा पछारिदा रोगलागेको भनि प्राय भन्न सक्दैनन् । सचेतभएर पिडित र आफन्तले पनि हेक्काराखेर घरीघरी लडन-पछारिन थालेपछि उपयुक्त चिकित्सक भएको ठाउँमा उपचारको व्यवस्थागर्नै पर्छ । यस्तो समस्या बेलैमा निराकरण र जोखिम कमगर्ने उपायहरू नगरिएमा पाका मान्छ स्नानक्षेत्रमा चिप्लियर वा बाटोमा धनमनियर पछारिई मस्तिष्क घात तथा मस्तिष्क रक्तस्राब हुने सम्भावना रहन्छ । घात र स्रावका मात्राहेरेर सघनभएमा अस्पतालबाट पाका मान्छे फर्कने सम्भावना न्यूनभएको पाइन्छ र फर्किहालेमा पक्षघात वा कुनै अङ्गले काम नगर्ने र सामान्य चलखेलगर्ने कामसमेत नसक्ने भएर आएको देखिन्छ । लडेपछि एउटा न एउटा तुसखत लिई फिर्ताहुने, चलहलका समस्या र बोलीमा अस्पष्टता भएका धेरै नै भेटिन्छन भने पूर्वका मोतिराम, प्राध्यापक चूडामणी रेग्मी पनि यस्तै पिडामा हुनुहुन्छ ।

सन्तुलनमा सघाउने गतिविधिः
उमेरमा होस् कि उमेरिँदा होस् त्यो प्रतिवेदनमा भनेझैँ असन्तुलन हटाउन मान्छेलाईे स्थिररहँदा वा चलखेलगर्दा दुबै अवस्थामा कामलाग्ने दुबैथरिका उपायहरू अवलम्बन गरिने सिकाई प्रयास गर्नैपर्छ । थोरै सामान्य उपायबाट पनि रिङ्गाउने समस्यालाई हटाउन सकिन्छ, जस्तो टाउको दायाँबायाँ गर्ने, बिस्तारै मुण्टो तथा गर्दन घडिको चालमा उल्टोसुल्टो साथै निहुर्‍याउने, ठाडोमात्र होइन पछाडी ढल्क्याउन खोज्नेगरेमा रिङ्गाउन कमहुँदै जानसक्छ । यसबाहेक टाउको ठाडो राखेर, टाउकोमा पालैपालो दायाँबायाँ, निधार र पछाडी घुच्चुकमा हत्केला राखेर टाउकाले घच्याडन खोज्ने र हत्केला डगमगाउन नदिने गरेमा टाउकाको साथै गर्दनको दुखाइ वा समस्या कमभई रिङ्गाउने कमहुँदै जानसक्छ । घाँटीमा रहेका रक्तनली र स्नायुको व्यायामले मगजमा सञ्चार र आपूर्ति दुबै सामान्यभई समस्या घटछन् ।

सन्तुलित र स्वस्थ रहनुः
जीवनमा हरेक विधामा आफुलाई सक्षम बनाउने, सिकाइगर्ने, सकारात्मक सोचाइ बनाउने तथा आवश्यक्तानुसार कुनै विषयमा पारङ्गतहुन करधक्त गर्नुपर्छ । उमेरहुँदै त्यसोगर्न उद्यत युवाहरूले आफ्नोसाथै परिवारको इज्जत समाजमा कमाउँछ भने पाको उमेर पुग्दा शारीरिक-मानसिक मिहेनतको कमीले त्यहि चाहाना पुरागर्न नसक्ने हुनसक्छ । पाको भएपछि धेरैजसो स्नायुप्रणालीको कमजोरी, हाडको बिचमा च्यापिने र गुजुल्टो परेर बिभिन्न अङ्गहरूमा सङ्कुचन वा नियन्त्रण अप्राकृतिकरुपले बढेको हुनसक्छ । त्यस खराबीमा धेरैजसो मस्तिष्कको कमजोरी र मेरुदण्डका नसाहरूको बितरण अबरुद्ध हुनजानाले भएको पाइन्छ । गर्दनका मसिना जोर्निहाडहरू भएर मगजमा जाने र मेरुदण्डहुँदै शरीरको तलतिर जाने स्नायुनसा र रक्तनलीमा अवरोधभएर टाउको दुखेर रिङाउने अनि शरीरका तल्लो भागहरू काम्ने भई मानसिले सन्तुलन गुमाउन थाल्छन् । मेरुदण्डको कम्मरका जोर्निहरूमा समस्याभएका पाका मान्छे ‘कटी कटकटायो, ठडिँदा शोला हान्याजस्तो दुख्छ’ भनि लौरो टेकेर हिँडदा पनि दुख्न र लरबराउन छाडेनभनि दुखेसो पोखिरहन्छन् ।

