रामकुमार पण्डित क्षेत्रीमायाको चिनो
वसुदेव र देवकीको आठौँ मायाको चिनोले कंशको जीवन सर्वनाश गर्छ भन्ने थाहा पाएपछि त्यो चिनो धर्तीमा नआउँदै र आइसकेपछि कति विध्वंश मच्चायो उसले !

मायाको चिनोलाई माया नगर्ने को होला यो संसारमा ? मलाई मायाको चिनोले विगतलाई एकै निमेषमा सामुन्ने ल्याइदिन्छ । म पूर्व स्मृतिको संसारमा हराउँछु । एकछिन मुस्कुराउँछु, टाउको हल्लाउँछु, त्यसबाट वर्तमानमा केही शिक्षा पाउँछु । एक्लै मुस्कुराइरहेको मलाई देखेर श्रीमतीले पागलजस्तो किन एक्लै हासेको भनेपछि बल्ल म यथास्थितिमा आउँछु । उनलाई स्पष्टीकरण दिएको केही पल बित्न नपाउँदै फेरि अर्को मायाको चिनोले याद दिलायो भने म पुनःस्मृतिका क्षितिजमा सूर्य र चन्द्रोदय भएका दृश्यलाई कल्पदैँ मुस्कुराएर खुसीका आभाहरूलाई अनुहारभरि लेराउँछु ।
कैलेकाहीँ मलाई मायाको चिनोले झस्काउँछ । दुई मिनेटमा एउटा कविता वाचन गरेको भरमा जब आयोजकले मायाको चिनो थमाउँछन्; म कल्पन्छु कि, कति छिट्टै माया बसेछ आयोजकसँग ! म खुट्टयाउँन खोज्छु, आयोजकले मेरो कवितालाई प्रेम गरेको हो या मलाई ? दुई मिनेटमा विना कुराकानी, विना चिनाजानी कति छिटो माया बसेको ? मायाको चिनो सबैभन्दा छिटो पाउने मेसो त यस्तै आयोजनाको अवसरलाई ठान्दछु म । नत्र त एउटा प्रेमी प्रेमिकाले मायाको चिनो पाउन कति सङ्घर्ष गर्नु परेको देखेको छु मैले । नाता गोता र छरछिमेकका महिलाले नवविवाहित पत्नीलाई एक्लै भेट्याउँदा समातेर “पतिदेवले माया गर्छन् कि गर्दैनन्” भनेर सोधेको मेरो आफ्नै कानले सुनेको छु । पत्नीले रातो मुख गर्दै, भुइँमा खुट्टाको औँलाले कोट्याएर एक पलक केही पर उभिएको पतिको मुखमा हेरेर उनीहरूलाई “माया गर्छन्” भनी दिएको जवाफको रमाइलो खोई केसँग तुलना गर्न सकिएला ? त्यसको आफ्नै महत्व छ । त्यो पल प्रकृतिले अदृश्य रूपमा मायाको चिनो प्रदान गरेको हो । म जब त्यस्ता क्षणहरू संझन्छु, सूर्योदयले माछापुछ्रे हिमाललाई म्वाई खाएर ल्याएको खुसीभन्दा बढी खुसी म आफ्नो चेहेरामा पाउँछु ।
पति पत्नीवीच एक अर्कामा खुसी साटासाट गरेको प्रमाण जगलाई देखाउनु पर्दा त्यही मायाको चिनो देखाउनु पर्दछ । र त्यस्तो मायाको चिनो पाउन नौ महिनासम्म कुर्नु पर्दछ । त्यो नौ महिना पाउन पनि कतिले त डाक्टर, धामी-झाँक्री, तीर्थ ब्रत जस्तो कठिनाई झेल्नु परेको हुन्छ । त्यसरी प्राप्त नौ महिनाभित्र आउने मायाको चिनोको कल्पनामा मान्छे कसरी खुसी हुन्छ ? त्यसरी पाइने मायाको चिनोको कल्पनामा कोही किन दुःखी हुन्छन् ? के, कस्तो, कसरी, किन, कहिले, कोबाट पाइने हो भन्ने प्रश्नका उत्तरहरूले दिमागी सागरमा लहर उछालिरहन्छन् । त्यो क्रम घट्दो या बढ्दो रूपमा मायाको चिनोले लहर उत्पन्न गरिरहन्छ ।
भिडियो एक्सरे गरेर आज थाहा पाएभन्दा बढी पौराणिक कालमा आफूहरूले कस्तो मायाको चिनो पाउने हो भन्ने रहस्य राजा दशरथ र कौशल्या रानीलाई राज गुरुमार्फत थाहा भएपछि आउने पलको कल्पनामा उनीहरूजति खुसी त को भए होलान् र ? शिव शर्मा बूढो र गोमा व्राह्मणीलाई आउँदै गरेको मायाको चिनो स्याहार्नको लागि धनको आवश्यकता थियो र शिव शर्मा त्यही कर्तव्य निभाउने क्रममा रूखबाट खसेर मर्नु पर्यो । त्यो कति दुःखद पल थियो । वसुदेव र देवकीको आठौँ मायाको चिनोले कंशको जीवन सर्वनाश गर्छ भन्ने थाहा पाएपछि त्यो चिनो धर्तीमा नआउँदै र आइसकेपछि कति विध्वंश मच्चायो उसले ! अन्ततः त्यही मायाको चिनोले उसको जीवन सिध्यायो । अर्काले पाएको मायाको चिनोले दुःखी हुने मान्छेहरूमध्ये कंशजस्तो त अरू को होला र ? यस्तो मायाको चिनोले कंशको ठाउँबाट सोच्ने हो भने, नतर्सिने को होला ?
