शम्भु जमरकट्टेल हेदाङ्नेहामी पानी मरुवा
करतल ध्वनिले ताली बजेर यो प्रस्ताव पास भयो । मैले पनि जोडेले ताल ठोकेछु । मेरो तालीले श्रीमतीको निन्द्रा खल्बलिएछ क्यारे । ‘होइन यो मान्छे निन्द्रामा पनि कति बोल्न सकेको’ भन्दै कुइनाले धकेल्दा पो म झल्यास्स भएँ ।

नेपालको संसदमा प्रतिपक्ष दलका सांसदले एउटा प्रस्ताव पेस गरेछन् । त्यो प्रस्तावलाई सत्तापक्षका सांसदले समेत समर्थन गरेछन् । म नववर्ष अर्थात २०८० सालको बैशाख १ गते कार्यरत कार्यालय बन्द रहेका कारण संसद भवनमा अनौठो सवाल टेवल हुँदैछ भन्ने सुनेर रमित हेर्न गएको रहेछु । सभामुखले संसद सुरु हुनासाथ प्रतिपक्ष दलका प्रमुख सचेतक तथा माननीय सांसद श्रीशम्भु जमरकट्टेल हेदाङ्ग्नेले राख्नुभएको प्रस्ताव जसलाई सत्तापक्षले समेत समर्थन जनाएको छ- आज टेवल हुने भएकाले सबै सांसदहरूलाई यथास्थानमा बसी सहयोग गरिदिन हुन अनुरोध गर्दछु भने । सबै सांसदहरू यथास्थानमा वस्दै गर्दा मजदुर किसान पार्टीका नेता मायालु रसुवालले उठेर प्रमुख प्रतिपक्ष र सत्तापक्ष दुवैले सहमति जनाएको प्रस्ताव के हो, पहिले खुलस्त गरी पाउँ भनेर अनुरोध गरे ।
सभामुखले तत्काल सो प्रस्तावको शीर्षक वाचन गरे र अगाडिको बेहोरा सुनाए- “नेपाली हामी पुर्खौंदेखि वीरजाति, वीर गोर्खालीका सन्तान, बहादुर जाति, आँटिला, हिम्मतवाला, कहिले नहार्ने अथवा नझुक्ने जस्ता वीरत्वको प्रशंसा गर्ने विशेषता अब नेपालीका नामबाट हटाउनु पर्छ । अब नेपाली जातिलाई लाक्षी, काँतर, डरछेरुवा, पानी मरुवा, चोर, भ्रष्ट, विदेशीका पिछलग्गु वा भक्त आदि जस्ता विशेषताले चिनाउनु पर्छ ।” यो सुन्नासाथ उता माननीय तित्राबहादुरले टेवल ठोक्दै उठेर भने- “मेरो पार्टी यस प्रस्तावको विपक्षमा छ । मैले यो पानी मरुवाहरूको जोरबन्धन सरकारलाई दिएको प्रस्ताव फिर्ता लिन्छु ।” यतिकैमा सभामुखले आफ्नो प्रस्ताव संसदमा बाचन गरेर सुनाउन माननीय श्रीशम्भु जमरकट्टेल हेदाङ्ग्नेलाई रोष्टममा बोलाए । माननीय सांसदले प्रस्ताव बाचन गरेपछि प्रस्तावको पक्ष र विपक्षमा मतविभाजन गरिने हुनाले माननीय सांसदहरू बाहिर नजान हुन अनुरोध गर्दछु भने । अव म माननीय सांसद हेदाङ्ग्नेलाई आफ्नो प्रस्ताव बाचन गर्न समय दिन्छु भने ।
यसपछि रोष्टमबाट माननीय सांसद हेदाङ्ग्नेले आफ्नो प्रस्ताव बाचन गर्न थाले । “हामी वीर, बहादुर, आँटिला र जोसिलो, कसैसँग नझुक्ने, इमान्दार गोर्खाली वा नेपालीका सन्तान भए पनि अब हामी त्यस्ता छैनौं । अब नेपालीसँग बहादुरी गर्न सक्ने, चिनिन सक्ने कुनै कारण छैन । हामी त दुनियाँका काँतर, डरछेरुवा, पानी मरुवा, विदेशीका टट्टु, चोर, विदेश पलायन हुन चाहने, भ्रष्ट र नैतिक हराम, एक वोतल दारुका लागि राजदूतावास ढुक्ने, परेको बेला लुक्ने, अरुबेला भुक्ने, कर्महारा, ठग, चाकरीवाजहरू