अशोककुमार शिवामुर्ख मध्येको म एक मुर्ख
अनि फिलिममा रेल एकदिन त ढिलो होला भन्नु र टिकटक भिडियोमा देखिएको दाँत पटक पटक गनिभ्याउँछु भनि गन्नु उस्तै मुर्खता हो । तिनै मुर्खहरू मध्येको म पनि एक मुर्ख ।

अशोककुमार शिवा :
कहिलेकाहिँ कस्तो चित्तै नबुझ्ने के गर्नु ? थालेको काम पुरा गर्न नपाउँदा, दिएको वस्तु झट्ट लिन नपाउँदा अनि लिएको चिज क्वाप्प खान नपाउँदा त झनै चित्त मात्रै हैन पित्तै फुट्ला फुट्ला जस्तो हुने । अस्ती कुन दिन हो संसदमा नै पन्तलाई कसले भन् त भनेर लायो खै ? प्वाक्क गहतको दाल महतले खाए भनि त हाले । आफूलाई गहतको दाल भनेपछि औधी मिठो लाग्ने । त्यसमा पनि चट्ट रातो खुर्सानी डढाएर च्वाईंयँ झानेको होस्, वाओ ।
आठराईको सुन्तला खान पल्केको फुच्चे भट्टराईले मकै भुट्न हाँडी नभेटेर बसाई हाल्यो कराई । पटटटटट ठाउँ ठाउँमा मकै फुल नउठेर ठेट्ना पल्ट्या झै नफड्क्या बोली । के तमासा हो भन्न नभ्याउँदै जुम्लातिरबाट राडी गलैंचा काँधमा बोकेर गन्हाउने कोटबाट हरहर गन्ध फैलाउँदै ज्ञान न गुनको उरन्ठेउले भेडा चराउन जंगलतिर हिँडेको दम्को दिएर गल्लीमा छिरी त हाल्यो । नाना तरहका जाल बुनेर ग्राहक ठग्न पल्क्या न हो । यो यस्तो त्यो त्यस्तो उ उस्तो भनेर दिक्क लगायो ।
अलि अगाडि एकजना वाथरुममा चिप्लेर कपडा सबै भिजाएछ र भिजेका कपडा सबै खोलेर बसेको सिटमा सुकाएर धक फुकाएर नाङ्गै ए अलि होइन क्यार ! जनै र कट्टुसँग ठिङ्ग उभिएछ । पुरुषहरूलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात । त्यस्तो कर्म गर्ने महिला भएको भए देखिन्थ्यो पुरुषको किस्मत । हैट, मलाई के को बिस्मत नि फेरि । हुन त कहिलेकाहिँ लगाउने लुगाबारे पनि चर्चा हुने गरेको सुनिएको हो । महिलाले साडीचोलो लगाएर कोट भिर्नु पर्ने रे । ए बाबा कोही एक पिसमा उभिनु पनि हुने ठाउँमा केको साडी चोलोको कुरा ? सर्ट पाइण्ट मिट प्वाइण्ट । जिन्दावाद ।
हुन त म उखान भन्न जान्ने र अर्कोले भनेको मान्ने मान्छे त होइन तर पनि एउटा कथा चाहिँ सुनेकै भरमा भन्दिन्छु जे पर्ला परेको जब पर्छ त्यै बेलामा बेहोरौंला । तराईतिरको एकजना मान्छे (को मान्छे हो मलाई थाहा छैन है को हो भनेर नसोध्नु होला) हिन्दी सिनेमा हेर्न सिनेमा हल छिरेछ । फिलिममा राम्रा राम्रा हिरो हिरोइन रहेछन् । फिलिम त्यसै रमाइलो त्यसमाथि च्वाँक परेकी हिरोइन के चाहियो ? त्यसै दङ्ग परेर हेरिरहँदा हिरोनी नुहाउन वाथरुम छिरिछन् । वाथरुमको झ्यालबाट हिरोनीले कपडा खोल्दै गरेको देखिएछ । दृश्य देखेर त्यसै उछालिंदै त्यो दर्शक तनक्क तन्किएर हेर्न थालेछ । त्यसै समयमा बाहिर रेल दौडिएर आइपुगेछ । धेरैवटा डिब्बाको रेल हत्पत क्रस भैसकेनछ । रेल जब क्रस गरेर गयो तब हिरोनी नुहाई सकेर कपडा लगाउँदै रहिछन् । त्यसै बखत त्यो दर्शकले सोचेछ अर्को शो पनि हेर्छु त्यो बेला अर्को ट्रेन त नआइपुग्ला भनेर । बिचरोले दोश्रो शो पनि हेरेछ उस्तै । फेरि सोचेछ भोलि पनि आउँछु, भोलि त कसो ट्रेन ढिला नहोला भनेर । यस्तै गरी धेरै पटक शो हेरिसकेपछि पनि ट्रेन उहि समयमा आइदिनाले उसको मक्सद पुरा भएनछ । पछि कसैले सम्झाई दिएपछि बल्ल फिल्म दोहोर्याउन छोडेछ ।
यो चलचित्र भनेको त्यस्तै हुँदोरहेछ । भरखरैको कुरा हो मैले टिकटकको भिडियो हेर्दै गर्दा एउटा भिडियोमा राम्रा भरिला टम्म मिलेका तल र माथिका दााँतहरू लहरै बररर देखें । मानिसका ३२ वटा दाँत भए भने लक्षिण हुन्छ रे भनेको झट्ट सम्झना आयो र गन्न सुरु गर्दैगर्दा मुख च्वाप्प बन्द भैगयो । गनेर जहाँ पुर्याएको थियो त्यहीँबाट फेरि गन्नुपर्यो भनेर पटक पटक भिडियो खोल्दै गन्दै हेरेको अघि जहाँसम्म गन्न भ्याएको त्यति बाहेक एक थप्प पनि सकिनँ र सक्ने कुरा पनि भएन भन्ने कुरा म मुर्खलाई के थाहा ? एकछिन मुख बन्द नगरिदिन निवेदन चढाएर पो केही होला कि भन्ने पनि मुर्ख दिमागले सोच्न भ्यायो । फिलिममा चिलिम खाएको मान्छे सम्झेर अडियो । जे भयो सकियो ।
गहतलाई महतसँग जोड्ने, साडीचोलोको बहसमा बसिवियाँलो गर्ने । वस्तु गोठालो जाँदा चिलाउनेको पात बजाएर गीत गाउने जस्तो । अनि फिलिममा रेल एकदिन त ढिलो होला भन्नु र टिकटक भिडियोमा देखिएको दाँत पटक पटक गनिभ्याउँछु भनि गन्नु उस्तै मुर्खता हो । तिनै मुर्खहरू मध्येको म पनि एक मुर्ख ।
०००
गल्कोपाखा, काठमाडौंँ
Subscribe
Login
0 Comments
Oldest








































