साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरूमा अपमान बोध र आत्मसम्मानको भाव

घर तथा समाजमा वृद्ध व्यक्तिसित सद्वयवहार गर्ने, सम्मान र सामीप्य प्रदान गर्ने गरियो भने निश्चय नै उनीहरूले आशावादी जीवन व्यतीत गर्ने अवसर प्राप्त गर्न सक्तछन् ।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

वरिष्ठ नागरिकहरूलाई सम्मान गर्ने समाज नेपाली संस्कृतिमा महत्त्वपूर्ण छ तर कहिलेकाहीँ अरूका कुनै पनि व्यवहारले उनीहरूको भावनामा असर पुर्याईउँछ। धेरै वृद्धवृद्धा उदास, मूल्यहीन वा उपेक्षित महसुस गर्छन्, जब तिनका सुझाव वा कुरालाई अरूले त्यत्ति चासो दिँदैनन् । विशेष गरी परिवारमा जुन निर्णय गरिन्छ, त्यहाँ उनीहरूको मत वा विचारलाई कुनै सम्मानबिना टुङ्ग्याइन्छ, उनीहरूको चित्त दुख्तै जान्छ । त्यस्ता व्यवहारले उनीहरूलाई असन्तुष्टि बढाउने र मनोवैज्ञानिक रूपमा अरूसँगको दूरी बढेको अनुभूति गराउँछ।

अचेलभरि पुस्तान्तरणले गर्दा परम्परागत संस्कारहरू ढल्दै गएका छन् । यसले गर्दा नयाँ पुस्ताले वृद्धहरूलाई पुराना र अप्रासङ्गिक ठान्ने प्रवृत्ति बढाइरहेको छ । जब युवा पुस्ताले आफूलाई मात्र बुझक्कड र नयाँ विचारका संवाहक ठान्छ, त्यस्तो अवस्थामा वृद्धहरूप्रति असम्मानजनक शब्द वा शैली अपनाउने प्रवृत्ति बढ्न जान्छ । यसले बुढापाकाहरूको आत्मगौरवमा चोट पुर्यावउँछ।

यसरी वृद्धवृद्धासँग बोल्ने बेलामा वयस्कले बच्चासँग बोल्दा अपनाउने बच्चाजस्तो बोली (Baby Talk) जुन सरल, छोटो र मृदु स्वरयुक्त हुन्छ, अर्थात् बच्चालाई पहिलो भाषा सिकाउन प्रयोग गरिने बोलीको शैली अपनाउने गरिन्छ भने यसले वृद्धवृद्धाहरूमा सकारात्मक प्रभाव पार्दैन । साथै बच्चाजस्तो वा बालसदृश शैली अपनाउँदा (जसमा सरल शब्द, तोते स्वर वा गीतात्मक स्वरजस्ता शैली प्रयोग गरिन्छ भने पनि) यसले उनीहरूका मनमा सम्मानको सट्टा निर्बल, अविश्वासी वा अपरिपक्व मानिएको अनुभूति गराउँछ । उनीहरूसँगको बोलीचालीमा यस्तो शैलीको प्रयोगले उनीहरूलाई निरुपयोगी र निर्बल मानिस हो भन्ने अनुभूति गर्न सहयोग पुर्यालउँछ ।

धेरै वृद्धवृद्धा पारिवारिक बैठक/भेला वा सामाजिक सम्पर्कबाट आफूहरूलाई अलग राखिने गरेको महसुस गर्छन्, जुन एक प्रकारको भावनात्मक उपेक्षाको अनुभूति हो । यसले उनीहरूमा एक्लोपन र सामाजिक पृथक्करणको भावना जन्माउँछ । शारीरिक रूपमा वृद्ध भएका कारण बाहिर निस्कन अप्ठ्यारो हुने हुँदा सामाजिक क्रियाकलापबाट टाढिँदै जान्छन् । यसले एक्लोपन अझ बढ्दै जान्छ ।

वृद्धवृद्धाले अरूका असम्मानपूर्ण व्यवहार, उनीहरूको विचारलाई बेवास्ता गरिनु, संवादको शैली, सामाजिक असहभागिता र निर्णयमा सहभागिता नगराइने अवस्थाबाट चित्त दुखाउन सक्छन् । यस्तो अवस्थामा वृद्धवृद्धाहरूलाई आत्मग्लानि र हीनताबोध हुन नदिन केही पक्षहरू निकै महत्त्वपूर्ण मानिन्छन् :

