साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऔं हामी कुर्ची खेल खेलौं !!

ऊ अगाडि आएपछि ट्याक्क घण्टी रोकिदिन्छ । ऊ थ्याच्च कुचीमा बस्छ अरू हेर्‍याहेर्‍यै । घण्टी त त्यै अग्लो पर्खालभित्रकाले बजाइहाल्छ नि ।”

Nepal Telecom ad

कार्यक्रम सकिएर हामी सुस्ताउँदै थियौं । तैतै हिजोअस्तिजस्तो न चर्को घाम भयो न भरी पानीले दुःख नै दियो । हिजोअस्ति झरी लागेको भए बर्बाद नै हुने ।

बौद्धमान बा कार्यक्रम स्थलमा छरिएका कुर्चीहरू पन्छाउँदै थिए । सुस्ताउन बसिरहेका एक साथीले भने- होइन यो बुढो, बुढो भएर पनि कस्तो थकाई नमान्या भन्या । एकछिन सुस्ताएपछि पन्छाए भैहाल्यो नि ? साथीको कुरा सुनेर बौद्धमान बाले साथीतिर ट्वाल्ल हेर्दै भने- “के रे ? के रे ? बूढो त तँ होलास् तेरो बाउ होला । म भरखर ६८ वर्षको मान्छेलाई बुढो भन्दो रहेछ ए । ए तेरो आँखा छैन बूढों को हो ?”

बौद्धमान बाको कुरा सुनेर साथी एकछिन जिल्ल पर्‍यो । ठट्टा गरेको हो कि साँच्चै भनेको हो साथीले भेउ पाउनै सकेन । मैले साथीलाई सम्झाउँदै भने- ‘के हो तिमी त झस्क्यौ कि क्या हो ? बूढाको बानी नै यस्तै हो । खुब ठट्टा गर्नुपर्छ बूढालाई ।” मैले यति भनेपछि साथीको अनुहार उज्यालियो । र मैले बौद्धमान बालाई भनें- “काका पनि मान्छे त खत्तम रहेछ । ठट्टा गर्नु पनि तरिका हुन्छ नि यस्तो पनि ठट्टा गराइ हो ? विचराको होस हवास नै उड्यो ल ।” वरपरका सबै हांसे । बौद्धमान वा पनि हाँसे ।

हामी कुर्ची समेट्न लागिरहेका थियौं एकजना सुस्ताई रहेका साथीले भने- “होइन भन्या ओ बुवा । एक छिन सुस्ताऔं न भन्या । काम त सकिइ हाल्यो नि । अब जाबो यी कुर्चीहरू पन्छाउने काम त हुन् नि । एकछिन त सुस्ताऔ । चियासिया खाऔं । मजाले कुर्ची खेल खेलौं अनि पन्छाई दिउँला ।”

“के कुरा गर्छ यो बजिया ?” बौद्धमान बाले आश्चर्य मान्दै भने- “होइन ए तेरो दिमागको तार खुस्कियो कि क्या हो ? यत्रा बूढाबूढा त्यैमाथि म जस्तो बूढोमान्छे कुर्ची खेल खेल्ने ? यो उमेरमा कुर्ची खेल खेल्न सुहाउँछ ? घुम्दाघुम्दै कुर्चीमै ढल्यो भने ?”

“के हुन्छ त ?” नजिकैको साथीले भने “हात गोडै नचल्ने कस्ता खल्लर बूढाहरू त कुर्ची खेल भनेपछि दायाँ वायाँ मान्छेलाई समाउन लगाएर भए पनि खेल्न आउँछन् । हवाँ भाषण गर्दा गर्दै पानी पिउन पनि नभ्याई ढल्ने त कुर्ची खेल भनेसी हुरूक्क हुन्छ र जुरूक्क उठेर आउँछ । त्यो देख्नु भएन अस्तिसम्म रत्नपार्कमा के घाम के पानी ? के तातो के चिसोसँगै घुँडा जोडेर पीचमा थेच्चिएकाहरू कुर्चीखेल सम्झेर कसरी साथीहरूलाई च्वाट्ट छाडेर कुर्ची खेल खेल्न आइपुगेका छन् । यो कुर्ची खेलमा जात-पात, धनी गरिब, उँच-नीच, ठूला साना, बूढो तरूनो केही भेदभाव हुँदैन । महिला पुरुषको त भेदभाव हुँदैन अरू त के ।”

“हो, हो बुबा । एक छिन रमाइलो पनि त गर्नु पर्छ नि ।” अर्का साथीले सही थापे । “के को रमाइलो ?” बौद्धमान बाले अलिकति जङ्गिएको पारामा भने- “जाबो कुर्चीखेल खेल्नु पनि रमाइलो ? अलिकति तलवितल परे हातगोडै भाच्चिने । उस्तै परे दाँत समेत खुस्किने । ठेलमठेल, धकेलम् धकेल, दौडादौड, यस्तो पनि खेल ?”

