साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखक बन्ने रहर

साथीहरूको हार्दिक सल्लाहबमोजिम सिनेमा हलकै छेउमा पानको पसल खोल्ने विचारमा छु । साहित्य रचना गर्ने यी हातले बनाएर दिएको पानको कलात्मक बिरा खान पाउँदा खानेले कला र साहित्य दुवैको रसास्वादन थोरै मात्रामा मात्रै भए पनि अवश्य पाउनेछन् भन्ने आशा तथा विश्वास लिएको छु ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

‘आजभोलि के गर्दैछौ बाबु ?’- उनी सोध्छन् ।

‘के गर्नु र बूढा बा ?…. त्यसै दिन काटिरहेको छु’ म जवाफ दिन्छु ।

‘लेख्ने अभ्यास छुट्योकि क्या हो ?’- उनी पुनः सोध्छन् ।

‘खै, के लेख्नु र ?..लेख्नका लागि कुनै नयाँ विषयवस्तु नै पाउदिनँ’- मेरो उत्तर हुन्छ ।

अन्य केही भलाकुसारीपछि बूढा बा अगाडि बढ्छन् एवं म पनि विचारको घोडा कुदाउन थाल्छु । वास्तवमा के लेख्ने ? के नै बाँकी छ र अब लेख्नका लागि ? मैले लेखिनँ, तर अरू कसैले त लेख्यो ! लेख्नुपर्ने जति सबै लेखिसकियो । पछि पर्नेलाई भाग पुगेन भनेर के गर्नु ? मेरो जन्म नै ढिलो भयो । नत्र भानुभक्तकै जमाना भए उनी रामायण लेख्थे त म उनीसँगको साहित्यिक प्रतिद्वन्द्विताका लागि ‘रावणायण’ अथवा ‘कसायण’ लेखेर प्रसिद्धि थुपार्ने थिएँ । आफै सोच्नोस्, आज यी लेख-कविताहरूका लागि सहधर्मी भएकोले प्रशंसक पाइए पनि प्रकाशक पाउन कति गाह्रो ! फेरि, लेखेर प्रसिद्धि प्राप्त गर्नका लागि परिस्थिति पनि त ठिक्क मिल्नुपर्छ ! काकताली परे एउटै कविता अथवा लेखद्वारा पनि व्यक्ति देश-प्रसिद्ध र विश्व-प्रसिद्ध हुन सक्छ ! कवि शिरोमणिले ‘पिंजराको सुगा’ सित्तै लेखेका हुन् र उनको भाग्यले गर्दा त्यसबेला राणा शासन थियो अर्थात् परिस्थिति थियो । तर म के गरूँ ? आज राणा शासन पनि त छैन ! नत्र मैले पनि ‘खोरको बाघ’ अथवा ‘कुवाँको भ्यागुतो’ शीर्षक राखेर एउटा लेख वा कविता अवश्य लेख्ने थिएँ । म पनि त प्रसिद्ध हुन सक्ने थिएँ । म बडो बिलखबन्दमा पर्छ । जुन विषयमा पनि कलम चलाउन चाहन्छु त्यस विषयमा अरूले पहिले नै लेखिसकेका हुन्छन् । महान् साहित्यकार बन्ने आकाङ्क्षीले अरूले देखिसकेका लेखिसकेका पुराना कुराहरू थुपारेर भएन ।

‘के लेखूँ ?’ भनेर म घोत्लिरहेको बेला एउटा साथीले भन्यो- ‘लेखनवस्तुको रूपमा हाम्रा वरिपरि असङ्ख्य मोतीहरू छरिएका छन्- खोजेर टिप्ने पारखी आँखा चाहियो । अनुभवका यी मोतीहरूलाई टिपेर कुशल शिल्पीले औँ तह मिलाएर राख्- पूणर् साहित्य बन्छ । कल्पनाको खाँचो छैन । यही यथार्थले तेरो साहित्य चम्कने छ ।’ मलाई त यसको कुरा सोह्रै आना झुट्टा पो लाग्यो । कल्पनाकाशमा नउडी कविको ब्रह्मले जगत् कसरी देख्छ ? कल्पना त साहित्य रचनाका लागि चाहिने प्रधान तत्व हो । यथार्थले मात्रै कहीं हुन्छ ? त्यसैले त म जसबेला पनि यथार्थको धरातलभन्दा माथि कल्पनाकाशमा मात्रै उडिरहेको हुन्छु ।

मलाई अतिशय गम्भीरताले छोप्छ । ममा साँच्चीकै मैनालीको जत्तिकै रचनात्मक प्रतिभा छ । तर त्यो प्रतिभा आज के काम लाग्यो ? उनले समाजको चित्रण गरे जत्तिकै म पनि गर्न सक्छु तर अब के लेख्ने ? मैले जाने जतिको त सबै उनैले लेखेर भ्याए । सौता, सौतेनी आमा, छिमेकी, दाजुभाइ, प्रेमी-प्रेमिका सबैको गफ त उनैले छाँटिसके । बाँकी बचेका भीमनिधिका अन्तरे-मन्तरेमा अटाए, वी.पी., गोठालेले सोह्रे. भिक्षु, विजय मल्ल, पारिजातले थुपारे- विकल, धुबचन्द्र आदि अरू को-कसले बाँटे । मेरा निम्ति भागै छोडेनन् । अब के गर्ने ?

