साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाप्रति परिवार, समाज र राज्यको दायित्व !

पाकापाकीले प्रयोग गर्ने विशेष ओखतीमा प्रष्टहुने अक्षरको छपाई तथा विशेष किनमेल पसल कायम गर्न बडा–बडामा पाका मान्छे सङ्गठित भई प्रयाश भइरहेको सन्दर्भमा सरकार किन आँखा चिम्लन्छ शङ्का गर्ने प्रशस्त ठाउँ छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मानिसहरूलाई उमेरका आधारमा बर्गीकृत गर्दा शिसु, बालबालिका, किशोरकिशोरी, तन्नेरी, वयस्क, अधबैँशे, पाको, पाका, अतिपाका र शताव्दि भनि छुट्याइएको पाइन्छ । ज्येष्ठ नागरिक भन्नाले अहिलेको सरकारी/गैह्रसरकारी बोलीमा साठी वर्ष नाघेका बुझिन्छ तर चलनमा पाको (६०–७३ वर्ष), पाका (७४–८७), अतिपाका (८८–९९) र शताव्दि (१०० देखि माथि) बुझिन्छ । नेपालको अवस्था र कामको जिम्बेवारीको हिसाबले बिचारेरै होला शारीरिक मानसिक ओह्रालो लागेको अवस्थामा सेवानिबृत्त हुने उमेर हरेक प्रकारका सेवा र पेशामा उमेरहद फरकफरक छ । के यसले सामान्यतया पाको वा ज्येष्ठ नागरिकको पदवी लगाउने पेशाहदको उमेरले अन्याय र विभेद भएन र ? के सेवानिबृत्त हुँदा त्यसोभए पाको वा बुढो होइन्छ त ? किन उमेर हद, त्यहि पनि फरक फरक सबैका लागि सक्षम असक्षम नहेरी ‘जुवाडेको घप्पु खेलझैँ’ त्यस्तो गरेको होला ?

सेवानिबृत्त भएपछि समसामयिक बजारमा काम पाइने शिप भएका पाकाहरूलाई सकृय हुन उमेरहदले छेक्दैन । धेरै नभए पनि अलिअलि काम पाएर दैनिक रोजगारी उपलव्ध भई आय आर्जनको बाटो बाँकी रहन्छ । कतिपय घरायसी सुबिधा र स्वास्थकै कारण तोकिएको उमेरहद पछि काम गर्न चाहँदैनन् तथा सामान्य निस्कृय जीवन बिताउन चाहान्छन् वा बाध्य हुन्छन् । फेरि कति बिभिन्न अडचनले (आफ्नै स्वास्थ्य वा सिफारिसको भर्‍याङ लगाइदिने नभएर योग्य पनि अयोग्यझैँ घरकाजमा) थन्किनेमा पर्छन् । जुन ठाउँमा ज्ञानको खासै इज्जत हुँदैन, त्यहाँ मणि पनि मट्याङ्ग्रासरी फाल्लिनु के अचम्भ भयो र ? नेपालमा बिरलाकोटी ज्ञानको सम्मान भएको देखिन्छ, यहाँ उत्कृष्ट विद्यार्थीले सिफारिस वा दामको चलखेल नगरी मुस्किलले काम पाएका हुन्छन् ! अचेल त झन दलहरूमात्र होइन, त्यसको कुन गुटको पछिलाग्नु पर्छ ? त्यो समेत जान्नुपर्छ, त्यसैले यो घनचक्कर बुझ्‌नुभन्दा विदेशिनु र तल्लै स्तरको काममा जीविकोपार्जन गर्न हरेक युवा बाहिरिन खोज्छन् । उमेर नाघेका, ओरालो लागेको उमेरमा सम्बन्धित निकायले काम लाग्दैन भनेझैँ अवकास दिएकाहरू दुखसुख यतै लरखराउनु नै बेश ठान्छन् ।

