देवीप्रसाद चापागाईंगलगाँड
जसले खाएको, पचाएको, घिचेको, रुचेको क्षमता प्रदर्शन गर्न सक्दछ र पेटभरि घिची खुसीले पेट मिची ह्याउको शैलीमा ढ्याउ गर्ने हिम्मत गर्दछ उसलाई बाध्य कण्ठरोगको बाबुको पित्ताम नास्ति ।

देवीप्रसाद चापागाईं :
मानिसको कन्ठमा मासुको पोको वा पुन्तुरो देखिनुलाई गाँड भनिन्छ क्यारे । यो मुख्य गरी चिउँडोमुनि पसारिने र थेचारिने पक्कै हो । आवश्यक परे सभा, गोष्ठी डबली आदिमा आसनको चुली चुल्याउँदछ । वैज्ञानिकहरू आयोडिनको कमी भएमा मासुको डल्लो निस्की इज्जतको डोको बोकाउँछ भन्दछन् । अवैज्ञानिकहरू झुक्याउनेको बाउको सङ्केत गरेको ठान्दछन् । जो कुम्लो कुटुरो बोकी एक टन भारको मार परेको नाटक देखाउँछ उसलाई पनि यो रोगले अचार बनाउँछ भन्नेहरू पनि मनग्गे छन् ।
वरिष्ठ कण्ठरोग विशेषज्ञ दुम्सीदन्त खनालका विचारमा गलगाँड दुई प्रकारका हुन्छन् । दृश्यरूपी गलगाँडलाई आयोडिन भएको नुन र सागसब्जीले चेतबाबा काशी बनाउँछ । तर यसले आसन जमाएर भाषण गर्नुपूर्व नै आयोडिन पूरा हुनुपर्दछ । नदिछेउका बुकुनी माझी र घैयाबारीका थर्कमानसिंह कार्कीको गलामा भकुण्डो जत्रो आलु नदेखिनु यसैको कमाल हो । डा. दुम्सीदत्तको मतमा अदृश्यरूपी गलगाँड पनि प्रशस्त भेटिन्छ । गोरी जस्ती छोरी नहुनेको । उपल्लो ओहोदामा गुन्यूपट्टिको पनि साइनो नभएको । सरुवा, बढुवा र ठेक्कापट्टाको लोरीमा नुनु गर्न असमर्थहरूको मुखाकृतिको चाउरी परेको चर्ममा पनि मजाले भुल्कन्छ । उनी अझै थप्छन् । विवाहपूर्व पुत्रीको भ्याइँझ्याइँमा रङ्गीन टि.भी. र डस्ने कुर्ची (सोफा) यथोचित टक्र्याउन नसक्दा, छिमेकीको तुलनामा हीन भड़ घीन बन्नुपर्दा निर्विघ्न रातमा सुइसुइ र खुइखुइ बनाई निद्रादेवीलाई अवरोध पुर्याउँछ ।
शहरको दक्षिणकाली, भद्रकाली, श्लेषमान्तक वनमा रूप यौवनासँग दिनदहाडै दिन बिताउने क्याम्पसमा ट्याम्पास गर्न भर्ना भएकी ट्याम्कीमैयाँलाई समेत यसले र्याखर्याख्ती बनाउँछ । पुत्रीको चुरीफुरीमा ट्वाँ परेकी कमिलामैया दैनिक छोरीले ब्वाइफ्रेन्डलाई हात्ती र बाघ बिस्कुन लगाउँदा पनि यसको चनमते प्रभावले अँगालो हाल्दछ । एक दर्जन सन्तानका पिताको दिल दिमागलाई पनि टोकस्दछ । पतिले टिल्ल धोक्दा जिल्ल परेकी दुलहीको आत्मामा घुसी मुसी बनाउँछ ।
कण्ठरोग विशेषज्ञ खनाल भन्छन्- अदृश्यरूपी गलगाँड झनै महामारीजन्य र सङ्क्रामक हुने गर्दछ । यो खराबीदेखि हरामीसम्म, गुन्डादेखि उखुन्डासम्म, काजीदेखि पाजीसम्म, छटपटेदेखि चटपटेसम्मलाई स्पर्श गर्न भुल्दैन । कङ्गालीदेखि बङ्गालीसम्म, पाल्पालीदेखि स्याङ्जालीसम्म, झापालीदेखि बनेपालीसम्म, उर्लाबारीदेखि खुदुनाबारीसम्म स्मरणयोग्य हुन्छ । फङफुङेदेखि सामसुमेसम्म, टामटुमेदेखि गामगुमेसम्म, टाकटुकेदेखि ठाकठुकेसम्म, पाकपुकेदेखि माकमुकेलाई समेत कदापि छोड्दैन । फाटफुटेदेखि लाटलुटेसम्म चाकचुकेदेखि छाकछुकेसम्ममा यसको प्रवृत्ति वरको जरा फैलिन्छ ।
