उत्तमकृष्ण मजगैयाँजुङेकाजीलाई खुल्केकाजीको खुला पत्र !
सम्पादक महोदय ? तर नित्य साँझबिहान चुलोमाथि ताउली नताते त्यही आटो-जाउली पनि पाक्दैन, म के गरूँ ? त्यसैले दामविनाको चिठ्ठीको खामको के काम बन्धु ? माल दिनुस् अनि कमालको रचना लिनुस् !

उत्तमकृष्ण मजगैयाँ :
प्रिय सम्पादक बन्धु
नमस्कार ।
उप्रान्त,
लेख-रचनाको आग्रह गरिएका धेरै पत्रहरू प्राप्त भए, तर पट्याइएको पत्रका जति पत्र खोल्दा पनि खोजेको वस्तु भने पाउन सकिएन । उही के महादेवका पनि त्रिनेत्र बल्ने अर्थदेव ! अब आफै भन्नुस् शीतल मलमको अभावमा कलम बिचरो चलोस् त कसरी चलोस् ? मुटुको ढुकढुकी बढाउने मात्र होइन त्यसलाई लामो समयसम्म कायमै राख्नेवालो पनि यही नै होइन त ? तपाईं भन्नुहोला- “कस्तो लोभी पापी रहेछ बा ! साहित्य सेवा नभनेर मेवा र ढेबाकै मात्र कुरा गर्छ ।” तर तपाईंले रसभरि र कलाकन्द पेटभरि हसुरेर ढ्याउ ढ्याउ डकारिरहेको बेला म जस्तो आर्थिक विलखबन्दमा परेको एउटा गरीब लेखक बाध्यतावश प्रायःजसो साँझ-बिहानको खर्चको रूपमा उसिनेका गीठा-भ्याकुर वा आलु र पिँडालु खाँदै आँसु झारिरहेको हुन्छ भन्ने किन बिर्सन खोज्नुहुन्छ ? हुन त म यथार्थमा लेखक हुँ कि होइन, मलाई पनि शङ्का छ किनभने मेरी पत्नीले म “लेखक नै होइन” भन्ने ठोकुवा गरेर ठूलै भ्रम सिर्जना गरिदिएकी छन् । तर तपाईंजस्ता सम्पादकहरूले ‘लेखक’को पगरी यसरी गुताइदिनुभयो कि त्यो झिकेर फाल्न खोज्दा पनि आफै बुरुक्क उफ्रेर आई पुनः टाउकोमाथि थपक्क बसिदिन्छ । बरु टोउकोका सबै रौँ झरिसके, तर यो त गह्रौँ भएर बसेको बस्यै छ ।
कुनै जागिर छैन, आउने बाटो सबैतिर बन्द छ, त्यसैले आजभोलि पत्नी र छोराछोरीको हाँसो पनि मन्द छ । पत्नी भन्छिन्- “लेखेर मात्रै के पायौ ?” म नाजबाफ भएको देखेर उनको रबाफ अरू बढ्छ । थप्छिन्- “कविको छवि पाएर बेलुनझैँ डम्म फुलेका महाशय ! अब कचौरा थापेर बस मन्दिरको पेटीमा । यस्ता हुतिहारा र सरमछाडाले कलम नसमाएर के बन्दुक समाउला त ? केही वर्षभित्रै कसरी बन्यो त्यो आवारा हरिलम्फू अन्तरेको भव्य घर सहरमाझमा, थाहा छ ? समय चिन्न नसके सबैको दशा तिम्रो जस्तै हुन्छ, बुझ्यौ ?” साँच्चीकै कुरा बुझेर मेरो बखत बसेझैँ भयो, पटक्कै वाक्य फुटेन । तर म बोलूँ पनि के ? “पख् यो लेख छापियो भने प्रकाशकले पठाएको पारिश्रमिकले जाडोका लागि कम्बल किनौँला भनूँ कि गहना झम्काउलिस् नि मोरी !” भनूँ ? कि घर-घडेरी जोरौँला नै भनिदिऊँ ? तर कल्पनाका लड्डु घिउसित कति ख्वाउनूँ ? फेरि, उसले पत्याउने पनि होइन किनभने आजसम्म लेख रचना छपाएर नाम पाइएको छ, सलाम पाइएको छ तर दाम पाइएको छैन, माम पाइएको छैन । जे पर्ला पर्ला भनेर एउटा नाम चलेको पत्रिकाका सम्पादकसँग वाक्युद्ध गरेको त “कर्म गर्नुपर्छ तर फलको आश गर्नुहुँदैन भन्ने गीताको महान् कथन नबुझेझैँ किन गरेको होला नि यति ठूला बुझक्कड लेखकले ?” भनेर निरुत्तर पारिदियो मलाई । “मोही खेती गर्छ, तल्सिङले भकारी भर्छ” भनेझैँ तिमीले पनि हामीलाई नै दुहुने त हौ” भनेर अर्को सम्पादकसित पुनः झोँक देखाएको त ऊ रिसाएर धूमचक्र ! “तिमीलाई सफल लेखक कसले बनायो ? हामीले नै होइन ? तिमीहरूका बाङ्गाटिङ्गा अनगढ पत्थरजस्ता रचना सम्पादकको छेनीले नताछिँदै त्यसै सुन्दर बनेका हुन् ? भाषा र हिज्जे समेत नमिलेका अडबाङ्गे तिम्रा रचनालाई यथार्थमा एउटा सम्पादकले नै उजिल्याउँछ र पठनीय बनाउँछ, अन्यथा तिमीहरू फुर्कने तिम्रा रचना त अगठित प्रारूप मात्रै हुन्, एकदम कच्चा पदार्थ ! यस्ता रचनाको कुरूपतालाई हटाई सुन्दर र प्रभावकारी बनाउने के हामी नै होइनौँ ?” भनेर बीचसडकमा हुर्मत नै लिन खाज्यो बा ! उसको कथन सुनेर पनि अझ ऊसित व्यर्थै तर्क-वितर्क गरिरह्यो भने उसले ख्वाउने त्यस दिनको चिया-समोसा पनि अलपत्र पर्न सक्ने सम्भावनाले चुप लाग्नु नै श्रेयष्कर ठहर्छ ।
मित्र ! यो तथ्य सयमा सय सत्य हो कि चारोविना कुखुरीले फुल पार्दैन, घाँस-कुँडोविना भैँसीले दूध झार्दैन भने भोको पेटमा लेखन्तेबाट मात्रै लेख-रचना कसरी झर्ला त ? हाम्रो देशमा नोटविना भोट पाइदैन, भोजनविना भजन गाइदैन भने भोकले सुन्न भएर अत्तालिएको गिदीबाट सुन्दर र सार्थक रचना त्यसै भ्याट्ट निस्किहाल्लान् भनेर सोच्नु पनि भूल होइन र ? दक्षिणाविना नै बाबुको श्राद्धसमेत सित्तैमा गराउन पल्किएकाहरूले खाइमर्न विष पनि सित्तैमा देल् भनेर मागेजस्तै भएन र यो ? तर एकजना अर्का सम्पादकले क्षेपन हानिहाले- “जहाँ रवि पुग्न सक्तैन, त्यहाँ समेत पुग्न सक्ने सरस्वतीका वरद्पुत्र महान् कवि-लेखक हुनुहुन्छ तपाईंहरू ! के रविले आफ्नो ताप र उज्यालोको मूल्य माग्छ ? के चन्द्रमाको शीतल चाँदनीको कर तिर्नुपर्छ ? सिरसिरे वायु र वसन्तको पारिश्रमिक ठहर भएको छ र कतै ? तपाईंहरू जस्ता महान् व्यक्तित्वहरूको मुखबाट यस्ता हलुका प्रश्न निस्केपछि के व्यास र वाल्मीकिले समेत स्वर्गबाट आँसु नझार्लान् त ? उनीहरूले कसैसँग आफ्ना रचनाको पारिश्रमिक माग गरेको त कुनै धर्मशास्त्रमा कतै उल्लेख भए जस्तो लाग्दैन मलाई !” खै के भनौं सम्पादक बन्धु ! यस्तै धुत्र्याइँ र वांक्चातुर्यले गर्दा नै तपाईंहरूका दसओटै औँला घिउमा छन् भने हाम्रै मुलुकका एकजना यस्ता महाकवि पनि थिए जसले एक सुकाको कागत किन्न नसकेर फ्याँकिएको चुरोटका बट्टामा समेत कविता लेख्थे रे ! केहीलाई छोडेर अधिकांशको आज पनि यस्तै अवस्था छ भन्न आनेकाने गरिरहनुपर्दैन ।
