साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायाको चिनो

वसुदेव र देवकीको आठौँ मायाको चिनोले कंशको जीवन सर्वनाश गर्छ भन्ने थाहा पाएपछि त्यो चिनो धर्तीमा नआउँदै र आइसकेपछि कति विध्वंश मच्चायो उसले !

Nepal Telecom ad

मायाको चिनोलाई माया नगर्ने को होला यो संसारमा ? मलाई मायाको चिनोले विगतलाई एकै निमेषमा सामुन्ने ल्याइदिन्छ । म पूर्व स्मृतिको संसारमा हराउँछु । एकछिन मुस्कुराउँछु, टाउको हल्लाउँछु, त्यसबाट वर्तमानमा केही शिक्षा पाउँछु । एक्लै मुस्कुराइरहेको मलाई देखेर श्रीमतीले पागलजस्तो किन एक्लै हासेको भनेपछि बल्ल म यथास्थितिमा आउँछु । उनलाई स्पष्टीकरण दिएको केही पल बित्न नपाउँदै फेरि अर्को मायाको चिनोले याद दिलायो भने म पुनःस्मृतिका क्षितिजमा सूर्य र चन्द्रोदय भएका दृश्यलाई कल्पदैँ मुस्कुराएर खुसीका आभाहरूलाई अनुहारभरि लेराउँछु ।

कैलेकाहीँ मलाई मायाको चिनोले झस्काउँछ । दुई मिनेटमा एउटा कविता वाचन गरेको भरमा जब आयोजकले मायाको चिनो थमाउँछन्; म कल्पन्छु कि, कति छिट्टै माया बसेछ आयोजकसँग ! म खुट्टयाउँन खोज्छु, आयोजकले मेरो कवितालाई प्रेम गरेको हो या मलाई ? दुई मिनेटमा विना कुराकानी, विना चिनाजानी कति छिटो माया बसेको ? मायाको चिनो सबैभन्दा छिटो पाउने मेसो त यस्तै आयोजनाको अवसरलाई ठान्दछु म । नत्र त एउटा प्रेमी प्रेमिकाले मायाको चिनो पाउन कति सङ्घर्ष गर्नु परेको देखेको छु मैले । नाता गोता र छरछिमेकका महिलाले नवविवाहित पत्नीलाई एक्लै भेट्याउँदा समातेर “पतिदेवले माया गर्छन् कि गर्दैनन्” भनेर सोधेको मेरो आफ्नै कानले सुनेको छु । पत्नीले रातो मुख गर्दै, भुइँमा खुट्टाको औँलाले कोट्याएर एक पलक केही पर उभिएको पतिको मुखमा हेरेर उनीहरूलाई “माया गर्छन्” भनी दिएको जवाफको रमाइलो खोई केसँग तुलना गर्न सकिएला ? त्यसको आफ्नै महत्व छ । त्यो पल प्रकृतिले अदृश्य रूपमा मायाको चिनो प्रदान गरेको हो । म जब त्यस्ता क्षणहरू संझन्छु, सूर्योदयले माछापुछ्रे हिमाललाई म्वाई खाएर ल्याएको खुसीभन्दा बढी खुसी म आफ्नो चेहेरामा पाउँछु ।

पति पत्नीवीच एक अर्कामा खुसी साटासाट गरेको प्रमाण जगलाई देखाउनु पर्दा त्यही मायाको चिनो देखाउनु पर्दछ । र त्यस्तो मायाको चिनो पाउन नौ महिनासम्म कुर्नु पर्दछ । त्यो नौ महिना पाउन पनि कतिले त डाक्टर, धामी-झाँक्री, तीर्थ ब्रत जस्तो कठिनाई झेल्नु परेको हुन्छ । त्यसरी प्राप्त नौ महिनाभित्र आउने मायाको चिनोको कल्पनामा मान्छे कसरी खुसी हुन्छ ? त्यसरी पाइने मायाको चिनोको कल्पनामा कोही किन दुःखी हुन्छन् ? के, कस्तो, कसरी, किन, कहिले, कोबाट पाइने हो भन्ने प्रश्नका उत्तरहरूले दिमागी सागरमा लहर उछालिरहन्छन् । त्यो क्रम घट्दो या बढ्दो रूपमा मायाको चिनोले लहर उत्पन्न गरिरहन्छ ।

