लक्ष्मी रिजालकविसँग रविको विलाप
रविले लाजले भुइँतिर हेर्दै भन्यो, "अब भने बुझेँ, रवि मात्र नभएर घमण्ड पनि अस्ताउँछ । कवि त आफैँमा सधैं जीवित रहन्छ ।"

लक्ष्मी रिजाल :
रवि र कवि दुईजना साथी थिए । रवि निकै घमण्डी स्वभावको थियो, भने कवि सधैं साहित्यिक कुरा गरेर आफूलाई महान् ठान्थ्यो । एक दिन उनीहरू पार्कमा बसिरहेका थिए । रविले हाँस्दै कविलाई भन्यो,
“तिमी आफ्नो कविता लेखेर केही उपलब्धि गरेको छौ ? मेरो त व्यापारले आकाश छोएको छ । म अस्ताउँछु भन्ने कुरा सपनामा पनि सोच्न सक्दिनँ ।”
कविले मुस्कुराउँदै भन्यो,
“रवि होस् कि कवि, उदाएपछि एक दिन अस्ताउँछ भन्ने कुरा त प्रकृतिको नियम हो ।”
रविले झर्किंदै भन्यो,
“तिमी जस्तो निराशावादी मानिसले त यसैगरी अस्ताउँछु भन्ने सोच्ला, म छैन !”
कविले थप केही भनेन । समय बित्दै गयो । केही वर्षपछि रविको सहकारी व्यापारमा ठुलो घाटा लाग्यो । ऊ आफ्नो नाम मात्रका ठूला कुरा गर्थ्यो तर यथार्थमा उसले ऋणको भारी बोकेको थियो ।
एक दिन, रवि कविलाई भेट्न आयो । उसले भने,
“कवि, तिमी ठीक रहेछौ । आखिर उदाएपछि अस्ताउनु त पर्छ रहेछ । तर, तिमी किन सधैं हाँसिरहन्छौ ? तिमीलाई कहिल्यै अस्ताएजस्तो लाग्दैन ।”
कविले हाँस्दै भन्यो,
“म अस्ताउँदा पनि मेरो कविता बाँचिरहेको हुन्छ । त्यसैले म अस्ताउँदा पनि कसैले नदेख्ने गरी फेरि उदाउँछु । तिमी आफ्नो घमण्डलाई मात्र उदाएको ठानेछौ, त्यसैले अस्ताउँदा गहिरो अँध्यारो लाग्यो ।”
रविले लाजले भुइँतिर हेर्दै भन्यो,
“अब भने बुझेँ, रवि मात्र नभएर घमण्ड पनि अस्ताउँछ । कवि त आफैँमा सधैं जीवित रहन्छ ।”
त्यसपछि रविले आफ्नो जीवनलाई फेरि नयाँ ढंगले सुरु गर्ने सोच बनायो । तर, उसको मनमा सधैं कविको ती तीता शब्दले चसक्क घोचिरह्यो ।
०००
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
Subscribe
Login
0 Comments
Oldest







































