साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्द र नामर्दको परिभाषा फेरिएपछि

छिमेकमा तेइस करोड जनतालाई शासन गर्ने एउटा मुख्यमन्त्री छन्, यता जम्मा तीन करोड जनतालाई शासन गर्ने सात जना त मुख्यमन्त्री नै भए, बाँकी अरु मर्द कति छन्, आफै हिसाब गर्नुस् । आखिर देशमा अनगिन्ती मर्द उत्पादन भएपछि उनीहरू जनता भएर बस्नु पनि त मिलेन नि ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

पल्लाघर जेठाजुले क्या हल गोरु जोडे
हाम्रा घरका नामर्दले हुक्का चिलिम फोडे ।
उनै जेठाजुका घरमा दुइटा भैंसी लैना
हाम्रा घरका नामर्दको एउटा पनि छैन ।

गोठमा हलगोरु र लैना भैंसी बाँध्नेहरू मात्र मर्द हुन् भनेर बाँकीलाई कर्द चलाई दिने हो भने, मर्दको पगरी गुथ्न नपाएको झोंकमा धेरैको मनमा दर्द उत्पन्न हुनसक्छ ! यसै गीतलाई आधार मानेर मर्दको सूची प्रकाशित गर्ने हो भने देशमा औँलामा गन्ने मर्द पनि बाँकी रहने थिएनन् । अचेल लैना भैंसी र हलगोरु शहरमा मात्र होइन गाउँघरतिर पनि त्यति देखिन छोडेका छन् । हुन त मर्द बाँकी नरहने भए भन्दैमा यस्ता अर्गानिक गीतको भावलाई बङ्ग्याएर नङ्ग्याउन पनि त पाइँदैन नि ! गीत सङ्गीतलाई उल्टै न्याय दिनुपर्नेमा अन्याय हुन कसरी दिने ? कसैको व्यक्तिगत सिर्जनामाथि निर्धक्क छेडखानी गर्न पाइने हो भने धेरै गीतलाई बङ्ग्याउन लगाइन्थ्यो होला । जे होस् प्रस्तुत गीतले त्यसताका भने नामर्दहरूको मर्मस्थलमै प्रहार गरेको थियो ।

यसरी, ढलेको सिन्को पनि नउठाउने, थुतुनोमात्र चलाइ रहने हुतिहाराहरूलाई नामर्द भनिरहँदा धेरैको चित्त बुझ्न छोड्यो । बुझोस् पनि कसरी, एउटाले अर्कोलाई नामर्द भने पनि आफैंलाई भनेको हो कि भनेजस्तो लाग्न थाल्यो । आखिर हामी नामर्द पथको बाटोमा अग्रसर बनिरहेका पनि त छौं नि ! केही समय यता विहानभरी चिया पसलमा गुड्डी हाँकेर, घरमा आई तिहुन मिठो भएन भन्नेहरूको संख्या यसरी ह्वात्तै बढ्यो कि, अधिकांश मान्छेको नाम यसै सूचीमा राख्नुपर्ने भयो । हुँदाहुँदा घरमा नामर्द, गाउँमा नामर्द, जिल्ला, प्रदेश हुँदै बानेश्वर, सिँहदरबार, जताततै नामर्दहरूको बोलाबाला हुनथाल्यो ।

जब देशमा असी प्रतिशत जति नामर्दको संख्या पुग्न लाग्यो, बहुमतले मर्द र नामर्दको परिभाषा फेर्ने प्रस्ताव पारित गरियो । परिभाषा फेरिएपछि अचेल लैना भैंसी गोठमा हुनेलाई होइन महङ्गो दारुको चुस्की ओठमा हुनेलाई मर्द भन्न थालिएको छ । लुट्न र कुट्न नसक्नेहरू नामर्द भनेर चिनिन्छन् । लुट्न सक्ने र कुट्न सक्नेहरूलाई मर्दको श्रेणीमा राख्न थालिएको छ । दिनदहाडै मान्छे भुट्न नसक्नेहरू नामर्द मानिन्छन् । अपराध गरेर जेल बस्नेहरू मर्द मानिन्छन् र वायोडाटा तयार गर्दा पहिलो नम्बरमा लेखिन्छ “यति वर्ष जेल बसेको ।” अनि के चाहियो ? सरकार निर्माणका क्रममा, जेल बसेको योग्यता हुनेलाई कि त प्रधानमन्त्री, नभए फुलमन्त्री कतै नजा ! तर जेल किन बसेको हो स्पष्टीकरण दिइराख्नु भने जरुरी ठानिदैन । कुखुरा चोरेर जेल बसे पनि भयो, जार काटेर जेल बसे पनि भयो, भ्रष्टाचार गरेर जेल बसे पनि हुने, बलात्कार काण्डमा जेल बसे पनि हुने । मर्द बन्न मन भए हाकाहाकी भन्न सक्नुपर्छ “मैले यति मान्छे सफाया गरेँ ।” भ्रष्टाचार गरेको रकम पनि नढाँटी भन्नसक्नु पर्छ । “मैले सत्तरी करोड भ्रष्टाचार गरेँ । ५० करोड मागेर लिएकै हुँ, लौ जा कसले के लछार्न सक्छ ?” अचेल मर्द हुँ भन्नेहरूले यसै भन्ने गरेका छन्, बेलाबखत तपाईंहरूले पनि सुन्ने गर्नु भएकै होला !