भिडियो एक्सरे गरेर आज थाहा पाएभन्दा बढी पौराणिक कालमा आफूहरूले कस्तो मायाको चिनो पाउने हो भन्ने रहस्य राजा दशरथ र कौशल्या रानीलाई राज गुरुमार्फत थाहा भएपछि आउने पलको कल्पनामा उनीहरूजति खुसी त को भए होलान् र ? शिव शर्मा बूढो र गोमा व्राह्मणीलाई आउँदै गरेको मायाको चिनो स्याहार्नको लागि धनको आवश्यकता थियो र शिव शर्मा त्यही कर्तव्य निभाउने क्रममा रूखबाट खसेर मर्नु पर्‍यो । त्यो कति दुःखद पल थियो । वसुदेव र देवकीको आठौँ मायाको चिनोले कंशको जीवन सर्वनाश गर्छ भन्ने थाहा पाएपछि त्यो चिनो धर्तीमा नआउँदै र आइसकेपछि कति विध्वंश मच्चायो उसले ! अन्ततः त्यही मायाको चिनोले उसको जीवन सिध्यायो । अर्काले पाएको मायाको चिनोले दुःखी हुने मान्छेहरूमध्ये कंशजस्तो त अरू को होला र ? यस्तो मायाको चिनोले कंशको ठाउँबाट सोच्ने हो भने, नतर्सिने को होला ?

श्रवण कुमारजस्तो मायाको चिनो प्राप्त गर्ने लालसा पालेका बाबुआमा त्यतिबेला अनेकौँ दुःख र छटपटीले प्राण त्याग्छन्, जतिबेला धुन्धकारीजस्तो मायाको चिनोले जीवन हराम पारिदिन्छ । त्यस्ता बाबुआमाले मायाको चिनो पाउनु र नपाउनु अघिको समय रात र दिनजस्तै फरक भएको हुन्छ । हीराजस्तो मायाको चिनो पाउने विश्वस्त भएको प्रेमी प्रेमिकाले जब हातमा कोइला पाउँछन्; हो त्यतिबेला उनीहरूको नियति अभिमन्युकी पत्नी उत्तराको गर्भलाई वाण हानेर तुहाइँदाको अवस्थाभन्दा के फरक हुन्छ र ?

यसरी सङ्घर्षपूणर् तरिकाले पाएको मायाको चिनो र दुई मिनेटमै पाएको मायाको चिनोवीच म तुलना गर्छु । छेउटुप्पै मिल्दैन, तुलना गर्ने आधार नै भेटिदैन । त्यस्ता आयोजकले दिएको मायाको चिनोलाई कसैले जवरजस्ती करणी गरेर दिएको मायाको चिनोसँग पनि जोख्न मिल्दैन । नदिनु मायाको चिनो दिइसकेपछि प्रेमीले प्रेमिकाको गालामा दुई ओठका धर्काले हस्ताक्षर गरेको जस्तो होस् न कम्तिमा पनि । ऐना हेर्दा ती दुई धर्काको हस्ताक्षरलाई अन्तरचक्षुले याद गरिरहेजस्तो । किशोरवयकोले हस्तमैथुन गरेर कागजमा फोहर पोकोपारी कच्याककुचुक पारेर फालेकोजस्तो दुई मिनेटमै पाएको मायाको चिनो, जसलाई दुई मिनेटभित्र सडकमा बजारेर टुक्राटुक्रा पार्दा लिने र दिने दुवैको मुटुको छेउकुना कतै, केही असर गर्दैन भने; त्यो पनि मायाको चिनो हो र ?

अझ कसैकसैले त यस्तो चिनो दिन्छन् कि; प्लााष्टिकको फ्रेमभित्र आयोजकले एकतर्फी प्रेमजस्तो एकोहोरो उसकै नाम उल्लेख गरेर दिन्छन्; जसलाई जसले लगेर घरमा राख्यो उसैको हुने त्यो पनि मायाको चिनो हो र ? मायाको चिनो त निस्वार्थ हुनुपर्छ । त्यो पाउनुअघि कुतुहुल हुनुपर्छ । पाएपछि त्यसको कर्ता चिनिनुपर्छ, जसरी दोबाटोमा लुखुरलखुर युधिष्ठिर हिँडे भने देख्ने जसले पनि भन्दछ कि, उनी पाण्डु र कुन्तीकी मायाको चिनो हुन् भनी । मेरो घरको वैठकमा सजाएर राख्दा आउने पाहुनाहरू सबैले दाताको नाम पढून् भनी स्वार्थ लुकाएर दिएको चिनो; खोई के मायाको चिनो !

०००
का.म.पा.६ सिमलटार ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
लसुन कि उखु

लसुन कि उखु

रामकुमार पण्डित क्षेत्री
गाउँ शहर

गाउँ शहर

रामकुमार पण्डित क्षेत्री
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x