माधव पोखरेल गोज्याङ्ग्रेराष्ट्रिय पिण्ड दिवस
सोह्र श्राद्धमा जस्तो निश्चित अवधिभरि भने नहुने भएकोले पनि मेरो ब्रह्मले सोह्र श्राद्धलाई राष्ट्रिय पिण्ड दिवसका रुपमा मनाउने एकलकाँटे निणर्य गरेर गोज्याङ्ग्रेको एकल मन्त्रीमण्डलमा निणर्यार्थ पेश गरेको छ ।

लोकसेवा आयोगले लोकसेवा दिने परीक्षार्थीहरूलाई राष्ट्रिय पिण्ड दिवश कहिले पर्छ भनेर प्रश्न सोध्यो भने म निर्धक्कसँग जवाफ लेख्नेछु प्रत्येक वर्ष भदौ असोजमा पर्ने सोह्र श्राद्धको अवधिभरि भनेर । हामीले पिण्ड देख्ने मात्र होइन पिण्ड बटारेर हातमा लिएर खेलाउने र पुजा गर्ने भएकोले सोह्र श्राद्धको अवधिलाई पिण्ड दिवश भन्दा कुनै फरक पर्दैन । अझ भन्नु पर्दा सो अवधिलाई पिण्ड महोत्सवका रुपमा मान्दा पनि हुन्छ । तर पाठकहरू एउटा कुरा के भने मलाई तपाइँहरू लोकसेवा आयोगको परीक्षा दिने उमेर गैसकेको छ त्यै पनि फुर्ति लाउँछ भन्नु होला । भने भन्नुस् जेजे भने पनि पुरेत बाजेहरू वा धर्म संस्कृतिमा बिकृति थोपर्ने महासयहरूलाई साक्षी राखेर गफ गराउन सक्छु । ठोकुवा दिएर भन्न सक्छु राष्ट्रिय पिण्ड दिवस सोह्र श्राद्धकै अवधिमा पर्छ भनेर ।
दिवंगत हाम्रा पितृहरूलाई स्वागत गर्न वा भनौ मिष्ठान्न पकवान खुवाउन घरमा नभएको दूध किनेर ल्याएर खिर (जसलाई पायस पनि भनिन्छ) पकाएर घ्यू,मह, दूध, दही सख्खर आदि मिसाएर त्यसलाई डल्लो पारेर पितृहरूका नाममा खान दिइन्छ । तर दिवंगत पितृहरूले खाएको हामी देख्दैनौ, अन्त्यमा खोलामा लगेर पितृहरूका नाममा मिल्काउँछौँ । भनौ यहाँ पिण्ड बनाएर पुरेत र पितृ भक्तहरूका अगाडि प्रदर्शन गरिने भएकोले पनि मैले सोह्र श्राद्धको अवधिलाई राष्ट्रिय पिण्ड दिवसको नामाकरण गरेको हुँ ।
सोह्र श्राद्धको अवधिमा हिन्दू धर्मावलम्बी पितृभक्तहरू प्रायः सबैले आ आफ्नो घरमा स्वर्गबाट पितृहरूलाई बोलाएर पिण्ड खुवाउने तयारी गर्छन । तर मरेर पितृ भएकाहरू खरानी भएका हुन्छन । खरानीलाई, खोलाको वालुवालाई पितृ मानेर पिण्ड खान दिदा पनि पिण्ड जतिको त्यति नै हुन्छ एकरति पनि घट्दैन । जस्ताको त्यस्तै जहाँको त्यही रहिरहने, पिण्डमा न पुरेत न जजमान कसैले पनि दावि बिरोध गर्न, खान लैजान नपाउने प्रदर्शनीमात्र गर्ने भएकोले पनि सोह्र श्राद्धभरिको अवधिलाई मैले आफ्नो ब्रह्मले देखाएकोले मनोज्ञानले राष्ट्रिय पिण्ड दिवसका रुपमा मान्दै आएको छु ।
यो सोह्र श्राद्धभरिको समयमा पितृको सम्झना गरिन्छ । यसलाई साँच्चै भन्ने हो भने मैले पितृ दिवसका रुपमा मनाउने निधो गरेको थिए । तर मेरो निधोलाई मेरै ब्रह्मले असफल पारि दियो । किनभने आफ्ना परिवारभित्रको पितृहरूको सम्झना अरु बेला पनि आउँछ । तर अरुबेला पिण्ड दिने काम नहुने भएकोले र पिण्ड जस्तो महत्वपूणर् र संवेदनशील बस्तु नै सोह्र श्राद्धको अवधिमा आवश्यक पर्ने हुँदा माक्र्सवादी सौन्दर्य चिन्तनमा डुबेर म राष्ट्रिय पिण्ड दिवस मनाउने निधोमा पुगेको हुँ । यतिमात्र होइन अर्को तर्फ पिण्ड जो कोहीले जहाँ पायो त्यही देख्न पाउँदैनन । त्यसका लागि निश्चित समय नै कुर्नु पर्ने हुन्छ । सबै पितृहरूका लागि पिण्ड दिने, पायस पकाएर पिण्ड बनाउने, पुजा गर्ने, त्यो समय भनेको नै सोह्र श्राद्धको अवधि हो । पितृहरूको वार्षिक पुण्य तिथिमा पनि पिण्ड बनाइन्छ तर सोह्र श्राद्धमा जस्तो निश्चित अवधिभरि भने नहुने भएकोले पनि मेरो ब्रह्मले सोह्र श्राद्धलाई राष्ट्रिय पिण्ड दिवसका रुपमा मनाउने एकलकाँटे निणर्य गरेर गोज्याङ्ग्रेको एकल मन्त्रीमण्डलमा निणर्यार्थ पेश गरेको छ ।