पारिवारिकः
बर्गिय समाजमा परिवारका सदस्यहरूको हुर्काइ–बढाई बर्गअनुसारनै भएको हुन्छ भने सिक्ने वातावरणमा परिस्थिति अनुकुलका उस्तै वर्गकाहरू सँगनै भएको हुन्छ । आफूभन्दा कमजोरसँग निकटता रहे पनि माथिकाहरूसँग हेपिने भएर सम्बन्धनै हुँदैन भन्न सकिन्छ । चाहना चाहिँ आफूमाथिका बर्गको स्तरमा पुग्ने र वर्षभरी नसके पनि चाडबाड तथा अरुसँगको व्यवहारमा त्यहि वर्गको नक्कलमा प्राय ठस्सा गर्न कोशिस धेरैमा हुन्छ । कति यस्ता परिवारमा हुर्किएका मानिसहरू उमेरिदैजाँँदा धेरैजसो अन्तरमुखी हुँदैजान्छन् र आफ्ना बिगतको ठस्साले थप शोषण, उत्पीडन र दुख सम्झेर मुजापरेका अनुहारमा विषादको रन्कोमात्र बुझिने व्यथा अभिव्यक्त गरिरहेका पाइन्छन् । अहिलेको बजारमुखी व्यवस्थामा मानविय श्रमको मूल्य विदेशतिर बढि पाइने हल्लाले, भएको मोहियानी साहुलाई सुम्पेर, पैसो बन्दोवस्त गरी छोराछोरी विदेशी कामदार बनाउन बिचौलियाका शरणमा परेका धेरै हुन्छन् । यस्ता परिवारमा उमेरिएका इमानी पाकाहरू ज्यानले सकेको दिउँसोको उज्यालोमा शारीरिक काम अझै गर्दै हुन्छन् । केहि नसके घर कुर्ने र भुराभुरी भए धरालो बस्ने तथा आउनेजानेको खातिरदारीमा बसी घरका सकृय सदस्यहरूको काममा सघाउँछन् ।

उपल्ला बर्गका मानिसहरूमा आधुनिकता र कामको बेफुर्सदीको आडम्बरले मासिक वा वार्षिक दाम खर्च गरेर वाइफाई राख्ने र आउनेजानेसँग भलाकुसारी साटो अल्झाइराख्न भनेर चुप लगाउने परिपाटी अचेल नवधनाढ्यहरूमा प्रसस्त देखिएको छ । त्यतिमात्र होइन अगाडि बसे पनि कि छोराछोरी विदेशिएको कि ‘के गरेका हुन् रातरातभर कम्प्युटरमा अल्झिरहन्छन्‌’ भन्दै आफ्नो हैसियत बढेको र आधुनिक भएको छनक दिन्छन् । अलि माथ्ला आर्थिक स्रोत भएका चाहिँ आफ्ना परमआदरणीय मान्यजन अभिभावकलाई आफैँ सेवा–सुशुर्षा गर्दाको स्नेहको मायालु सम्बन्ध राख्नुपर्नेमा ज्यालाका हेरालु राख्ने गर्छन् । अलीकम आय वा सन्तान परदेशिएकाहरू आफैँले दुख्खम–सुख्खम सँगै राख्दा अल्झो हुने झञ्झट र फुक्काफाल हुन रोकावट मानेर मासिक परल ज्याला दिई नेपालकै शहर–बजारका हेरचाह केन्द्रमा थक्याउने पनि हुन्छन् । पछिल्लो खेप सामाजिक मर्यादा र लोकलाजलाई पुरातनीया, पश्चगामी बिचारको ठप्पा लगाई एकल परिवारको व्यक्तिवादी सोचले आफ्नै अभिभावकलाई समेत ‘मानविय दया–मायाले नजिकराख्नु कर्तव्य हो’ भन्ने पनि तिनका विवेकले सम्झँदैन ।