हौं । तसर्थ नेपालको यस गरिमामय सांसदले आजकै मितिबाट यो प्रस्ताव पास गरी, राष्ट्रपतिलाई प्रमाणित गर्न लगाओस् र संयुक्त राष्ट्रसंघमा समेत यो प्रस्ताव पठाएर पास गरी विश्व सामु रहेको हाम्रो पहिचानमा परिवर्तन गरोस् । किन र के कारणले यस्ता विशेषता हटाउनु पर्ने भयो भनेर माननीय सांसदहरूलाई कौतुहलता लाग्न सक्छ । हुन त अधिकांश माननीय ज्यूहरूले अन्दाज पनि गर्नु भयो होला । म यहाँ जम्मा दश बुँदामा आफ्नो प्रस्तावको बचाउ गर्दै नेपालीको वीरत्वको पहिचान हटाउनु पर्ने कारणहरू प्रष्ट्याउनेछु ।
मेरो प्रस्तावको विपक्षमा लाग्ने सांसदहरू अझै पनि ठुला कुरा गरेर वा कथा हालेर, मधेश र पहाडका टुक्का सुनाएर बहादुर नै रहेको आभास दिन सक्नु होला तर वास्तविकता त्यस्तो नरहेको कुरा म यहाँहरू सामु प्रष्ट गर्न चाहन्छु । खासगरी, माननीय तित्राबहादुर ठेसीज्यू, माननीय मायालु रसुवालज्यू, माननीय चुकेन्द्र ज्यादवज्यू, महाशन्त लाकुरज्यूलाई बोलेर हैन गरेर देखाउन चुनौति दिन्छु । म यो प्रस्तावका पक्षमा दशवटा फेहरिस्त प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. सभामुख महोदय, हाम्रो छिमेकी देश भारतले हरेक वर्ष नेपाली भूमि दक्षिण, पूर्व र पश्चिम तर्फबाट सीमानामा कोतरेको कोतरेकै छ । म चार कक्षामा पढ्दाको चुच्चे नक्सा अहिले थेप्चिएको छ । मेचीपारि गोल खेलेको स्थान अहिले भारतको भैसक्यो । गर्मीमा टनकपुरमा गएर नुहाएको भूमि अहिले भारतमा पर्यो । गण्डकीको पुच्छारमा सुस्ता आधा भारतमा गाभिइसक्यो । तर हामी नेपालीहरू अन्नपात, सागसब्जी, विकास निर्माणका सामग्री, मोटर, गाडी, मसला नुन तेल, कपडा आदि भारतबाटै ल्याएर जीविका चलाउँछौ, भारतमै निर्भर छौं । हिजो हामी काम गरेर आत्मनिर्भर हुन्जेल अर्थात राणा र राजाका पालासम्म त काम गरेर खाँदै थियौं । सिमाना मिचियो भनेर बिरोध गर्दै थियौं । अहिले हामी काम गर्न छाडेर परनिर्भर भएका छौँ । के हामी भारतका सामान बहिस्कार गरेर बिरोध जनाउँन सक्छाैं ? यदि सक्दैनौं भने, हामी नामर्द, काँतर, लाक्षी, पानीमरुवा नै हौँ, वीर वा बहादुर नेपाली त किमार्थ होइनौ ।
२. सभामुख महोदय, कालापानी, लिपुलेक र लिम्पियाधुराका नेपाली भूमिहरू २०१७ सालबाटै भारतले हडपेर खाएको रहेछ । ०७४ सालमा वलीको सरकार बनेपछि यसबारेमा सरकारले आवाज उठायो । सवै नेपालीले यो विषय थाहा पायौंं । तर नेपाल सरकारले २/४ हजार सेना पठाएर विरोध जनाउन वा भिड्न सकेन । भिडेको भए नेपाली सेना मारिन सक्थे तर विषय अन्तर्राष्ट्रियकरण त पक्कै हुन्थ्यो होला । हामी नेपालीले पनि सशक्त विरोध जनाउन सक्थ्यौं, भारतिय सामान बहिस्कारको आन्दोलन चलाउन सक्थ्यौं । तर खै हामी त भारतकै आशिर्वाद थापेर देश लुटेर खाएको टुलुटुलु हेरेर बसेका छौं त ?