१. सक्रिय र सजीव रूपमा वृद्धहरूसँग समय बिताउनु
परिवारले वृद्ध सदस्यमाथि समय दिन सक्नु उनीहरूलाई सामाजिक अनुकूलता प्रदानन गर्नु मात्र होइन, भावनात्मक आवश्यकता पनि हो । नियमित भेटघाटले उनीहरूमा विश्वास र आपसी समझदारी वृद्धि गर्छ । चिया पिउँदा, खाना वा खाजा खाँदासमेत रमाइलो गर्दै उनीहरूका कथा सुनेर, सानोतिनो संवादले पनि उनीहरूको भावनामा सकारात्मकता अभिवृद्धि गर्छ । यी क्षणहरू उनीहरूको मानसिक सबलीकरणका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन्।

समय समयमा उनीहरूलाई फोन कल गराइले वा छोटो भेटघाटले पनि अरू व्यक्तिको ध्यान आफूप्रति छ भन्ने भाव उनीहरूमा वृद्धि हुन्छ, जसले गर्दा उनीहरू प्रसन्न बनिरहन समर्थ हुन्छन् ।

एकान्त र एक्लोपन घटाउन समझदारीपूर्ण पारिवारिक तथा सामाजिक सम्मिलन पनि त्यत्तिकै आवश्यक मानिन्छ । परिवारका अन्य सदस्यले ज्येष्ठ सदस्यसँगै केही समय बिताउनु भनेको उनीहरूको अस्तित्वलाई मान्यता दिनु हो । यस्ता क्रियाकलापले सामाजिक एकता र आत्मसम्मान दुवै बलियो बनाउँछन् । यसले वृद्ध अवस्थामा देखिने तनाव र चिन्तालाई न्यूनीकरण गर्न सहयोग गर्छ । नियमित सामाजिक सम्बन्धले उनीहरूलाई मानसिक रूपमा स्वस्थ राख्छ । त्यसैले परिवारले वृद्धलाई समय दिनु समाज र संस्कृतिका लागि पनि उपहार मानिन्छ ।

२. उनीहरूको अनुभव र सुझावको सम्मान
पाका मानिसको जीवनयात्रा लामो अनुभव र ज्ञानले भरिएको हुन्छ । उनीहरूको सक्रिय जीवन चलिरहँदा परिवार, समाज र देशकै लागि महत्त्वपूर्ण योगदान पुर्या्एका हुन्छन् । अब आएर पनि उनीहरूले प्रदान गरेका सुझावहरू सुन्नाले र तिनलाई मान्यता दिनाले उनीहरूको आत्मसम्मान बढाउँछ । उनीहरूलाई खुला प्रश्न सोधेर “तपाईँ यसबारे के सोच्नुहुन्छ ? यो कुरामा तपाईँको के राय छ ?” जस्ता संवादात्मक प्रश्नोत्तरका माध्यमबाट प्रेरित गर्दा उनीहरू खुलेर उत्तर दिन सक्ने स्थितिमा पुग्छन् ।

उनीहरूका कथाहरू परिवारको इतिहास र पहिचानका अङ्ग हुन् । यसो गर्नाले फरक पुस्ताबिचको दूरी घटाउँछ ।

जुन बेला उनीहरूले कुनै पनि निर्णयमा सुझाव दिन्छन्, त्यसलाई निर्णयमा समावेश गराइयो भने उनीहरूलाई आफ्नो पनि त्यहाँ मूल्य रहेको महसुस गराउँछ ।उनीहरूका कथा वा कुरा अरूले रुचिपूर्वक सुनिदिए भने उनीहरूमा आफ्नो अस्तित्व र आफूप्रति अरूको सम्मान छ भन्ने भावना अभिवृद्धि हुन्छ । यसले पारिवारिक सम्बन्धलाई अझै सुदृढ बनाउँछ । उनका अनुभवले हामीलाई जीवनका विभिन्न अवस्था र उतारचढाव पार गर्न सहयोग गर्छ । उनीहरूलाई “हामी तपाईँहरूका कुरा सुन्छौँ ।” भन्ने वातावरणले ती पाका मानिसमा आत्मविश्वास जगाउँछ । यस्ता अभ्यासले वृद्धजनमा स्वस्थता र उद्देश्यमूलक जीवनको भावना जन्माउँछ । यस्ता सम्बन्धले घरको वातावरण प्रेम र समझदारीले भरिन्छ।