स्वस्थरहन धेरै नसके हलुका खालका व्यायाम र हिँडाई नियमित हुनु आवश्यक हुन्छ । नियमित प्रयासको फलस्वरुप मुण्टो गर्‍हौँ हुने, कम्मर दुखाई कमभई शारीरिक सन्तुलन सुदृढ हुँदैजान्छ । शरीरको अन्य कष्ट रहेपनि चलखेल र व्यायामले माँसपेशीहरू मार्फत रक्तसञ्चालन सहजहुने र स्नायु प्रणालीमा स्फूर्तिभई अङ्गहरूमा सञ्चार प्रबाह नरोकिएर दुख्ने, खुम्चिने तथा बाउँडिने समस्या घटन जान्छ । पछारिने कारण, प्रभावित स्थान र भाग थाह पाइसकिएको भए त्यसलाई केन्द्रितभएर अनुकुल व्यायाम समयलाई बढाउँदै जानुपर्छ साथै भित्री वा बाहिरी ओखती सेवनको नियमितता आवश्यक्तानुसार बिज्ञको सल्लाहमा गरिरहनु पर्छ । त्यस्तै, प्रभावित अङ्गहरूको स्थिति र जटिलता, बिज्ञको अनुमानका आधारमा चाहिँदो सहयोगी सामग्रीहरू किनेर ल्याई घरमानै दैनिकरुपले बिस्तारै बढाउने प्रयत्न गरिरहनु चाँडै निको पार्ने तरिका हो । असन्तुलन हटाउन गर्नसकिने सबैभन्दा सरल उपाय मध्येमा, दैनिक आफुलाई अनुकुल पर्ने दिनको समयमा ठाडोभई, हात चल्नेगरी र स्वासप्रस्वास बढनेगरी लम्केर हिँडने अभ्यास नै प्रमुख मानिएको छ ।

ओखतीका दुष्प्रभावः
भौतिक क्षति वा शारीरिक रोगव्याधका समस्याले हिँडाइको असन्तुलनहुनु एकपक्ष हुन भने कैयौँ वर्षदेखि धेरै ओखती सेवन गरिसकेका पाका मान्छेले उमेरिँदा थपसमस्याहरू देखिएमा थपनयाँ ओखती सेवन गर्नैपर्छ । थरीथरीका ओखतीहरू एकआपसमा नमिल्ने पनि हुन्छन् भने खाना अघि र पछि सेवनगर्ने ओखती मुट्ठिका मुट्ठी सेवनगर्दा शरीरभित्रका प्रणालीहरूमा के कस्तो प्रतिक्रिया होला ? त्यसलाई अरु कुराले नबुझै पनि कतिपय उमेरिएका पाका मान्छे अस्पतालमा बिभिन्न रोगव्याधहरूको निहुँमा भर्नाहुने अनि कलेजो बिग्रियर बितेका किन होलान ? कहिल्यै मापसे नगर्ने सबै वयस्क र उमेरिएकाहरू पनि अन्तिममा कलेजोकै समस्याले किन हामीलाई चाँडै छोडेर गएका होलान ? ओखती कम सेवनगर्नेमा किन थोरै मात्राले पनि राम्रो प्रभाव पार्छ ? किन भित्र्याँसका समस्या धेरै ओखती सेवनगर्नेलाई भएको देखिन्छ ? ओखतीको दुष्प्रभावले गर्दा नै मिर्गौला र फोक्सोको समस्याभएर अस्पताल भर्नाभएकाहरू अन्तिममा कलेजोले साथ नदिएर मृत्युभएका पाकाका थुप्रै परिवार नेपालमा भेटिन्छन् । फेरि अर्को तथ्य पनि के हो भने ओखतीको सदुपयोग र शरीरभित्र सोसिने शक्ति उमेरअनुसार भएको तथा उमेरिँदा कमहुने भएकाले एकअर्कामा सोझै मिसिदा प्रतिक्रिया हुने अवस्था आउँने हुन्छ । त्यस्तो मिश्रणले सोझै मरणासन्न बनाउनेदेखि बिभिन्न अङ्गहरू बेकामे हुने, निर्देशित काम गर्न नसक्ने, हातगोडा काम्ने र पुरै शरीर असन्तुलित बनाउन उकास्ने हुनथाल्छ । केही चाल बिगार्ने र असन्तुलित गराउने ओखती अन्य रोगकालागि ‘रामबाण’ भएपनि तुरुन्तै मिसिदा वा अतिमात्रामा हुँदा शरीरको सन्तुलन बिगार्छन् ।

