साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तुलित जीवन वृद्धावस्था

वृद्धावस्थाले जीवनलाई परिपूर्ण बनाउन अद्भुत अवसर दिन्छ । सह-अस्तित्व र एकान्तको सन्तुलनले मात्र जीवनलाई सार्थक बनाउँछ । यो अवस्था जीवनका अनुभवलाई आत्मशोधन र ईश्वरप्राप्तिको मार्गमा बदल्ने समय हो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

संसारका धेरै चिजहरू सुखद, आकर्षक र प्रिय लाग्छन्, भने केही अप्रिय छन् । मानिसले चाहे पनि दुःख र सुखका यी दुई ध्रुव छुट्टाउन सक्दैन । यी जीवनका अपरिहार्य पाटा हुन् । दिनभरको थकाइपछि निद्राले आराम दिन्छ, तर फेरि कर्ममा फर्किनुपर्छ । स्वादिष्ट भोजन, प्रियजनहरूसँगको समय र सुखद स्पर्श मनलाई तान्छ, तर यिनलाई सधैं पाउन सकिँदैन । यसले जीवनको उद्देश्य सुख मात्र होइन भन्ने स्पष्ट पार्छ ।

साँचो जीवनका लागि सुख-दुःख, सुविधा-कठिनाइ, सह-अस्तित्व र एकान्तबीच सन्तुलन आवश्यक छ । जसरी कर्मयोगले निष्काम सेवा र गहिरो आत्मचिन्तनमा जोड दिन्छ, मानिसको सामाजिक जीवनमा पनि उस्तै समन्वय चाहिन्छ । सामाजिक घेरामा मात्र बाँधिएर जीवनको गहिराइ बुझ्न सकिँदैन, न त एकान्तमा मात्र बसेर समाजको आवश्यकतालाई बुझ्न सकिन्छ ।

१. सह-अस्तित्व र एकान्तको आवश्यकता-
सामाजिक जीवनले मानिसलाई व्यवहारिक बनाउँछ । स्नेह, सहिष्णुता, उदारता र दयाका गुण समाजसँगको सहकार्यबाट मात्र सम्भव छ । आत्मिक चेतनाको खोज एकान्तमा हुन सक्छ । तर, सह-अस्तित्वले मात्र मानवीय सम्बन्धलाई बलियो बनाउँछ । जस्तै- प्रेमले मानिसलाई ईश्वरसम्म पुर्याउन सक्छ । तर, यसको आधार समाजभित्रै खोज्नुपर्छ ।

ऋषिहरूको जीवन सह-अस्तित्व र एकान्तको सन्तुलनको उत्कृष्ट उदाहरण हो । उनीहरूले गृहस्थ जीवन बिताउँदा आत्मचिन्तन र आत्मशोधनका लागि समय छुट्याए । बाहिरी वस्तुहरूमा आत्मिक शान्ति खोज्न सकिँदैन । शान्त वातावरणमा चिन्तन गरे मात्र साँचो उत्तर पाइन्छ ।

२. एकान्तको महत्त्व-
एकान्त आत्मशोधन र गहिरो चिन्तनका लागि अपरिहार्य छ । कोलाहलले मनलाई सतहमा मात्र राख्छ । एकान्तले मानिसलाई गहिराइमा डुब्न प्रेरित गर्छ । ऋषिमुनिहरूले विज्ञान र आध्यात्मिक खोजका लागि एकान्त रोजे । एकान्तले मनलाई विचारको समुद्रमा मोती खोज्न मद्दत गर्छ ।

तर, नितान्त एकान्तले मानिसलाई समाजबाट टाढा लैजान सक्छ । आत्मतत्त्वको खोज एकान्तमा भए पनि व्यवहारिक जीवनका सद्गुण समाजमा मात्र परिमार्जित हुन सक्छन् । सह-अस्तित्वले विचारहरूलाई विस्तार गर्छ । एकान्तले गहिरो आत्मचिन्तनको आधार प्रदान गर्छ ।

३. वृद्धावस्थाको विशेषता-
वृद्धावस्था सह-अस्तित्व र एकान्त दुवैको समन्वय गर्न सक्ने अद्वितीय समय हो । यो जीवनको अन्तिम चरण हो । यसमा मानिसले भोगेका अनुभवलाई आत्मकल्याणतर्फ मोड्न सक्छ । यस अवस्थामा मोह-ममताका भावना बढ्न सक्छन् । तिनमा नियन्त्रण राख्न सकिएन भने दुर्दशा हुन्छ ।

गृहस्थीका कर्तव्यबाट क्रमशः अलग हुँदै आत्मकल्याणमा केन्द्रित हुन वृद्धावस्थाको सही उपयोग गर्नुपर्छ । यो समय आकर्षक नलाग्न सक्छ, तर यो नै जीवनको गहिरो अर्थ बुझ्ने अवसर हो । समयमै यसको तयारी नगर्नेहरू पछुताउन बाध्य हुन्छन् ।

४. सन्तुलित जीवनको सूत्र-
वृद्धावस्थाले जीवनलाई परिपूर्ण बनाउन अद्भुत अवसर दिन्छ । सह-अस्तित्व र एकान्तको सन्तुलनले मात्र जीवनलाई सार्थक बनाउँछ । यो अवस्था जीवनका अनुभवलाई आत्मशोधन र ईश्वरप्राप्तिको मार्गमा बदल्ने समय हो । पाकेका अन्न जस्तै, वृद्धावस्थाको सही उपयोग गरिएन भने जीवनको उद्देश्य अधुरै रहन्छ ।

सम्झनुहोस्, जीवनका प्रत्येक चरणको आफ्नै महत्त्व छ । वृद्धावस्थालाई सचेत रूपमा आत्मचिन्तन र समाजसेवाको सन्तुलनमा लगाउन सके जीवनको सार्थकता महसुस गर्न सकिन्छ । यो अवस्था कुनै अन्त्य होइन, बरु नयाँ जीवनको सुरुवात हो ।

०००
२०८१ माघ ७ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x