३. सभामुख महोदय, अमेरिकाले हिन्द प्रशान्त क्षेत्र राजनीति अन्तर्गत नेपाललाई एमसिसी आयोजनाको जालमा पारेरै छाड्यो । यो आयोजनाको प्रस्तावमै नेपालको संविधान भन्दा अमेरिकाको कानुन र आयोजनाका नीतिहरू उपल्लो दर्जाका मानिन्छन् भनेर लेखेको छ । यो आयोजना माउ पार्टीहरूले त स्वीकारेकै थिए तर माउवादीले पनि बिरोध गरे जसो गरेर अन्तमा संसदबाट ताली ठोकेरै अनुमोदन गर्यो । एकजना माउवादीका माननीयले एमसिसी मेरो दलले पास गराए म माउवादीमा रहन्न समेत भनेर जनतालाई ढाँटे । जब यो आयोजना टेवुल गरियो तिनले पनि अरु माउवादीले झैँ परर्र ताली पिटे । नेपालका सवै दलका नेताले विदेशीको विष्टा खाएका छन् । नेता चुपचाप भए नेपाली जनताले त त्यस्तो राष्ट्रघाती भनिएको आयोजनाको विरोध गर्नुपर्ने थियो । तर खै त कतै केही सुनिएन ?
४. सभामुख महोदय, हाम्रो दक्षिणको छिमेकीले नेपालीलाई दिएको अर्को महत्वपूर्ण उपहार हो माउवादी युद्ध । जुन युद्ध सत्र हजार नेपाली मारिए, तीन लाखलाई विस्थापित गर्यो र हजारौंको सिन्दुर पुछियो र त्यसको तीन डब्बल बढी बालबच्चा टुहुरा भए । यो युद्घका नेपाली पात्र माननीयहरू नै देखिए पनि प्रत्यक्ष रुपमा भारत, युरोप र अमेरिकाको युद्ध थियो । अमेरिकालाई नेपाल कमजोर बनाएर चाइनाको सुराकी गर्न बस्ने थलोको मेसो मिलाउनु थियो । युरोपलाई प्रजातन्त्रका नाममा हिन्दु धर्ममाथि प्रहार गरी कृस्चियानिटी फैलाउनु थियो । भारतले नेपाललाई कम्जोर पारेर यहाँका उद्योगधन्दा बन्द गराएर उसको व्यापार व्यवसाय फष्टाउनु थियो । नदी नाला र प्राकृतिक श्रोत साधन माथि नियन्त्रण गर्नु थियो । राष्ट्रवादी राजाको वंशनास गरिएपछि हौसिएको भारत नक्कली र भारत नियन्त्रित कम्युनिष्ट नेताहरूलाई स्थापित गरेर राष्ट्रवादी नेता नेताको हत्या गर्न सफल भयो । यो कुरा दिल्ली सम्झौतापछि दिनको घाम झैँ छर्लङ्ग भएको थियो । तर कुनै पनि काँतर नेपालीले चुइँक्क बोल्न सकेनन् । बिरोध जनाउन सकेनन् । अझ विदेशीको विष्टा खाएका तिनैलाई काखी च्यापेर रमाइरहेका देखिन्छौं ।
५. सभामुख महोदय, माथि उल्लेख गरेझैँ राष्ट्रवादी राजा र जननेता मदन भण्डारीको हत्या पछि भारतले माननीय कमाउनिष्ट नेताको रुपमा नेपालमा भित्र्यायो र स्थापित गरायो । त्यस्ता महिष पूजकहरूलाई नेता मानेर भोट हाल्ने हामी नेपाली नै हौंं । युद्धकालमा तिनले नेपालका वैंक लुटे, सुना चाँदी लुटे, राजस्व लुटे, जनताका घरबाट रकम लुटे, खाद्यान्न लुटे । अहिले मुक्तिटावर बन्यो, नेपाल ग्यास किन्यो, भाटभटेनीको शेयर किन्यो । साउदी अरवमा घर किन्यो । कसैलाई सुमार्गी बनायो, कसैलाई ठेकेदार बनायो । कालो धनलाई सेतो धन बनाउँदै ल्याए । भारतबाट आलुका बोरामा हालेर चुनावमा पैसा ल्याउने तिनै हुन् । नेपालीलाई थाहा छ तर तैँ चुप, मैँ चुप भएर रमित हेरेर बसेका छौं । खै त नेपालीको बोल्ने, विरोध गर्ने र वहिस्कार गर्ने आँट ?
