माधव पोखरेल गोज्याङ्ग्रेसरुवा बढुवाको सूचना
जागिर खाँदाखाँदै स्वर्गमा सरुवा भएकाले अपायक परेका कारण मार्कामा परेकालाई घर पायक सरुवाका साथै स्वर्गमा बढुवा हुन नसकेकालाई सरुवा भएको साता दिन नभए पनि बढुवाको फाइलपछि सार्ने प्रबन्ध मिलाइने छ ।

आउनुस् जागिर भएका, नभएका, घरखेती गर्ने, वनको खेती गर्ने, खोलाको खेती गर्ने, बगरको खेती गर्ने स्वर्गमा गएका, विदेशमा भएका जो कोहीलाई पनि सरुवा बढुवा चाहिएको छ भने तुरुन्त छिटो चाँडोभन्दा चाँडो यथाशीघ्र सम्पर्क गर्न नबिर्सनु होला । तपाईंहरूलाई वन पायक पर्ने, घाट वा खोला पायक पर्ने ठाउँमा सरुवा गरिदिन यो गोज्याङ्ग्रेको सरकार लयालु पारामा दयालु भएर लागि पर्ने छ । समयमै सूचना जारी गरिएकोले अवकास प्राप्त भएकाले पनि सम्पर्क गर्न हुन यो कुरालाई गुपचुप राखिन्छ । सार्वजनिक सूचना जारी गर्दा सरकारको गोपनीयता भताभुङ हुने भएकोले हल्ला नगरीकन सल्लाह विना नै भङनीयता राख्नु हुन समेत गोज्याङ्ग्रेको सरकार सबैमा विज्ञापन गर्दछ ।
बढुवा खान नपाएर वाक्क दिक्क भएका, घर पायक बस्न नपाएका हाकिमको पेलाइमा परेका, काम नजान्ने हरिलठ्ठकले सम्पर्क गर्नु होला । यसैगरी अल्छे, कामचोर, कामभन्दा राजनीतिलाई अगालो हाल्ने, दाम विना काम नगर्ने, घुशासनलाई प्राथमिकता दिनेले समयमै सम्पर्क गरेर सरुवा, बढुवा गर्न गराउन हातमा लौरो लिएर नवसे पनि मुठाका मुठा हातीको विटा लिएर तयार हुन अनुरोध छ ।
स्वर्गमा नर्कको मजा लिएर नाँचिरहेका वा मत्र्यलोकमा पीडा सहेर स्वर्गमा रहँदा बस्दा अपायक परेको छ भने वा घटुवा, बढुवा चाहिएको छ भने गोज्याङ्ग्रेको सरकारले सबैको चित्त बुझाउने असफल प्रयास जारी राख्ने छ । नेता कहाँ धाउँदा कोसेली पात लिएर जानु पर्दछ भने गोज्याङ्ग्रेको सरकार कहाँ आउँदा वर्षभरीलाई पुग्ने खाद्यान्न लिएर आए हुन्छ । तर घुस लिने चलन छैन । आश्वासनको पोको भोको पेटमा बाँडिने छ । हुन्छ र भोलि भन्ने शब्द पटक पटक प्रयोग गरिने छ । भनौँ हुन्छ र भोलि भन्ने शब्दलाई गोज्याङ्ग्रेको सरकारले कामकाजको सुत्र मानेको छ ।
जागिर खाँदाखाँदै स्वर्गमा सरुवा भएकाले अपायक परेका कारण मार्कामा परेकालाई घर पायक सरुवाका साथै स्वर्गमा बढुवा हुन नसकेकालाई सरुवा भएको साता दिन नभए पनि बढुवाको फाइलपछि सार्ने प्रबन्ध मिलाइने छ । अवकासको जीवन यापन गरिरहेकालाई पायक पर्ने आर्यघाटमा सरुवा गर्न उचित व्यवस्था मिलाइने छ । बढुवाकालागि पातलो मान्छेलाई मोटो बनाउनेतिर ध्यान दिइने छ भने गहिरो ठाउँमा बसोवास रहेछ भने अग्लो ठाउँमा र अग्लो ठाउँमा बसेकालाई पाखामा राखेर बढुवाको सुवणर् अवसर दिइनेछ । होचो ठाउँमा बसेकालाई घोचो लाएर खोलाको डिलमा र खोलाका डिलमा बसेकालाई डोजर लाएर सडकमा सडकपति बनाएर सरुवा बढुवा गरिने छ ।