सानैदेखि पाएको औपचारिक र अनौपचारिक शिक्षाको कारणले पनि अहिलेका युवा तथा वयस्कमा पाका मान्छे प्रतिको धारणा साथै व्यवहार दुष्ट्याइँतिर उन्मुख देखिन्छन् । हाकाहाकी कुराकाटने मात्र होइन, अमानविय व्यवहारसमेत भएर अलपत्र परेका उमेरिएका पाका–पाकी मानिसहरू बाटाघाटा र मठ–मन्दिरमा देखिनु नेपालमा अहिले अनौठो रहेन । बाटोघाटोमा अस्तव्यस्त भई बेहोश वा दुर्घटनामा परेका मान्छेलाई खोजमेल नगर्नु, अशक्त भएको छ भने नजिकको उपचार गरिने केन्द्रतिर नलग्नु र सुरक्षा निकायमा खवर नगर्नु थप अमानविय स्वभाव देखिन्छन् । अरुलाई नगरे पनि आफन्त, अझ आफ्नै बाबुआमालाई वेवास्ता गरेकाले मन भुटभुटिएर पाका मान्छे घरबाट अनिश्चित जीवनका लागि निस्कन्छन् । त्यस्ता अभिभावक बेलाबेला सबै खालका प्रचारका खवरमा व्यवारिसे उमेरिएका मान्छेहरूका लास भेटिएको सूचनामा ‘अचेलका मान्छेका मुखबाट चुक्क–चुक्क समेत आउने नसुनिनु र खवरका पात्र बन्नु’ यस्तो हृदयबिदारक मनोविज्ञानले हामीलाई कहाँ लैजाला ? के अबको समाज प्राकृतिक अनुसाशन र स्रोत भबिलाष्ट बिगार्ने, अमानवीय, सम्बेदनहिन मानिस भन्ने प्रजातिको झुण्ड बढाउनेतिर जान लागेको हो र ?

संसारको केहिभागमा गरिएका त्यस किसिमका प्रयोगलाई हामीले नक्कल गर्नैपर्छ भन्ने छ र ? ‘आधुनिक वा अहिलेका केटाकेटी’ भनेर पुग्दैन बहुजनहितायको शाश्वत प्रमाणित ज्ञान र दर्शन मार्फत आफ्ना बालबच्चा दीक्षित गर्न कञ्जुस्याइँ गर्ने बाबुआमामा उमेरिदा दुखको मेसो पसेको प्रष्ट देखिन्छ । सिक्ने, बुझ्‌ने तथा अघिल्लो पुस्ताको ज्ञानलाई उच्च कदरगर्दै त्यसमा आफूले थपेर अघि बढ्न हौस्याउनु हरेक पुस्ताको अघिल्लो पुस्तालाई दिइने सबैभन्दा बुद्धिमत्तापूर्ण उपहार हो । नत्र त बैदेशिक र आन्तरिक शत्रुबिरुद्ध लडेको भनि धाक लगाउने तथाकथित मालिकहरूले हजारौँको अनाहक बलिदानपछि आफ्ना सन्तानलाई उज्यालो भविष्यका लागि भन्दै तिनै देशमा उच्च शिक्षाको लागि घुँडा धसेको प्रमाणित भएन र ? जस्ता बाबुआमा उस्तै छोराछोरी, भनेझैँ आखिर मानविय जीवनको अन्तिम कथा त, बाबुलाई अशक्त भएपछि भिरबाट गुन्ट्याउन हिँडेको आफ्नो बालाई नातीले ‘तपाइँ बुढो भएपछि फाल्न चाहिन्छ डोको फिर्ताल्याउनोस् बा’ भनेझैँ स्थितिनै हो नि, हरेक परिवारको !

