साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्मनिर्भर बुढ्यौली जीवनको अचुक सूत्र

बुढ्यौली भनेको जीवनको अन्त्य होइन, यो ज्ञान र अनुभव बाँड्ने समय हो । आत्मनिर्भरता, धैर्य, सन्तोष र सकारात्मक सोचको बलमा तपाईं बुढ्यौलीलाई प्रेरणादायी र सम्मानजनक बनाउन सक्नुहुन्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

जवानीमा बुढ्यौलीको तयारी नगर्दा पछुतो लाग्नु स्वाभाविक हो । तर, “वितेको समयलाई फर्काएर ल्याउन सकिँदैन ।” पछुतो र गुनासोले न त समस्या हल हुन्छ, न बुढ्यौली जीवन सजिलो । “गरे जस्तै फल पाइन्छ” भन्ने सोच राख्दै नयाँ जोश र आत्मविश्वासका साथ बुढ्यौलीको सामना गर्नुपर्छ ।

१. विगतलाई बिर्सौं, वर्तमानलाई अँगालौँ
युवावस्थाका रमाइला पलहरू सम्झेर आजको बुढ्यौलीलाई कठिन बनाउनु मूर्खता हो । “सपना देखेर जीवन चल्दैन ।” भूतकालको गुलियो सम्झनाले वर्तमानलाई झन् पीडादायक बनाउँछ । बरु, आफ्नो विगतका उपलब्धिहरूलाई सम्झेर सन्तोष गर्नुहोस् । “गरेको राम्रो काम कहिल्यै खेर जाँदैन ।”

२. अधुरा सपनाबाट शिक्षा लिऔँ
युवावस्थामा बनाएका धेरै सपना अधुरै रहन सक्छन् । तर, त्यसमा पछुताउनुको सट्टा, “अब जे गर्न सकिन्छ, त्यही गर्ने” मनोबल राख्नुहोस् । “ढिलो चाँडो भन्दा, सुरु गर्नु महत्त्वपूर्ण हो ।” आलस्य र आलटालले बुढ्यौलीलाई झन् गाह्रो बनाउँछ । त्यसैले, “आजको दिनको महत्त्व बुझ्नुहोस् ।”

३. अपेक्षा त्यागौं, उपेक्षा सहन सिकौँ
यदि सन्तान वा अरू कसैबाट उपेक्षा भइरहेको छ भने, त्यसलाई स्वीकार्न सिक्नुपर्छ । “अपेक्षा पीडाको बीउ हो ।” अबदेखि कुनै आशा नराख्नुस् । “नेकी गर, कुवामा हाल” भन्ने सिद्धान्त अपनाउनुहोस् । जति अपेक्षा कम, उति मानसिक शान्ति धेरै मिल्छ । यश कुरामा हेक्का राख्न सके बुढ्यौली जीवन रमाइलो हुन्छ ।

४. व्यसनको चंगुलबाट बाहिर निस्कौँ
बुढ्यौलीको सबैभन्दा ठूलो शत्रु भनेको व्यसन हो । जवानीमा गर्नुभएको व्यसनले बुढ्यौलीमा शरीरलाई थकित र समाजलाई तपाईंबाट टाढा बनाउँछ । “व्यसन भनेको आत्माको शत्रु हो ।” यदि अहिले पनि व्यसनहरू त्याग्न सक्नुभयो भने, नतिजा सकारात्मक हुनेछ । “सर्पले जस्तै पुरानो काँचुली फेर्नुस् र नयाँ जीवनको सुरुवात गर्नुस् ।”

५. युवाको आलोचना नगर्नुस्, प्रेरणा बन्नुस्
“जुनसुकै समयमा ज्ञान र प्रेरणा बाँड्न सकिन्छ ।” युवाहरूको आलोचना गर्नुको सट्टा, उनीहरूलाई मार्गदर्शन दिनुस् । आलोचना गर्नाले तपाईंप्रतिको सम्मान कम हुन सक्छ । बरु, तटस्थ भएर, अनुभव र ज्ञानले उनीहरूलाई सहयोग पुर्‍याउन सके सम्मानित फल आर्जन हुनेछ ।

६. चिन्ता होइन, समाधान सोच्नुस्
चिन्ताले शरीर, मन र आत्मामा नकारात्मक प्रभाव पार्छ । “चिन्ता भनेको चिता बराबर हो ।” समस्याहरूलाई स्वीकार्दै त्यसको समाधानतर्फ ध्यान केन्द्रित गर्नुस् । सकारात्मक सोचले नै भविष्य उज्यालो हुन्छ । नकारात्मक सोच नै समस्याको जग हो ।