“ल. क्क्.. बूढा त ।” अघिल्लो साथीले भने- “बूढाले कुरै बुझ्या रहेनछन् । बूढा त त्यतिकै उमेर पचाएर मात्र बूढा भएका रहेछन् । कुर्चीखेलमा जस्तो मजा जीवनमा अरू कुन खेलमा हुन्छ बूढा बा ? त्यही भएर त हेर्नुस् हाम्रा नेताहरू कसरी कुर्चीखेलमा जुझेका छन् । जनता जनार्दनहरू बिहान ओछ्यानबाट उठेर बेलुकी फेरि त्यही ओछ्यानमा सुत्न आउन पाउने हो होइन थाहा छैन । बिहान भात खाएर निस्केको परिवारजन बेलुकी घर फर्कने हो होइन थाहा छैन । जनताको घाँटीबाट एक गाँस अनाज शान्तिसँग निलिएको छैन नेताहरू तिनै जनताको दुहाई दिएर कुर्चीखेलमा होड लगाइ रहेका छन् । कसले कतिवटा कुर्ची ओगट्ने होड लागिरहेको छ । एउटा दुधे बालक आमाको न्यानो काखमा खेल्दाखेल्दै कञ्चटमा गोली लागेर मृत्यु वरण गर्नुपर्छ । विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा गर्दागर्दै झोलामा आमाबाबुको न्यानो मायाको खाजाबट्टा र कापीकलम बोकेर हिँड्नुको बदला बमगोलाहरू बोकेर हिँड्नुपर्छ । नेताहरूलाई कुर्चीको होडमा अगाडि पुग्न कहिले संविधान सभा चहिएको छ, कहिले संविधान सभा चाहिएको छैन । कहिले गणतन्त्र चाहिएको छ, कहिले गणतन्त्र आवश्यक छैन कुचालका यी समय समयमा बज्याहरूले कुर्चीखेललाई एउटा गति दिइरहेका छन् । यही गतिमा राष्ट्रिय अन्तराष्ट्रि खेलाडीहरू दौड लगाउन कुर्चीको झुम्मिएका छन् । यही खेलमा जीवन उत्सर्ग गरिरहेका छन् । कसैको टाउको फुटेको हिसावमा कुर्चीको भाग लगाइँदै छ । कसैका आँखा फुटेको हिसाबमा कुर्चीको हिसाव लगाइँदैछ तर समस्त नेपालीको शान्तिसा बाँच्ने अधिकार खोसिएको हिसाब कहिंकतै छैन । त्यसैले पनि कुर्चीको लागि हुने खेल भनेको राष्ट्रिय खेल हो । महत्वपूणर् खेल हो । जीवन उत्सर्गको खेल हो । यस्तो खेल त खेल्नै पर्यो नि !”

“ल ल ल हाम्रा नेताहरूले जीवन दाउमा लगाएर खेल्दै आइरहेको यो खेल एकछिन रमाइलाका लागि मात्र भए पनि हामी पनि खेलौं न ।” सँगैको साथीले भने ।

“खेल्न त खेल्ने हो !“ शङ्का व्यक्त गर्दै बौद्धमान बाले भने- “अनि त्यो घण्टी बजाउने मान्छे चाहिएन ? घण्टी कसले बजाउँछ ?”

“लौ बौद्धमान बा पनि. मिलाउँदै गरेका साथीले भने- “घण्टी बजाउनेको के कमी ? उ … त्यो अग्लो पर्खालभित्रकाले बजाइदिई हाल्छ नि । सधै उसैले त बजाउँदै आइरहेको छ । कुर्चीखेलमा कुर्चीमा घुम्नेहरूले उसलाई देख्नै पाउँदैनन् । उसले सबैलाई देख्छ । अनि ज-जसलाई कुर्ची दिलाउनुछ ऊ अगाडि आएपछि ट्याक्क घण्टी रोकिदिन्छ । ऊ थ्याच्च कुचीमा बस्छ अरू हेर्‍याहेर्‍यै । घण्टी त त्यै अग्लो पर्खालभित्रकाले बजाइहाल्छ नि ।”

“लौ लौ त्यसो भए आऔँ न सबै कर्ची खेल खेलौँ ।”

पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x