६. सभामुख महोदय, मेरी कान्छी आमैको गाँण त असजिलो भयो भनेपछि फालियो तर यो देशको गाणतन्त्र कहिले फाल्ने ? लुटतन्त्र किन पाल्ने ? यो त गाणतन्त्र भनौ वा लुटतन्त्र दुवै अब अति नै भएन र ? यो व्यवस्था नेपालीले चाहेर ल्याएकै होइन । बाख्राको पुच्छर काटे कसलाई सजिलो हुन्छ भन्नुस् त ? हो, अहिले नेपालमा व्यापार फष्टाएर भारतलाई सजिलो भएको छ । हाम्रा उद्योगधन्दा त उहिलेनै बेचेर खाइहालियो । हो यो गाणतन्त्र नेपाल र नेपालीको पुच्छर काट्ने व्यवस्था हो । सजिलो उसैलाई हुन्छ जसले यो व्यवस्था ल्याउन लगायो । तर म मात्र चुरफुर गरेर केही नहुने रहेछ त । अरु नेपाली त तिनैले बनाइदिएका नेताका पछाडि झर्ला र खाउँला भनेर कुदेकै छन् ।
७. नेपालका अधिकांश दलहरू भारतकै माटोमा भारतकै सल्लाहले जन्मिएका हुन् । यसो भन्दै गर्दा घन्टी त अमेरिकाको चाहनाले हो भन्नुहोला, त्यसमा मेरो कुनै विमति छैन । पहाडका दलहरू समेत भारतकै चाहनामा बनेपछि मधेशका दलको त कुरै सक्कियो । लालु यादवका पाउमा दाम चढाउन जाँदाको दृष्य झलझली सम्झिए पुग्छ । यसरी उताको माटोमा र चाहनामा बनेका दलले उतैको सल्लाह र यत्नमा ल्याएको गाणतन्त्र/लुटतन्त्रको बिरोध गर्नुको सट्टा हामी त तिनै दललाई भोट हालेर तिनै दलका लठुवाहरूको धोती उचालेर राष्ट्रिय झण्डा फरर भन्दै भजन गाउँदै छौं । यो कुन वीरत्वको गाथा हो, सभामुख महोदय ?
८. नेपालका सवै विप्लवहरू भारतिय मोडल र चाहनामा भएका हुन् । उदाहरणका लागि २००७ सालको क्रान्ति कताबाट सुरु भएको थियो सम्झिएर मम भने हुन्छ । त्यसैगरी २०२८ सालको झापाको क्रान्ति वा विद्रोह नक्सलाइट विद्रोह भारतकै चारुमजुम्दार भन्ने कम्युनिष्ट नेताले बंगालको नक्सलवाडीमा चलाएको विद्रोहको मोडलमा थियो । मधेशको सवै विद्रोह र हत्या विहारी मोडलको थियो । सभामुख महोदय, झुक्किनु भएको त छैन नि विहार चाइनामा पर्छ भनेर । हामी नेपालीहरू नेपालमा रहेका सवै भारतिय दल र त्यसकै मोडलको विद्रोहका पक्षपाती भएर बसेका छौं ।
९. सभामुख महोदय, पौराणिक कालका ग्रन्थहरू पढ्नुस्, नेपाल कत्रो थियो । पूर्वको गोहाट्टीदेखि पश्चिमको सर्युँ नदी सम्मको भाग नेपाल थियो । आजको उत्तरान्चल, उत्तर प्रदेश, आधा विहार, केही भाग बंगाल र असाम नेपाल थियो भनेर लेखेको भेटिन्छ । आज भन्दा ४ सय वर्ष अगाडिसम्म यो संसारमा भारत वा इण्डिया भन्ने देशै थिएन । वेलायतीहरूले यहाँका टुक्रे राज्यलाई मिलाएर भारत बनाए र इण्डिया भनेर चिनाए । नेपालको पनि आधा भन्दा बढि भूभाग वेलायतीहरूले उतै गाभेर भारत वा इण्डियाकै अङ्ग कायम गरी शासन गरे । पछि वेलायतीहरू फर्किएर जाँदा हाम्रो भूमि फिर्ता गरेनन् र भारतमै रह्यो ।
खै त नेपालीले यो विषय उठाएर आन्दोलन गरेका ? खै त संयुक्त राष्ट्रसंघमा यो विषय उठाएको ? खै त वेलायतको विरुद्धमा मुद्धा हालेर आफ्नो भूमि फिर्ता ल्याउने प्रयत्न गरेको ? बुद्धिमा बिर्को लागेका नेता त प्रधानमन्त्री हुनासाथ म भारत जान्छु भन्छन् । हामी तिनको कुरा ट्वाल्ल परेर सुन्छौं । विरोध गर्ने आँट कसैलाई छैन । अझै पनि हामी बहादुर नै हौं, सभामुख महोदय ?
