साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलगाँड

जसले खाएको, पचाएको, घिचेको, रुचेको क्षमता प्रदर्शन गर्न सक्दछ र पेटभरि घिची खुसीले पेट मिची ह्याउको शैलीमा ढ्याउ गर्ने हिम्मत गर्दछ उसलाई बाध्य कण्ठरोगको बाबुको पित्ताम नास्ति ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

मानिसको कन्ठमा मासुको पोको वा पुन्तुरो देखिनुलाई गाँड भनिन्छ क्यारे । यो मुख्य गरी चिउँडोमुनि पसारिने र थेचारिने पक्कै हो । आवश्यक परे सभा, गोष्ठी डबली आदिमा आसनको चुली चुल्याउँदछ । वैज्ञानिकहरू आयोडिनको कमी भएमा मासुको डल्लो निस्की इज्जतको डोको बोकाउँछ भन्दछन् । अवैज्ञानिकहरू झुक्याउनेको बाउको सङ्केत गरेको ठान्दछन् । जो कुम्लो कुटुरो बोकी एक टन भारको मार परेको नाटक देखाउँछ उसलाई पनि यो रोगले अचार बनाउँछ भन्नेहरू पनि मनग्गे छन् ।

वरिष्ठ कण्ठरोग विशेषज्ञ दुम्सीदन्त खनालका विचारमा गलगाँड दुई प्रकारका हुन्छन् । दृश्यरूपी गलगाँडलाई आयोडिन भएको नुन र सागसब्जीले चेतबाबा काशी बनाउँछ । तर यसले आसन जमाएर भाषण गर्नुपूर्व नै आयोडिन पूरा हुनुपर्दछ । नदिछेउका बुकुनी माझी र घैयाबारीका थर्कमानसिंह कार्कीको गलामा भकुण्डो जत्रो आलु नदेखिनु यसैको कमाल हो । डा. दुम्सीदत्तको मतमा अदृश्यरूपी गलगाँड पनि प्रशस्त भेटिन्छ । गोरी जस्ती छोरी नहुनेको । उपल्लो ओहोदामा गुन्यूपट्टिको पनि साइनो नभएको । सरुवा, बढुवा र ठेक्कापट्टाको लोरीमा नुनु गर्न असमर्थहरूको मुखाकृतिको चाउरी परेको चर्ममा पनि मजाले भुल्कन्छ । उनी अझै थप्छन् । विवाहपूर्व पुत्रीको भ्याइँझ्याइँमा रङ्गीन टि.भी. र डस्ने कुर्ची (सोफा) यथोचित टक्र्याउन नसक्दा, छिमेकीको तुलनामा हीन भड़ घीन बन्नुपर्दा निर्विघ्न रातमा सुइसुइ र खुइखुइ बनाई निद्रादेवीलाई अवरोध पुर्‍याउँछ ।

शहरको दक्षिणकाली, भद्रकाली, श्लेषमान्तक वनमा रूप यौवनासँग दिनदहाडै दिन बिताउने क्याम्पसमा ट्याम्पास गर्न भर्ना भएकी ट्याम्कीमैयाँलाई समेत यसले र्‍याखर्‍याख्ती बनाउँछ । पुत्रीको चुरीफुरीमा ट्वाँ परेकी कमिलामैया दैनिक छोरीले ब्वाइफ्रेन्डलाई हात्ती र बाघ बिस्कुन लगाउँदा पनि यसको चनमते प्रभावले अँगालो हाल्दछ । एक दर्जन सन्तानका पिताको दिल दिमागलाई पनि टोकस्दछ । पतिले टिल्ल धोक्दा जिल्ल परेकी दुलहीको आत्मामा घुसी मुसी बनाउँछ ।

कण्ठरोग विशेषज्ञ खनाल भन्छन्- अदृश्यरूपी गलगाँड झनै महामारीजन्य र सङ्क्रामक हुने गर्दछ । यो खराबीदेखि हरामीसम्म, गुन्डादेखि उखुन्डासम्म, काजीदेखि पाजीसम्म, छटपटेदेखि चटपटेसम्मलाई स्पर्श गर्न भुल्दैन । कङ्गालीदेखि बङ्गालीसम्म, पाल्पालीदेखि स्याङ्जालीसम्म, झापालीदेखि बनेपालीसम्म, उर्लाबारीदेखि खुदुनाबारीसम्म स्मरणयोग्य हुन्छ । फङफुङेदेखि सामसुमेसम्म, टामटुमेदेखि गामगुमेसम्म, टाकटुकेदेखि ठाकठुकेसम्म, पाकपुकेदेखि माकमुकेलाई समेत कदापि छोड्दैन । फाटफुटेदेखि लाटलुटेसम्म चाकचुकेदेखि छाकछुकेसम्ममा यसको प्रवृत्ति वरको जरा फैलिन्छ ।