समाजिकः
आफू बसिरहेकै समुदायमा पाका महिला र पुरुषले उमेरिदा समाजमा गरिनुपर्ने सामुहिक हितका कामलाई अघि बढाउन अगुवा तप्कालाई मरमद्दत गर्ने र अरुले सुरु नगरे जत्ति बुझेको त्यत्तिबाट आफैँ सुरु गर्ने अभियान नै चलाउनु पर्छ । पाकाहरूको स्तर र स्वास्थ अवस्थानुकुल जमघट, अनुभव आदान–प्रदान, साक्षरता, प्राथमिक उपचार, मनोरञ्जन, साहित्य, खेलकुद, चाडपर्वको भेलासाथै उनीहरूका विषयक कार्यक्रम सञ्चालित गरिनु पर्छ । सरकार वा उमेरजन्य हिसाबले पाउने सुविधालाई शारीरिक कारणले अशक्त भएमा बासस्थानमा नै पहुँच बनाइदिने तारतम्य मिलाउन अग्रसर हुनुपर्छ । ठाउँ–ठाउँ पुग्नसक्नेलाई आवधिक सूचना सम्प्रेषित गर्न सचेतना कार्यक्रम हुनैपर्छ, कोरोना कालमा विविध खोप बारेमा रहेको अन्यौललाई चिर्न यस्ता सामाजिक हितमा गठन गरिएका समुह भए काम लाग्थ्यो । हरेक वडामा रहेका उमेरिएका पाका महिला–पुरुषका आँकडा, उनीहरूका ज्ञान, शिप र अवस्थाको लिखत राखेर अवस्थानुसार शारीरिक–मानसिक काम गर्न सक्ने, कमसक्ने साथै अक्षमको लगत अनुसार सामुहिक हितमा सदुपयोग गर्ने बारेमा सामाजिक संस्थाले पनि जोड गर्नुपर्छ ।

अहिले ज्ञान, शिप तथा अनुभवले खारिएका पाका–पाकीहरू सेवानिबृत्त भएपछि धेरै मात्रामा सामान्य मध्यम बर्गका आरामी गर्छन्, न्युन बर्गका काम खाज्ने गर्छन् भने उपल्लो बर्गका प्रतिष्ठाको लागि ठाउँठाउँमा सल्लाहकार बन्छन् । नेपालको वर्तमान परिस्थितिमा द्रव्यलिप्त भएका अझै विभिन्न गुटका मुखियाको चाकडीमा दैनिक धाउने गरेको पाइन्छ । साँञ्च्ची यस्ता मान्छे उमेरिदा त्यस्तो गर्छन् भने तिनका सन्तानहरू पछि के गर्लान् होला ? वर्तमानको सामाजिक समस्यालाई अति नकारात्मक आँकेर सन्तानहरू विभिन्न बहानामा विदेशिन तम्सिन्छन् । यहीँ बसेर जीविकोपार्जन पनि गर्दै सामाजिक परिवर्तन गर्नुपर्ने तथ्य जान्ने–सुन्ने भनाउँदा पनि मन बलियो पार्दै लाग्दैनन् । त्यसैले त युवायुवतीहरू व्यक्तिवादी आनन्दतिर पो कम्मर कस्छन् नि !

आफैँले रगत बलियो हुँदा गरेका काम र गतिविधिमा पश्चाताप गरेको हिजोआजका पुराना मै हुँ भन्नेले गरेको देखिन्छ । ‘सन्तानलाई आफूले गरेको गल्ती नदोर्‍याउन ह्याकुलाले पेलेर बिदेश पठाउने जमर्को गर्ने तथाकथित पाकाउमेरका बुद्धिजीवी’ अहिले बजारमा गिन्ती गरेर के साध्ये ? सरकारले लखेटेर र स्वइच्छाले विदेशिए भने त्यस परिवारमा उमेरिएका मानिसहरूमा कस्तो प्रभाव परेको होला ? नुनिला आँसु आँखाभरी पार्दै फलानो देशमा मेरो फलानो भन्ने बाहेक अरु के भन्न सक्लान् र ? यस्तो अवस्थाका पाकाहरू पक्कै पनि मानसिक रुपले एक्लोपनको शिकार हुनेगर्छन् र अन्त्यमा उन्माद रोग लागेर शारीरिक हिसाबले कमजोर हुँदै परिवार वा समाजकै अनुत्पादक बोझ बन्ने खतरामा हुन्छन् । तत्कालका युवा जमात आफ्ना मोज–मस्तिमा वयस्क हुँदासम्म रहलान् तर उनीहरू नै पाका हुँदा तिनका सन्तानबाट चाहिँ कस्तो व्यवहार फिर्ता पाउलान्र ? अहिले उमेरिएकालाई नहेर्ने सन्तानले आफैँ उमेरिदा दुख नपाइयोस् भनेर पनि त्यस्ता असामाजिक बिचार अहिलेका कलिला बाल–बालिकालाई नगरुन् भनी सिकाउनु जरुरी छ । यस प्रक्रियालाई बेलैमा प्रयोग गर्न समाजका जिम्बेवारले सकृय भई लाग्नैपर्छ ।