१०. सभामुख महोदय, हजुर हामीले ठुला कुरा गरेर नहुने रहेछ । भारतले गत सय वर्षदेखि नेपालका धर्म, संस्कृति, राजनीति, अर्थतन्त्र, राष्ट्रियताका सवालमा नियमित रुपमा आक्रमण गरिरहेको छ । कहिले संविधान नबनाऊ भन्छ, कहिले हत्यारालाई प्रधानमन्त्री बनाउ भन्छ, कहिले कोशी खान्छ, कहिले गण्डकी लान्छ, कहिले टनकपुर तान्छ । हाम्रा नेता भारतले भनेको मदारीले भनेको बाँदरले मानेझैँ मान्दै नाचेर बसेका छन् । भारतलाई प्रभु ठान्ने नेतालाई दोलखा भिमसेनथान घुमाउँन लगेर दुखबाट मुक्ति दिने आँट नेपाली जनतामा छैन/देखिएन ।
सभामुख महोदय, यी माथि उल्लेखित १० बुँदे फेहरिस्तबाट अब आजका दिनदेखि नेपालीलाई काँतर, हुतिहारा, पानीमरुवा, लाक्षी, डरछेरुवा, गुलाम, चाटुकार, विदेशीका अनुचर, चोर, भ्रष्ट, विदेश पलायन हुन चाहने, झोले, ठग, आफ्नो काम नगर्ने, अरुको विष्टा सोहोर्न पछि नपर्ने, उद्योगधन्दा मात्र होइन देशको माटो नै बेचेर खाने, हरामखोरको विशेषताले चिनिनु उपयुक्त हुन्छ । यो प्रस्ताव हुवहु पास गरे अझै पनि नेपालीहरू इमान्दार नै रहेछन् भनेर दुनियाँले विश्वास गर्न सक्छन् । नेपालीहरूलाई अब वीरजाति, बहादुर, आँटिला, जोसिला, कसैसँग नझुक्ने आदि विशेषता सुहाउँदै सुहाउँदैन । अझै पनि हामी यस्ता विशेषताहरू हटाउँदैनौ भने जानाजान हाम्रो गल्ती हुनेछ । विश्वका मानिसहरू हामीलाई हेरेर गिज्याउँनेछन्/हाँस्नेछन् । नाम एउटा काम अर्को गर्ने मानिसहरू भनेर हियाएर बोल्नेछन् ।
सभामुख महोदय, यसपछि माननीय हेदाङ्ग्नेलाई धन्यवाद दिंदै मत विभाजनको प्रकृया अगाडि बढाउन सभामुखले उर्दी जारी गर्दछन् । यो प्रस्तावको पक्षमा मत दिने माननीयहरूले हुन्छ भन्नुहोला । विपक्षमा मतदान दिने माननीयहरूले हुन्न भन्नुहोला । हुन्छ भन्ने माननीयहरूले हुन्छ, भन्नुहोस् । सभामुखले प्रस्ताप गर्नासाथ लगभग ७५ प्रतिशत माननीय सांसदहरूले हुन्छ भन्दै ताली ठोके । सभामुखले हुन्न भन्ने माननीयहरूले हुन्न भन्नुहोस् भन्दा ४ जना पहाडिया र ७ जना मधेशी माननीयले हुन्न भन्दै बिरोध जनाए । आजको संसदमा २५४ जनाले हुन्छ भनेको हुनाले यो प्रस्ताव पास भएको घोषणा गर्दछु ।
यसरी सभामुखले घोषणा गरे । करतल ध्वनिले ताली बजेर यो प्रस्ताव पास भयो । मैले पनि जोडेले ताल ठोकेछु । मेरो तालीले श्रीमतीको निन्द्रा खल्बलिएछ क्यारे । ‘होइन यो मान्छे निन्द्रामा पनि कति बोल्न सकेको’ भन्दै कुइनाले धकेल्दा पो म झल्यास्स भएँ । मेरो आजको दिन श्रीमतीका कुइनाले ढाडमा हानेको पीडा र संसदले नै पास गरेर बहादुर, वीर, पराक्रमी, इमान्दार, अशल, नामले चिनिएको परिचय गुमाएको पीडामै बित्यो । साँझ पर्नै लाग्दा पल्लाघरे साँइलाले के भन्ने मेसेज पठाएछ भनेर हेर्छु त नववर्ष २०८० सालको मंगलमय शुभकामना छ है माननीयज्यू भनेर पो लेखेको छ । ज्या है मेरो २०८० सालको पहिलो दिन त पीडामा पो अस्ताएछ, धत्तेरी !!
०००
वैशाख १, २०८०
कीर्तिपुर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