अर्का कण्ठरोग विशेषज्ञ लोखर्केकान्त सिम्खडा भन्छन्- यो अदृश्यरूपी गलगाँड ग्रामीण जनजीवनमा मात्र नभई शहर र तराईमा समेत दन्दनाउँदो अग्निझैँ सल्किएको छ । यसले सय बिघाको मालिकलाई समेत कुम्लोकुटुरो बोकी छिमेकीले पत्तो नपाउने गरी पशुपति वा काशी धर्मशालाको शरणार्थी बनाइदिन सक्छ । थोत्रो राडी र कसैको अधियाँको पाडी खरेतान लगाउन विवश बनाउँछ । यो सकेसम्म बिपन्नको मझेरीमा लुटपुटिन चाहन्छ । कहिलेकाहीँ सम्पन्नलाई पनि यसले अँचेट्न खोज्छ अरू शिकार नपाई बाघले मान्छे मार्न बाध्य भएजस्तै । अदृश्यरूपी गलगाँड यदि देखिनुपर्‍यो भने बेइमान गर्नेलाई पनि आउँछ । त्यसबेला यसले टाउको देखाउने ठाउँ हो आँखाको डील । आँखाको डीलमा देखिँदा यसले ‘अन्नो’ भनेर चिनाउँदछ । गलाको बाटो थुनिए पनि आँखाको छेउबाट चियाउनु यसको विशेषता ।

झुक्याउनेको आँखामा आएको अन्नो र गरिबको कण्ठमा आएको गलगाँडको लक्षण र उपचार बेग्लाबेग्लै हुन्छ । डा. लोखर्के सिम्खडा प्रस्ट पार्दछन्- कण्ठरोग लागिसकेपछि अपरेशन हुन सक्दछ तर गाँड काट्दा भने कहिलेकाहीँ गर्धन पनि तमाम हुन बेर लाग्दैन । त्यसो भए आँखामा आउने अन्नोको सुलभ उपचार त होला नि ? पुनः प्रश्न तेस्र्याउँदा डा. सिंखडा भन्छन्- यो नेपथ्यमा बसी तानावान बुन्ने तर बाहिर नदेखिनेलाई पनि यसले बिर्सिहाल्दैन । बिहान-बेलुका छाक टार्न मुश्किल हुनेले घट्ट जाँदा मिल्काएको मकैको गेडोमा तिनैका भन्ट्याङमुन्टुङले तुक्र्याएको मकै आफ्नो सिलौटामा पिँधी लगाउनाले खलास हुन्छ । केही दिनपछि पछि तोरीको गेडोजस्तो भई अदृश्यको जङ्घारमा हराउँछ । यदि त्यति गर्दा पनि नहराए अबोध बालकको सुन्तुरे कुइनेटामा बसी तलमाथि दलिदलि गरे पनि यो सफाचट हुन्छ ।

डा. दुम्सीदन्त पड्केर भन्छन्- गरिब जनताको र उपल्लो दर्जाका नेता, नतामाता, नेतापिता, निजामती कर्मचारी, भित्रभित्र केटी पट्याउने बाहिरबाहिर ब्रह्मचारी यदि यी सबैले भोकमरी र शोकाकुल परिवारलाई रिझाई कार्य गरेमा दोबाटोमा भुण्टुहरूले पिसाब फेरको मकै खोज्नुपर्दैन ।

कण्ठरोग एक पेचिलो समस्या छरपस्ट हुँदै छ । दृश्यरूपी कण्ठरोगबाट भन्दा अदृश्यरूपी कण्ठरोगबाट मानव बढी प्रताडित छ । नेपालको सरकारमा बसी घरबारको जोहो गर्नेहरूका निम्ति दृश्यरूपी कण्ठरोगले छिचोल्ने ह्याउ राख्दैन । जसले खाएको, पचाएको, घिचेको, रुचेको क्षमता प्रदर्शन गर्न सक्दछ र पेटभरि घिची खुसीले पेट मिची ह्याउको शैलीमा ढ्याउ गर्ने हिम्मत गर्दछ उसलाई बाध्य कण्ठरोगको बाबुको पित्ताम नास्ति ।

०००
सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
रकिब !

रकिब !

धनराज गिरी
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x