ससाना बालबालिका र विद्यालय स्तरका क्रियाकलापमा अभिभावक भेटघाट र अन्य कार्यक्रममा घरका अक्षमबाहेक सकेसम्म पाकापाकी जाने गर्नुपर्छ । खासगरी विद्यालय स्तरसम्म ल्याइ–पुर्‍याई गर्ने बालबालिका घरमा भएका परिस्थितिमा उमेरिएका मानिस जानाले सन्तानलाई अभिभावक प्रति गरिने कर्तव्य बोध र सम्मान कायम रहन्छ । एक पुस्ता मुनिकासँग पाकापाकीको सम्बन्ध राम्रो मात्र होइन, एकअर्कामा आफ्ना कमजोरी निर्धक्क भन्ने र स्विकार गर्ने मनोविज्ञान पनि बलियो हुन्छ । त्यसैले त पाकोपाकीसँग बाल–बालिका उमेरसमुहले विवाद र ढाँट्ने काम कम गर्ने वैज्ञानिक प्राध्यापकहरूको अनुसन्धानले देखाएको छ । संयुक्त परिवारमा रहेका र घरका उमेरिएका मान्छेका नियमनमा रहेका केटाकेटी र किशोर–किशोरीहरूले कक्षा बहिष्कार गर्ने, लागुपदार्थहरू सेवन गर्ने, अभद्र व्यवहार गर्ने, ढाँट्ने र चोर्ने काम गर्दैनन् । त्यस्ता परिवारमा हुर्केका, अध्ययनमा अब्बल त हुन्छन नै, नभएपनि बिग्रेका असामाजिक चाहीँ हुँदैनन् । सामाजिक चलनकोरुपमा यस्तो आचरणगर्न सामाजिक जमघटमा पनि छलफल आयोजना गराउनु पर्छ भने पाकाको लागि बगैँचा निर्माण, बाटो छेउमा सहज बिश्रामस्थल, ठूलो बाटोमा बाटो काटने विशेष व्यवस्था सँस्थाहले पनि गर्नसक्छन् ।सहर–बजारमा पनि पाका मान्छे एकजुट हुँदा मर्दा–पर्दा सकेको मद्दत तथा उमेरिएका साथीलाई हेरबिचार, ढाडस र कुर्न सहयोग पुग्नसक्छ ।

राजकियः
भत्ता, हेरबिचार, अधिकारको सुनिश्चितताको कानुननै बन्नुपर्छ । सेवानिबृत्त भएपछि क्रियाशिल जनशक्ति बाहिरीएको अहिलेको अवस्थामा राज्यलेनै शिप र क्षमताअनुसार सम्बन्धित निकायमा सकुञ्जेल काममा लगाई पाकाहरूलाई उत्पादनमूखि र आत्मनिर्भरताको स्तरमा उकास्नु पर्छ । हरेक कार्यक्रममा पाका अनुभविलाई कम्तिमा सरसल्लाह तथा ज्ञानको विनिमयगर्ने मौका दिइनु पर्छ । उमेरिएका मानिसको प्राथमिकता कमहुँदा जापानजस्तो बिकसित देशमा सन्तान बाहिरीएका पाकापाकीका लासहरू घरघरमा भेटिएर तिसहजार बढि प्रशारणमा आएकोमा कसको चित्त दुखेन होला ? के भौतिक सुबिधा, बादशाही सुख र धेरै आयुसम्म (१०० वर्ष) बाँच्ने देशको नाकमा कालो धसिएन र ? हो, त्यहाँ उमेरिएका पाकापाकीले प्रत्यक्ष गल्ती गरेमा सन्तानले दण्ड पाउने कानुनी प्रावधान छ तर सन्तानको अतिमायाले अभिभावक दुखमा पनि उजुर गर्न कहाँ जान सक्छन् र ?