कुरा अन्य सम्पादकको मात्र किन ? नाम-गोत्र यौटै हो, तपाईंको विश्वास पनि कति गरूँ ? बरु तपाईंका लागि भने रेट अलि सस्तो राखुँला हुँदैन र ? चार आनाको मुक्तक, आठ आनाको कविता, रुप्पेको लेख-कथा ! भन्नुस्, तपाईंलाई के चाहियो ? टापटिपे चालु रचनाको मूल्य यस्तै हुन्छ हजुर ! गह्रुङ्गो रचना चाहिएको भए उचित मोल थप्नुस् लिएर जानुस् । माथि भनिएजस्तै एकमुठी चनाकै मूल्यको रचना हो भने फोनबाटै पनि भनिदिन सक्छु । अन्यथा पहिले दाम पठाउनुस् र त्यसैको वजनअनुसारको काम पटाउनुस् । विशिष्ट रचना, त्यसमा पनि हास्यव्यङ्ग्य नै चाहिएको हो भने त पारिश्रमिक पनि दोब्बर गर्नु नै पर्छ, किनभने हास्यव्यङ्ग्य रचना त्यसै सजिलैसित तयार हुन्छ भन्ने ठान्नुभा छ ? मन जलाउनुपर्छ मन, बुझ्नुभो ? परिस्थिति र घटनाको प्रभावले पहिले मनमा आँधीबेहरी चल्नुपर्छ, हृदय जल्नुपर्छ, अनि मात्र सुराक लगाएर खुराक पुर्याउन सकिन्छ सच्चा हास्यव्यङ्ग्यको । आफू रोएर पनि अरूलाई हँसाउन सुरिनु कम कष्टदायक काम हो र भन्या ? साँच्चीकै भनूँ भने गएको दशैँमा समेत जिउको भोटी-लँगौटी केही फेर्न पाइएको होइन । दुर्भाग्यले यसपालि ससुरालीमा जूठो परेर टीकाटाला पनि केही गरेनन्, न त सम्पादक, प्रकाशकहरूले प्रकाशित रचनाको पारिश्रमिक नै पठाए । त्यसैले मेरो आँसु झरेको झर्यै भयो । तर यी आँसुलाई पनि तपाईंहरूले हास्यव्यङ्ग्यको सुन्दर नमुना भनेर मेरा सबै समस्यालाई माछो-माछो-भ्यागुतो बनाई उडाइदिन खोज्नुभएपछि अब कसैलाई म भनूँ त के भनूँ ?
“आगोमा बेसरी खारिएर मात्र सुन कञ्चन बनेझैँ दुःखमा नखारिएर त्यसै राम्रो लेखक भइन्छ त ? देवकोटा, भूपि त्यसै महान् बनेका हुन् र ? अभावरूपी अग्निज्वालामा पिल्सिएर मात्रै उज्याला नक्षत्र बनेका हुन् यिनीहरू ! लेखक-कविहरूको जीवनमा दुःखैदुःख ओइरिनुपर्छ, यति भए मात्रै उनको लेखनीबाट अनमोल रत्न निस्कन्छन् । त्यस्ता रचना मात्रै बढी यथार्थवादी र विशिष्ट बन्न सक्छन् । समुद्रको सिपीमा विजातीय कण नबल्झिँदै अनमोल मोती बन्छ र ?”- भनेर एक जना बुझक्कडले गरेको विचित्र व्याख्या पनि मेरा यिनै कानले सुन्नुपर्यो । सम्झेँ- भानुभक्तलाई कालकोठरीमा बन्दी बनाइएको, देवकोटा, भक्तराजलाई क्यान्सरले मारेको, पारिजात जीवनभरि कुँजी भएर बाँच्नुपरेको, भैरवले ज्यान हत्ते हाल्नुपरेको ! तर आजको लेखक त्यसरी मर्न चाहन्न बन्धु ! समाजको विभिन्न क्षेत्रमा विद्यमान अडबाङ्गे दूषित प्रवृत्ति, विसङ्गति र यस्ता विकृत सोचका विरुद्ध नलेख्दै लेखकहरूलाई मर्न पनि नपरोस् ! बरु टन्न खान नपाएर नअघाउलान्, तर उनीहरू आफ्नो लेखनीद्वारा निर्भीकरूपमा यस्ता विसङ्गति र विपर्यासको विरोध भने गर्छन् गर्छन् । सम्पादक-प्र्रकाशक बरु ब्रम्हलूट मच्चाउँदै सूट-बूट लाएर चिल्लो गाडीमा सललल बगून् तर लेखक भोको पेटमै लेखेर, झुत्रो लाएरै अग्लिन्छ । भ्रममा कत्ति नरहनुहोला, हाम्रा आदरणीय लेखक र महाकविहरू तपाईंहरू जस्तालाई चुनौती दिँदै बरु भोकभोकै लेखेर सगरमाथा बनेका हुन्, तपाईंहरूले गालेर अकबरी सुन बनाइएका होइनन् भन्ने हेक्का राख्नुहोला !