अर्का कण्ठरोग विशेषज्ञ लोखर्केकान्त सिम्खडा भन्छन्- यो अदृश्यरूपी गलगाँड ग्रामीण जनजीवनमा मात्र नभई शहर र तराईमा समेत दन्दनाउँदो अग्निझैँ सल्किएको छ । यसले सय बिघाको मालिकलाई समेत कुम्लोकुटुरो बोकी छिमेकीले पत्तो नपाउने गरी पशुपति वा काशी धर्मशालाको शरणार्थी बनाइदिन सक्छ । थोत्रो राडी र कसैको अधियाँको पाडी खरेतान लगाउन विवश बनाउँछ । यो सकेसम्म बिपन्नको मझेरीमा लुटपुटिन चाहन्छ । कहिलेकाहीँ सम्पन्नलाई पनि यसले अँचेट्न खोज्छ अरू शिकार नपाई बाघले मान्छे मार्न बाध्य भएजस्तै । अदृश्यरूपी गलगाँड यदि देखिनुपर्यो भने बेइमान गर्नेलाई पनि आउँछ । त्यसबेला यसले टाउको देखाउने ठाउँ हो आँखाको डील । आँखाको डीलमा देखिँदा यसले ‘अन्नो’ भनेर चिनाउँदछ । गलाको बाटो थुनिए पनि आँखाको छेउबाट चियाउनु यसको विशेषता ।
झुक्याउनेको आँखामा आएको अन्नो र गरिबको कण्ठमा आएको गलगाँडको लक्षण र उपचार बेग्लाबेग्लै हुन्छ । डा. लोखर्के सिम्खडा प्रस्ट पार्दछन्- कण्ठरोग लागिसकेपछि अपरेशन हुन सक्दछ तर गाँड काट्दा भने कहिलेकाहीँ गर्धन पनि तमाम हुन बेर लाग्दैन । त्यसो भए आँखामा आउने अन्नोको सुलभ उपचार त होला नि ? पुनः प्रश्न तेस्र्याउँदा डा. सिंखडा भन्छन्- यो नेपथ्यमा बसी तानावान बुन्ने तर बाहिर नदेखिनेलाई पनि यसले बिर्सिहाल्दैन । बिहान-बेलुका छाक टार्न मुश्किल हुनेले घट्ट जाँदा मिल्काएको मकैको गेडोमा तिनैका भन्ट्याङमुन्टुङले तुक्र्याएको मकै आफ्नो सिलौटामा पिँधी लगाउनाले खलास हुन्छ । केही दिनपछि पछि तोरीको गेडोजस्तो भई अदृश्यको जङ्घारमा हराउँछ । यदि त्यति गर्दा पनि नहराए अबोध बालकको सुन्तुरे कुइनेटामा बसी तलमाथि दलिदलि गरे पनि यो सफाचट हुन्छ ।
डा. दुम्सीदन्त पड्केर भन्छन्- गरिब जनताको र उपल्लो दर्जाका नेता, नतामाता, नेतापिता, निजामती कर्मचारी, भित्रभित्र केटी पट्याउने बाहिरबाहिर ब्रह्मचारी यदि यी सबैले भोकमरी र शोकाकुल परिवारलाई रिझाई कार्य गरेमा दोबाटोमा भुण्टुहरूले पिसाब फेरको मकै खोज्नुपर्दैन ।
कण्ठरोग एक पेचिलो समस्या छरपस्ट हुँदै छ । दृश्यरूपी कण्ठरोगबाट भन्दा अदृश्यरूपी कण्ठरोगबाट मानव बढी प्रताडित छ । नेपालको सरकारमा बसी घरबारको जोहो गर्नेहरूका निम्ति दृश्यरूपी कण्ठरोगले छिचोल्ने ह्याउ राख्दैन । जसले खाएको, पचाएको, घिचेको, रुचेको क्षमता प्रदर्शन गर्न सक्दछ र पेटभरि घिची खुसीले पेट मिची ह्याउको शैलीमा ढ्याउ गर्ने हिम्मत गर्दछ उसलाई बाध्य कण्ठरोगको बाबुको पित्ताम नास्ति ।
०००
सिन्धुपाल्चोक
Subscribe
Login
0 Comments
Oldest








