नेपालमा उमेरिएका मानिसहरूको तिन तहको (सक्षम, कमसक्षम र अक्षम) वडावडामा लगत राख्ने र राज्यलेनै उनीहरूको ज्ञानबाट समाजको हितमा शारीरिकमानसिक श्रमको उपयोग गर्ने निर्देशिका लागुगर्नु पर्दछ । राज्यले गर्ने सहयोगमा आर्थिक क्षमता अनुसारनै उहाँहरूको भत्ता र अन्य विधामा बर्गिकरण गर्नुपर्छ । उहाँहरूको सम्पूर्ण सम्पतीमा एकलौटी अधिकार कायम गरी स्वइच्छामा भोगचलन, बिक्रिबितरण तथा दानदातव्य गर्नसक्ने कानुन बनाइनै पर्छ । पाका मान्छेको गुनासो, उजुर तथा सार्वजनिक हितमा बोल्न पाउने अधिकार कायम हुनुपर्छ । नेपालको हालको जनसाङ्खिक अवस्थामा बालिग मताधिकारको सन्दर्भमा ४० प्रतिशत भन्दा बढि भएकाले हरेक किफायत दिइने र प्राथमिकता दिइने क्षेत्रमा उमेरिएकाको प्राथमिकता आधा पार्ने, नसके उहाँहरूको मौजुदा प्रतिशत बराबर पक्षपोषण हुनैपर्छ ।

राज्यले सम्पूर्ण पक्षमा पाकापाकीहरूको देशभित्रको उपस्थितिलाई ध्यानदिँदै मानविय सुबिधा मिलाउने कानुनी अवधारणका साथ अघिबढनु वास्तविक लोकतान्त्रिक सरकारको कर्तव्य भएकोले त्यस्तो सरकार भए–नभएको चिन्ह पनि यही हो । अब  संविधानमा समाजवाद उन्मुख वा देशकै नामको अगाडिमात्र समाजबादी भनिनु ‘निलकाँडाको जङ्गललाई हेरेर नेपालको धन हरियो बन, गफ्फिने प्रपञ्चमात्र’ भन्ने ठहरिएको प्रमाण सँँसारका धेरै नै निरङ्कुस सावित भएका देशहरूको दिइसकेको पाइन्छ । शैक्षिक क्षेत्रमा हाल चालुरहेको देश तथा जनताप्रति जिम्बेवार नहुने, विदेशमुखि र कमारा बनाउने पाठ्यक्रम परिवर्तन गरेर देशमानै काम पाउने पाठ्यसामग्री सहित शिक्षाका हरेक क्षेत्रमा लागु गर्नु पर्छ । जनवादी र प्रजातान्त्रिक शिक्षाको नाराबाट, मात्र आन्दोलन उठाउन त मिल्ला तर भन्नेहरूका केटाकेटीहरू विदेश दौडाएकोबाट, जनताले यसै परिपाटीबाट आउँदैन भनी बुझिसके । पाकापाकीले प्रयोग गर्ने विशेष ओखतीमा प्रष्टहुने अक्षरको छपाई तथा विशेष किनमेल पसल कायम गर्न बडा–बडामा पाका मान्छे सङ्गठित भई प्रयाश भइरहेको सन्दर्भमा सरकार किन आँखा चिम्लन्छ शङ्का गर्ने प्रशस्त ठाउँ छ ।