यो गोज्याङ्ग्रेको सरकारले सरुवा बढुवामा गरेका कामहरू प्रति असन्तुष्ट हुनेले गधालतमा गएर मुसाको प्वाल खोजेर उजुरी त्यही खसाल्न बिरालोले अवरोध गर्दछ । यसकालागि छेपारोमानसिंह नाम गरेका लेखनदास कहाँ गएर आजै उजुरी लेखाउन पनि सकिनेछ । यदि न्याय नपाएका खण्डमा गोज्याङ्ग्रेको सरकारको टुप्पीमा समातेर र्याइँ र्याइँ पार्न सकिने छ । यो सूचनाको मूल उद्देश्य भनेको मृत्यु भएर स्वर्गमा सरुवा भएका तर बढुवा नपाएका, राजिनामा दिएर वा अनिवार्य अवकाश पाएर घरमा बसेकालाई बढुवा गरेर कहिल्यै घर नफर्किने गरी सदाका लागि सरुवा गर्नु हो । स्वर्गमा पुगेकाहरूको गुनासोको सुनुवाई गर्नका लागि अति आवश्यक रहेकोले पनि यो कामलाई अघि बढाउने निधो गरिएको हो । यतिमात्र होइन राजिनामा दिएका र अवकाश पाएकाहरूले पनि जागिरे जीवनभरी सरुवा, बढुवाको अवसर नपाएको सार्वजनिक गुनासो गरेका कारण पनि बाध्य भएर यो काममा मन नलागेर हात हाल्न लागिएको हो ।
अब सरुवा बढुवा माग गर्ने जो कोहीले पनि ढुक्क भएर बसे चोविसै आना फरक पर्न सक्छ । किनभने यमराज कहाँ इन्टरनेटको सुविधा पुगेकोले सबैलाई इन्टरनेटबाट नै सरुवा बढुवाको तातो खबर बासी बनाएर पठाइने छ । साजी पठाउन नियम कानूनले नमिल्ने भएकोले पत्रको मृत्यु भएपछि पठाउँदा गोज्याङ्ग्रेको सरकारलाई समय मै काइदाको फाइदा हुने छ । विभिन्न कारणले मृत्यु भएकाले यो सरकारमा पुनः जोडिएर जागिर खान चाहेमा स्वर्गमा नै जागिरको व्यवस्था गरिने योजना पनि अघि सारिनेछ । यो योजनालाई पछि सार्न आवश्यक ठानिएमा वा माग भएका खण्डमा सडक र सदनमा नाराबाजी गरिने छ । मुख्य रूपमा मृत्यु भएका र अवकासमा रहेकालाई सरुवा बढुवा नभएमा आन्दोलनको आँधी बेहरी उत्पादन गरिने छ ।
गोज्याङ्ग्रेको सरकारले विश्वमा नभएका कामहरू गरेर विश्व रेकर्ड कायम राख्ने नीति अवलम्वन गरेको छ । राष्ट्रिय स्तरबाट पछि परे पनि अन्तर्राष्ट्रिय स्तरबाट विश्व मञ्चमा शून्य स्थानमा माथि उक्लेको छ । यसको प्रमाणपत्र समेत लिने तयारी गोज्याङ्ग्रेको सरकारले गरिरहेको छ । एक शून्य कार्यक्रमका बिच गोज्याङ्ग्रेको सरकारलाई विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको अनुपस्थितिमा रित्तो प्रमाणपत्र सबैका सामु हातमा राखिने छ ।
