अशोककुमार शिवाअप्ठ्यारोमा फलेको फर्सी
अक्कडो मान्छेसँगको सङ्गत यति गाह्रो हुन्छ कि के भन्नु ? केही कुराको समाधान बेलामा निस्किदैन । यो भन्यो हुन्न, त्यो भन्यो हुन्न, केही काम गर्यो चित्त बुझाउनु छैन, नगर्यो यति पनि गरेन भन्यो रिसायो ।

अशोककुुमार शिवा :
कुनै कुनै मानिसको स्वभाव बडो बुझिनसक्नु हुँदो रहेछ । उसको आनिबानीलाई हेरी बुझि गर्दा पनि ऊ बारेको अडकल नमिल्दो रहेछ । एउटा उखान सान्दर्भिक होला नहोला तर यस्तो छ “आफू ताक्छ मुडो, बन्चरो ताक्छ घुँडो ।” । हुन पनि त्यस्तै हुन्छ । केही राम्रो चिताएर फ्याट्ट विश्वास गर्यो केही बेरमा नै विपरित असर देखा पर्छ । बित्याँस् ।
अर्को उखान यस्तो छ “अप्ठ्यारोमा फलेको फर्सी ।” सबै फर्सीहरू अप्ठ्यारोमा नै फलेको चाहिँ मैले देखेको छैन । होला एकाध कतै लहरिँदै गएर अप्ठारोमा पुगेर फलेको । एउटाले गर्दा बिचरा सबै फर्सीको बदनाम । फर्सी एक अब्वल दर्जाको तरकारी हो । यो खेतवारीमा प्रसस्तै लगाइन्छ । यो लहरा लहरिएर यत्रतत्र फैलिने स्वभावको हुनाले सजिलो अप्ठ्यारो जताततै पुग्दछ । सजिलोमा फलिहाल्यो भने पनि चाँडै टिपेर तरकारी बनाई खाइहालिन्छ । तर अप्ठ्यारोमा पुगेर फलेको फर्सी झटारोले नझारेसम्म बोटैमा झुण्डिरहेको हुन्छ । हामीलाई गुणको कुनै महत्व हुन्न तर सजिलो उपलब्ध हुनुपर्छ । वास्तविकता त के हो भने फर्सी जति धेरै अप्ठ्यारोमा फल्यो त्यति नै धेरै तरकारीको जोहो हुने गर्छ । त्यसैले त फागुन चैततिर पनि बजारमा फर्सी पाइन्छ ।
कुनै कुनै मानिसलाई जे जति नै गुन गर्नुस् उसलाई त्यो गुनको कुनै महत्व हुन्न । यो गरौँ भन्नुस् मान्दैन । उ गरौँ भन्नुस् मान्दैन । यता जाउँ भन्नुस् मान्दैन । उता जाउँ भन्नुस् मान्दैन । उसैको जिद्धी सर्वत्र चलाउन खोज्छ । वास्तवमा यो चाहिँ हो असली अप्ठ्यारोमा फलेको फर्सी । यस्ता मानिस प्राय जिद्धी स्वभावका हुन्छन् र अरु कसैको सुन्दैनन् र कसैलाई टेर्दैनन् पनि । “अप्ठारोमा फलेको फर्सी ।”
स्कुसको बोट फेरि यस्तो बैगुनी हुँदो रहेछ । आफ्नो बारीमा बिरुवा लगाएर अनेक स्याहारसुसार गरेर हुर्कायो बढायो, उ भने छिमेकीको झ्यालझ्याल चियाउन पुग्दोरहेछ । फल्न पनि छिमेकीकै बारमा पुगेर बढी फल्छ । कुनै कुनै छिमेकी त ताजा तरकारी खान पाइने भयो भनेर मख्ख, गमक्क हुन्छन् र चुपचाप मौकाको फाइदा उठाउँछन् । कुनै छिमेकीले चाहिँ स्कुसको लहरा लुछ्दै फालिदिन्छन् । यति गर्दा पनि कलिलो मुण्टा चाहिँ चुँडेर तरकारी बनाई छोड्छन् । पछि नजिकै तर अलि नभेटिने गरी स्कुस फलेको देखेर पछुताउँछन् । हुन त पहिला गल्ति गर्ने अनि पछि पछुताउने हामी मानिसको स्वभाव नै हो ।
अक्कडो मान्छेसँगको सङ्गत यति गाह्रो हुन्छ कि के भन्नु ? केही कुराको समाधान बेलामा निस्किदैन । यो भन्यो हुन्न, त्यो भन्यो हुन्न, केही काम गर्यो चित्त बुझाउनु छैन, नगर्यो यति पनि गरेन भन्यो रिसायो । तर कुनै कुनै अक्कडो साथीहरू यति रमाइला हुन्छन कि हरबखत उसैको कुरा सुनिरहुँ, उसैसँग गफ गरिरहुँ झै लाग्ने । एकछिन नदेख्दा नभेट्दा पनि न्यास्रो लाग्ने ।
कोही त भए पनि नहुने नभए पनि नहुने पनि हुन्छन् । छेउ पर्यो पोल्ने टाढा भयो यादले पोल्ने रापिलो । सायद यस्तै यस्तैहरूको उपनाम होला “अप्ठारोमा फलेको फर्सी ।”
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