श्रवण कुमारजस्तो मायाको चिनो प्राप्त गर्ने लालसा पालेका बाबुआमा त्यतिबेला अनेकौँ दुःख र छटपटीले प्राण त्याग्छन्, जतिबेला धुन्धकारीजस्तो मायाको चिनोले जीवन हराम पारिदिन्छ । त्यस्ता बाबुआमाले मायाको चिनो पाउनु र नपाउनु अघिको समय रात र दिनजस्तै फरक भएको हुन्छ । हीराजस्तो मायाको चिनो पाउने विश्वस्त भएको प्रेमी प्रेमिकाले जब हातमा कोइला पाउँछन्; हो त्यतिबेला उनीहरूको नियति अभिमन्युकी पत्नी उत्तराको गर्भलाई वाण हानेर तुहाइँदाको अवस्थाभन्दा के फरक हुन्छ र ?
यसरी सङ्घर्षपूणर् तरिकाले पाएको मायाको चिनो र दुई मिनेटमै पाएको मायाको चिनोवीच म तुलना गर्छु । छेउटुप्पै मिल्दैन, तुलना गर्ने आधार नै भेटिदैन । त्यस्ता आयोजकले दिएको मायाको चिनोलाई कसैले जवरजस्ती करणी गरेर दिएको मायाको चिनोसँग पनि जोख्न मिल्दैन । नदिनु मायाको चिनो दिइसकेपछि प्रेमीले प्रेमिकाको गालामा दुई ओठका धर्काले हस्ताक्षर गरेको जस्तो होस् न कम्तिमा पनि । ऐना हेर्दा ती दुई धर्काको हस्ताक्षरलाई अन्तरचक्षुले याद गरिरहेजस्तो । किशोरवयकोले हस्तमैथुन गरेर कागजमा फोहर पोकोपारी कच्याककुचुक पारेर फालेकोजस्तो दुई मिनेटमै पाएको मायाको चिनो, जसलाई दुई मिनेटभित्र सडकमा बजारेर टुक्राटुक्रा पार्दा लिने र दिने दुवैको मुटुको छेउकुना कतै, केही असर गर्दैन भने; त्यो पनि मायाको चिनो हो र ?
अझ कसैकसैले त यस्तो चिनो दिन्छन् कि; प्लााष्टिकको फ्रेमभित्र आयोजकले एकतर्फी प्रेमजस्तो एकोहोरो उसकै नाम उल्लेख गरेर दिन्छन्; जसलाई जसले लगेर घरमा राख्यो उसैको हुने त्यो पनि मायाको चिनो हो र ? मायाको चिनो त निस्वार्थ हुनुपर्छ । त्यो पाउनुअघि कुतुहुल हुनुपर्छ । पाएपछि त्यसको कर्ता चिनिनुपर्छ, जसरी दोबाटोमा लुखुरलखुर युधिष्ठिर हिँडे भने देख्ने जसले पनि भन्दछ कि, उनी पाण्डु र कुन्तीकी मायाको चिनो हुन् भनी । मेरो घरको वैठकमा सजाएर राख्दा आउने पाहुनाहरू सबैले दाताको नाम पढून् भनी स्वार्थ लुकाएर दिएको चिनो; खोई के मायाको चिनो !
०००
का.म.पा.६ सिमलटार ।
Subscribe
Login
0 Comments
Oldest









