फेरि, नोबेल पुरस्कारको चाहना राख्नेवालो म, साधारण लेखक हुन चाहेको पनि त होइन । मेरो विचारमा असल साहित्य त्यस्तो हुनु पर्छ जसको भाव कसैले अन्यत्र न त पढेको होस्- न त सुनेको होस्, न त कहीं देखेको होस्-अर्थात् पूणर् मौलिक । म के गरूँ ? म पनि मुनामदन र मुकुन्दइन्दिरा जस्तै लेख्न सक्छु तर यी कुरा पुराना भइसके । अब लेखेर के गर्ने ?

म जिल्ल पर्छु । के म साँच्चीकै बरबाद भएछु त ? न त आदि भएर जन्मन सकेँ न त मध्य नै । मोतीरामकै युग भए पनि समस्यापूर्ति मण्डलीको सदस्यता त अवश्य नै पाउने थिएँ । म परें आधुनिक युगको । तर ‘म आधुनिक साहित्यकार हुँ’ भन्ने उरन्ठ्याउलाहरूसित मेरो मितेरी हुनै सक्दिन । उनीहरूको झर्रोवाद-टर्रोवाद, छायावाद, प्रयोगवाद र यस्तै थुप्रै वादहरूमा अल्झेर म आफ्नो सृजन-क्षमतालाई बरबाद गर्न सक्दिनँ ।

अब चूप लाएर त्यसै बसेर त भएन । केही न केही लेख्नै पर्‍यो । पठनीय सामग्री भन्ने कुरा त्यस्तै हो । बरु पुस्तक प्रकाशित गर्दा केही धन खर्च गरेर भए पनि पुस्तकको बाहिरी आवरण आकर्षक चित्रले सजाउनु पर्ला, राम्रो कागतमा छपाइ गर्नु पर्ला । पाठकहरू अल्झिने यिनै तत्त्व त हुन् । त्यसपछि त धन र मानको थुप्रो नलाग्ने कुरै भएन । ‘म महान् साहित्यकार ! म ठूलो पुँजीपति ?’ म सुखद कल्पनामा उड्न थाल्छु ।

तर म पुनः गम्न पुग्छु- के लेखूं ? कि समालोचक बनूँ ? तर समालोचनाका लागि सम्बन्धित कृतिको अध्ययन, गर्नुपर्ने हुन्छ । तर मैले आजभोलि अरू कसैका कृति वा रचनाको अध्ययन बर्जित मानेको छु किनभने त्यसपछि आफ्नो मौलिकता नै रहँदैन । आजको कथामा भिक्षुको झैँ क्लिष्टता र दुरुहता छ भने भोलिको कवितामा देवकोटाको झैँ स्वच्छन्दता र उन्मुक्त उडान । मैनालीको नासो प्रेमचन्द्रको ‘सौत’ जस्तै छ भने फलानाको कविता अङ्ग्रेजी कविताको हुबहु अनुवाद जस्तै छ- जस्ता आलोचना आफ्ना रचनाहरूले पनि खप्नुपर्ने हुन्छ । अब के गर्ने ? तर म चाहन्छु कि मेरो तुलना अरूसँग होइन बरु अरूको तुलना मसँग गरियोस् । म बिम्ब, अरू मेरा प्रतिबिम्ब !

महान् साहित्यकार बन्ने सपना पनि छ, प्रतिभा पनि छ, तर के गर्ने ? मेरो लागि कुनै युग आएन, कुनै परिस्थिति मिलेन । मैले आज सोचेको कुरा अरूले सत शताब्दी पहिले नै लेखिसकेका छन्- लेख्दै आइरहेका छन् । अब मैले लेख्नुपर्ने केही बाँकी नै छैन जस्तो लाग्छ । आधुनिक अत्याधुनिक उपन्यास, कथा, कविता, निबन्ध, प्रबन्ध आदिका प्रवत्र्तक अर्थात् यी सबमा एकदमै नयाँ मोड ल्याउने अद्वितीय विद्वान मै हुँ, मै मात्र हुँ भनेर आफ्नो प्रशंसा आफैं गरेर हिड्ने अथवा आफन्तहरूबाट झुटो प्रशंसा लेखाई प्रसिद्धिको शिखर चढ्न खोज्ने तर पाठक र समीक्षकहरूबाट चाहिँ चोरीको बात लागेका केही ठूलाबडा साहित्यकारहरूले झैँ अन्य भाषाबाट चोरचार गरेर ठूलो लेखक बन्ने आँट चाहिँ मैले किमार्थ गर्न सकिनँ ।

अब के गर्ने त ? यस प्रश्नमा म झोक्रिएको देखी साथीभाइहरूले मलाई विभिन्न सल्लाह दिन थाले । हरिले मेरो आँखा छलेर अन्य साथीहरूतिर हेर्दै, आफ्नो कन्चटमा चोर औंलाको किलो घुमाउँदै ओठ लेप्र्र्‍याएर ‘छैन’ भनेको सङ्केत मेरो आँखाबाट लुक्न सकेन । जेहोस्, अब यिनै साथीहरूको हार्दिक सल्लाहबमोजिम सिनेमा हलकै छेउमा पानको पसल खोल्ने विचारमा छु । साहित्य रचना गर्ने यी हातले बनाएर दिएको पानको कलात्मक बिरा खान पाउँदा खानेले कला र साहित्य दुवैको रसास्वादन थोरै मात्रामा मात्रै भए पनि अवश्य पाउनेछन् भन्ने आशा तथा विश्वास लिएको छु ।

०००
दाङ
‘अभिव्यक्ति’, पूर्णाङ्क  ९१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x