“प्रष्ट वक्ता सुखी भवेत् ।” यथार्थ बोलेपछि मन पनि हल्का, बहादुरी पनि देखाउन पाइने, भएन त सुखी ! आखिर मर्द भनेको मर्द नै हो । मर्द बन्ने रहर कसलाई हुँदैन र ? कसैले पनि गर्न नसकेको काम गर्नेलाई मर्द भन्छन् । न शाहवंशीय राजाहरूले गर्न सके, न राणाहरूले नै गर्नसके, आँटेको भए पञ्चहरूले सक्ने थिए कि, तर आँट गरेनन् । त्यसपछि भने यिनीहरूलाई एकमुष्ट नामर्द ठहर गरियो । जब मर्दहरू सत्तामा पुगे, दक्षिणतिरका छिमेकीले समेत नागरिकता लिने काममा सहज हुनेगरि बाटो खोलिदिए । कहिले लुटिएको भूमि दान दिने कुरा गरेर मर्द बने । मर्द बन्ने होडमा यिनले धोती फुस्किएको पनि पत्तो पाउँदैनन् । हुन त धोती फुस्कनु र नफुस्कनुको के नै अर्थ रह्यो र सिङ्गो राजनीति नै निर्वस्त्र भएपछि !

आखिर जे गरे पनि जस्तो बोले पनि मर्द पो हुनु छ त ! के गर्दा मर्द बन्न पाइन्छ, कसैले कुनै कसर बाँकी राखेनन् । अचेल मान्छेले मर्द बन्न सबै थरीका हतकण्डा र विधि प्रयोग गर्ने गरेका छन् । कुनै दिन उत्तरतिरका छिमेकीलाई सहज हुने गरि फेरि नागरिकता दिने निणर्य भयो भने पनि आश्चर्य नमाने हुन्छ । यता आएर जसले जति धेरै राज्यको ढुकुटी दोहन गर्न सक्यो त्यो मर्द मानिन्छ । नपत्याए विदेशमा उपचार गर्ने भिआइपीहरूको सूची हेर्नुस् त, अधिकांश भिआइपीहरू लाखौं करोडौं लिएर विदेशका अस्पतालमा जान्छन् । रुघा लागोस् कि पखाला लागोस् कि अथवा गला लागोस् । देशका भारेभुरे अस्पतालमा किन धाउनु ? मर्दले त संसारका नाम चलेका अस्पतालमा पो जँचाउने हो त !
देशमा सुन काण्ड, नुन काण्ड, लसुन काण्ड, तिहुन काण्ड जेसुकै काण्ड पनि अन्त्यमा कि नेताहरूको संगठित रुपमा एउटा गिरोह नै संलग्न हुने गरेको पाइन्छ, भुटानी शरणार्थी काण्डमा जस्तै । नभए एउटा न एउटा नेता अवश्य संलग्न देखिन्छ । जबसम्म त्यसको भेद खुल्दैन, यी निकै ठूलो मर्द भएको स्वाङ पारिरहन्छन् र जुँगा मुसार्दै हिंड्छन् । जब खोरमा जान्छन् अनिमात्र पोलापोल शुरु हुन्छ ।

खासमा आफ्नै महाकाली बगर जोत्न नसक्ने नेता र भ्रष्टाचारी नेताको थुतुनोमा हिलो पोत्न नसक्ने जनतालाई नामर्द मान्ने चलन हुँदासम्म ठिकै थियो जब अचेल परिभाषा बदल्दै ठिक विपरीत बनाइयो, रातारात यिनै नामर्दहरू एकाएक मर्दमा परिणत हुनथाले ।

चुनावमा सांसद पदको टिकट लिन निकै चलखेल हुने गरेको भुक्तभोगीहरूलाई थाहा छँदैछ । हुँदाहुँदा सत्ताको टिकट लिन पनि मालिकको चाकरी गर्नुपर्ने रहस्य विस्तारै खुल्न थालेका छन् । जब टिकट पाउनेहरूबाटै त्यसको पुष्टि हुन थालेपछि होइन होला कसरी भन्ने ? मर्द बन्नलाई जे जस्तो हर्कत गर्न पनि पछि पर्दा रहेनछन् भन्ने कुराको यथार्थ प्रमाण यही होइन र ? देशलाई श्रीलङ्का पथमा धकेल्न खोज्नेहरू मर्द हुन् कि अर्काकी पत्नी अपहरण गर्ने लङ्का पतिहरूलाई मर्द भन्ने ? यिनीहरू गर्वका साथ आफूलाई मर्द हुँ भन्छन् । हुन त नभनुन् पनि कसरी, अचेल यिनै कुकृत्यलाई मर्दको परिभाषा भित्र पारिएको छ ।