नेपालको साधन स्रोतको उपयोग गर्ने, स्थानिय तहमा नै कामलाग्ने र सोही विषयमा उच्चशिक्षा लिनसकिने पाठ्यक्रम बनाउन देशमा जनशक्तिको अभाव छँदैछैन । हो, पहुँचवाला र सरकारको हालिमुहाली गर्नेका दृष्टिकोण र जनताप्रतिको उत्तरदायीत्व, कर्तव्य र देशभक्तिको जगमा रहेको बैचारिक हतियारले बेष्टित हुनुपर्छ । त्यस्ता व्यवहारिक शिक्षामा पाकाशास्त्र तलदेखि माथिसम्म प्राथमिक, माद्यमिक, उच्च–माद्यमिक र विश्वविद्यालय स्तरमा राखिनु अनिवार्य गरिनुपर्छ । उमेरिएका मानिसका लागि सरकारी प्राथमिकतामा ठाउँठाउँ सहज, छुटका किनमेल तथा ओखती पसलहरू खोल्ने, अस्पतालमा पाका मान्छेका लागि सहयोगी स्वयम–सेवकको व्यवस्था गर्ने यातायातमा बस्ने धेरै अग्रभागमा स्थान बनाउने काम सुरू गरी हाल्नुपर्छ । बचत लगानीमा पाकापाकीको प्राथमिकता, बढि व्याज भए र सहज निकाल्ने प्रविधि भए धेरै गाडधन तथा उमेरिदा चाहिन्छ भनी राखिने रकम सबै सरकारको खातामा जम्मा हुने सम्भावना हुन्छ । यसले निश्क्रिय पूँजि परिचालन भएर सरकारलाई नै फाइदा पुग्नजाने र बचतलाई परिचालन भई विकसमा सहयोग नै हुनेछ ।

प्रचारप्रसार र प्रशारणमा शिष्ट, सभ्य तथा उमेरिएकालाई लक्षित गरेर बनाइएका सामग्री प्रयोगमा प्राथमिकता दिने सँस्कार बसाल्न सरकारी तहबाट सुरु गर्नुपर्छ । परिवार सबै हाँसीखुसी बसेर पढ्न सकिने, हेर्न सकिने र भन्न सकिने सामग्रीमात्र सञ्चारको विषय रहोस्, लुकीलुकी हेर्नुपर्ने, सुन्नुपर्ने तथा पढ्नुपर्ने विषयबस्तु अबैध बनाउनु पर्छ । हरेक खालका सामग्रीले परिवारको, समाजको र देशकै हितमा उनति–प्रगति गराउन प्रेरित गरोस् भन्ने सदाशय रहनु पर्छ । अराजकता र सामाजिक द्वन्द्व निम्त्याउने, मानिस मानिसमा अविश्वास जगाउने, व्यक्तिवाद तथा छुच्चो प्रबृत्ति सिकाउने प्रशारण सामग्री बन्देज रहनुपर्छ ।

अन्त्यमाः
बिभिन्न दलहरू र समुदायमा श्रवणकुमारको पितृभक्तिको नारा दिन नसकेपनि बहुजनहिताय तथा असल मानविय सोचाईको अभ्यास गराउन सकिन्छ । पारिवारिक वातावरणमा आदर, सम्मान र एकअर्कामा प्रेमको सहयोगी भावना उव्जाउन शैक्षिक पाठ्यक्रममा समेत सम्शोधन गर्नुपर्छ र बहुसङ्ख्यकपक्षिय समाज बनाउने कोसिश नै समग्र समस्या समाधानको बाटो हो । सरकारको उल्टो कामलाई सच्च्याउन माथिदेखि पाकोशास्त्र (Gerontology) पढाउने होइन, तलैदेखि बालसाहित्य रत्न शान्तदाशले गर्नुभएझैँ स्तर मिलाएर सामग्री जम्मापारी पाठ्यक्रम बनाउने काममा लागौँ । समाजमा आदर, सत्कार, बिनम्रता तथा माया–दयाको बैचारिक धरातल बढाउने साथै बहुजनहितायमा अध्ययन र काम गर्नु कर्तव्यकोरुपमा लिने मानसिकता बढाउने प्रयाश गर्नै पर्दछ । यही चाहना सबै पाका मान्छेको छ र यसले मात्र हाम्रो देश सानो भए पनि आँखाको नानी बन्न बेर नलाग्ने वास्तविकता पनि हो ।

०००
चालिसे डाँडा, ललितपुर
माघ ११, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x