३. स्वायत्तता र निर्णयमा सहभागिता
बुढ्यौली आए तापनि व्यक्ति आफ्नो दैनिक जीवनका निर्णयहरूमा सहभागी रहन चाहन्छन् । उनीहरू आफैँ खाना खान, कपडा छान्न वा बाहिर निस्कन चाहन्छन् भने परिवारले केवल सहयोग गर्नुपर्छ, निर्णय भने उनीहरू स्वयम्ले गर्न पाउनुपर्छ । यसले उनीहरूलाई ‘म त गर्न सक्छु ।’ भन्ने आत्मविश्वास जगाउन मद्दत गर्छ । उनीहरूमा परिवारका अन्य सदस्यको कसिलो नियन्त्रण रहनु वा उनीहरूको स्वीकृतिविना निर्णय जबरजस्ती लिनु भनेको तिनका आत्मसम्मानमा चोट पुर्यासउनु हो । यसले गर्दा वृद्धले निर्णय गर्न डर वा लज्जाको भावना पाल्न सक्छन् । त्यसै गरी उनीहरूको राय र विचारलाई सम्मानपूर्वक सुनिने वातावरण निर्माण भयो भने परिवारमा विश्वासको वातावरण जगाउँछ ।

४. धैर्यपूर्वक सुन्नु र सम्मानपूर्वक व्यवहार गर्नु
वृद्ध मानिसहरू कहिलेकाहीँ बिस्तारै बोल्छन् वा सोचेर उत्तर दिन्छन् । यस्तो अवस्थामा उनीहरूका करा धैर्यपूर्वक सुन्नु निकै आवश्यक हुन्छ । उनीहरू बोल्दै गर्दा बिचमै उठेर नहिँड्नु, ध्यानपूर्वक सुन्न समय दिनु र उनीहरूलाई पूर्ण व्यक्तिका रूपमा व्यवहार गर्नु सम्मानको चिह्न हो । उनीहरूसँग कुरा गर्दा भाषा सरल, स्पष्ट र सौम्य हुनुपर्छ, उच्च स्वर वा कठोर शब्द प्रयोग नगर्न उचित हुन्छ । टकडाउन (Talk Down) शैली प्रयोग नगर्ने, बच्चासित गर्ने व्यवहारका ढङ्गले बोली नबोल्नेजस्ता कुराले उनीहरूलाई अपमानित महसुस हुनबाट बचाउँछ । (टकडाउन (Talk Down) — अर्को व्यक्तिलाई सानो, निष्क्रिय वा कम बौद्धिकता भएको महसुस गराउने र होच्याउने शैली । यसरी बोल्ने गर्दा उसलाई अपमानित वा कम मूल्यवान् महसुस गराउँछ ।) 

त्यसै गरी उनीहरूलाई पुराना मित्र वा आफन्तझैँ व्यवहार गर्दा उनीहरूसितको सम्बन्ध सुमधुर हुन्छ । उनका भावनालाई प्रतिष्ठित रूपमा स्वीकार गर्दा मानसिक स्थितिमा सकारात्मक प्रभाव रहन जान्छ । धैर्य र सजीव व्यवहारले आपसी समझदारी र सम्मान कायम गर्छ । हामीले गर्ने यस्ता व्यवहारले वृद्धको आत्मस्फूर्ति र मानसिक स्वास्थ्य सुधार गर्छ । वृद्ध व्यक्तिले आफ्ना भावना खोलेर भन्छन् भने परिवारले यसको कदर गर्नुपर्छ।

५. गोपनीयता र व्यक्तिगत सीमाको सम्मान
परिवारले वृद्धको निजी मामिला र व्यक्तिगत सीमालाई सदैव सम्मान गर्नु अत्यावश्यक छ । उनीहरूको कोठा, कपडा, निर्णय र दैनिक दिनचर्याजस्ता विषयहरूमा अनुमति लिएर मात्र बोल्नुपर्छ । उनीहरूको गोपनीयता हनन हुनु भनेको आत्मसम्मान र स्वतन्त्रता क्षय हुनु हो । उनीहरूले त्यस्ता कुराहरू चाहन्छन् या चाहँदैनन् भन्ने कुराको सम्मान नगर्ने हो भने त्यसबाट वृद्धहरूमा मानसिक चोट पुग्न सक्छ । साना निर्णयहरूमा पनि उनीरूलाई साझेदार बनाउन सक्नु उनीहरूप्रतिको सहयोगी दृष्टिकोण हो । उनीहरूको निजी सीमालाई नाघ्नु भनेको दमनकारी व्यवहार हो ।