बन्धु ! पत्याउनुहुन्छ भने यत्रतत्र सर्वत्र यस्तै विसङ्गति र बेथिति देखेर धेरै वर्षदेखि म रोएको रोयै छु साहित्य मार्फत ! वास्तवमा यस अवधिमा मेरो आँसु यति धेरै बग्यो जसको भेलमा हाम्रा ठेकेदार र इन्जिनियरहरूले बनाएका बतासे पुल-बाँध, सीमा-साँध सबै डुबे-बगे । अब आफै भन्नोस्, म हाम्रा चञ्चल-चलायमान जङ्गे खम्बा देखेर हाँसूँ कि सीमानामै हाम्रा छिमेकी मित्रहरूले बनाएका नेपालका गाउँ-खेत डुबाउने उचा सडक, बाँध देखेर खिलखिलाऊँ ? हाँस्नका लागि तपाईंका मठारिएका जुँघा नदेखेको पनि एक युग बितिसक्यो, बटारिएका तन्नेरी पासुला पनि धेरैजसो विदेश ओह्रालो लागिसके, रोदीघरका तरुना-तरुनीहरू विभिन्न बहानामा पञ्जाब, दिल्ली, बम्बई र खाडी मुलुकतिर भागिसके । अब तरुनीविना मारुनी कसरी नाच्ने ? टप्पा ठप्प भइसक्यो, झाम्रे चाम्रिसक्यो, भाँच्चिएको मन लिएर मैले कसरी कम्मर भाँच्ने मेलामा ? ओहो मित्र ! मेरा आँखा फेरि रसाएर आए है ! तर तपाईं भने मबाट हास्यव्यङ्ग्य नै खोज्नुहुन्छ । म के गरूँ ? विसङ्गति खोज्दै जाँदा आफ्नै फाटेको लँगौटीमा दृष्टि अड्छ । अब आफै भन्नुहोस्, म कसरी आँसुमा पनि हास्य देखूँ र मीठो व्यङ्ग्य लेखूँ ? यथार्थमा द्रव्य-उर्जा नभएर नै मनका पाटपूर्जाले काम गर्न सकेका छैनन् भन्दा रिस पो उठ्ने हो कि जुङेकाजीको ? तर पेटभित्र खाना दाना नपर्दै गाना-तराना नछुट्ने भो ! के गर्ने ? हुन त यो नेपाल हो र यहाँका धेरैजसो लेखक-कलाकारहरू मजस्तै हावा मात्र खाएर पनि बाँचिरहेको मैले देखेको छु जसरी यहाँका किसान-मजदूरहरू रगतविना पनि बाँच्न सकेका छन् । तर यहाँका ठूलाबडा भनाउँदाहरू भने नगदविना जगत् छाड्छन् । सित्तैमा खान पल्केका, समयअनुसार कहिले यता ढल्केका, कहिले उता ढल्केका, कहिलेकाहीँ त ंविदेशी वा सरकारी ढुकुटीतिर पनि सल्केका, हाम्रै वरिपरि रहेका हाम्रो भाषा-साहित्यलाई विकृत र दूषित तुल्याउने दुस्साहस गर्ने केही साहित्यकार-पत्रकार एवम् सम्पादक-प्रकाशकहरूलाई पनि मैले राम्ररी चिनेको छु । पारिश्रमिकविना नै श्रमिकको पसिनामा असिना बर्साउने, ‘ठूला लेखक’ भनेर फुर्क्याउने, त्यत्तिले पनि काम बनेन भने ‘मसित अदृश्य शक्ति छ’ भनेर तर्साउने जे पनि गर्न सक्छन् यिनीहरू ! यिनले जसरी भए पनि लिन जानेका छन्, तर दिन जानेका छैनन् । नदिने बजुुले बुधवार बार्छिन् भनिन्छ तर यिनीले त हप्ताको सातै दिन बार्छन् । तपाईंले पनि भोकको भाषा के कति बुझ्नुभएको छ खै कुन्नि ? जान्न समय पर्खेको छु ।