त्यस्ता ओखतीमाः अवसादग्रस्त हुने, बिर्सने, उन्माद रोकथामको ओखतीले रगत जम्ने प्रक्रियाबिरुद्ध रगत र स्नायुहरू सक्रिय तुल्याउन छानिएका सेरोटोनिन पुर्नप्राप्ती अवरोधक तत्वभएको (एसएसआरआई) र सेरोटोनिन स्नायुनेफ्राइन पुर्नप्राप्ती अवरोधक भएका (एसएनआरआई) कारणले अतिसेवन तथा प्रतिक्रियाहुँदा शरीरलाई असन्तुलित बनाउन सक्छ । मानसिक चिन्ता हटाउन मद्दतगर्ने बेन्जोडाइजिपाइनस जस्ता ओखतीले कडा प्रतिक्रिया पनि दिनसक्छ । पेट बाउँडिन, दुखाई घटाउन, उन्माद र अल्ज्हाइमर जस्ता रोगमा प्रयोगहुने ओखतीले पनि उक्तरोगमा फाइदा गरेपनि अतिसेवनपछि शरीरलाई असन्तुलित बनाउन सक्छ । एन्टीहिस्टामिन ओखती प्राय आन्तरिक प्रतिकार लक्षण नियमनगर्ने, प्रतिरोधि क्षमता बढाउन उत्त्प्रेरितगर्ने, विभिन्न मौसमी रोगव्याधलाई कामलाग्ने एमाइन समुहको हुन्छ । यसले सङ्क्रमणलाई निकोगर्छ तर कतिपय पाका मान्छेलाई लट्ठ्याउने र निद्रालागेझैँ भएर गतिमा बाधा पुर्‍याई मादकपदार्थ सेवनगरेको अवस्थामा जस्तो असन्तुलित बनाउन सक्छ । रक्तचापको घटीबढिमा सेवनगरिने ओखती बिभिन्न जैविक रसायन निस्काशन वा नियन्त्रणगर्ने भएकाले नियमित सेवनबाट दीर्घकालमा असन्तुलित पार्नसक्छ । पिसाब बढि लगाउने, क्याल्सियमको लुन्द्रो रोक्ने, एसिइ रोक्ने, उच्चरक्तचाप रोकथाममा मद्दतगर्ने (एआरआइबि) जस्ता रसायनिक पदार्थले सरिरमा बिभिन्न प्रभावपारी चाल बिग्रन्छ । मधुमेह नियन्त्रणमा प्रयोगहुने इन्सुलिन, ग्लुकोट्रोल तथा ग्लाइबुरिड आदिले असन्तुलन गराउन सक्छ । मुटुरोगका बिटा नियन्त्रक र नाइट्रेटस् जस्ता रसायनका अति दुष्प्रभावले सन्तुलन बिगार्ने गर्छ । अति पिडाहुँदा प्रयोगगरिने अफिम सम्बन्धित र स्नायुप्रणालीका बिगारमा सेवनगरिने ओखतीले पनि लट्ठ्याएर झुमझुम लाग्नेभएर कतिपय उमेरिएका मान्छे अर्धनिद्रामा हिँडेझैँ असन्तुलित गराएको पाइन्छ । त्यस्तै समस्या ‘धतुरो, अफिमका दाना, भाङ, गाँजा र घोट्टा, आदि सेवनले पनि शरीर दुखाई, निद्रा समस्या, सुत्केरी पछि महिलाको आङ बाँध्छ’ भनि सेवनको अत्यधिक मात्राले हिँडाई र शरीरका क्रियाकलाप असन्तुलित भएको पाइन्छ । कष्ट कमगर्ने भनेपनि त्यस्ता जैविक बस्तुका सेवनले पनि क्षणिक फाइदा देखिएपनि शरीर कमजोर बनाएर सुकाउने र सामान्य उछलकुदमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ र स्नायुका समस्या बल्झन सक्छ । निद्रा कमलागेर निद्रापर्ने ओखती नियमित सेवनगर्ने पाका मान्छेहरूलाई एम्बिएन जस्ता औषधिले लागुपदार्थ खाएझैँ हुन्छ र सन्तुलन बिगार्छ ।