यस्ता व्यवहारले उनीहरूमा आफू अस्तित्ववान् भएर पनि अरूले अस्तित्वहीन ठानेका छन् भन्ने हीन अनुभूति गराउँछ । व्यक्तिगत स्थान र सीमाको सम्मानले उनीहरूलाई मानवीय गरिमा प्रदान गर्दछ । उनको इच्छा र अनुपस्थितिबिना उनीहरूका बारेका कुनै विषयमा छलफल र निर्णय नगर्नु नै उचित हुन्छ । अन्ततः, यो दृष्टिकोणले घरमा सम्मानजनक र सुरक्षित सम्बन्ध निर्माण गर्छ ।

६. संवेदनशीलता र आत्मनिर्भरता
कुनै वृद्धले आफैँ गर्न सक्ने कार्यहरूमा अति संरक्षण देखाउनु पनि उनीहरूका लागि असम्मान हो । उनीहरूले चिया बनाउन, सानोतिनो कार्य आफैं गर्न पाउनुपर्छ । यसरी काम गर्ने क्रममा उनीहरू आत्मसक्षमतालाई पुनः अनुभव गर्छन् । त्यसो नगर्दा सिकेको आश्रितता (Learned Dependency) महसुस हुन्छ । यस्तो व्यवहारले उनीहरूको आत्मसम्मान घटाउँछ। सहयोगको आवश्यकता त पर्छ तर नियन्त्रित होइन । आफूलाई कपडा चयन गर्न, हल्का हिँड्न, हल्का दैनिक कार्यकलाप गर्नेजस्ता गतिविधिमा स्वतन्त्रता दिने व्यवहारले उनीहरूप्रति सम्मान जनाउँछ । (सिकेको आश्रितता (Learned Dependency) — यसले यस्तो अवस्था जनाउँछ, जहाँ व्यक्ति विगतका अनुभवका आधारमा आफूसँग स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता हुँदाहुँदै पनि अरूमा निर्भर हुन सिक्छ, जसले गर्दा उसले आफ्नै निर्णय, प्रयास र आत्मविश्वास गुमाउँछ ।)

यसै गरी उनीहरूको इच्छा र क्षमतालाई महत्त्व दिने कार्यले वृद्धहरूमा आत्मविश्वास बढाउँछ । उनीहरूलाई पुरानो जीवनशैलीबाट आशा र परिचय कायम राख्न मद्दत मिल्छ । यसबाट उनीहरूमा सबै पक्षमा सशक्तीकरण हुँदै जान्छ । उनीहरू अहिलेसम्म जसरी जीवन बिताउँदै आएका छन्, त्यसरी नै अबको प्रक्रिया पनि अपनाउन दिने गर्नाले उनीहरूमा जीवनवादी दृष्टिकोणले सबलता पाउँछ भने यस्तो स्थितिले घरमा सम्मानपूर्ण मैत्री वातावरण बनाउँछ साथै सहयोग र स्वतन्त्रता दुवै रहन्छ।

यस प्रकारले घर तथा समाजमा वृद्ध व्यक्तिसित सद्वयवहार गर्ने, सम्मान र सामीप्य प्रदान गर्ने गरियो भने निश्चय नै उनीहरूले आशावादी जीवन व्यतीत गर्ने अवसर प्राप्त गर्न सक्तछन् । वृद्धवृद्धाका लागि केवल स्वास्थ्य सहयोग होइन, सम्मान, स्वायत्तता, संवाद, संवेदना र सामाजिक सहभागिता जरुरी हुन्छ । परिवारजनले यी व्यवहार अपनाएर सोहीअनुरूपको वातावरण मिलाइदिन सके भने वृद्ध आफन्तहरूमा वास्तविक आत्मसम्मान, सार्थक जीवनको उद्देश्य र सुखद जीवन सम्भव हुन्छ।

०००
२०८२ साउन ५
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
0
Would love your thoughts, please comment.x
()
x