७. प्रकृति र अध्यात्ममा आत्मीयता
प्रकृतिप्रति प्रेम र भगवत भजनले बुढ्यौलीलाई शान्तिपूर्ण बनाउँछ । “प्रकृतिसँगको सम्बन्धले जीवनलाई नयाँ ऊर्जा दिन्छ ।” प्राकृतिक सौन्दर्य पानले मन शान्त हुन्छ । त्यस्तै, भगवानको स्मरणले आत्मिक शान्ति दिन्छ । “भगवत भजन आत्माको अमृत हो ।” भन्ने सम्झेर व्यवहारमा लागू गर्नुपर्छ ।

८. धैर्य, सन्तोष र तटस्थता अपनाऔं
धैर्य र सन्तोष बुढ्यौलीको मुख्य आधार हो। “धैर्य राख्नेले कहिल्यै हार्दैन।” यसलाई मनन गरेमा तटस्थता र निरपेक्षताले तपाईंलाई जीवनप्रति सकारात्मक बनाउँछ ।

९. अध्ययनशील बन्नुस्
“पढाइ र ज्ञानले मानिसलाई अमूल्य बनाउँछ ।” भन्ने बुझी कार्यसम्पादन गर्न सके बुढ्यौलीमा समयको सही सदुपयोग गर्न सकिन्छ । यसका लागि पुस्तक पढ्ने, नयाँ कुरा सिक्ने र आफ्नो अनुभवलाई उपयोगी बनाउने प्रयास गर्नुपर्छ ।

१०. आफ्नो बोझ आफैं बोक्न सिकौं
सन्तानमाथि निर्भर बन्नु भनेको तपाईंको सम्मान गुमाउनु हो । “आफ्नो हात जगन्नाथ ।” भन्ने उखानको मर्मलाई मनन गरेर आत्मनिर्भर बन्ने बानीले तपाईंलाई आत्मविश्वासी र सन्तुष्ट बनाउनेछ ।

११. स्वास्थ्यको ख्याल राखौं
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउनुहोस् । “स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिष्क बस्छ।” भन्ने हेक्का राख्नुस् ।

१२. खुशी बाँड्न सिकौं
खुशी बाँड्दा दुःख आफैं कम हुन्छ । “खुशी भनेको साझा सम्पत्ति हो।” आफ्ना अनुभव र ज्ञान अरूसँग बाँडेर समाजलाई योगदान दिनुस् । सही तवरले बुढ्यौलीको सामना गर्नु नै सम्मानजनक र प्रेरणादायक जीवन जिउने सूत्र हो ।

१३. विगतको गल्तीबाट पाठ सिकौं
जवानीमा भएका गल्ती र विफलताहरू सम्झेर निराश हुनुको कुनै अर्थ छैन । “गल्ती गर्नु मानवको धर्म हो, त्यसबाट सिक्नु महानताको चिन्ह हो ।” यसलाई बुझेर काम गरेमा बुढ्यौली जीवन फलदायी नहुने प्रश्न नै आउँदैन । अबका दिनहरूलाई सुधार्न तिनै गल्तीबाट पाठ सिकेर अगाडि बढ्नुस् ।

१४. सहनशील बन्न सिकौं
सहनशीलता बुढ्यौलीको सुनौला गहना हो । “धैर्यले सबै दुःखलाई जित्न सकिन्छ ।” भनेर जीवनका दुःख-कष्टहरूलाई सहर्ष स्वीकार गर्नुहोस् । “पानी खस्दा ढुंगा रसाउँदैन” भनेझैं, सहनशीलता र धैर्यले तपाईंकै सम्मान र प्रतिष्ठा बढ्छ ।

१५. सन्तानप्रतिको गुनासोलाई बिदा दिनुस्
यदि सन्तानले तपाईंसँग आफ्नो अपेक्षा अनुसार व्यवहार गरेका छैनन् भने, त्यसलाई स्वीकार्नुहोस् । “हरियो डाली काटेर फल फुल्दैन ।” भन्ने नसोची गुनासो गर्नाले न तपाईं सुखी हुनुहुन्छ, न उनीहरूलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । बरु, उनीहरूको जीवनप्रतिको दृष्टिकोणलाई बुझेर सहानुभूतिपूर्ण व्यवहार गर्नुस् ।

१६. समुदायसँग जोडिनुस्
“जहाँ मानिसको हात समातिन्छ, त्यहाँ दुःख बिर्सिन्छ।” यश कुरामा विचार पुर्‍याई समाजका विभिन्न गतिविधिहरूमा सहभागी बन्नुस् । यसले तपाईंलाई एक्लोपनबाट मुक्त गराउँछ । परोपकारी कार्यहरू गर्नुस्, जसले तपाईंको जीवनमा नयाँ अर्थ र उर्जा थप्नेछ ।