हुन त म माक्र्सवादी चिन्तन मननको र नीति सिद्धान्त प्रति प्रतिवद्धताको सिंहको छालाको खोल ओढेर चोक्टाखान हात लम्काउँदा पनि झोलमा मात्र डुबेर कुबेर भएको मान्छे । अर्को अर्थमा झोल बाडने भान्सेबाट बढुवा भएर खोल ओढन पुगेकोले पिण्डको महत्व बुझ्दै गएँ । चोक्टा खानेहरूले पनि पिण्डको झुण्ड बनाएर आफूलाई श्रीखण्डको वास्नायुक्त अमूल्य काठका रुपमा उभ्याएका छन् भने म त झन झोल र खोलमा विश्वास गर्ने मान्छे भएकोले पितृहरूको नाममा दाम सहित राष्ट्रिय पिण्ड दिवस नमनाउने कुरै भएन ।
हामी नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमै पिण्ड दिवस मनाउँछौ भन्दा कसैलाई पनि पत्यार नलाग्ला । किनभने हामी हाम्रा पितृहरूको उद्धारका लागि जहाँसुकै जुनसुकै देसमा बसे पनि सोह्रश्राद्धका समयमा भने गाईको दूध नपाए पनि जौको पिठोको पिण्ड बनाएर वा श्रोत साधनले भ्याएसम्म भरसक पुरेत बालाई बोलाएर पितृहरूको सम्झनामा एकछिन टोल्हाएर श्रद्धाञ्जली अर्पण गर्दछौँ । यतिमात्र होइन काशी गया, चारधामको तीर्थ यात्रा गरेर खरानी भएका पितृहरूको भित्री मनसम्म पुग्ने प्रयास गर्छौ । यो प्रयास नै राष्ट्रिय पिण्ड दिवस मनाउको एक उदाहरण हो ।
जीवित हुञ्जेल वास्ता नगर्ने अनि मरेपछि उम्केको माछो ठूलो भनेझैँ यस्तो उस्तो भन्दै भए नभएका उपमा, अलङ्कार, मान, पदवी, सम्मान दिएर गुनगान गाउने माक्र्सवादी सिद्धान्तलाई नै चुनौती दिने खालका अभिव्यक्तिहरू आउँछन झोल खाएर खोल ओढने चिन्तकहरूबाट । जुन अन्तर्राष्ट्रिय पिण्ड दिवस मनाउने एउटा माध्यम बनेको छ भन्दा कुनै फरक पर्दैन । फरक परे पनि गोज्याङ्ग्रेको एकलकाँटे सरकारले सदर गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।
एउटा कुरा के हो भने सबै जातजातीहरूले आ आफ्नै धर्म संस्कृति अनुसार मर्म बुझेर सोह्र श्राद्धको समयमा पिण्ड दिएर नै पितृहरूको सम्झना गर्छन भन्ने कुरामा म विश्वस्त छैन । माझीले सोह्र श्राद्धमै पितृहरूको उद्धार गर्ने काम गर्छन । बुढी बाख्री काटेर, जाँड रक्सी खाएर, खुवाएर पाहुनाहरूलाई वा पुरेतहरूलाई स्वागत सत्कार गर्छन । रातभरि बूढी बाख्रीको मासुसँग जाँड, रक्सी खाएर घर वरिपरी फोहर पारेर पितृहरूलाई गोप्य जलगन्धले फेरि नआओ भनेर विदा गर्छन् । माझीको पितृको चित बुझाउन सजिलो छैन भन्ने उखान त्यसै चलाइएको होइन रहेछ ।
कसैले दुई महिना पारेर पिण्ड दिवस मान्छन् भने कसैले आफ्नो जातिय संस्कार अनुसार तीन दिनमै सम्पूणर् काम सक्छन र पिण्डको प्रयोग गर्नुको साटो जनावरको मासु पितृहरूलाई अर्पण गर्छन । त्यो पनि उनिहरूका लागि राष्ट्रिय पिण्ड दिवसकै रुपमा मनाइएको मान्न सकिन्छ । उनिहरूले मासुको पिण्ड वा अन्न कुहाएर बनाएको झोल पदार्थकै पिण्ड दिँदा पनि भएको छ । कसैले मृत्यु पश्चात सद्गतमात्र गरेर केही नगरी चुपचाप बसेर पनि पिण्ड दिवस मनाएका छन् ।