अन्त्यमा,
धङधङी लागेको भन्नु शारीरिक असन्तुलन र असन्तुलित गतिविधि हो । शारीरिक कमजोरी तथा स्नायुप्रणालीको केन्द्रिय, परिधिय र स्वेच्छिक प्रणालीको कमजोरी वा रोगव्याधले हुनेगर्छ । विशेषगरी मेरुदण्डको गर्दन र कम्मर भागमा हाडको समस्या तथा त्यहाँ स्नायुको बितरण क्षेत्रमा गुजुल्टिने, खिइने, च्यापिनेभएर हातगोडा राम्ररी नचल्ने, झमझमाउने भई पुरै शरीरको सन्तुलन अप्राकृतिक र लठेब्रो हुनजान्छ । त्यस्तो बाहेक उमेरिँदा रोगको खानीजस्तो शरीरभई विभिन्न खतरनाक रोग लागेमा एकअर्को सङ्गै सेवनगर्न नमिल्ने ओखती खानुपर्ने नीयतिमा ओखतीकै दुष्प्रभावले पनि पाका मान्छे लरबरिँदै हिँडन बाध्यभएको पाइन्छ । ‘आयुर्वेदिय ओखतिले नकारात्मक प्रभाव पार्दैन’ भन्ने नाममा अफिमजन्य, रक्तचापका ओखती उचित मात्रा र समयभन्दा बढि सेवन भएमा जोकोही उमेरसमुहलाई त धङधङी गराउँछ । अझ उमेरिएका पाका मान्छे झनबढी प्रभावित भई उपियाँ फडके जस्तै खुट्टा उफार्दै, आँखा रसिला रातोपारी र ओठबाट र्‍याल चुहाँउदै दलदलमा नाच्दै हिँडेझैँ गरेका नेपालमा पनि देखिन्छन् । बेलैमा रोग निदान। उपचार र ओखती प्रभावलाई नाटिकुटीकासाथ खानपानमा परहेजगरी सतर्करहेमा त्यसो हुँदैनहोला ! त्यसैले, उमेरिएका पाका भएका घरका परिवारले ‘बुढाबुढीका व्यथा यस्तै हुन्’, भनि हेपेर ‘छिः छिः दुरदुर’ भन्दा चासो बढिगरेर रोगको नियोजनतिर गएमा परिवार र उहाँहरूको सन्तोष सहित हेरचाह राम्रोगरेको यशलिन हामी चुक्नुहुन्न, है !

०००
चालिसे डाँडा, ललितपुर
कार्तिक १६, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x