हुन त मर्द र नामर्दको परिभाषा द्वापरयुगमा पनि परिवर्तन गर्न ठिक्क पारिएको देखिन्छ । होइन भने, दुशासनले साडी तान्न लाग्दा पाँच पाँचजना लोग्ने भएर पनि घोसेमुन्टो लगाएर बस्ने पाँच पाण्डवलाई नामर्द भन्नु पथ्र्यो । तर त्यत्रो महाभारत पढियो, सबै ठाउँमा उनीहरूलाई मर्द नै उल्लेख गरिएको भेटिन्छ । परिभाषा परिवर्तन गर्न ठिक्क पारिएको भने पक्कै हुनुपर्छ तर यसरी परिवर्तन गर्दा, लडाइँ गर्न सकिन्न भन्दाभन्दै पनि गीता पढाई पढाई युद्ध लड्न लगाउने कृष्णलाई नामर्द भन्नु पर्ने भयो । यो त मिल्ने कुरै थिएन । त्यसैले द्वापरयुगमा मर्द र नामर्दको परिभाषा अन्ततः फेर्ने हिम्मत गरिएन । कृष्णले एक्लै युद्ध लडेको भए पनि सजिलै विजयी हुने थिए । जताजतै उनकै चर्चा हुन्थ्यो, वास्तविक मर्द भनेका त तिनै कृष्णमात्र थिए । त्यसैले त्यसबेला मर्द, मर्द नै रहिरहने भए, नामर्दहरु नामर्द नै रहे ।

पहिले नालापानीको भूमि अतिक्रमण गर्दा खुकुरी बोकेर युद्ध मैदानमा पुगि दुस्मनलाई डाँडा कटाउनेहरू मर्द मानिन्थे । जब मर्दको परिभाषा फेरियो, तिनै दुस्मनले कालापानीको भूमि अतिक्रमण गर्दा टुलुटुलु हेर्नेहरू नै मर्द मानिन थाले । दुबै हातमा लड्डु । युद्ध जिते पनि मर्द, युद्ध गर्दै नगरे पनि मर्द । क्या गजबको काइदा !

यो परिवर्तनले गर्दा देशमा उद्योगधन्दा कलकारखाना खोलेर जनतालाई रोजगारी दिनेलाई नामर्द मानेर तिनै उद्योगधन्दा र कलकारखाना भटाभट बिक्री गर्दै कमिसन लुँड्याउन पल्किएकाहरू मर्द बन्दै गए, कुरो एकदम प्रष्ट छ । लुट्न, चोर्न, ठग्न नसक्नेहरू, कत्ति पनि भ्रष्टाचार गर्न नसक्नेहरू र एउटा न एउटा अपराधिक काण्डमा नमुछिनेहरूलाई नामर्द भन्न थालियो । यी बिनाकारण मर्द भएका भने होइनन् । भ्रष्टाचार गर्दा यिनलाई लाज घिन शरम केही पनि लाग्दैन् । न कसैको डर नै लाग्छ । यिनीहरू जब भ्रष्टाचार गर्न तम्सिन्छन्, अन्य मान्छेलाई झारपात जस्तै सम्झन्छन् । वरत्रपरत्र र, पाप धर्मका कुरा त यिनले जान्ने र बुझ्ने विषय पनि होइन । न त जान्न नै चाहन्छन् ? जान्ने भए घुस खान्न, भ्रष्टाचार गर्दिन, मुलाहिजा गर्दिन, राष्ट्रघात गर्दिन भन्दै सपथ खाएपछि अलिकति भए पनि इमान्दार बन्नु पर्ने होइन र ? खोइ त इमान्दार बनेको ? तर जे जस्तो होस्, न यिनले आफूलाई नामर्द ठान्छन् । न अरूले नै ठानिदिन्छन् ! यिनीहरू त बाह्रमासै मर्द ।

छिमेकमा तेइस करोड जनतालाई शासन गर्ने एउटा मुख्यमन्त्री छन्, यता जम्मा तीन करोड जनतालाई शासन गर्ने सात जना त मुख्यमन्त्री नै भए, बाँकी अरु मर्द कति छन्, आफै हिसाब गर्नुस् । आखिर देशमा अनगिन्ती मर्द उत्पादन भएपछि उनीहरू जनता भएर बस्नु पनि त मिलेन नि । केही मर्दलाई केन्द्रमा, केहीलाई प्रदेशमा र केहीलाई गाउँको जिम्मा दिएपछि मर्दहरूलाई मनग्य ठाउँ पुगिहाल्यो । त्यसैले त छिमेकतिर मर्द खोज्दा खोज्दा आजित भएपछि बल्ल फेला परेको एउटा जोगीलाई नै भएपनि मुख्यमन्त्री बनाएको हुनुपर्छ ।

बिचरा, मर्दको संख्या कम भएपछि जसरी पनि काम त चलाउनै पर्‍यो के गर्नु ! हाम्रो देशमा भने निकै राम्रो प्रथाको सुरुवात गरिएको छ । एउटै मर्द पनि वेरोजगार बस्नु पर्दैन । जति छन् सबै पदासिन । के छ विचार ? तपाईं पनि मर्द बन्ने होइन ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x