एउटै बिचारले मनाउने पिण्ड दिवस सायद नेपालमा र भारतमा बाहेक अन्य मुलुकमा फरक तरीकाले मनाएको हुन सक्छ । जो हामीले नबुझेका पनि हुन सक्छौँ । भनौ हामी कार्ल माक्र्स, स्टालिन, लेनिन, माओत्से तुङ्को झोलवादी नीतिको खोल ओढेर ढोल बजाउँदै सोह्र श्राद्धमा खरानी भएका पितृहरूको सपनालाई पिण्डसँगै कुनै नदी तलाउ वा पोखरीमा लगेर विसर्जन गरे पनि पिण्ड दिवसलाई भव्य र सभ्य रुपले गोहीको आँशु बगाउँदै उल्लासमय बातावरणमा हर्षोल्लासका साथ मनाउने चलन पनि हामीले चलाएका छौ ।
पिण्ड दिवस मनाउने म लगायतका हाम्रा दिवंगत आदरणिय नेता पितृहरूले एउटा ठूलो गल्ती गरेर हामीलाई कहिल्यै नभेटने गरी बाटो लागे । त्यो गल्ती भनेको हामीले अंगिकार गरेको कम्युनिष्ट सिद्धान्त नीतिका जन्मदाताहरू कार्ल माक्र्स, एंगेल्स, लेलिन, स्टालिन, माओत्से तुङ्को नाममा पिण्ड दिन भने सिकाएनन । जन्म र कर्म दिने पितृहरूको नाममा चाहिँ पिण्ड दिनु पर्ने तर शिक्षा दिने गुरुका रुपमा रहेका ति नेताहरूको नाममा भने भेदभाव गरेर चालु पुस्तालाई आलु बनाएर पिंडालु खुवाएका छन् । जसले गर्दा अहिले आएर ती नेताहरूले प्रतिपादन गरेको नीति तथा कार्यक्रम वा भनौ सिद्धान्त नै कोक्याउन थालेको छ ।
धर्म निरपेक्षता वा धार्मिक सहिष्णुता भएको मुलुकमा जातिय धर्म संस्कृतिका आधारमा वा कुनै धार्मिक आस्थाका आधारमा कार्ल माक्र्सको चिन्तन मननभित्र रुमलिएर समाजलाई प्रगतिशील बनाउन यो पिण्ड दिवसले सहयोग गर्छ वा असहयोग त्यो आजको प्रगतिवादी बौद्धिक जमातले बुझ्नु पर्छ । पिण्ड दिएर मात्र पितृहरूको स्मरण वा उद्धार हुन्छ भन्ने पुरातनवादी भित्रको पुरेतवादी सोंच र मानसिकताले हाम्रो समाजलाई पिण्ड दिवसमै सिमीत राखेको छ । आजसम्म पिण्ड दिवस मनाउने नयाँ तरीकाको प्रारम्भ हुन सकेको पाइदैन । समाज प्रगतिशीलतामा विश्वास गर्छ तर उल्टो गतिमा हिडेका कारण नयाँ तरीकाले पिण्ड दिवस मनाउन सकेको छैन । प्रगतिशीलताको सुल्टो गतिमा हिडन बाधक कुराहरू पनि आखिर समाजभित्र नै छ त्यसलाई मिल्काउन माक्र्सवाद, लेलिनवाद र माओवादभित्रकै गुट उपगुटहरूनै पछि परेका छन् ।
परिवर्तन चाहने समाजले बदलिदो समय परिस्थिति अनुसार हिँड्न नसक्नु र पुस्ता हस्तान्तरणमा देखिएको अलमलले पनि यो पिण्ड दिवसले समाजमा निरन्तरता पाएको हो । जसले गर्दा समाजलाई प्रगतिको बाटोमा अघि बढाउन सक्दैन भने आजको समृद्धिको नारालाई पनि पिण्ड दिवसले चुनौती दिइरहेको छ । गफमा प्रगतिवादी तर व्यवहार र काममा यथास्थितिवादी समाजले आस्थाका आधारमा मनाउने राष्ट्रिय पिण्ड दिवस आजको समृद्धिको बाटोमा प्रगतिशीलताको साधक बनोस शुभ कामना ।
०००
लेखक प्रगतिशील लेखक सङ्घ नेपाल, उदयपुर जिल्ला कार्य समितिका अध्यक्ष हुनुहुन्छ ।
उदयपुर, गाईघाट
सम्पर्क नं. ९८५४०२०५१०
Subscribe
Login
0 Comments
Oldest






