१७. साधारण र सरल जीवन अपनाउनुहोस्
“साधारण जीवन, उच्च विचार” भनेझैं, सरलता नै सन्तोषको मूल चाबी हो । फजुल खर्च र देखासिकीबाट जोगिनुस् । आफ्नो आवश्यकताहरूलाई सीमित गर्नुहोस् । “धनी त्यो होइन, जसको धेरै सम्पत्ति छ, तर त्यो हो, जसले सन्तोष गर्न जान्दछ ।” यति बुझे सुखले दैलो ढकढक्याउँछ ।

१८. पराजय स्वीकार्न सिकौं
जीवनका हरेक चरणमा सफलता सम्भव छैन । “हार स्वीकार गर्नु भनेको ठूलो जितको आधार हो ।” कुनै पराजयले तपाईंकै अस्तित्वलाई समाप्त गर्दैन । बरु, त्यसलाई आफ्नो अनुभव र ज्ञानको हिस्सा बनाउनुहोस् ।

१९. मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल राखौं
शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण छ । ध्यान, योग वा आफूलाई शान्त पार्ने अभ्यासहरू गर्नुस् । “शान्त मस्तिष्कमा ज्ञानको ज्योति बल्छ ।” भन्ने बुझे काफी हुन्छ ।

२०. आफ्नो अनुभव बाँड्नुहोस्
तपाईंको अनुभव समाजका लागि अमूल्य खजाना हो । “ज्ञान बाँड्दा बढ्छ ।” सन्तान, साथीभाइ, र समुदायसँग आफ्नो अनुभव र सिकाइहरू बाँड्नुस् । यसले तपाईंलाई आत्मसन्तोष र अरूलाई प्रेरणा दिन्छ ।

२१. समयको सही सदुपयोग
बुढ्यौली भनेको फुर्सदको समय हो । यसलाई फुर्सदमा खेर फाल्नुको सट्टा सिर्जनात्मक र अर्थपूर्ण कामहरूमा लगाउनुस् । “समय भनेको सुन हो ।” भन्ने बुझी कला, हस्तकला, लेखन, वा आफ्नो रुचिको कुनै काम गर्नुस् ।

२२. आभारी बन्न सिकौं
“कृतज्ञता भनेको खुशीको मुल चाबी हो ।” यसमा ख्याल राखी जीवनले दिएको सबै कुरा- शरीर, परिवार, साथीहरू र अनुभवहरूका लागि आभारी बन्न सिक्नुस् । आभार व्यक्त गर्दा जीवनको कठिनाइ पनि हलुका महसुस हुन्छ ।

२३. बुढ्यौलीलाई अवसरको रूपमा हेर्नुहोस्
बुढ्यौली मात्र उमेर होइन, यो अवसर पनि हो । “जसले हर परिस्थितिमा अवसर देख्छ, ऊ सफल हुन्छ ।” यो समय हो, जब तपाईंले आफूलाई पुनः खोज्न र नयाँ सुरुवात गर्न सक्नुहुन्छ ।

२४. नयाँ साथीहरू बनाउनुहोस्
जतिसुकै उमेर भए पनि, नयाँ साथी बनाउन कहिल्यै ढिलो हुँदैन । “साथी भनेका जीवनका सारथी हुन् ।” साथीहरूसँग समय बिताउँदा तपाईं एक्लोपनको अनुभव गर्नुपर्दैन ।

२५. सन्तुष्ट जीवन जिउनुहोस्
“सन्तुष्टि नै सबैभन्दा ठूलो सम्पत्ति हो ।” जीवनका हरेक पाटोमा सन्तोष खोज्नुस् । उपलब्धिहरूलाई मनमा राखेर नयाँ ऊर्जा र प्रेरणाका साथ जीवन अगाडि बढाउनुस् ।

निष्कर्ष
“जसले परिवर्तनलाई स्वीकार्छ, ऊ जीवनमा सफल हुन्छ ।” बुढ्यौलीको सामना गरिरहँदा यी उपायहरू अपनाउनुहोस् । आत्मनिर्भरता, सन्तोष र सकारात्मक सोचले तपाईंको जीवनलाई सम्मानजनक र सुखद बनाउन सक्नेछ । बुढ्यौली भनेको जीवनको अन्त्य होइन, यो ज्ञान र अनुभव बाँड्ने समय हो । आत्मनिर्भरता, धैर्य, सन्तोष र सकारात्मक सोचको बलमा तपाईं बुढ्यौलीलाई प्रेरणादायी र सम्मानजनक बनाउन सक्नुहुन्छ । “जहाँ चाह, त्यहाँ राह” भनेझैं, यी सुझावहरू अपनाउनुहोस् र आफ्नो जीवनलाई सुखद र सन्तोषजनक बनाउनुहोस् ।

०००
२०८१ माघ २६ गते ।
बेलका- २, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x