बन्धु, मलाई राम्ररी थाहा छ, रचना कलामा बाँच्छ, तर यो निमुखो ज्यान त पहिले एक मुठी कलोमै बाँच्छ नि ! पत्नीले आँखा तरेर दिएको आटो-आलुलाई मैले कलो नै भन्न उचित ठानेको छु । मैले छप्पन्न भोगको आशा गरेको पनि कहाँ हो र सम्पादक महोदय ? तर नित्य साँझबिहान चुलोमाथि ताउली नताते त्यही आटो-जाउली पनि पाक्दैन, म के गरूँ ? त्यसैले दामविनाको चिठ्ठीको खामको के काम बन्धु ? माल दिनुस् अनि कमालको रचना लिनुस् ! (प्रिय पाठक बन्धु ! तपाईंहरूले पनि ‘कस्तो लोभी लेखन्ते रहेछ !’ भन्न खोज्नुभएको छ भने कृपया मैले जस्तै पहिले र्दुइ-चार छाकको भोकको अनुभव गर्नचाहिँ नभुल्नुहोला है !)
अलि बढी नै भनियो जस्तो ठानेर प्रिय सम्पादक बन्धुलाई मेरा कुरा केही तीतो लागे जस्तै छ, तर पनि अन्तिममा यो सोधी नै हालूँ- ‘के तपाईंहरू कागतको पैसा तिर्नुहुन्न ? टाइप, छपाइ, बाइन्डिङको मूल्य चुकाउनुहुन्न ? वितरकको कमिशन दिनुहुन्न ? जब सबैको निश्चित रेट छ भने किन रेट्न खोज्नुहुन्छ त हामी लेखन्तेहरूकै घाँटी? ज्यादै रिसाएर तपाईंले- “जा मुला ! अब तेरो लेखसेख केही चाहिँदैन । तँ मात्रै लेखक होइनस् ! यहाँ च्याउझैँ उम्रेका लेखन्तेहरूको कुनै कमी छैन, बुझिस् ?” भन्न पनि सक्नुहुन्छ । तर हाम्रो यस मुलुकमा भूँडी नै नभएका लेखक-कलाकारहरू को-को रहेछन् त बरु आगामी अङ्कमा त्यस्ता नामहरूको सूची छाप्नचाहिँ नबिर्सनुहोला है ! ब्रम्हा बूढाको त्यस्तो विचित्र रचनाको चमत्कार हेर्न म पनि उत्सुक छु । लौ त, अहिलेलाई यत्ति नै । तपाईंको दामसहितको पूरै वजनदार पत्रको प्रतीक्षामा !
उही तपाईंकै खुल्केकाजी !
(सम्पादक महोदयले लेखकलाई पारिश्रमिक त पठाएनन्, बरु लेखक महोदयको यही चिठ्ठीलाई नै “महान् व्यङ्ग्यकारको विशिष्ट हास्यव्यङ्ग्य रचना” को विशेषणसहित आफ्नो पत्रिकाको हास्यव्यङ्ग्य विशेषाङ्कमा प्रकाशित गरिदिए ।)
०००
दाङ
(‘मधुपर्क’- पूर्णाङ्क ४५६, २०६० भदौमा प्रकाशित मजगैयाँको यो व्यङ्ग्य ०७१ कार्तिकमा पहिलोपटक फित्कौलीमा प्रविष्ट भएको थियो ।)
Subscribe
Login
0 Comments
Oldest







































