शम्भु जमरकट्टेल हेदाङ्नेजवानीको सम्झना
हिजोका रहर सम्झिएर खै के पाइयो ? केटाहरूलाई खोक्न अब के चाहियो ? कविगोष्ठी झैँ बितेका दिन सम्झिएर एकोहोरो बर्बराउँन पो थालियो ॥ छोरा-छोरीले सुने के भन्लान् खै ? ऊँ हरि हरि । हरि किर्तन गाउँन पो थालियो ॥

शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ :
युवा उमेरको बाल पाल्ने रहर
काट् कान्छा काट् भनेर बाले तुहाइदिए,
आमाले बाले भनेको मान् नत्र मार्लान् भन्दै
बाकै दुहाई दिए ।
अहिले बा-आमा छैनन्
मेरो बाल पाल्ने रहर ज्युँका त्युँ छ
तर बाल झरेर आफ्नो टाउको
बाकै भात खाने थाल जस्तै चिल्लो भएको छ ॥
त्यस उमेरमा धान बेचेर भए पनि
अत्तर छर्केरै हिँड्ने रहर थियो
बाले अत्तरले तेरो पेट भरिन्छ ? भन्थे
आमा आफू छारमा खुट्टा भारमा भन्दै अत्तर खोस्थिन्
दिदी मेरो अत्तर लुकाएर आफैँ छर्किन्थिन्
आजभोलि मेरो अत्तरको दुस्मन छैन,
तर आयोडेक्स र मुभको गन्धमा परेर
अत्तरको वासना आफैँ फिका भएको छ ॥
तन्नेरी हुँदा तरुनी हेर्ने रहर कस्को हुँदैन,
मेरो पनि थियो त म अहिले भन्दिनँ
तर त्यो रहर पुर्याउँन चाहिँ मैले पाइँन ।
छिसिक्क भए पनि दिदीहरू पोल लगाइहाल्थे,
अनि स्कुलमा मास्टरले भकुर्ने,
घरमा बा-आमाले हकार्ने,
अलिक पछि त आफ्नै जहानले “ख” पार्ने
मलाई त निगुरमण्टी न नै बनाए, गाँठे ।
अहिले पनि त्यो रहर ज्युँका त्युँ छ,
मौका पर्दा जिस्किन पनि मन लाग्छ,
तर दुबै आँखाको ज्योति धमिलो भएर गएको छ,
आफनै श्रीमती हो कि तल्ला घरे ज्योति ठम्याउँनै सक्दैन ॥
बा-आमाले लौरो टेकेको मलाई मन पर्दैनथ्यो
उनीहरूका आँखा छलेर लौरा त मैले कति लुकाएँ कति
भाँचेर जाडामा आगो तापें मैले भेटे जति ।
अहिले खुट्टा दुखेर टेक्नै हुँदैन
हिँडौ भन्छु झमझमी पोल्छ ।
नहिंडी पनि जीवन नचल्ने रहेछ ।
त्यसैले लौराकै सहाराले खाट, भान्सा र चर्पी धाउँने गरेको छु ॥
वैंशमा खेल्न थालेपछि बा-आमाले बोलाएको पनि सुनिएन
साथि भाइ लाई त बहालै दिइएन
तर अहिले म आफँै कान सुन्न छाडें
श्रीमती कति चिच्याउँनु हौ ? सुन्ने होइन भन्दै झर्किन्छे,
छोराले पठाएको मेसिन लगाउनु पर्दैन ? भन्दै चर्किन्छे
कान नसुनेपछि बोलाए बोलाएनन् पर्गेल्ने कुरा पनि भएन ।
भोक लागेपछि बोलायौ होइन भन्दै
आफैँ लुरु लुरु भान्सामा छिरिदिन्छु ॥
तरुनो उमेरमा खित्का छाडेर हाँसिन्थ्यो
दिल खोलेर हाँस्दा परिझैं देखिन्छेस् भन्थे केटा साथीहरू,
तर समाजले,
छोरी मान्छे भएर लाज शरम छैन ? खित्का छोडेर हाँस्छेस् भन्थे
घरमा परिवारको इज्वत मास्छेस् भन्थे,
यसरी जताततैवाट ठोकेपछि सुस्तरी हाँस्न र मुस्कुराउँन सिकियो,
भाग्यले पनि मलाई हँसाउने भन्दा रुवाउँने काम धेरै गर्यो,
मेरो हाँसो र खुशी आफन्तले नै उडाए ।
अहिले छोरा-छोरीका खुशीमा फिस्स हाँस्न खोज्छु
नक्कली दाँत न हो, फुत्त फुत्त झरेर हैरान पार्छ ॥
कहिले यता सर्छ, कहिले फुत्त झर्छ ॥
यसरी, वैंशालु रहरमा
न बाल पाल्न पाइयो
न अत्तरको वास फाल्न पाइयो
न आँखाको स्वाद छास्न पाइयो
न धित मरुन्जेल हाँस्न पाइयो
न दौंतरीसँग मायाँ-प्रिति गाँस्न पाइयो,
न आफ्ना जुँगा अरुलाई टाँस्न पाइयो ।
उमेरले नेटो काटेपछि
हिजोका रहर सम्झिएर खै के पाइयो ?
केटाहरूलाई खोक्न अब के चाहियो ?
कविगोष्ठी झैँ बितेका दिन सम्झिएर
एकोहोरो बर्बराउँन पो थालियो ॥
छोरा-छोरीले सुने के भन्लान् खै ?
ऊँ हरि हरि ।
हरि किर्तन गाउँन पो थालियो ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