अर्को कुरा के हो भने विश्वमा हालसम्म बनेका सरकारहरू मध्ये गोज्याङ्ग्रेको सरकार सबैभन्दा उदार नीतिमा चलेको छ । यसको उदाहरणको रूपमा सरुवा बढुवाको कामलाई नै लिन सकिन्छ । मृत्यु भएका र अवकासमा रहेकालाई बढुवा सहित सरुवा गर्ने काम आजसम्म कसैले गर्न सकेको छैन । स्वर्गमा भएकालाई नर्क र मत्र्यलोकमा ल्याउने । मत्र्यलोकमा अवकासको जीवन यापन गरिरहेकालाई बाटो खर्च सहित स्वर्गमा पठाउने जस्तो महत्वपूर्ण काम अहिलेसम्म विश्वका कुनै पनि मुलुकका सरकारले गर्न सकेको छैन । यस्तो अलौकिक र महत्वपूर्ण काम गर्ने क्षमता विश्वका कुनै पनि सरकारमा भएको देखिदैन । अब आउने विश्वका कुनै पनि सरकारले गर्न सक्दैन भन्ने गोज्याङ्ग्रेको सरकारलाई लागेको छ ।
अझ भन्नै पर्ने कुरा चाहिँ के हो भने गोज्याङ्ग्रेको सरकारले संघीय संसदका माननीयहरू, प्रदेश संसदका माननीयहरू, मन्त्रीहरूको सरुवा बढुवा गर्ने छ । कुटनीतिक नियोगका पदाधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, राजनीतिक दलका नेता कार्यकर्ता पनि सरुवा सूचीमा छन् । मन्त्रालयका सचिव, सहसचिव, नगर तथा गाउँपालिकाका प्रमुख,अध्यक्ष, उप प्रमुख,उपाध्यक्ष, वडाध्यक्ष लगायतका सबैखाले निर्वाचित जनप्रतिनिधि समेतको उचित स्थानमा सरुवा बढुवा गर्ने छ । यहाँ उल्लेख भएका सबैले सरुवा बढुवाका लागि गोज्याङ्ग्रेको सरकार गठन हुनुभन्दा अघि नै उजुरी हालेको पाइएको छ । उजुरी उपर छानविनको तयारीका कामहरू हाम गर्न नपाएसम्म स्थगित गरिनेछ । हामको मेलोमेसो अघि बढेका खण्डमा गोज्याङ्ग्रेको सरकारले हजम गर्ने काम सकेर सरुवा बढुवाको काम पछि सार्ने छ ।
खास गरी सरुवा बढुवा हुन नपाएर पीडा सहेर बसेका मेवाका पारखी, गोज्याङ्गे्रको सरकारका सारथी, राजनीतिका महारथी लगायतका सबैलाई अन्याय दिन आवश्यक देखिएको छ । यस सरकारका प्रमुखमन्त्री आफैँ अन्यायमा परेको देखिन्छ । पीडितलाई पनि अन्याय दिन मनासिव देखेर प्रमुखमन्त्री कै हाली मुहाली हुने गरी यो टिप्पणी आदेश सरदर गर्दै भारदारहरूमा चढाउने निर्देशन छ । स्वर्गमा गएका र मत्र्यलोकमा रहेका सबैलाई अन्यायमा पहल गर्न एक वियोग गठन गरिनेछ । प्रमुखमन्त्रीका आफन्त, नातेदार, हुक्के, चिलिमे, ढोके, हनुमान, सुदामा लगायतका अन्याय प्रेमी भएका छन् । आफू खुशी न्याय दिलाउन स्वर्गालय र मत्र्यालय फरक फरक आयोग बनाएर सरुवा बढुवाको काम दामका आधारमा गरिने नीति रहेको छ ।
गोज्याङ्ग्रेको सरकारको सरुवा बढुवाका बारेमा बेथितिको नीति यस्तै छ । जे जस्तो भए पनि विश्व राजनीतिमा यसले ठुलो ठाउँ ओगटेको हुँदा भोलि भोगटे खान पाइने कुरामा ढुक्क नभए पनि आशा गर्न सकिने ठाउँ छैन । विश्व राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेर आफ्नो छवि सुधार्न उल्टो हिड्ने बाचाका साथ गोज्याङ्ग्रेको सरकार कोल्याप्स हुन्छ । जय साहित्य जय व्यङ्ग्य ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































